शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–४ : ‘घरबाट निस्कन मन लाग्छ तर गाडीकै पीर लाग्छ’

मङ्गलबार, १५ जेठ २०७५, १३ : २६
मङ्गलबार, १५ जेठ २०७५


स्थान — रत्नपार्क 
समय— साँझ ५ बजे, जेठ १४
यातायात— अन्नपूर्ण यातायात

गत शुक्रबारदेखि रातोपाटी संवादाता अञ्जु तामाङ र फोटो पत्रकार सुवास श्रेष्ठले सरकारले सिन्डिकेट अन्त्यको घोषणापछि सार्वजनिक यातायातमा यात्रुले महसुस गरे—नगरेको जान्ने कोसिस गरेका छन् । 

उनीहरूले काठमाडौँका सबैजसो रुटमा ‘रियालिटी टेस्ट’ गर्ने छन् । शुक्रबार उनीहरूले टिचिङ अस्पताल महाराजगञ्जको बस स्टपबाट नयाँ बानेश्वरसम्म नेपाल यातायातको यात्रा गरेर ‘रियालिटी टेस्ट’ गरेका थिए, जहाँ नेपाल यातायातका यात्रुले सिन्डिकेटको अन्त्यपछि पनि यात्रुलाई कुनै फरक नपरेको बताएका थिए । 

आइतबार ‘रियालिटी टेस्ट’ भएको थियो, साझा यातायातको । संवादाता तामाङ र फोटो पत्रकार श्रेष्ठले  आइतबार गोँगबुबाट ललितपुरको पुल्चोकसम्म साझा यातायात निकै भीड देखे । 

सिन्डिकेट अन्त्यपछि पनि यहाँ यात्रुहरूले सहज रूपमा यात्रा गन पाएका छैनन् । पहिला जस्तो थियो, अहिले पनि त्यस्तै अवस्था छ साझा यातायातमा ।

‘रियालिटी टेस्ट’ अन्तर्गत सोमबार रातोपाटी संवाददाता र फोटो पत्रकारले सिटी यातायातको यात्रा गरेर यात्रुसँग कुरा गरेका थिए । 

त्यहाँ पनि सिन्डिकेट हटेपछि कुनै पनि परिवर्तन नभएको यात्रुहरूको भनाइ थियो । 

‘रियालिटी टेस्ट’अन्तर्गत रातोपाटी संवादाता तामाङ र फोटो पत्रकार श्रेष्ठले अन्नपूर्ण यातायातका यात्रा गरेर यात्रुसँग कुराकानी गरेका छन् । 

उनीहरू सोमबार साँझ ५ बजे रत्नपार्कदेखि कोटेश्वारसम्म चढेर गएका थिए ।

रत्नपार्क, भृकुटीमण्डप, माईतीघर, बबरमहल, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर, पेप्सीकोला हँुदै काडाँघारीसम्म जाने अन्नपूर्ण यातायातमा उनीहरु गएका थिए ।

बिहानका यात्रुहरूसँग सिन्डिकेटको बारेमा बसमा नै यात्रा गरेर रिपोर्टिङ गर्दा खासै परिवर्तन नभेटिएको यात्रुहरूको गुनासो थियो ।

साँझको यात्रामा पनि सिन्डिकेटको बारेमा यात्रुसँग बुझ्ने प्रयत्न गरेका छन् ।
सबै ठाउँमा समस्या उस्तै देखियो ।

सिन्डिकेट हटे पनि यात्रुले अझै सहजता पाएका छैनन् भन्ने कुरा अन्नपूर्ण यातायातमा पनि देखियो ।

झुण्डिएर यात्रा गर्नुपर्ने, अशक्त, अपाङ्ग, महिला र ज्येष्ठ नागरिकका लागि सिट पाउन निकै मुस्किल थियो ।

अब यात्रुको विचार उनीहरूकै शब्दमा 

मनमाया न्यौपाने 
म ८३ वर्षकी भएँ । 

मेरो घर काडाँघारीमा हो । 

बुढी मान्छे । केही काम गर्न सक्दिनँ नानी । नातिनी र बुहारीसँग भृकुटीमण्डप घुमेर घर जान लागेको । 

सार्वजनिक यातायातमा चढ्दा धेरै चोटि सिट माग्दा मात्रै पाइन्छ । 

ठेलामठेल, भीडभाड, सधैँ यस्तै देख्छु नानी । 

म सिटमा बसे पनि उभिनेले कुल्चने, थिच्ने गर्छन् । 

सकेसम्म मान्छे नउभिएको राम्रो नि मेरा लागि त । 

तर सबै जान जानु नै पर्छ । 

यस्तै हो, कहिले काहीँ घरबाट बाहिर निस्कन मन लाग्छ तर गाडीमा सिटकै पीर लाग्छ । 

टेकबहादुर बस्नेत   
म भूपूआर्मी हुँ । 

अहिले म ७३ वर्षको भएँ । 

बुढेसकाल लागेपछि रोग लाग्दो रैछ ।

 स्वास्थ्य परीक्षणका लागि आर्मी हस्पिटल आएको थिएँ । 

मेरो पहाड घर रामेछाप हो । 

रामेछापबाट काठमाडौँसम्म यात्रा गर्दा बाटोमा बसको छतमा टन्नै समान राख्ने गरेको देखेको थिएँ तर अहिले त्यो हटेको छ । 

यो लामो यात्रा गर्ने यात्रुका लागि राम्रो कुरा हो । 

अर्काे कुरा, अब जोसुकैले पनि सवारी साधन सञ्चालन गर्न पाइने भयो । 

हरेक चेक पोस्टमा ट्राफिक बस्छन् ।

बसको क्षमताअनुसार यात्रु बोक्ने हो भने व्यवसायी र यात्रु कसैको पनि नोक्सान हँुदैन ।

अहिले खासै परिर्वतन नभए पनि ठीक लाइनमा आउँछन् अब ।

सुष्मा केसी 
म दैनिक सार्वजिनक यातायातमै हिँड्ने गर्छु । 

धेरैजसो उभिएर नै काडाँघारीदेखि रत्नपार्क अफिस जाने आउने गरिरहेकी छु ।

सिन्डिकेट हँुदा र हट्दा के परिर्वतन भयो भन्ने कुरा नै छैन । 

उस्तै छ । न सवारी साधनको सङ्ख्या बढेको छ, न त समयमा नै सवारी साधन पाइन्छ । 

गीता निरौला 
म सामान खरिदका लागि कोटेश्वरबाट आएको हुँ ।

म घरमै बस्छु । 

अरूलाई जसरी दैनिक सार्वजनिक यातायात प्रयोग गर्नुपर्दैन । 

कहिलेकाहीँ मात्रै यात्रा गर्ने गरेको छु । 

कहिलेकाहीँ पनि यात्रा गरे पनि समयमा पहिला अहिले कुनै परिवर्तन भएको छैन ।

हामीले जे देख्यो त्यही कुरा भन्ने हो । 

नामको सिन्डिकेट हटाएर हुन्न । 

हटेको महसुस गराउने खालको कुनै पनि सेवा सुविधामा परिर्वतन आएको देखिनँ मैले । 

फरक त्यस्तो केही पनि पाइनँ ।

सुनिता कुर्मी 
मेरो बसाइ जडीबुटी हो । 

अहिले आफ्नै कामले असन आएको थिएँ । 

यात्रा निकै गाह्रो लाग्यो । 

सिट पाएपछि त बस्ने हो, नत्र उभिएर नै घर जानुपरेको छ । 

भीडामभीड, चेपामचेप यही त होला सिन्डिकेट । 

नत्र परिर्वतन हुने हो भने यतिका समयसम्म केही सङ्केत  आउनुपर्ने हो । 

पढ्नुहोस्

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–१ : नेपाल यातायातमा यात्रुलाई सहज भयो त ?

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–२ : साझा यातायातमा यात्रुलाई केही सहजता भयो कि भएन ?

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–३ : सिटी यातायातका यात्रुले के महसुस गरे ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप