शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’ — ६ : अझै उभिएर यात्रा गर्नुपर्ने बाध्यता

बिहीबार, १७ जेठ २०७५, १३ : १६
बिहीबार, १७ जेठ २०७५

काठमाडौँ । 

स्थान — रत्नपार्क 

समय— साँझ ५ बजे

यातायात— फोर्स यातायात ।

गत शुक्रबारदेखि रातोपाटी संवाददाता अञ्जु तामाङ र फोटो पत्रकार सुवास श्रेष्ठले सरकारले सिन्डिकेट अन्त्यको घोषणा गरेपछि सार्वजनिक यातायातमा यात्रुले सहज महसुस गरे नगरेको जान्ने कोसिस गरेका छन् । 

उनीहरूले काठमाडौँका सबैजसो रुटमा ‘रियालिटी टेस्ट’ गर्ने छन् । ‘रियालिटी टेस्ट’–१ शुक्रबार उनीहरूले टिचिङ अस्पताल महाराजगञ्जको बस स्टपबाट नयाँ बानेश्वरसम्म नेपाल यातायातको यात्रा गरेर ‘रियालिटी टेस्ट’ गरेका थिए  । जहाँ नेपाल यातायातका यात्रुले सिन्डिकेटको अन्त्यपछि पनि यात्रुलाई कुनै फरक नपरेको बताएका थिए । 

आइतबार ‘रियालिटी टेस्ट’–२ साझा यातायातको भएको थियो । संवाददाता तामाङ र फोटो पत्रकार श्रेष्ठले  आइतबार गोँगबुबाट ललितपुरको पुल्चोकसम्म साझा यातायात निकै भीड देखे । सिन्डिकेट अन्त्यपछि पनि यहाँ यात्रुहरूले सहज रूपमा यात्रा गन पाएका छैनन् । पहिला जस्तो थियो, अहिले पनि त्यस्तै अवस्था छ ।

‘रियालिटी टेस्ट’—३ अन्तर्गत सोमबार सिटी यातायातको यात्रा गरेर यात्रुसँग कुरा गरेका थिए । त्यहाँ पनि सिन्डिकेट हटेपछि कुनै पनि परिवर्तन नभएको यात्रुहरूको भनाइ थियो । 

‘रियालिटी टेस्ट’–४ अन्तर्गत मङ्गलबार रातोपाटी संवाददाता तामाङ र फोटो पत्रकार श्रेष्ठले अन्नपूर्ण यातायातका यात्रा गरेर यात्रुसँग कुराकानी गरेका थिए ।

रत्नपार्क, भृकुटीमण्डप, माइतीघर, बबरमहल, नयाँबानेश्वर, तीनकुने, कोटेश्वर, पेप्सीकोला हँुदै काडाँघारीसम्म जाने अन्नपूर्ण यातायातमा उनीहरू (सोमबार साँझ ५ बजे) रत्नपार्कदेखि कोटेश्वारसम्म गएका थिए ।

बिहानका यात्रुहरूसँग सिन्डिकेटको बारेमा बसमा नै यात्रागरेर रिपोर्टिङ गर्दा खासै परिवर्तन  नभेटिएको गुनासो सुनिरहँदा  साँझको यात्रामा  पनि सिन्डिकेटको बारेमा यात्रुसँग बुझ्ने प्रयत्न गरेका थिए । त्यहाँ पनि समस्या उस्तै देखियो । 

अहिलेसम्म सिन्डिकेट हटेपछि सार्वजनिक यातायातमा परिवर्तन आए नआएको बारेमा ठूला सवारी साधनमा यात्रा गर्ने यात्रुसँगको कुराकानी हामीले समेटेका थियौँ । 

‘रियालिटी टेस्ट’–४ सम्ममा उपत्यकाको ४ वटा रुट र ठूला सवारी साधनमा यात्रा गर्ने यात्रुहरूसँगको कुराकानी समेटेका थियौँ । 

‘रियालिटी टेस्ट’–५ अन्तर्गत (बुधबार) माइक्रोमा यात्रा गर्ने यात्रुहरूसँगको कुराकानी समेटेका थियौँ । रत्नपार्कदेखि बानियाटारसम्म सञ्चालन हुने माइक्रोमा यात्रा गर्ने यात्रुसँग सिन्डिकेट अन्त्यपछि माइक्रोमा यात्रा गर्दा परिवर्तन आए नआएको बारेमा बुझेका थिए । 

बेलुकाको समयमा घर जानका लागि निकै लामो समयदेखि लाइनमा बसिरहेका यात्रुसँग कुराकानी गरेका थिए । सिन्डिकेट पछि माइक्रोको यात्रामा पनि खासै परिवर्तन नआएको पाइएको छ । 

‘रियालिटी टेस्ट’–६ अन्तर्गत आज संवादाता तामाङ र फोटो पत्रकार श्रेष्ठले (बिहीबार) बेलुका फोर्स यातायातमा यात्रा गरेर सिन्डिकेट अन्त्यपछि परिर्वतन आए नआएको बारेमा बुझ्ने प्रयास गरेका छन् । 

फोर्स लगनखेल, जावालाखेल, पुल्चोक, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, टङ्केश्वर, डल्लुदेखि ढल्कु, नयाँ बजार, सोह्रखुटटेसम्म जाने एक मात्र यातायात हो । भीड नहुने कुरै भएन । 

यो रुटमा अन्य ठाउँको जस्तो समयमा सवारी साधन आउँदैन र घर पुग्न जस्तोसुकै भीड भए पनि यसमा यात्रु चढ्न गर्न बाध्य भएको हामीले देख्यौँ ।

माइक्रोभन्दा अलि ठूलो र बसभन्दा सानो आकारको यो फोर्स यातायातमा सिटभन्दा धेरै उभिएर नै यात्रा गर्न बाध्य छन् । यस यातायातमा सहचाकल भने राखिएको थिएन । गाढीमा चढ्न र ओर्लन सहचाक नभएका कारण यात्रुहरूलाई भाडा बुझाउन पनि गाह्रो भइरहेको थियो । 

यात्रुहरूले चालकलाई किन सहचालक नराखेको भनेर प्रश्न गर्दा उनले भने– सहचालक राख्दा जहाँ पायो त्यहीँ ढोका खोल्ने, झ्यालबाट टाउको निकाल्ने गर्दा धेरै पटक ट्राफिक चेकिङमा चिट काटेको छ । अनि उठाएको भाडाको रकम पनि पूरा नदिने आफै लिने हुँदा नराखेको प्रतिक्रिया दिँदै गाडी चालउँदै थिए । 
  
अब यात्रुको विचार उनीहरूको शब्दबाट 

सुष्मा पाण्डे 

म ५० वर्षकी भएँ । पाटनमा सानोतिनो काम गर्छु ।

सोह्रेखुट्टे बस्छु । अहिले पाटनबाट गाडी चढेकी हुँ । 

कहिले सिट पाइन्छ, कहिले पाइँदैन । पाटनदेखि उभिएरै आएकी हुँ । बल्ल त्रिपुरेश्वरमा आइपुगेपछि सिट पाएँ । 

हाम्रोतिर जाने माइक्रो यो मात्र भएकाले आधा घण्टा जति कुरेपछि मात्रै गाडी पाइन्छ । त्यही पनि उभिएर यात्रा गर्नुपर्छ ।

मुस्कान परियार 

म विद्यार्थी हुँ । पाटन विद्यालयमा क्लास ९ मा अध्ययनरत छु । 

डल्लुदेखि यस गाडीमा चड्छु । प्रायः म हिँड्ने भनेको यही गाडीमा हो ।

 विद्यालय आउने जाने समय अफिस समय भएकाले धेरैजसो उभिएर नै आउने जाने गरिहरेको छु । 

सिट पाउने भनेको त निकै कम मात्रै हो । झुण्डिएर यात्रा गर्नुपर्छ । गाडीबाट उत्रिँदा हातै दुख्छ । 

रेनु श्रेष्ठ 
मेरो घर टङ्केश्वर हो । म गृहिणी हुँ ।  म आफ्नो कामले पुल्चोक आएकी थिएँ । त्यहीँबाट यो गाढी चढेको हँु । 

सिन्डिकेट तोडिएपछि मैले सार्वजनिक यातायातमा यात्रा गरेको आजै हो तर पनि उस्तै देखेँ । 

तपाईंले पनि देख्नुभएकै छ, उभिएरै यात्रा गरिरहेकी छु । 

सिन्डिकेट हटेपछिको कुरा गर्ने हो भने सार्वजनिक यातायातमा कुनै पनि परिवर्तन मैले चाहिँ पाइनँ । भन्न त गाडीमा सिटभन्दा बढी मान्छे नराख्नु भन्ने कुराहरू आइरहेको छ तर खै अहिलेसम्म उस्तै देखेकी छु । 
 रिता रोका 
म लगनखेलको एक गार्मेन्टमा काम गर्छु । मेरो बसाइ ढल्कु हो । म दैनिक घरदेखि लगनखेल यही यातायातमा नै आउने जाने गर्छु । 

पहिला र अहिले उस्तै हो, खासै परिवर्तन पाएको छैन । आज बल्ल भाग्यले सिट पाएँ । नत्र झुण्डिएर नै यात्रा गर्ने हो ।

पढ्नुहोस्

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–१ : नेपाल यातायातमा यात्रुलाई सहज भयो त ?

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–२ : साझा यातायातमा यात्रुलाई केही सहजता भयो कि भएन ?

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–३ : सिटी यातायातका यात्रुले के महसुस गरे ?

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–४ : ‘घरबाट निस्कन मन लाग्छ तर गाडीकै पीर लाग्छ’

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–५ : उस्तै छ माइक्रोको दादागिरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप