मेलम्चीको पानीमा रोयल्टी विवाद
काठमाडौँ । गत बिहीबार काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजना पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री बिना मगर, मन्त्रालयका सचिव कृष्णराज बिसी, एसियाली विकास बैङ्कका निर्देशक हुम किम, मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटालगायतको खुसीको सीमा थिएन् ।
मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर लामो सुरुङ मार्गको अन्तिम तेस्रो चरणअन्र्तगत साढे ७ किलोमिटर सिन्धु–ग्याल्थुम खण्डको सुरुङ निर्माण सम्पन्न भएर ‘ब्रेक थ्रु’ भएको थियो ।
अर्थात साढे ७ किलोमिटर सुरुङ, मेलम्चीतर्फबाट र सिन्धुतर्फको भागबाट खनिएको थियो ।
बीचमा पुगेर दुवैतर्फबाट सुरुङ जोडिएको थियो । सो जोडिएको भागमा नेपाल र इटलीको झन्डा राखिएको थियो । बीचमा रिबन राखिएको थियो ।
उपराष्ट्रपति पुनले उक्त रिबन काटेर उद्घाटन गरेका थिए । इटलीको निर्माण कम्पनी सीएमसी दि रेभेन्नाले यसको निर्माण गरेको थियो ।
सुरुङ स्थलको कार्यक्रम सकेपछि मेलम्ची बजारमा रहेको कार्यालय प्राङ्गढमा औपचारिक कार्यक्रम राखिएको थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएको थियो तर उनी आएनन् । उपराष्ट्रपति पुन पनि त्यहाँ बसेनन् ।
कार्यक्रममा सोही निर्वाचन क्षेत्र सिन्धुपाल्चोक २ का निर्वाचित सांसद एवम् कानुनमन्त्री शेरबहादुर तामाङ र मेलम्ची खानेपानी आयोजना प्रभावित सरोकार समितिका प्रतिनिधि थपिएका थिए ।
कार्यक्रमको अध्यक्षसमेत रहेका मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले कार्यक्रमको सुरुमा बोल्दै अगामी दशंैसम्म काठमाडौंको सुन्दरीजलमा पानी पुग्ने गरी गर्न बाँकी निर्माणका काम द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।
उता सोही खानेपानी आयोजनाका पूर्वकार्यकारी निर्देशक घनश्याम खतिवडा भने बोल्दाबोल्दै भावुक भएका थिए ।
उनले आफूले ४० सालमा भारतमा इन्जिनियरिङ पढिरहँदा नेपालमा मेलम्चीको पानी काठमाडौं लाने सुनेको बताउँदै आफूले यही आयोजनामा काम गरेर रिटायर भएपछि बल्ल काम सम्पन्न हुन लागको भन्दैै भावुक बनेका थिए ।
प्रभावित सरोकार समिति असन्तुष्ट
मेलम्ची सुरुङ निर्माण सम्पन्न भएर हर्षोल्लासका साथ अघिबढिरहेको कार्यक्रममा त्यतिबेला सबै गम्भीर देखिए जतिबेला ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष उपेन्द्र तामाङ बोल्न थाले ।
तामाङले ३ महिनामा त के ५ वर्षसम्म पनि काठमाडौं पानी जान नसक्ने बताए ।
उनले मेलम्ची प्रभावितहरूका लागि भनेजस्तो कार्यक्रम नभएको भन्दै यही तरिकाबाट अगाडि बढ्न खोजे आयोजनाको काम प्रभावित गर्ने चेतावनी दिए ।
उनी लगतै बोलेका कानुनमन्त्री शेरबहादुर तामाङले मेलम्चीलाई चेलीको रूपमा काठमाडौंमा अन्माउन लागेको बताउँदै आफ्नो चेली अन्माउन लाग्दा दुःख लागेको बताए ।
उनले काठमाडौंलाई सिन्धुपाल्चोकको सम्पदा चाहिन्छ भने सिन्धुपाल्चोकलाई पनि काठमाडौंले हेर्नुपर्ने बताए ।
उनले सिन्धुपाल्चोकका घरघरमा अबको दुई वर्षभित्र पानीको धारा हुनुपर्ने बताएका थिए । मन्त्री तामाङले प्राकृतिक स्रोतमाथि स्थानीयको अधिकारलाई सम्बोधन गर्दै सरकारले छिट्टै कानुन निर्माण गर्न लागेको समेत जानकारी गराएका थिए ।
मेलम्ची खानेपानी आयोजनाबाट सिन्धुपाल्चोकका तत्कालीन ३० गाविस र काभ्रेका ५ गाविसालाई प्रभावित क्षेत्रको सूचीमा राखिएको थियो ।
यस क्षेत्रका झन्डै १५ लाख जनसङ्ख्या आयोजनाको प्रभावित सूचीमा पर्छन् । ती प्रभावित क्षेत्रमा सामाजिक उत्थानका कार्यक्रमहरू पनि राखिएको थियो ।
मुआब्जाका लागि एक अर्ब
मेलम्ची खानेपानी विकास समितिले हालसम्म प्रभावित क्षेत्रमा १ अर्ब हाराहारीमा जग्गाको मुआब्जा वितरण गरेको जनाएको छ ।
यस्तै सामाजिक उत्थान विकासअन्तर्गत १० वर्षदेखि शिक्षा, स्वास्थ्य, आयआर्जन, ग्रामीण विद्युतीकरण र पूर्वाधार निर्माणका लागि ७१ करोड खर्च गरेको छ ।
अहिले प्रभावित क्षेत्रमा स्थानीय र सरकारबीच लाभांश बाँडफाँडको विषयमा ठोस निर्णय भएको छैन । यसबारे सरकारले तुरुन्त निर्णय गर्नुपर्ने सरोकार समितिका पदाधिकरीको भनाइ छ ।
मेलम्ची खानेपानी विकास समितका उपकार्यकारी निर्देशक भोजबिक्रम थापाले भने– ‘रोयल्टी निर्धारणको विषय नीतिगत कुरा हो, प्राकृतिको स्रोतको बाँडफाँड कसरी गर्ने भन्नेमा वित्तीय आयोगले निर्धारण गर्नेछ । प्राकृतिक स्रोतको प्रयोगपछि स्थानीयलाई के कति दिने भन्ने कुरा नीति बनेपछि त्यो देशभरी नै सबैको हकमा लागू हुन्छ । मेलम्चीको पानी दिने र लिने बीच एक किसिमको समझदारी बनाउनुपर्छ, दुवैले मार नखाने कुरामा सचेत हुनुपर्छ ।’
मेलम्ची खानेपानी आयोजना राष्ट्रिय आयोजना भएकाले रोयल्टीका बारेमा ब्यापक रूपमा छलफल हुने र मन्त्रिपरिषदले निर्णय गर्ने उनले बताए ।
ठेकेदार कम्पनीले माग्यो १ अर्ब ६५ करोड
मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग बनाइरहेको कम्पनी सीएमसी दि रेभेनाले मेलम्ची खानेपानी आयोजनासँग १ अर्ब ६५ करोड रुपैयाँ अतिरिक्त रकम मागेको छ ।
काम गर्ने समय ५ सय ७० दिन थोरै भएको, भूकम्प र नाकाबन्दीको कारण लागत बढी परेको र मेसिनरी सामानहरु थप गर्नुपर्ने भएकाले अतिरिक्त १ अर्ब ६५ करोड रकम माग गरेको हो । तर मेलम्ची खानेपानी विकास समितिले भने २८ करोड रुपियाँसम्म दिन सक्ने बताएको छ । निर्माण कम्पनीको मागबारे अध्ययन तथा निर्णय गर्न यो विषय समस्या समाधान समितिमा पठाइएको उपकार्यकारी निर्देशक थापाले जानकारी दिए ।
ठेकेदार कम्पनीसँग यसबारेमा अझै सहमति हुन सकेको छैन । यही कारणबाट असन्तुष्ट बनेर कम्पनीले काममा ढिलाइ ग¥यो भने सरकारले काठमाडौैंमा पानी ल्याउने भनेर तोकेको मिति पनि पर सर्ने आँकलन गरिएको छ ।
यद्यपि मेलम्ची खानेपानी विकास समितिले भने समस्या समाधान उपसमितिले यो विषय हल गर्ने र निर्माण कम्पनीले अवरोध नगर्ने विश्वास लिएको छ ।
मेलम्चीबासी कुवाको पानीमा : लाभांशमा विवाद
मेलम्चीको पानी काठमाडौं जाने भएपछि त्यसबाट प्राप्त हुने लाभांश वितरणबारे प्रभावित समूहहरु अहिलेदेखि नै स्पष्ट हुन चाहेका छन् । जुन बिहीबार भएको उद्घाटन कार्यक्रममा पनि स्थानीय सरोकार समितिको असन्तुष्टिबाट प्रष्ट भयो ।
स्थानीयहरुले यसरी असन्तुष्टि प्रकट गर्ने काम सामान्य भएको मेलम्ची खानेपानी विकास समितिका एकजना पूर्वअधिकारीले बताए ।
ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङले मेलम्ची प्रभावितहरुले स्वच्छ खानेपानीकोे अभाव झेलिरहेको बताए । उनले आफूहरुको मुख्य माग नै स्वच्छ खानेपानी रहेको बताए ।
उनले भने– ‘समितिले आश्वासन दिएअनुसारको कार्यक्रम गरेन । भूकम्प जानुअघिसम्म अधिकांश बस्तीमा खानेपानीको बेहाल थियो । पुनःनिर्माणका लागि आएका केही संस्थाले खानेपानीको काम गरेका छन् । धेरै ठाउँमा कुवाबाट गाग्रोमा पानी बोक्नुपर्ने बाध्यता छ ।’
भिडियोमा हेर्नुहोस्, मेलम्ची–सुन्दरीजल खानेपानी सुरुङमार्ग
मेलम्ची खानेपानीको काठमाडौंसम्मको सुरुङमार्ग पूरा, सुरुङभित्रैबाट यसरी गरियो सिन्धु–ग्याल्थुङ खण्डको ब्रेक थ्रु
प्रभावित क्षेत्रका स्थानीयबासीले प्रमुख मागका रूपमा खानेपानी आयोजनाको काम अघि बढाउनुपर्ने माग गरेका छन् भने त्यसपछि शिक्षा, स्वास्थ्य, आयआर्जनको कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
समितिका अध्यक्ष तामाङले भने– ‘मेलम्ची काठमाडौं लगेपछि यहाँ धेरै वातावरणीय प्रभाव पर्छ, भौगोलिक अवस्था सुहाउँदो यहाँको आर्यआर्जनका लागि नयाँ प्याकेज कार्यक्रमहरु ल्याउनुप¥यो, हेलम्बु, सिन्धु, मेलम्चीमा कम्तीमा दस÷दस शय्याको अस्पताल सञ्चालन गर्नुप¥यो । मुख्य सडकभित्रका सहायक सडकहरुको पनि विस्तार गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्नुप¥यो ।’
मेलम्ची खानेपानी आयोजनाको प्रभावित क्षेत्रमा ५ वटा समिति क्रियाशील छन् । हेलम्बु सरोकार समिति, याङ्ग्री लार्के सरोकार समिति, इन्द्रावती सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति, मण्डन समाज उत्थान समिति, ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान समिति क्रियाशील छन् ।
समितिका तर्फबाट स्थानीयले पाउनुपर्ने रोयल्टीका विषयमा प्रतिवदेन तयार पारी मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयमा बुझाइसकेको अध्यक्ष तामाङले बताए ।
मेलम्ची सुरुङको ‘ब्रेक थ्रु’ भएकै दिन दुबैतर्फको सुरुङ बन्द गर्ने चेतावनी (भिडियो)
काठमाडौँलाई पानी उपहार पठाउँदामा गौरब गर्छन् मेलम्चीवासी
काठमाडौंमा अभाव रहेको पानीको पूर्तिका लागि सिन्धुपाल्चोकको मेलम्चीबाट पानी ल्याउने उद्देश्यले २०५५ सालमा मेलम्ची खानेपानी विकास समितिको स्थापना भएको थियो । सन् २०१० बाट यो आयोजनाको सुरुङ खन्न प्रारम्भ भए पनि निर्माण कम्पनीको सुस्तताका कारण आयोजनाको काममा ढिलाइ भएको थियो ।
आयोेजनाको प्रथम चरणको मुख्य भौतिक संरचना निर्माणतर्फ मेलम्ची नदीमा बाँध तथा इन्टेक, रिर्बमादेखि सुन्दरीजलसम्म २६ किलोमिटरमा मेलम्ची, याङ्री र लार्के ३ नदीबाट दैनिक ५१ करोड लिटर पानी बग्ने सुरुङ निर्माण भएको छ । यो आयोजनाको कुल लागत २ सय ८७ मिलियन अमेरिकी डलर अर्थात २७ अर्ब ७६ करोड रुपियाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी
-
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबिच प्रायोजन सम्झौता
-
रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री
-
सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
-
उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
-
स्मरण शक्तिलाई धारिलो बनाउँछन् यस्ता बानीले