शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची सुरुङको ‘ब्रेक थ्रु’ भएकै दिन दुबैतर्फको सुरुङ बन्द गर्ने चेतावनी (भिडियो)

बिहीबार, २९ चैत २०७४, २१ : २५
बिहीबार, २९ चैत २०७४

काठमाडौं–बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङ निर्माण पूरा गरी गरिएको उद्घाटन कार्यक्रममै स्थानीय समितिको तर्फबाट आयोजना प्रभावित गर्ने चेतावनी दिइएको छ । 

तेश्रो चरणमा निर्माण गरिएको साढे ७ किलोमिटर सिन्धु ग्याल्थुम खण्डको सुरुङ निर्माण सम्पन्न भएको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री विना मगरलगायतले आयोजना स्थलमा उद्घाटन गरेका थिए । 

उद्घाटन पछि मेलिम्चीस्थित कार्यालयको प्राङ्गढमा आयोजित औपचारिक कार्यक्रममा आयोजना प्रभावित समूहका तर्फबाट बोल्दै ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालक समितिका अध्यक्ष उपेन्द्र तामाङले स्थानीयको माग पूरा नगरे आयोजनाको दुबैतर्फको सुरुङ बन्द गर्ने चेतावनी दिए । 

मेलम्ची खानेपानीको काठमाडौंसम्मको सुरुङमार्ग पूरा, सुरुङभित्रैबाट यसरी गरियो सिन्धु–ग्याल्थुङ खण्डको ब्रेक थ्रु


उनले स्थानीयबासीको अधिकार पूरा नगरे ३ महिनामा त के ५ बर्षसम्म पनि काठमाडौंमा मेलम्चीको पानी जान नदिने बताए ।

काठमाडौंमा मेलम्चीको पानी लाँदा सिंचाई गर्न नपाँउने, माझी जातीको माछा मारेर गर्ने जीवनयापनमा प्रभाव पर्ने भन्दै उनले स्थानीयको समस्या समाधान गर्न आयोजनाले ध्यान नदिएको भन्दै आक्रोस ब्यक्त गरे ।


कानुन मन्त्रीको माग : दुई बर्षभित्र सिन्धुपाल्चोकभरी धारा 

कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नंबर २ का सांसद शेरबहादुर तामाङले काठमाडौंलाई सिन्धुपाल्चोकको पानी चाहिएपछि काठमाडौंले पनि सिन्धुपाल्चोकलाई हेर्नुपर्ने बताए । 

उनले आयोजना प्रभावित क्षेत्रमा विकास निर्माणका लागि मन्त्रालयले नहेरेको बताँउदै सिन्धुपाल्चोकमा आगामी २ बर्षमा खानेपानीको समस्या समाधान गर्नुपर्ने बताए । 

उनले मेलम्चीको लागि आएको विकासको पैसा दोलखा लगेको बताँउदै अब मेलम्चीको पानी काठमाडौं गएपछि शिर ठाडो पारेर उक्त क्षेत्रका लागि आयोजना माग्ने बताए । 

उनले भने–‘कुनै मन्त्रीको अगाडि योजना माग्न जाँदा कसैले शिर निहु¥याएर हैन, ठाडो पारेर जाने । म पनि त्यही गर्छु, किनभने त्यत्रो प्राकृतिक स्रोेत त हामीले काठमाडौंलाई दिएकै छौँ नि ।’

मन्त्री तामाङले उपहार स्वरुपमा मेलम्ची काठमाडौलाई दिएको बताँउदै भने–‘काठमाडौंलाई सिन्धुपाल्चोकको पानी खुवाइसकेपछि सिन्धुपाल्चोकको जनताको खानेपानीको समस्या दुई बर्षपछि हल हुनुपर्छ । अब दुई बर्षभित्र एउटा कार्यक्रम आयोजना गर्छौँ, त्यतिबेला खानेपानीको समस्या समाधान हुनुपर्छ । खानेपानी मन्त्री यही हुनुहुन्छ, नत्र स्थानीयले मन त दुखाइहाल्छन नि ।’

मन्त्री तामाङले स्थानीय प्राकृतिक स्रोत साधनमा स्थानीय जनताको हक संविधानमै उल्लेख भएको बताँउदै कानुनमा राष्ट्रिय गौरबका आयोजनामा स्थानीयको प्राकृतिक स्रोत प्रयोगबापत २५ प्रतिशत रोयल्टी सुनिश्चित गर्ने कानुन निर्माण गर्न लागेको पनि जानकारी दिए । 

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले सुरुङमार्ग पूरा हुँदा आफूले मात्र नभई यसको निर्माणमा जुटेको सिंङ्गो टिमले गौरबको महशुस गरेको बताँउदै काठमाडौंबासीको मेलम्ची खानेपानीको सपना पूरा हुन लागेको बताँइन् । 

उनले स्थानीयका समस्या र स्थानीयले पाउने रोयल्टीका बारेमा ठूलो समस्या नभएको बताइन् । 

सोही क्षेत्रमा सांसद शेरबहादुर तामाङ नै कानुनमन्त्री भएकोले यसबारेमा समस्या सहजै हल हुने उनको भनाई थियो । स्थानीयको मागलाई उपलब्धीमुलक ढंगले ससम्मान बिधी बिधानको तरिकाले समाधान गर्ने बताइन् । 

मेलम्ची खानेपानी आयोजनाको अवलोकन तथा ब्रेक थ्रु कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री बिना मगर, मन्त्रालयका सचिव कृष्णराज बिसी, एसियाली विकास बैंकका निर्देशक हुम किन, परियोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा, निर्माण कम्पनी लगायतको सहभागिता रहेको थियो ।    


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप