शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियोमा हेर्नुहोस्, मेलम्ची–सुन्दरीजल खानेपानी सुरुङमार्ग

आइतबार, ०२ वैशाख २०७५, १२ : ३०
आइतबार, ०२ वैशाख २०७५

काठमाडौं–बहुप्रतीक्षित काठमाडौं सुन्दरीजल–मेलम्ची २६ किलोमिटर सुरुङमार्ग निर्माणको काम सम्पन्न भएको छ ।

अब सुरुङमार्गभित्र प्लास्टरलगायतका काम गर्न बाँकी छ ।

 गत बिहीबार साढे ७ किलोमिटर लामो सिन्धु–ग्याल्थुम अडिटस्थित सुरुङ मेलम्चीको अम्बाधानबाट बनाउँदै आएको सुरुङ र सिन्धु थकनीबाट बनाउँदै गएको सुरुङमार्ग एक आपसमा जोडिएका थिए । सो अवसरमा गाडीबाट सुरुङभित्र ब्रेक थ्रु भएको स्थानमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा खानेपानी मन्त्री बिना मगरलगायतले उद्घाटन गरेका थिए ।

यस्तो छ सुरुङमार्ग

सन् २०१० जुनबाट ३ चरणमा यो सुरुङमार्ग निर्माण सुरु भएको थियो । काठमाडौंको सुन्दरीजलदेखि मेलम्चीसम्म २६ किलोमिटर रहेको यो मार्ग झन्डै सात वर्ष लगाएर दुईवटा निर्माण कम्पनीले यसलाई पूरा गरेका हुन् । सुरुङमार्गको क्षेत्र साढे ३ मिटर चौडाइ, ४ मिटर उचाइ र १२ स्क्वायर मिटर एरिया रहेको मेलम्ची खानेपानी विकास समितिका उप कार्यकारी निर्देशक भोजविक्रम थापाले जानकारी दिए । यो सुरुङमार्ग भरी पानी बहँदा १२ क्युविक मिटर प्रतिसेकेन्ड अर्थात १ अरब १० करोड लिटर पानी प्रतिदिन अट्ने क्षमता रहेको थापाको भनाइ छ ।

यो मार्गबाट मेलम्ची, याङ्ग्री र लार्के गरेर दैनिक सत्र सत्र करोड लिटरका दरले ५१ करोड लिटर पानी काठमाडौं ल्याउने लक्ष्य राखिएको छ । सुरुङमार्ग निर्माणको काम सकिए पनि अब ३ वटा एडिटमा पानी थुन्ने गेट, हेडबक्र्सको मुख्य संरचना, सुरुङको फाइनल फिनिसिङ अर्थात सतहमा ढलान तथा प्लास्टरका काम गर्न बाँकी छ ।  

यो दक्षिण एसियाकै खानेपानी आयोेजनाको लामो सुरुङमार्ग रहेको उपकार्यकारी निर्देशक थापाले बताए । उच्च पहाडी क्षेत्र तथा कडा चट्टान भएको स्थलमा निर्माण भएको यो सुरुङमार्गमा ढलान र प्लास्टर गरिसकेपछि पानी बगाउने बाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न सकिँदैन् । गाडी गुड्ने सुरुङमार्ग भन्दा यो केही सानो छ तर साना सवारी साधन एकतर्फी रूपमा मज्जाले गुडाउन सकिन्छ । सुरुङको ठाउँठाउँमा गाडीलाई साइड दिनका लागि फराकिलो ठाउँ पनि बनाइएको छ ।  

मेलम्ची खानेपानीको काठमाडौंसम्मको सुरुङमार्ग पूरा, सुरुङभित्रैबाट यसरी गरियो सिन्धु–ग्याल्थुङ खण्डको ब्रेक थ्रु

सन् २००८ मा नेपाल सरकारबाट दातृ निकाय एसियाली विकास बैङ्कको सर्तअनुसार पुनर्संरचना गरेपछि हेडवक्र्स तथा सुरुङ निर्माण कार्यको खरिद प्रक्रियाको सहमति भएर आयोजनाको मुख्य कार्य निर्माण सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी सीआरसीसीले आयोजनाको ठेक्का पाएर सन् २०१० जुनदेखि काम सुरु गरे पनि ३ वर्षमा जम्मा साढे ६ किलोमिटर मात्र सुरुङ खनेकाले काममा ढिला गरेपछि सेप्टेम्बर २०१२ मा सो कम्पनीसँग ठेक्का रद्द गरिएको थियो ।

मेलम्ची सुरुङको ‘ब्रेक थ्रु’ भएकै दिन दुबैतर्फको सुरुङ बन्द गर्ने चेतावनी (भिडियो)

बाँकी निर्माणका लागि सन् २०१३ जुलाईमा इटलीको निर्माण कम्पनी सीएमसी दि रेभेन्नासँग सम्झौता भएको थियो । सो कम्पनीले सन् २०१४ बाट निर्माण कार्य सुरु गरेको थियो । भूकम्प र नाकाबन्दीका कारण सुरुङमार्ग निर्माणमा अवरोध आएको थियो ।

काठमाडौँलाई पानी उपहार पठाउँदामा गौरब गर्छन् मेलम्चीवासी

सन् २०१६ मा सुन्दरीजल–सिन्धु ९ दशमलव ४ किलोमिटर खण्ड ब्रेक थ्रु भएको थियो । सन् २०१७ डिसेम्बरमा ग्याल्थुम–अम्बाथान खण्डको ८ दशमलव २ किलोमिटर ब्रेक थ्रु भएको थियो भने गत बिहीबार सिन्धु–ग्याल्थुम खण्डको ७ दशमलव ५ किलोमिटर ब्रेक थ्रु भएको हो ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार हालसम्म निर्माण सम्झौताको ८४ प्रतिशत भौतिक प्रगति र ८० प्रतिशत बित्तीय प्रगति भएको छ ।

हेनुहोस् भिडियोमा सुन्दरीजल–मेलम्ची सुरुङमार्ग


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप