गोठाटार गोलीकाण्ड : नेपालमा ‘रअ’ भर्सेस ‘आईएसआई’ शृङ्खलाको अर्को कडी

काठमाडौँ । काठमाडौँको गोठाटारमा हत्या गरिएका सर्लाहीका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या पुराना ‘जाली नोट कारोबारी’ हत्यासँग मिल्दोजुल्दो देखिएको छ । नेपालमा भारतीय जाली रुपैयाँ कारोबार गर्नेहरूलाई भारतीय खुफिया एजेन्सी रअ (रिसर्च एण्ड एनालाइसिस विङ) ले बब्लु श्रीवास्तवलाई प्रयोग गरेर सफाया गर्ने गरेको पुराना घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । नोट कारोबारी सफाया गर्ने मध्येका भारतीय अन्डरवर्ल्डमा रहेका बब्लु श्रीवास्तव अहिले जेलमा छन् ।
उनी गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ चलाएर बसेका थिए । लाल मोहम्मद अहिलेसम्म जाली नोट सहित भेटिएका छैनन् । तर, जाली नोट कारोबारमा ‘दुस्मनी’ भएपछि २०६४ असार २० मा काठमाडौँको अनामनगर स्थित धोवीखोलामा बाराका बलराम पटुवालाई गोली हानेका थिए । लाल मोहम्मदले हानेको गोलीबाट पटुवाको मृत्यु भयो । सो घटनामा प्रहरीले लाल मोहम्मद र पप्पु गुप्तालाई पक्राउ गरेर मुद्दा चलायो । पटुवालाई गोली हानेको आरोप लागेका मुन्ना खान भनिने इल्ताफ हुसेन अन्सारी २०६६ मा पक्राउ परे । इल्ताफकै योजनामा लाल मोहम्मदले गोली हानेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।
लाल मोहम्मदको हत्यालाई जाली नोट कारोबारमा देखिएका पुराना हत्या शृङ्खलासँग जोडेर अनुसन्धान गर्नुपर्ने पूर्व प्रहरी अधिकारीहरू बताउँछन् । नेपालमा बसेर भारतीय जाली नोटको कारोबार सुरु गर्ने व्यक्ति हुन्, पूर्वमन्त्री मिर्जा दिलसाद बेग । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद र मन्त्री बनेका बेग १५ असार २०५५ मा सिफलमा मारिए । पाकिस्तानका दाउद इब्राहिमका लागि काम गर्ने गरेको आशंकामा उनलाई भारतीय अण्डरवर्ल्ड छोटा राजन समूहले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मिर्जामाथि भएको ‘गोली काण्ड’ छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक समितिले पनि उनको हत्यामा छोटा राजन समूहकै हात रहेको प्रतिवेदन सरकारलाई बुझायो । सुरुमा दाउदसँग मिलेका उनी पछि छोटा राजनसँग पनि मिलेर ‘डबल क्रस’को सुइँको पाएपछि राजन समूहले उनलाई गोली हानेको त्यसबारे जानकार प्रहरी अधिकारीहरू बताउँछन् ।
नेपालमा बसेर भारतीय जाली नोटको कारोबार गर्नेहरू एकपछि अर्को मारिँदै आएका छन् । इश्लामी संघका महासचिव फैजान अहमदलाई २०६८ असोजमा भारतबाट आएका सुटरले हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । २०७५ असोजमा सुनसरीमा रैयाब बोर्डिङ स्कुल सञ्चालक खुर्सिद अन्सारीको हत्या भएको थियो । सो हत्यामा पनि भारतबाट आएका सुटरको हात रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
२०६६ माघ २४ मा लाजिम्पाट स्थित फ्रान्सेली दूतावास अगाडी सञ्चार उद्यमी जमिम शाहको हत्या भयो । आतङ्कवादी गतिविधि र नक्कली नोट कारोबारमा संलग्न रहेको आरोपमा भारतबाट आएका सुटरले हत्या गरेर भागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जमिम हत्यामा संलग्न सुटर अझै पक्राउ परेका छैनन् ।
ती घटनासँग लाल मोहम्मदको घटना मिल्दोजुल्दो देखिएको एकजना उच्च प्रहरी अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने–‘पाकिस्तानी गुप्तचर आईएसआईसँग निकट रहेको आशङ्कामा भारतीय पक्षबाट योजनाबद्ध गोली प्रहार भएको आँकलन गरेका छौँ ।’
भारतीय अन्डरवर्ल्ड बब्लु श्रीवास्तव समूहका ‘बब्बु’ भनिने त्रिलोक सिंह उर्फ दीपक शाहीले पछिल्लो समय भारतीय एजेन्सीको इशारामा नेपालमा जाली नोट कारोबारीलाई निशाना बनाउने गरेका छन् । लाल मोहम्मद पनि कतै ‘बब्बु’को निशानामा त परेनन् ?
पक्राउ नै पर्दैनन् सुटर
भारतीय जाली नोट कारोबारी युनुस अन्सारीमाथि भारतीय सुटरले केन्द्रीय कारागारमै गोली प्रहार गरे । जसजित सिंह मनिने मनमित सिंह भाटियाले २६ फागुन २०६७ मा अन्सारीलाई गोली हानेका हुन । सो घटनाबाट बाँच्न सफल भएका युनुस त्यसपछि जेलबाहिर बस्न चाहँदैनन् । उनी आफैँ गिरफ्तारी दिँदै आएका छन् ।
मनमिन सिंह अहिले डिल्लीबजार कारागारमा छन् । जाली नोट कारोबारमा संलग्नलाई सफाया गर्न आउने भारतीय सार्पसुटर मनमित बाहेक अरु अहिलेसम्म पक्राउ परेका छैनन् । जाली नोट करोबार गरेको आशङ्कामा अब्दुल मजिद मनिहार, महमुद आलम, जमिम शाह, फैजान अहमद, सौकद अली, कमल नेपाली, खुर्सिद अन्सारी लगायत मारिएका छन् । रअ (रिसर्च एण्ड एनालाइसिसि विङ’को ग्रिन सिग्नल लिएर भारतीय आपराधिक समूहले नोट कारोबारीको हत्या गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
सरकारी एजेन्सीका लागी काम गर्दा भारतीय अन्डरवर्ल्ड बब्लु श्रीवास्तव, छोटा राजन र ‘बब्बु’ भनिने त्रिलोक सिंह उर्फ दीपक शाहीका पुराना घटना ओपन हुँदैन् । ‘सुरक्षित हुन र प्रहरीले देखेपनि नपक्रने सर्तमा उनीहरू नेपालमा नोट कारोबारी हत्या गर्न आउँछन्,’ हत्या शृङ्खलाबारे जानकार एकजना उच्च प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘जाली नोट कारोबारी सफाया गरेबापत भारतमा उनीहरू सुरक्षित हुने हुनाले हत्या गरेर जाने गरेको देखिन्छ ।’
‘बब्बु’ भनिने त्रिलोक सिंह उर्फ दीपक शाही जमिम शाहलाई हत्या गर्ने बेला काठमाडौँ आएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । तर, अहिलेसम्म उनलाई नेपाल प्रहरीले ल्याउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
-
अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट