ऋषिपञ्चमीको रहस्य : स्त्रीले कुकुर्नी भई जन्मने चिन्ता गर्ने कि ज्ञानतर्फ अग्रसर हुने ?
भक्तपुरको दुवाकोटमा बस्दै आएकी जुनु घिमिरेले १० वर्षको उमेरदेखि तीजमा व्रत बस्न थालेकी हुन् । धनकुटा माइत भएकी ४० वर्षीया घिमिरेले सानैदेखि घरमा आमा, हजुरआमा, बडीआमाहरू, दिदीहरू व्रत बसेको देखिन् । ‘यसपालि पनि म तीजको निर्जल व्रत बसेँ,’ उनले बुधबार फेसबुक म्यासेन्जरमा भनिन्, ‘पतिको आयु लामो होस् भनेर होइन कि आमा, हजुरआमाले सिकाएको संस्कार कायम राख्न अनि मेरो छोरीले पनि यहीँ सिकून् भनेर ।’
ऋषिपञ्चमीको दिन विभिन्न स्थानबाट ल्याइएको माटोले शरीरलाई तीन सय ६५ पटक सफा गर्ने, दतिवनले दाँत माझ्ने, दतिवनको पातले शरीर सफा गर्ने र दिउँसो घरमा पुरोहित बोलाएर पूजा लगाउने गर्दै आएको उनी बताउँछिन् । साहित्यकार मन्दिरा मधुश्री आठ वर्षको उमेरमा पहिलोपटक तीजको व्रत बसेकी थिइन् । उनकी आमा ठूलो एकादशी, कृष्णजन्माष्टमी, तीज, राम नवमी आदिमा व्रत बस्थिन् । ‘आमाले हामीलाई पनि व्रत बस्नुपर्छ भन्नुहुन्थ्यो । हामी लहैलहैमा व्रत बस्थ्यौँ । प्रायः सबै व्रत निराहार हुन्थे,’ भोजपुरमा जन्मेकी र हाल ललितपुरको धोबिघाटमा बस्दै आएकी मन्दिराले बुधबार फेसबुक म्यासेन्जरमा भनिन्, ‘हामी केटाकेटीलाई भने फलाहारको छुट हुन्थ्यो । त्यतिबेला छोरी वा महिलाले तीजको व्रत अनिवार्य बस्नुपर्छ भन्ने मान्यता थियो । आमाले हामीलाई यही भन्नुभयो । सुरुमा म आफ्नो बुद्धि र विवेकले व्रत बसेकी थिइनँ । व्रतका फाइदा र हानिका बारेमा मलाई थाहा थिएन ।’
उनी पहिलोपटक व्रत बसेका बेला उनकी आमा गाई गोठालो गएकी थिइन् । उनलाई भोकले सताउन थाल्यो । त्यही बेला उनका दाइ र दिदी पनि काम विशेषले घरबाहिर निस्केका थिए । ‘कोही नभएको मौकामा मैले बारीमा फलेको कलिलो काँक्रो टिपेर खाएँ,’ उनी भन्छिन्, ‘त्यसपछि म लगातार व्रत बसेँ । मुख सुकेर प्याकप्याक हुन्थ्यो, मैले पानी पनि खान्नथेँ । भोलिपल्ट अगस्तिको पूजा लाएर अघ्र्य दिएर मात्रै खान पाइन्थ्यो । अहिले त म धर्मको नाउँमा व्रत बस्दिनँ । व्रत बसेर धर्म हुन्छ भन्नेमा विश्वास लाग्दैन ।’
जवाफमा कृष्ण भन्छन्, ‘रजस्वला भएका बेला अज्ञान वा ज्ञानपूर्वक जो स्त्रीले गृहकर्म गरिन् वा भाँडावर्तन आदिलाई स्पर्श गरिन् भने उनलाई महापाप लाग्छ । रजस्वला हुनेबित्तिकै चारै वर्णका स्त्रीलाई पर सार्नू ।’
तीजमा व्रत बसेर पनि आफूहरूले दिनभरि एक सय आठ जातका फूल खोजेर ल्याउने र बेलुका पूजामा प्रयोग गर्ने गरेको उनी बताउँछिन् । यसपटक ससुराबुवाको बर्खी भएकाले पूजापाठ गर्न नहुने भएकाले उनले ऋषिपञ्चमीको व्रत विधि अनुसार बस्न पाइनन् ।
जुनु र मन्दिराजस्तै व्रत बस्ने चेली–आमाहरू हामीकहाँ थुप्रै छन् । उनीहरू अधिकांशले आमाहरूबाटै व्रत बस्न सिकेका हुन् । हाम्रा हरेक धार्मिक अनुष्ठानको पिँधमा कुनै न कुनै कथा जोडिएर आएका हुन्छन् ।
व्रतबारे पौराणिक कथा
ऋषिपञ्चमीको व्रत सम्बन्धमा भविष्य पुराणमा केही कथा छन् । कुरुराज युधिष्ठिर (महाभारतका पात्र)लाई कृष्णले सुनाएको एउटा कथा भन्छ :
युधिष्ठिरले सोध्छन्– भगवन् ! कसरी ऋषिपञ्चमी भन्ने नाउँ रह्यो । कस्तो प्रकारले पापदेखि नारीहरू मोक्ष हुन्छन्, पाप पनि संसारमा अनेक तरहका छन् !’
जवाफमा कृष्ण भन्छन्, ‘रजस्वला भएका बेला अज्ञान वा ज्ञानपूर्वक जो स्त्रीले गृहकर्म गरिन् वा भाँडावर्तन आदिलाई स्पर्श गरिन् भने उनलाई महापाप लाग्छ । रजस्वला हुनेबित्तिकै चारै वर्णका स्त्रीलाई पर सार्नू ।
ब्रह्माको आज्ञा छ कि चारै वर्णले सर्वदा रजस्वला भएकी स्त्रीलाई चार दिनसम्म त्याज्य गर्नू । किनकि रजस्वला भएको पहिलो दिन स्त्रीहरू चाण्डाली समान, दोस्रो दिनमा ब्रह्मघातिनी अर्थात् ब्राह्मणलाई मार्ने समान, तेस्रो दिन रजकी अर्थात् धोबिनी समान हुन्छन् । चौथो दिन ज्ञान वा अज्ञानले संसर्ग गर्नु पाप हुन्छ । यी पापलाई नाश गर्न र सम्पूर्ण उपद्रव दूर गर्न ऋषिपञ्चमीको व्रत गर्नु योग्य छ । ब्राह्मण, क्षत्रीय, वैश्य शूद्र– सबै स्त्रीले विशेषपूर्वक यो व्रत गर्नू ।
रजस्वला भएकी स्त्रीले नबार्दा के भयो र त्यसबाट मोक्षका लागि के गर्नुपर्छ भन्ने सम्बन्धमा कृष्ण अर्को कथा सुनाउँछन् । कथा भन्छ :
सत्य युगमा विदर्भ नामक नगरीमा श्येनजित नाम गरेका राजा थिए । उनको दरबारका सुमित्र नाम गरेका ब्राह्मण खेती गरेर कुटुम्बको परिपालन गर्दथे । तिनकी पत्नी जयश्री पतिव्रता र पतिको सुश्रुषा गर्नमा रत भएकी थिइन् । सधैँ घरधन्दा र खेतीपातीकै काममा लाग्दा जयश्रीलाई सास फेर्ने फुर्सद मिल्दैनथ्यो । एक दिन जयश्री रजस्वला भइन् । तैपनि उनले गृह कर्म गरिन्, भाँडावर्तन सबैको स्पर्श गरिन् । त्यसपछि कालका वशले जयश्रीको मृत्यु हुन्छ । उनीसँगको संसर्गमा रहेकाले उनका पति सुमित्रको पनि मृत्यु भयो । यिनीहरूले आफ्नै घरमा पुनर्जन्म पाउँछन् । जयश्री कुकुर्नी भएर जन्मिन्, सुमित्र गोरु भएर । यी दुवैलाई आफ्नो पूर्वजन्मको सम्झना हुन्छ ।
कुकुर्नी भएर जन्मेकाले जयश्रीले घरघरमा गएर जुठेल्नामा मिल्काएको खानेकुरा खाने गर्थिन् । गोरु भएर जन्मेकाले सुमित्रले नित्य जोत्नुपथ्र्यो ।
सुमित्रका छोरा सुमति बडा धर्मज्ञ थिए । पितृको सुश्रुषा गर्न र अतिथिको पूजा गर्न उनी चुक्दैनथे । उनले बाबुको एकोद्दिष्ट श्राद्ध गर्ने दिन आयो । उनले आफ्नी भार्या चन्द्रावतीलाई भने– हे चारुहासिनी (सुन्दर हाँसो भएकी) ! आज पिताको एकोद्दिष्ट श्राद्धको दिन हो । मैले ब्राह्मण भोजन गराउनुपर्छ । बढिया तवरसँग तरह वितरहका पाक्य बनाऊ । पतिको आज्ञाबमोजिम उनले अनेक प्रकारका मिष्टान्न तयार गरिन् । सोही बखतमा पायस (खीर)का भाँडामा सर्पले विष हालिदियो । बाहिर ढुकेर बसेकी कुकुर्नीले देखेर भाँडा छोई बिटुलो पारिदिई । ब्राह्मणले खाए भने अवश्य मर्नेछन् भन्ने उसलाई चिन्ता भएको थियो । भान्सा छोएको रिसमा चन्द्रावतीले कुकुर्नीलाई अगुल्टाले हान्दिभइन् । कुकुर्नी कराउँदै घरबाहिर निस्की । पुनः भोजन तयार गरेर यत्नपूर्वक श्राद्ध गरी उनीहरूले ब्राह्मणलाई भोजन गराए ।
कुकुर्नी बाहिर बसेकी थिई तर भान्सा छोइदिएको रिसले कसैले उसलाई जुठो खानेकुरा दिएनन् । त्यस दिन ऊ भोकैपरी ।
रात परेपछि भोकले पीडित कुकुर्नी आफ्ना पूर्वपति (गोरु)को समीपमा गई बिलौना गरी– ‘हे नाथ ! हे स्वामिन् ! आज मलाई एक गाँस खाना दिएनन्, जुठो टपरी चाट्न पनि पाइनँ । मलाई क्षुधा (भोक)ले अत्यन्त व्याकुल पार्यो । अघिअघि त त्यो छोराले दिनदिनै खान दिन्थ्यो, आज जुठो पनि दिएन ।’ छोराले आफूलाई खान नदिनुको कारण अर्थात् भान्सा छोएको घटना समेत उसले सुनाई ।
त्यसपछि गोरु बोल्यो– हे भद्रे, हे कल्याणी ! म कसो गरुँ ? तिम्रा लागि केही गर्न सक्दिनँ । आज मैले दिनभर पुत्रका खेतमा जोत्नुपर्यो । यताउताको केही खान्छ भनेर मेरो मुखमा मोहोलो बाँधेका थिए । म पनि क्षुधाले अत्यन्त पीडित छु । त्यो छोराले श्राद्ध गर्नु व्यर्थ छ, किनकि आज मलाई यस्तो कष्ट भइरहेछ ।’
कुकुर्नी र गोरुबीच संवाद भएको सुमतिले सुन्न पुग्छन् । उनले मिष्ठान्न भोजन तयार गरी उनीहरूलाई खान दिए ।
तहाँ उप्रान्त सुमति सप्तऋषिहरूलाई भेट्न उनी वनमा गए । नित्य वनमा बस्ने ज्ञानी सप्तऋषिहरूलाई दण्डवत गरेर उनले आफ्ना मातापिताका हितका बारेमा सोधे ।
हे ब्रह्मर्षीय, हे तपोधनाः ! कुन कर्मका पापले मेरा मातापितालाई यो अवस्था प्राप्त भयो ? अब मैले के गर्नाले त्यो पापदेखि मोक्ष हुन्छन् ?
ऋषिहरू भन्छन्– हे विप्र ! तिम्री आमाले पहिले बालभाव अर्थात् मूर्खताले रजस्वला भएको थाहा भएर पनि वारण गरिनन् । सोही कारण उनी कुकुर्नी भइन् । तिम्रा बाबु पत्नीको स्पर्शदोषले गोरु भएका हुन् । अब यिनीहरूलाई यस योनिदेखि मुक्त गराउन तिमी र तिम्री ब्राह्मणीले ऋषिपञ्चमीको व्रत गरेर यत्नपूर्वक ऋषिहरूको पूजा गर्नुपर्छ । हे द्विजोत्तम ! सात वर्षसम्म यो व्रत तिमीले गर, अन्त्यमा वित्तअनुसार उद्यापान गर । खेती नगरीकन आफैँ उब्जाउ हुने मात्र खानू । जोतेर छर्नुपर्ने केही नखानू ।
भाद्र महिनाको शुक्ल पक्षका पञ्चमीका दिन मध्याह्न कालमा नदीहरू अथवा निर्मल जल भएको तलाउमा गई पहिले मन्त्र पढेर अपामार्गले दन्तधावन (दाँत सफा) गर्नू । ‘आयुर्बलं’ मंत्रले अपामार्गको प्रार्थना गरेपछि दन्त धावन गर्नू । तहाँ उप्रान्त शुद्ध वस्त्र धारण गरेर अरुन्धतीसहित सप्तऋषिको पूजा गर । पूजा र मन्त्रका प्रभावले रजस्वला स्पर्श दोषदेखि मोक्ष मिल्छ । यसमा कुनै सन्देह छैन ।
पहिले मानिससँग विज्ञान थिएन । के कारणले कस्ता रोग लाग्छन् भन्ने थाहा पाउनै हाम्रा पुर्खालाई अनेक अनुसन्धान र प्रयोग गर्नुपथ्र्यो । आफूले पत्ता लगाउन र सजिलै बुझ्न नसक्ने विषयलाई हाम्रा पुर्खाले दैवी वा अलौकिक शक्तिसँग जोड्न पुगे । दैवी र अलौकिक शक्तिकै कल्पनामा धर्म बन्यो ।
सप्तऋषिका सल्लाहअनुरूप सुमति दम्पतीले श्रद्धापूर्वक र विधिपूर्वक व्रत गरे । व्रतका पुण्यले सुमतिकी आमा कुकुर्नी योनिदेखि मुक्त भई श्रेष्ठ विमानमा बसेर दिव्य आभूषणमा सजिएर स्वर्ग गइन् । तिनका बाबु पनि पशु योनिदेखि छुटेर स्वर्ग गए ।
यो कथा ‘ऋषिपञ्चमी कथा (पुराण)’ लेखिएको बनारसबाट प्रकाशित पुस्तकबाट लिइएको हो । पुुस्तकमा पण्डित विश्वराज शर्माको नाम उल्लेख छ । पुस्तकको अन्त्यमा लेखिएको छ, ‘इतिश्रीभविष्योत्तरपुराणेऋषिपञ्चमीव«तकथासमाप्त ।’
काल्पनिक कथा र समाज
उपरोक्त कथामा पुनर्जन्म, पाप र मोक्षका कुरा आएका छन् । किन ? रजस्वला बार्नका लागि । अझै पनि धेरैले तर्क गर्छन्– रजस्वला भएका बेला दूषित रगत निस्कन्छ, जसले स्वास्थ्यमा हानि पुर्याउन सक्छ, त्यसैले महिलालाई रजस्वला बार्नुपर्ने नियम ल्याइएको हो । अर्को पनि तर्क सुनिन्छ, यो बेला महिलासँग संसर्ग गर्नु हुँदैन, त्यसैले अछुत बनाएर अलग राखिएको हो ।
यसो हो भने रजस्वला भएकी स्त्रीलाई सफासुग्घर बनाई अझ सुरक्षित किसिमले मिठोमसिनो खान दिएर राख्नुपर्ने हो । देवताको पूजा–आराधना गर्न लगाउनुपर्ने हो !
पहिले मानिससँग विज्ञान थिएन । के कारणले कस्ता रोग लाग्छन् भन्ने थाहा पाउनै हाम्रा पुर्खालाई अनेक अनुसन्धान र प्रयोग गर्नुपथ्र्यो । आफूले पत्ता लगाउन र सजिलै बुझ्न नसक्ने विषयलाई हाम्रा पुर्खाले दैवी वा अलौकिक शक्तिसँग जोड्न पुगे । दैवी र अलौकिक शक्तिकै कल्पनामा धर्म बन्यो । समाजमा मानिसलाई बाँधेर राख्न धार्मिक नियम बनाउन थालियो । हिन्दू समाजमा विशेषतः धर्म र सत्ता चलाउन वर्ण व्यवस्थामा आधारित धेरै नियम बनाइए । अज्ञानतामा बाँचेका मानिसले सत्तामा रहेका मानिसका कुरा पत्याउँथे । साधारण मानिसको स्वभाव र क्षमता यस्तो हुन्छ कि उनीहरूले घटनासहितका कथा सजिलै बुझ्छन् र लामो समयसम्म सम्झन्छन् ।
उपरोक्त कथा मैले हजुरबाबाट सानैमा सुनेको थिएँ । कुकुर्नी र गोरु बोलेको अनौठो घटनाले होला, यो मेरो स्मृतिमा अहिलेसम्म रहेको छ । त्यतिबेला हजुरबाले यसलाई लोककथा जसरी सुनाउनुभएको थियो, पुराणको कथा भनेर बताउनुभएन ।
यस कथाबाट बुझिन्छ । महिलाले सत्ता वा समाजले बनाएको रजस्वस्लाको नियमलाई मान्न छाडे । त्यसैले उनीहरूलाई त्रास देखाउन पुनर्जन्ममा कुर्कुनी र गोरु भएको कथा बुनियो । आफूसँग नजिक हुन आउने र स्नेह देखाउने मानिस होस् वा जनावर– जो–कोही मानिसलाई प्रिय लाग्छ । जन्म र मृत्यु, उत्पत्ति र अन्त्यको चिन्तनबाटै हाम्रा पुर्खाले विभिन्न शास्त्र निर्माण गरेका हुन् । आफ्ना प्रिय बाआमा वा व्यक्तिको मृत्युपछि मानिस बहकियो र आफ्ना नजिकका जनावरलाई पुनर्जन्ममा जोडेर कल्पना गर्न थाल्यो । त्यसैले सुरुमा मानिसले यो कथा पत्याए । उनीहरूलाई कथा सुनाउने ऋषिहरू, पण्डितहरू वा समाजका ठूलाबडा पुरुष हुन्थे । क्रमशः मानिसका लागि व्रत परम्परागत अभ्यास बन्दै गयो । पुर्खाले गर्दै आएको कुरा कुनै न कुनै कोणबाट राम्रै होला भनेर महिलाले त्यसलाई पछ्याउँदै आएका छन् ।
अहिले मानिसले पौराणिक कथा नसुने पनि नयाँ चेतनाअनुसार विभेदलाई नियाल्न थालेका छन् । अचेल पहिलोपटक महिनावारी भएकी छोरीलाई राम्रा लुगा लगाउन दिएर झनै सम्मानका साथ राखेका घटना पनि बाहिरिएका छन् ।
विद्वान् पुरुषको पूजा
आज हाम्रा लागि नौलो होइन, घरमा कोही ठूलो पदको मानिस आउँदा हामीले उनलाई मानसम्मान दिन्छौँ, सेवासुश्रुषा गर्छौं । ठूला मानिसलाई कदर गर्नु अवश्य राम्रो हो । यद्यपि, यसमा हामीले कति विवेकको प्रयोग गर्छौं भन्ने फरक पाटो हो । हाम्रा पुर्खाले ज्ञानी पुरुषलाई सम्मान दिन सिकाएका छन् । त्यसैले हामीले गुरु पूर्णिमा, ऋषिपञ्चमीजस्ता पर्व मनाउँछौँ ।
एउटा तर्क गर्न सकिन्छ– महिलालाई गुरुकुलहरूमा पढाउने, ज्ञानी बनाउने र तर्क गर्न दिने कि ज्ञानी पुरुषको पूजा गर्न मात्रै लगाउने ? भनिन्छ, ऋग्वेदका ऋचा रचना गर्ने ऋषिमा घोषा पनि थिइन् । वेदहरूले प्रकृति वा देउताहरूको पूजा र प्रार्थनामा जोड दिएका छन्, तिनका लागि मन्त्र दिएका छन् ।
पछि वर्ण व्यवस्थाको नियम, खासगरी विवाहको नियम लाद्दै जाँदा महिलाले विद्रोह पनि गर्न थाले । उनीहरूको विद्रोहलाई मनोवैज्ञानिक रूपमा कमजोर गराउन अनेक कथाको सहारा लिइयो । ज्ञानी पुरुषलाई मान्नुपर्छ भन्ने मनोविज्ञान निर्माणका लागि नै ऋषिपञ्चमीको व्रतकथाको रचना गरिएको बुझिन्छ ।
चेतोनाथ शर्मा आचार्यको पुस्तक ‘हाम्रा धार्मिक चाडपर्व’ अनुसार, गति अर्थ भएको तुदादिगणपठित ‘ऋषी’ धातुबाट उणादि प्रत्यय भएर ऋषि शब्द बनेको हो । ‘ऋषति प्राप्नोति सर्वान् मन्त्रार्थान् ज्ञानेन संसारपारं पश्यतीति वा ऋषिः ।’ अर्थात् जसलाई वेदको मन्त्र र त्यसको अर्थ प्राप्त छ, अथवा जसलाई आफूमा भएको प्रखर ज्ञानशक्तिले संसारको ज्ञात छ, उसैलाई भनिन्छ ऋषि । उनी लेख्छन्, वायु पुराणमा ऋषि शब्दको चार अर्थ वा लक्ष्य बताइएको छ, ती हुन्– गति (ज्ञान), श्रुति, सत्य र तपस्या । यीमध्येको पहिलो गति वा ज्ञानले निरन्तरको गतिशीलता या ज्ञान मार्गमा अग्रसरता बुझाउँछ । दोस्रो श्रुतिले वेद विद्यामा उसको प्रवीणता देखाउँछ । शारीरिक, वाचनिक र मानसिक सत्यता उसको तेस्रो लक्षण हो भने तपस्वी जीवन हुनु उसको अन्तिम स्वरूप हो ।’
हिजोका हाम्रा पुर्खा र ऋषिहरुको खोज–अनुसन्धान, चिन्तनमननको जगमा आज हामी सभ्यताको यो चरणमा आइपुगेका छौँ । समाजमा ज्ञानको प्रसार र ज्ञानीको सम्मान हुनुपर्छ, तर विवेक र सामाजिक न्यायको कसीमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित