सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

पुराना तीजगीतबाट पुरानै समाज बुझौँ, नयाँ तीजगीतको विद्रोह बुझौँ ​

मङ्गलबार, १४ भदौ २०७९, १७ : ३१
मङ्गलबार, १४ भदौ २०७९

हिलैमा लाग्यो, धुलैमा लाग्यो,
शिरफूलका बीजैमा ।
नमरी बाँचे कालले साँचे, 
भेट हुम्ला तीजैमा ।

प्रस्तुत हरफले तीजलाई भेट हुने अवसर भनेको छ । र, स्त्रीले शिरमा लगाउने सुनको गहना ‘शिरफूल’लाई महत्त्व दिएको छ । 

२०२३ सालमा प्रकाशित ‘तीजका गीत’ पुस्तकमा यी हरफ संकलित छन् । कास्कीको हेम्जाका हरिबल्लभ उपाध्याय र भुवनेश्वर उपाध्यायले संकलन गरेको यस पुस्तकमा भनिएको छ, ‘लोक संस्कृतिको सेवा गर्ने उद्देश्यले यो सानो पुस्तक प्रकाशित गरिएको हो । यसको संकलन गर्न आमा, दिदीबहिनी र भाउजुहरूको सहारा लिएका हौँ ।’ पुस्तकमा अर्को हरफ छ :

झम र झम तीज आयो भन्छन्,

कमाइदेऊ राजै शिरफूल ।

तिमी त नारी काली पो रैछौ,

सुहाउँदैन शिरफूल ।

यी हरफमा पत्नीले पतिलाई शिरफूल बनाइदिन आग्रह गरेकी छन् । तर पतिले काली मान्छेलाई शिरफूल नसुहाउने कुरा गरेका छन् । यहाँ शिरफूल लगाउन पनि गोरी र राम्री हुनुपर्ने भन्ने बुझिन्छ । 

यी हरफ महिलाले नै गाएका हुन्, तर यसमा उनीहरूले रूप नभएर शिरफूल नपाएको विरह पोखेको बुझिन्छ । यस पुस्तकमा संकलित हरफहरूमा ‘शिरफूल’को प्रसंग निकै आएका छन् । अर्को हरफ भन्छ :

नाच न नाच तीजकी रानी,

भाका छोपेर गाइदिउँला ।

शिरमा सुनको शिरफूल रानीलाई,

कानमा कुण्डल लाइदिउँला ।

यहाँ यो बुझिन्छ कि यी हरफ गाउने आमा वा भाउजूहरू हुन् । उनीहरूले छोरी वा नन्दलाई नाच्नका लागि उक्साएका वा शिरफूलले लोभ्याएका छन् । अर्को, हरफ भन्छ : 

शिरको शिरफूल ओछेनीमा खसेछ,

मनले थैथै सौतानीले पाई ।

यी हरफमा आफ्नो शिरफूल सौतेनीले पाएकामा मन दुखाएको बुझिन्छ । यसले बहुविवाहको पीडातर्फ पनि संकेत गरेको छ । जबदेखि मानिसले सुनलाई सम्पत्तिको रूपमा मान्यो, तबदेखि आफन्तलाई यो दिएर चित्त खुसी बनाउनु सामान्य रहँदै आयो । अंश र वंशको हक नभएका महिलालाई सुन दाइजोको रूपमा दिएर वा मागेर विवाह गर्ने पुरुषवादको प्रवृत्ति पनि हुँदै आयो ।

शिरैमा लाउने शिरको शिरफूल,

पाउमा लाउने जामा बरिलै ।

घरमा छैनन् मयालु सासु,

माइतमा छैनन् आमा बरिलै ।

प्रस्तुत हरफमा माइतीमा आमा गुमाएकी चेलीले मायालु सासु नभएको बिलौना गरेकी छन् । अर्का हरफ छन्, जसमा सासुले बुहारीलाई माइती बिर्साउने कुरा गर्छिन् :

ससुरा दिन्छन् लाउन म दिन्छु खान,

कठैबरी बहु माइत बिर्साउँला । 

बुहारीले भन्छिन् :

खटियामा सुतेकी कोपरीमा थुकेकी,

कैले सक्थ्यौ मेरी बजै माइत बिर्साउन । 

यी हरफमा बिरामी सासुको अवस्था वा अल्छी सासुप्रतिको व्यंग्य आएका हुन्, यसै भन्न सकिँदैन । 

गण्डकी पारि नदिए बाबा,

हामीलाई लिन को जाला ?

अष्टमीको खाजा जेठी भाउजू खालिन्,

तीजको खाजा को खाला ?

उपरोक्त हरफमा विवाह हुन लागेकी छोरीको आग्रह र इर्ष्या पाइन्छ । उनले बाबालाई टाढा गण्डकीपारि नदिन भनेकी छन् । त्यसो भए आफू आउन नपाउने, अष्टमीको खाजा (घिउमा पकाएको भात) भाउजूले खाइदिने र भाउजू पनि तीजको दिन माइत जानेतर्फ यी हरफले संकेत गरेका छन् ।

जेठा र बाका सातवटी छोरी

वरि र परि अटाए ।

हामरा बाकी म यौटी छोरी

सातै र डाँडा कटाए । 

यी हरफमा धेरै टाढा विवाह गरेर दिएकी चेलीको वेदना छ । अहिलेजस्तो यातायातको सुविधा नभएका बेला टाढा विवाह गरेर दिएका चेलीलाई माइत जान–आउन गाह्रो हुन्थ्यो । घरमा ठाकठुक पर्दा माइतीमा दुःख बिसाउन जान वा माइतीको अत्यास लागिहाले यसो माइतीको आँगन टेक्ने चेली चाहना वा मनोविज्ञान यी हरफमा आएको प्रतीत हुन्छ । 

टाढै दिए पनि दुःखका बाबजुद बुवाको मायाले आएकी छोरीले भन्छिन्–

आँगनीमा सिमली पर्‍यो 

सुन्तलीका छायाले ।

सातै र डाँडा काटेर आएँ,

बाबा तिम्रा मायाले ।

यस्तै अर्को हरफ छ :

लिपी र लापी बाबाको आँगनी,

छिर्करी मारी खेलौँला ।

छिर्करी मारी खेलने चेलीको, 

शिरमा छैन शिरफूल । 

शिरको शिरफूल भाग्य भए लाउँला,

खेली रहन कहाँ पाउँला ।

यी हरफमा गहिरो वेदना लुकेको बुझिन्छ । माइत आएकी चेलीले बाबाकै आँगन लिपेर रमाउने कुरा गर्छिन् । तर उनलाई शिरफूल नपाएको दुःख पनि छ । यी हरफमा माइतीबाट दाइजोमा गहना नपाएको वेदना चेलीले व्यक्त गरेकी छन् । 

शिरैको शिरफूल बैनीलाई सुहायो

माइती राजै हो !

बहिनीलाई दिउँ दूरदेश ।

प्रस्तुत हरफले बहिनीलाई टाढा बिहे गरेर पठाउन शिरफूल अगाडि सारिएको छ, अर्थात् लोभ्याइएको छ । हुन सक्छ, यी हरफ त्यस्ती चेलीको मर्म हो, जसलाई शिरफूल दिई फकाएर टाढा विवाह गरेर पठाइएको थियो ।

दही खायो मोही खायो कञ्चन भयो देही,

राम जति पियारो छैन मेरो कोही ।

प्रस्तुत हरफबाट लाउन–खान दिने वा पुर्‍याउने पतिसँग पत्नी सन्तुष्ट भएको बुझिन्छ । दही–मोहीले देह कञ्चन भएको र पतिलाई भगवान् मानेको यी हरफमा आएका छन् । अर्कोतिर, यसले भगवानलाई मान्ने र व्रत बस्नेतिर पनि संंकेत गर्छ । 

चूडामणि बन्धुको पुस्तक ‘नेपाली लोकसाहित्य’ अनुसार, तीजका गीतहरू पहाडी क्षेत्रका नारीहरूको सामाजिक इतिहासका सूत्रहरू हुन् । ‘यी गीतमा बालविवाह र अनमेल विवाहले ल्याएका समस्याहरू, सासुको प्रताडना र थिचोमिचोले जन्माएका पीडाहरू, संस्कारगत र सामाजिक विधिले दिएका दुःख र दर्दलाई अभिव्यक्त गरिएको हुन्छ ।’

हरितालिकाको अर्थ

भाद्र शुक्ल तृतीयाका दिनमा पर्ने महिला विशेष पर्व तीजलाई हरितालिका पनि भनिन्छ । हरितालिका शब्दले हरिएकी वा हरण भएकी पार्वतीलाई बुझाउने कथा पाइन्छन् । भविष्य पुराणमा तीज व्रतलाई ‘हरितालिका व्रत’ भनिएको छ । यो व्रत शिवपार्वतीसँग सम्बन्धित छ । कथाअनुसार, राजा हिमालयले आफ्नी छोरी पार्वतीको विवाह विष्णुसँग गरिदिने निर्णय गरे तर पार्वती महादेवसँग विवाह गर्न चाहन्थिन् । विष्णुसँग विवाह नगर्ने आफ्नो निर्णय रहेको पार्वतीले आफ्ना साथीहरूलाई बताइन् । त्यसपछि आलि (साथी)हरूले पार्वतीलाई हरित (हरण गरे, लुकाए) र पार्वतीले महादेवको तपस्या गरी उनलाई खुसी तुल्याएर महादेवसँग नै विवाह गरिन् । साथीहरूले पार्वतीलाई लुकाएको प्रसंगबाट यस पर्वको नाम ‘हरितालिका’ रहन गयो । भविष्यत् पुराणमा उल्लेख छ– ‘आलिभिर्हरिता यस्मादतः सा हरितालिका ।’

नेपाली शब्दकोशमा तृतीयाबाट तीज शब्द बनेको उल्लेख छ । डा. मोतीलाल पराजुलीको ‘पुस्तक नेपालमा प्रचलित नृत्य र नृत्य नाटिकाहरू’ का अनुसार, तीज शब्दको वास्तविक व्युत्पत्तिगत अर्थ छैन । संस्कृत व्याकरणमा ‘तिज्’ धातु भेटिन्छ । यस इच्छार्थक क्रियाले ‘सहन’ वा ‘वहन’ गर्नु भन्ने अर्थ दिन्छ । 

समयसँगै बदलिन्छ गीत 

आधुनिक विकाससँगै मानिसको भौतिक अवस्थासँगै मानसिक अवस्था बदलिन्छ । गीतहरू भनेका मानिसको भौतिक र मानसिक अवस्था बुझाउने माध्यम हुन् । 

पछिल्लो समय, तीजका गीतमा विकृति आएको चर्चा वा विरोधका आवाज सुन्न पाइन्छ । कतिपय अवस्थामा तीजगीतको विरोध पनि भएका छन् । तीजगीतका सम्बन्धमा अलि ठूलै हंगामा वा बहस सिर्जना गरेको एक दशकअघि आएको गीत ‘पोइल जान पाम्’ले हो । नेपाली समाज अनुसार, यो गीत एउटा सुन्दर विद्रोह हो । यस गीतमार्फत आफूले चाहेको पुरुषसँग विवाह गर्न पाउने इच्छा व्यक्त गरिएको छ । भलै यो गीत पुरुषले लेखेको किन नहोस् । 

तीजैमा व्रत बसेँ, पूजा गरेँ भगवान्

आश गर्छु अब त बनोस् मेरो काम्

सधैँभरि माइती घरमा बस्ने मलाई मन छैन ।

अहिलेकै सालमा पोइल जान पाम् ।

पोइल जान पाम् शिव पोइल जान पाम्

पोइ पाइओस् भनेर जप्छु तिम्रो नाम । 

अहिलेकै सालमा पोइल जान पाम् । 

(शब्द र संगीत दण्डपाणि पाण्डे, स्वर : कोमल वली, कामना ओली, कविता ओली, तारा खड्का, राधा बुढाथोकी) ।

अझै पनि नेपाली समाजमा परिवारले खोजिदिएको विवाह गर्ने चलन छ । युवती आफैँले रोज्न पनि बाध्यता पारिएको हुन्छ– जात, धर्म वा समुदाय मिलाउने । 

समय चेत अनुसार, गीतमा परिवर्तन हुन्छ । आज मानिसहरू तीज गीतमा विकृति भित्रियो भन्दैछन् । उनीहरूको मतलब के हो ? के अझै तीज गीतमा पुरानो खालको समाज आउनुपर्‍यो ? उही बालविवाह, अनमेल आदिले सिर्जना गरेका समस्या, उही सासुको प्रताडना र थिचोमिचोले जन्माएका पीडा गाउनुपर्‍यो ? नयाँ चेतना अनुसार, समस्या पनि नयाँ–नयाँ हुन्छन् । 

०४३ सालमा संकलन गरिएको एउटा तीजगीत यस्तो छ :

माझी दाइ हो, तालमा क्युरी पर्‍यो झाइँझाइँ,

ससुराले भन्नुहुन्थ्यो छिटो तमाखु भर्न,

म लाटीले के सुनेछु होँका (हुँक्का) चिलिम फोर्न ।

माझी दाइ हो, तालमा क्युरी पर्‍यो झाइँझाइँ,

ससुराले भन्नुहुन्थ्यो छिटो भाँडा माझ न,

म लाटीले के सुनेँछु, मझेरीमा नाच न ।

माझी दाइ हो, तालमा क्युरी पर्‍यो झाइँझाइँ,

अमाजुले भन्दिरैछन् छिटो पोको ल्याइदेऊ,

म लाटीले के सुनेँछु, सप्पै रोटी खाइदेऊ ।

माझी दाइ हो, तालमा क्युरी पर्‍यो झाइँझाइँ,

नन्दले भन्दिरैछन् छिटो खुट्टा धोइदेऊ

म लाटीले के सुनेँछु, दुवै खुट्टा भाँचिदेऊ । 

यी हरफको संकलन अम्बिकादेवी रिमालले गरेकी हुन्् । ‘अर्घाखाँची जिल्लाको पाली गाउँ पञ्चायतको विस्तृत अध्ययन (तीजका गीतहरूको संकलन)’ भनिएको उनको हस्तलिखित प्रति मदन पुस्तकालयमा सुरक्षित छ । निकै सुन्दर हस्ताक्षरमा उनले तत्कालीन पाली गाउँ पञ्चायत (जो अहिले सन्धिखर्क नगरपालिकामा पर्छ) को चित्रण गरेकी छन् । 

प्रस्तुत हरफमा बुहारीलाई छिटो काम गर्न अत्त्याइएको छ, यसबाट आक्रोशित बुहारीले आफ्नो इच्छा र रिसलाई व्यक्त गरेकी छन् । बुहारीका आफ्ना इच्छा, चाहना, आवश्यकता पनि यसमा व्यक्त भएका छन् । उनलाई नाच्न मन भएको र पेटभरि रोटी खान मन भएको प्रस्तुत हरफबाट बुझिन्छ । 

अझै पनि मानिसहरू यस्तै मात्र पुराना गीत सुन्न चाहनु भनेको परिवर्तन नचाहनु हो । समाज बुझ्नलाई यस्ता गीत पनि खोजेर रेकर्ड गरिनुपर्छ । र, मानिसको चेतना अनुसार, नयाँ नयाँ गीत पनि आउनुपर्छ । 

आज पुरुषले तीजगीत गाएर विकृति भने ल्याएका छन् । आजका महिलाले पुरुषले लेखिदिएको तीजगीत गाउनु पनि उचित होइन । तीजगीत भनेकै तीजको दर खाने दिन माइत आएका चेलीले गाउने हो । ती चेलीसँगै अन्य अविवाहित चेली पनि सामेल हुन्छन् । उनीहरूले आ–आफ्नो पीडा, इच्छा, वेदना आफैँ गाउँछन् । आज व्यवसायका नाममा पुरुषले लेखिदिएका गीत महिलाले गाउनु, वा पुरुष स्वयंले तीजगीत गाउनु विकृति नै मान्नुपर्छ । किनभने, पुरुषले लेखिदिने गीतमा पुरुषका आग्रह हुन्छन् । अनि, पुरुषले पीडा सुनाउनु छ भने किन तीजगीतकै नाममा गाउनुपर्‍यो ? अन्य जुनसुकै बेला गाउँदा हुन्छ ।

आज महिलाहरू तीजमा भेटिँदा यसो मदिरा पिउँछन् भने पिऊन् । दरमा रक्सी खाइन्छ भनेर गाउँछन् भने गाऊन् । के रक्सी पुरुषले मात्रै खानेकुरा हो ? एउटा तर्क छ, महिला मदिराले मदहोस भएका बेला लुटिन सक्छन् । यसो भन्नु पुरुषकै समस्या हो, लुट्न किन परेको छ त्यसलाई ? महिला महिला भएकै कारण लुटिने सोच र समाज बदलिनुपर्छ । 

आजको विज्ञानले भन्छ, मात्रा मिलाएर मदिरा खाँदा हुन्छ । र, मात्रा मिलाएर खाँदा विष पनि औषधि बन्छ । यद्यपि मदिरा खानु मानसिक र शारीरिक दुवै स्वास्थ्यका लागि राम्रो हुँदै होइन । त्यसैले शास्त्रदेखि नै हाम्रा पुर्खाले मदिरामाथि निषेध गर्दै आएका छन् । यद्यपि यो आज पनि कसैको संस्कृति वा जीवनपद्धतिभित्र पर्छ । 

महिलाहरूको नाच्ने र गाउने चाहना आजको होइन । महिलाले मदिरा खाएर नाचेको प्रसंग बुद्धको उपदेश सँगालो ‘धम्मपद’मा पनि आएको छ । नारायण ज्ञवालीले अनुवाद गरेको ‘धम्मपद’मा बुद्धको उपदेशसँग सम्बद्ध एउटा गाथा छ : 

जेतवनमा एक दिन विशाखा उपासिकाका केही सहायिकहरू सुरापान गरेर धर्मसभामा उपदेश सुन्न जान्छन् । तिनीमध्ये केही मदमस्त भई उठेर नाच्ने, गाउने र थपडी बजाएर हाँस्ने गर्न थाले । यस्तो दशा देखेर बुद्धले आँखीभौंबाट रश्मि छोडेर अन्धकार गराइदिए, त्यसपछि उनीहरू भयभीत भए । अनि बुद्ध सिनेरु पर्वतको चुलीमा गएर आफ्ना उष्ण लोमबाट रश्मि छोड्दै ती स्त्रीहरूलाई सम्बोधित गरे, ‘तिमीहरू प्रमत्त भएर मसँग आउन हुँदैन । राग आदि अग्निलाई शान्त गर्ने प्रयत्न गर्नुपर्छ ।’ 

यहाँ महिलाले मदिरा खाएर नाच्ने साहस गरेको बुझिन्छ । बुद्धले उनीहरूलाई राग (अनुराग, मोह) आदि अग्निलाई शमन गर्ने उपदेश दिएका छन् ।

व्रत र मुक्त नृत्य

आज विश्वमै ‘फास्टिङ’को चर्चा हुने गर्छ । समय मिलाएर उपवास बस्दा स्वास्थ्यका लागि लाभ भएको अनुसन्धानले देखाएका छन् । 

हामीले घरमा आमाबुवालाई घुर्की लाउँदा, वा कोही नजिकको मान्छेसँग रिसाउँदा खाना खाइदिँदैनौँ । विशेषतः यो प्रवृत्ति बच्चाहरूमा बढी देखिन्छ । घरमा कोही रिसाएर खाना नखाई सुत्नु हामी कसैका लागि नौलो होइन । यसरी रिसाएकालाई फकाउन अझ मीठो चिज दिने पनि गरिन्छ । भोकै बस्नु भनेको आफ्नो मागप्रतिको गज्जबको अडान पनि हो । आज हामीकहाँ भोक हडताल वा अनशन चलिरहेकै छन् । 

हाम्रा शास्त्रले भोजनको पनि नियम बनाएका छन् । देवीदेवताको पूजा अनुष्ठान गर्दा केही नखाई चोखो मुख बस्ने गरिन्छ, केही खाए मुख जुठो भएको मानिन्छ । यसले अर्थ दिन्छ– व्रत भनेको पवित्रता हो । पवित्रता र अपवित्रताकै कसीमा हेर्ने हो भने, हिन्दू समाजमा दलित (शूद्र) पछि जुनसुकै वर्णका महिलाहरू बढी समय अपवित्र हुन्छन् । अपवित्र हुने भनेको, मर्दापर्दा, सुत्केरी हुँदा, महिनावारी हुँदा, गर्भवती हुँदा हो । महिनावारी भएका बेला नदी तर्नु हुन्न भन्ने मान्यता हामीले बिर्सिसकेका छैनौँ । तर समयसँगै क्रमशः ती मान्यता हराउँदै गएका छन् ।

नेपाली शब्दकोशले ‘व्रत’बारे अथ्र्याउँछ : ‘शारीरिक, मानसिक शुद्धताका निम्ति वा धार्मिक उद्देश्यले संयम, नियमपूर्वक गरिने देवताको आराधना, उपासना आदि । देवादिको आराधना, पूजाआजाका साथ वा पूजा आदि नगरीकनै निराहार वा फलाहार गरी बस्ने काम । ३ नियतकालका निम्ति वा सधैं केही वस्तु मात्र खाने वा कुनै वस्तु उपभोग गर्ने वा नगर्ने नियमको पालन ।’ 

देवता वा अलौकिक शक्तिको विश्वासले धार्मिक प्रवृत्तिका मानिसलाई मानसिक शक्ति दिलाउँछ । संसार विश्वास र एउटा नियममै टिकेको छ । कोही पुरुषले पनि पत्नी पाउनका लागि व्र्रत बस्न सक्छ । तर, कसैले व्रत, अनुष्ठान वा धर्मका नाममा कुनै पनि प्रकारको विभेद गर्न हुँदैन । आजको समय चेतना यही हो । 

हामीकहाँ व्रतको चर्चा गर्दा पार्वतीले शिवलाई पाउन पहिले व्रत बसेको प्रसंग बढी आउँछन् । अनि, पतिको दीर्घायु वा असल पति पाउन व्रत बस्ने कुरा आउँछन् । मेरो व्यक्तिगत बुझाइमा भन्ने हो भने, व्रतको अभ्यास कि अनिकालमा सुरु भयो, कि त रिसाएर भोकै बस्ने कुलिन स्त्रीहरूबाट । तर, यो विधि र परम्परा बन्नुमा हाम्रा पुर्खाको केही खोज र बोधको परिणाम पनि हुन सक्छ । 

डा. मोतीराम पराजुलीका अनुसार, तीजगीतमा व्रतमा आधारित मुक्त नाच पनि हुन्छ । हरितालिका व्रत र ऋषिपञ्चमी व्रतमा महिलाहरूले धार्मिक गीतहरू गाएर परम्परागत नृत्याभिनय गर्दछन् । यस्ता नृत्यहरू स्वतन्त्र प्रकृतिका हुन्छन् तर यिनमा धार्मिक गीत अनिवार्य हुन्छ भने अभिनयमा देवप्रार्थना र अनुनय शैलीको बढी प्रयोग गरिन्छ । 

आजको समयचेत अनुसार, महिलाहरू व्रत नबस्ने कुरा गर्छन् भने त्यो उनीहरूको कुरा हो, व्रत कसैको दबाबमा बस्ने कुरा होइन । ०७७ को तीजमा सोफिया थापाले आफ्नै शब्दमा गाइन्, ‘अबको तीज नो व्रत प्लिज, नो खुट्टाको पानी, महिला पुरुष दुवै नै बराबरी ।’ 

यस गीतमा सोफियाको चेतनाले ‘पत्नीले पतिको खुट्टाको पानी खाने लगायत विभेदकारी नियम नमान्न’ आह्वान गरेको छ । यद्यपि यस गीतको विरोध भयो ।

यसपालि उनले रमेश क्षितिजको शब्द र हरि लम्सालको संगीतमा गाइन्– आवाज । 

आधा जलेको अनुहार, पूरै जलेको मन छ ।

जहाँ म जाउँ पेचिलो बन्धन छ । 

खेल्ने धर्ती खोज्छु, उड्ने आकाश खोज्छु 

धेरैपछि मौन अब आवाज खोज्छु ।

पुरुषले लेखेको भए पनि यो गीत सोफियाले प्रतीकात्मक रूपमा गाएको बुझिन्छ । यहाँ महिलालाई पुरुषले एसिड छ्याप्न सक्छ, तर महिलालाई आफ्नो चेतनाको गीत आउन पनि बन्धन छ । 

समाज सधैँ कानुन र चेतनाका दृष्टिले संक्रमणकालमा हुने गर्छ । हामीकहाँ राणाशासन हटेर प्रजातन्त्र आएसँगै महिलाले विद्रोहको स्वर दिन थालेका हुन् । विद्रोह सधैँ सभ्यताको कसीमा हुँदैन । यद्यपि हामी असभ्य हुने खालका विद्रोह वा आवाजप्रति पनि संंवेदनशील हुनुपर्छ ।

आज महिलाहरूको नृत्यलाई लिएर पनि विरोध हुने गरेको छ । हामी सबै अलिकति सभ्यतालाई ध्यान दिएर उन्मुक्त भएर नाचौँ । मान्नेले तीज मानौँ, नमान्नेहरू पनि नाच्दा कुनै हानि नहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप