सन्दर्भ : कुसे औँसी

‘मैले बिएससी पढ्दासम्म बुवाको कुटाइ खाएँ’

person explore access_timeभदौ ११, २०७९ chat_bubble_outline0

०५२ सालतिर, गगन थापा स्ववियु सदस्य थिए । नेपाल टेलिभिजनको कार्यक्रम ‘एक आपस’मा अर्का विद्यार्थी नेता प्रदीप पौडेललाई वक्ताका रूपमा बोलाइएको थियो । प्रदीप साथी भएकाले गगन उनैसँग त्यस कार्यक्रममा श्रोता बन्न गएका थिए ।


छोराछोरीले चाहेको विषय पढ्न अभिभावकले दिन्छन् कि दिँदैनन्, छोराछोरीको अध्ययनमा अभिभावकको लगाम हुन्छ वा हुँदैन ? त्यो छलफलको कार्यक्रम यिनै विषयमा केन्द्रित थियो ।



कार्यक्रम छायांकन हुनुअघि प्रस्तोता केदार खड्काले अनौपचारिक रूपमा प्रदीपलाई सोधे– बुवाआमाले छोराछोरीलाई पढ्ने विषय रोज्न दिन्छन् कि दिँदैनन्, यहाँको हकमा के भयो ? प्रदीपले भने– होइन, मैले त आफ्नै इच्छाले पढेको हुँ । त्यसपछि यही कुरा गगनसँग सोधियो । गगनलाई  अमेरिका पढ्न जान नपाएको झोँक थियो । उनले भने, ‘मलाई त बाउले जबर्जस्ती पढाएका हुन्, मलाई साइन्स पढ्नै छैन ।’



बोल्ने कला भएका गगन छोराछोरीको पक्षमा तर अभिभावकको विपक्षमा मज्जाले बोले । प्रस्तोतालाई यस्तै वक्ता चाहिएको थियो । उनले गगनलाई वक्ताको स्थान दिए ।

संयोग यस्तो भयो, त्यो कार्यक्रम गगनले घरमा बुवासँगै बसेर हेर्न पुगे । ‘त्यतिबेला के भयो भन्ने मलाई ठ्याक्कै याद छैन,’ गगन सम्झने प्रयास गर्छन्, ‘मलाई असहज महसुस भएको थियो । बुवाले मलाई केही भन्नुभएन । उहाँ यस्तो कुरामा बोल्नुहुन्न ।’

पछि मैतिदेवीको एउटा पसलमा सामान किन्दै गर्दा पसलेदिदीले गगनलाई घुरेर हेरिन् र भनिन्, ‘अस्ति टेलिभिजनमा गएर आफ्नो बुवालाई गाली गर्ने यही भाइ होइन ?’

हप्काउने शैलीमा ती दिदीले भनेको गगनलाई अझै याद छ । उनी भन्छन्, ‘मलाई त के भन्ने के भन्ने भयो ।’

एसएलसी पास गरेपछि गगन अमेरिका जान चाहेका थिए । तर, उनका बुवाले मानेनन्, अमृत साइन्स क्याम्पसमा भर्ना गरिदिए । उनलाई बुवाले स्पष्ट भने– ‘यो कुरा फेरि गरिस् भने पिटाइ खान्छस् । पहिले आइएससी पढ्, त्यसपछि जालास् ।’

गगनका बुवाले पत्रपत्रिका, टिभी लगायतबाट देशको समसामयिक राजनीतिका बारेमा चासो र जानकारी लिइरहेकै हुन्छन् । अचेल उनलाई छोरासँग राजनीतिक गफ गर्ने मन हुन्छ ।

अस्कलमा आईएससी पहिलो वर्ष पढ्दै गर्दा गगनको दिल विद्यार्थी राजनीतिमा गयो । त्यहाँ पढाइ भनेजस्तो भएन, दोहोर्‍याएर आईएससी गर्न उनी त्रिचन्द्र कलेज जान चाहे, बुवाले मानेनन् । बुवाको इच्छामा उनी ओभरसियरको इन्ट्रान्स दिन पुल्चोक क्याम्पस पुगे । एक वर्ष आईएससी पढेको र एसएलसीमा राम्रै प्रतिशत भएकाले उनले २४–२५ सय विद्यार्थीमा दुई नम्बरमा नाम निकाले । यसबापत उनले कलेजबाट १२ सय रुपैयाँ पाएका थिए । पछि त्यो पैसाले उनी त्रिचन्द्रमा भर्ना भए, घरमा नभनी । बिहान अलि छिटो घरबाट निस्केर उनी बिहान त्रिचन्द्र र दिउँसो पुल्चोक क्याम्पस पुग्थे । एक दिन उनका बुवाले यो कुरा थाहा पाएछन् । ‘यसपछि बुवाले मलाई बेसरी गाली गर्नुभयो र भन्नुभयो– तँलाई आईएससी नै पढ्न मन छ भने त्रिचन्द्र जा,’ गगन भन्छन्, ‘त्यसपछि मैले त्रिचन्द्र पढ्न थालेँ । मैले आफूले पढ्ने विषयमा बुवालाई कन्भिन्स गर्नुपर्ने थियो, त्यसमा कोसिस पनि गरिनँ, बुवाको कडा स्वभावका कारण ।’

विद्यार्थी राजनीतिबाट उदाएर देशको सबैभन्दा पुरानो पार्टीका महामन्त्री रहेका गगन यतिखेर बैठक र भेटघाटमा निकै व्यस्त रहन्छन् । पछिल्लो पार्टी महाधिवेशनमा महामन्त्रीका लागि सर्वाधिक लोकप्रिय मत पाएका उनी धेरै युवाका आदर्श हुन् ।

कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिनको सन्दर्भ पारेर हामीलाई उनीसँग वार्ता गर्न मन थियो । दुई दिनदेखि पछ्याउँदा उनलाई बुधबार साँझ मात्र फुर्सद मिल्यो, उनले हामीलाई आफ्नो ४५ मिनेट दिए । हामीले उनका बाउछोरालाई सँगै राखेर कुरा गर्न चाहेका थियौँ, संयोग मिलेन ।

गगनका पहिलो नायक

एउटा प्रचलित भनाइ छ, ‘पिता एक छोराका लागि पहिलो नायक हुन्, छोरीका लागि पहिलो प्रेम ।’

गगनले यस भनाइको अघिल्लो पङ्क्ति सापटी लिँदै भने, ‘मेरा लागि मेरो बुवा पहिलो नायक हो । आज म जहाँ जे छु, यसमा मेरो बुवाको दृढ स्वभावको अंश छ । उहाँ कडा स्वभावको सहृदयी मान्छे हुनुहुन्छ । संवेदनाको पक्षमा म आमातिरको हुँ, साहस र दृढताको पक्षमा बुवातिरको । मेरो व्यक्तित्व बनाउन प्रशिक्षित गर्ने शिक्षक हो मेरो बुवा । मलाई श्रीमती र साथीहरूले भन्छन्– मैले बुवाआमाको बढी कुरा गर्छु रे ।’

घरव्यवहार चलाउन, नातागोतासँगको सम्बन्ध आदिमा गगनले बुवालाई नियाल्दै आए । आफूलाई मन नपरेको कुरामा उनका बुवा कहिल्यै अरूको दबाबमा परेनन्, आफूलाई फाइदा हुने भए पनि । उनले आफ्नो मन र विवेकलाई सुन्छन् । गगन भन्छन्, ‘बुवाको यही स्वभावबाट म प्रभावित छु । मलाई भित्रबाट मनपरेन भने जेसुकै होस्, कुनै हिसाबकिताब नगरी म त्यसमा अडान लिन्छु, आफ्नो मत राख्छु । यो मैले बुवाबाटै सिकेको हुँ ।’

गगनको मन–मस्तिष्कमा बुवा छन् । मेरो बुवा यस्तो, मेरो बुवा उस्तो भनिराख्न उनलाई बानी लागेको छ । वर्तमान नेपाली समाजमा अधिकांश छोराले अध्ययन, जागिर वा पेसाका लागि घर छाड्छन् । विशेषतः वैदेशिक रोजगारीका लागि बाउआमा, श्रीमती र साना छोराछोरीदेखि टाढा हुनु आजका युवाको बाध्यता जस्तै बनेको छ । यस मामिलामा गगन आफूलाई भाग्यमानी सम्झन्छन् । चारभाइमध्ये उनी माहिला हुन् । अहिले उनका दाइ जर्मनीमा बस्छन्, दुई भाइ अमेरिकामा । गगन प्रायः बिहान आमाको हातको टीका लगाएर घरबाहिर निस्कन्छन् । दिनभरि व्यस्त रहेर भरे फेरि बाआमा, श्रीमती र छोरीहरूको स्नेहले भरिएको उही न्यानो गुँडमा फर्कन्छन् ।

गगनका बुवाले पत्रपत्रिका, टिभी लगायतबाट देशको समसामयिक राजनीतिका बारेमा चासो र जानकारी लिइरहेकै हुन्छन् । अचेल उनलाई छोरासँग राजनीतिक गफ गर्ने मन हुन्छ । ‘बुवाका आफ्नै मत हुन्छन् । मैले कहिलेकाहीँ बुवाका कुरा सुन्छु,’ गगन भन्छन्, ‘सँगै रहेर पनि व्यस्तताका कारण मैले बुवालाई भनेजति समय दिन पाउँदिनँ, दुःख लाग्छ ।’

घरव्यवहार चलाउन, नातागोतासँगको सम्बन्ध आदिमा गगनले बुवालाई नियाल्दै आए । आफूलाई मन नपरेको कुरामा उनका बुवा कहिल्यै अरूको दबाबमा परेनन्, आफूलाई फाइदा हुने भए पनि । उनले आफ्नो मन र विवेकलाई सुन्छन् । गगन भन्छन्, ‘बुवाको यही स्वभावबाट म प्रभावित छु । मलाई भित्रबाट मनपरेन भने जेसुकै होस्, कुनै हिसाबकिताब नगरी म त्यसमा अडान लिन्छु, आफ्नो मत राख्छु । यो मैले बुवाबाटै सिकेको हुँ ।’

कांग्रेसी पृष्ठभूमि

गगन काठमाडौँमै जन्मेका हुन्, तर उनको स्कुले जीवन सिन्धुपाल्चोकबाट सुरु भएको हो । उनका बुवा महेन्द्रकुमार थापा नेपाल विद्युत् प्राधिकरणमा इन्जिनियर थिए । जागिरको सिलसिलामा उनले सिन्धुपाल्चोकको सुनकोशी जलविद्यत् आयोजनामा इन्जिनियरका रूपमा १७/१८ वर्ष बिताए । त्यहाँ कक्षा १ सम्म पढेर कक्षा २ पढ्नका लागि गगन काठमाडौँ आएका हुन् । त्यतिबेला रातोपुलमा उनका बुवाले घर बनाइसकेका थिए । त्यसको एक डेढ वर्षमा उनका बुवा पनि काठमाडौँ आए ।

गगनको पुर्ख्यौली थलो सोलुखुम्बु हो । उनका हजुरबुवा नेपाली सेनामा थिए, पञ्चायतविरुद्ध लडेका आन्दोलनकारीलाई सघाएका कारण उनी एकपटक जेल पनि परेका थिए । त्यतिबेला सोलुखुम्बुको सोलुदुधकुण्डस्थित टिम्बुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापाको नेतृत्वमा रहेका आन्दोलनकारीमाथि सेनाबाट आक्रमण भएको थियो । गगनको भनाइमा, त्यस घटनाताका उनका हजुरबा लगायत आफन्तले आन्दोलनकारीलाई आ–आफ्नो ठाउँबाट सघाएका थिए । गगनको कांग्रेसी पृष्ठभूमि यही हो ।

०४६ सालको आन्दोलन उत्कर्षमा थियो, गगन कक्षा ९ मा पढ्दै थिए । आन्दोलनका कारण काठमाडौँ ठप्प थियो । गगनलाई बुवाले घरबाट निस्कन दिएका थिएनन् । तैपनि विद्रोही स्वभावका गगन डिल्लीबजारतिर निस्के । डिल्लीबजारको उकालोमा आर्मी थियो, उसले आन्दोलनकारी र काम विशेषले निस्कने सर्वसाधारणलाई पनि लखेटिरहेको थियो ।

०४९ सालको स्थानीय चुनाव हुने भयो । सोलुखुम्बुबाट पढ्नका लागि आएका ठुल्बुवा, काकाहरूका छोरा गगनकै घरमा बस्थे । कांग्रेसमा आस्था राख्ने भएकाले गगनका दाइहरू चुनाव प्रचारमा हिँडेका थिए । उनीहरूसँग चुनाव प्रचारमा जाँदा नै गगनलाई राजनीतिप्रति रुचि बढ्न थालेको थियो ।

आन्दोलनकारीले ठाउँठाउँमा पञ्चायती व्यवस्थाविरुद्ध नाराबाजी गरिरहेका थिए । एउटा सानो केटो सरासर सेना भएको ठाउँतिर गएपछि आन्दोलनकारी पनि डराए । उनीहरूले त्यता नजा भन्दै सतर्क पारेका पनि थिए । गगनलाई अझै याद छ :

आर्मीले उनलाई सोध्यो– कहाँ हिँडिस् ?

उनले झुट बोले– गोरखापत्र लिन ।

सेनाले उनलाई हप्काउँदै भन्यो– तँलाई भनेर आज बन्दका बेला गोरखापत्र पाइन्छ, भाग् । सेनासँग आमनेसामने भएकाले गगनले आफ्नो शान बढेको सम्झे । त्यस दिन ब्ल्याकआउट थियो । ‘ब्ल्याकआउट ब्ल्याकआउट’ भन्दै उनी घर फर्के ।

यता घरमा हंगामा भएछ । तत्कालीन सरकार निरंकुश थियो । आन्दोलनका बेला घरबाट बाहिर निस्कँदा सुरक्षाकर्मीबाट जे पनि हुन सक्थ्यो । उनी घरबाट निस्केको कोही छिमेकीले देखेछन् र उनका बुवालाई खबर गरिदिएछन् । मेरो छोरालाई आर्मीले मारिदेला भन्ने सोचेर उनकी आमा चप्पल पनि नलगाई उनलाई खोज्न निस्किछन् । ‘आमा रुँदै कराउँदै मलाई खोज्न रातोपुलतिर हिँड्नुभएछ,’ गगन त्यो दिन सम्झन्छन्, ‘मलाई लागेको थियो– ठूलै बहादुरी गरेर आएँ । घरको भर्‍याङमा पुगेपछि बुवाको झापड भेटेँ, भर्‍याङमै दुई–तीन बल्ड्याङ खाने गरी ।’

०४९ सालको स्थानीय चुनाव हुने भयो । सोलुखुम्बुबाट पढ्नका लागि आएका ठुल्बुवा, काकाहरूका छोरा गगनकै घरमा बस्थे । कांग्रेसमा आस्था राख्ने भएकाले गगनका दाइहरू चुनाव प्रचारमा हिँडेका थिए । उनीहरूसँग चुनाव प्रचारमा जाँदा नै गगनलाई राजनीतिप्रति रुचि बढ्न थालेको थियो ।

अनेक ‘भूत’ सवार

०४९ सालतिर, दशरथ रंगशालामा डी–डिभिजन टुर्नामेन्ट भयो । त्यतिबेला कुमार थापा र गगनले एकएक गोल हानेका थिए । पत्रिकामा ‘दुई थापाबाट एक–एक गोल’ भन्ने खालको शीर्षकमा समाचार छापिएको थियो । आफ्नो नाम पत्रिकामा आएको खुसीमा उनले त्यो समाचारको कटिङ राखेका थिए, पछि राजनीतिमा चर्चा पाउन थालेपछि पत्रिकामा उनको समाचार आउनु सामान्य हुँदै गयो ।

त्यसताका गगनलाई फुटबल प्लेअर हुने सपनाले सताउन थालेको थियो । पछि कलेजको पढाइ अगाडि बढेसँगै फुटबल र उनीबीच दूरी बढ्दै गए । किशोरकालमा उनीमा अनेक इच्छाका ‘भूत’हरू सवार भए । जस्तो ः अमेरिका जाने भूत, फुटबलको भूत अनि म्युजिकको भूत । यहाँनेर ‘भूत’ शब्दको प्रयोग गर्न उनलाई मजा लाग्छ ।

फुटबल खेल्दा गगनको एउटा ग्याङ थियो । टोलटोलमा हुने ग्याङ फाइटमा उनको रुचि बढ्दो थियो । गगन हाँस्दै भन्छन्, ‘कसको ग्याङ कहाँ छ, कसले कोसँग झगडा गर्‍यो– सबै सूचना राख्थ्यौँ । मेरो संगत वा रुझान यस्तैमा थियो ।’

एक समय गगनको ग्याङ मेटालिका ब्यान्डको फ्यान हुन पुग्यो । उनीहरू ‘हेभी मेटल म्युजिक’ सुन्थे । सन् ६० को उत्तरार्द्ध र ७० को पूर्वाद्धतिर पश्चिमा युवाहरूमा ‘हेभी मेटल’ धड्कन थालेको थियो । सन् १९८१ मा स्थापित मेटालिका ब्यान्डले हेभी मेटल लगायत जेनरामा गाउँथ्यो । गगनको ग्याङ मेटालिकाको यतिसम्मको फ्यान भयो कि सबैले टोपीमा ‘मेटालिका’ लेखेर हिँड्थे । त्यतिबेला आएका उसका गीत कण्ठ गर्ने कोसिस गर्थे । यत्तिकैमा गगनलाई ड्रम सिक्ने मन भयो । एसएलसी पास भएपछि उनी भोटेबहालमा ड्रम सिक्न पुगे । ड्रम सिक्नका लागि उनले आमासँग तीन सय रुपैयाँ मागेका थिए । आमाले गाली मात्रै गरिन्, बुवाले भने उनलाई झन्डै पिटेनन् । त्यसपछि उनको ड्रम सिक्ने सपना डुब्यो । ठीक त्यतिबेला उनीसँग पकेट खर्च कमाउने कुनै काम थिएन । ‘मसँग आफैँले कमाएको पैसा भएको भए मैले घरमा नभनी लुकेर पनि ड्रम सिक्थेँ हुँला,’ गगन भन्छन्, ‘पछि पैसा त भयो तर ड्रम सिक्ने रहर मर्दै गयो ।’

किशोरकालमा गगनका कति साथी लागूऔषधको कुलतमा फसे । कतिले पढाइ बिगारे । कक्षा ९ देखि आईएससी पहिलो वर्षसम्म पढ्दाको अवधिमा उनी खराब संगत र लहडमा थिए । त्यो समयलाई उनले आफू एक किसिमले बरालिएको अवस्था भन्न रुचाउँछन् । बुवाको कडा स्वभावका कारण होला, गगनले बाटो बिराएनन् । एसएलसीपछि आफ्नो पकेट खर्चका लागि उनले आफैँ कमाउन थालेका हुन् । सुरुमा उनले ट्युसन पढाए, पछि एफएम रेडियोमा कार्यक्रम चलाए ।

गगन बुवाको पिटाइले बनेका हुन् । चार भाइमध्ये सबैभन्दा बढी बुवाको पिटाइ खानेमा उनी आफूलाई पहिलो नम्बरमा राख्छन् । ‘बुवाको पिटाइ हामीले एकदमै धेरै खान्थ्यौँ । मैले त बिएससी पढ्दासम्म बुवाको कुटाइ खाएँ । सायद म त्रिचन्द्रको स्ववियु सभापति भइसकेको थिएँ,’ हाँस्दै यसो भन्न सुरु गरेका गगन केही गम्भीर हुन्छन्, ‘छोरो बिग्रन्छ कि भन्ने बुवाको चिन्ता हुन्थ्यो ।’

गगनको राजनीति एसएलसीपछि (०४९ सालमा) आफ्नो वडाको कांग्रेस एकाइ कमिटी सचिव भएर सुरु भयो । पछि उनी विद्यार्थी राजनीतिमा होमिए । गगन भन्छन्, ‘विद्यार्थी राजनीतितिर लाग्दा मलाई बुवाले कहिल्यै हस्तक्षेप गर्नुभएन । बुवाले यति मात्रै भन्नुभयो– पढ्ने काम नरोक् । आफ्नो पकेट खर्च आफैँ जुटा । पढाइमा कुनै कम्प्रमाइज गर्न पाउँदैनस् ।’

गगनले राजनीति गरून् भन्ने त उनका बुवालाई थियो । तर, राजनीतिमा लागेर दुःख नपाओस्, कुनै पेसामा अडियोस् भन्ने उनको भित्री चाहना भइरहन्थ्यो । ‘बुवाले मलाई आफ्नो पालाका राजनीतिकर्मीको कथा सुनाउनुहुन्थ्यो । उनीहरूकै कथा, जसलाई पूर्णकालीन रूपमा राजनीतिमा लागेर जीविका चलाउन कठिन भएको थियो,’ गगन भन्छन्, ‘बुवाको यस कुरालाई मैले पछि मात्रै बुझेँ । बुवाले यस खालको ज्ञान दिएकैले होला, मैले राजनीतिसँगै कुनै काम वा पेसा गर्दै आएँ ।’

गगन बुवाको पिटाइले बनेका हुन् । चार भाइमध्ये सबैभन्दा बढी बुवाको पिटाइ खानेमा उनी आफूलाई पहिलो नम्बरमा राख्छन् । ‘बुवाको पिटाइ हामीले एकदमै धेरै खान्थ्यौँ । मैले त बिएससी पढ्दासम्म बुवाको कुटाइ खाएँ । सायद म त्रिचन्द्रको स्ववियु सभापति भइसकेको थिएँ,’ हाँस्दै यसो भन्न सुरु गरेका गगन केही गम्भीर हुन्छन्, ‘छोरो बिग्रन्छ कि भन्ने बुवाको चिन्ता हुन्थ्यो ।’

गगन सानैदेखि चकचके स्वभावका थिए । स्कुलका शिक्षकले पनि गगनको बारेमा बुवालाई गुनासो गर्थे– तपाईंको छोराले यो गर्‍यो त्यो गर्‍यो, क्लासमा बदमासी गर्‍यो, फलानो टिचरलाई दुःख दियो, आदि । ‘अनि घरमा आएपछि बुवाको पिटाइ भेटिहाल्थेँ,’ गगन भन्छन्, ‘त्यतिबेला मैले कहिले बाहिर पिटाइ खाएर आएको हुन्थेँ, कहिले पिटेर । बुवालाई म बिग्रन्छु कि भन्ने खुब चिन्ता थियो ।’

आइएससी राम्रै नम्बरमा पास गरेपछि उनले बुवासँग अमेरिका जाने प्रस्ताव पुनः राखे । तर बुवाको बोली फेरियो– कि इन्जिनियरिङ पढ्, कि मेडिसिन पढ् । तर आइएससी पढेर यत्तिकै बाहिर जानचाहिँ दिन्नँ ।

वास्तवमा बुवाले उनलाई आफूजस्तै इन्जिनियर वा डाक्टर बनाउन चाहन्थे । उनलाई भने यी विषयमा कुनै रुचि थिएन । ‘मेरो बुवा आफू इन्जिनियर भएकाले मलाई पनि इन्जिनियर बनाउन चाहनुहुन्थ्यो,’ गगन वर्गीय विश्लेषण गर्छन्, ‘पहाडबाट काठमाडौं आएको मध्यम वर्गीय परिवारको सपना हुन्छ– आफ्ना छोराछोरी डाक्टर वा इन्जिनियर भइदिऊन् । अँ, उहाँले अमेरिका जान दिएको भए आज म यो स्थानमा हुन्न थिएँ ।’

चार भाइमध्ये गगनका दाइ र एउटा भाइ बुवाकै बाटोमा हिँडेर इन्जिनियर बने, कान्छा डाक्टर छन् । गगनको नामको अगाडि त्यस्तो कुनै उपाधि छैन र गगनलाई त्यो आवश्यक पनि छैन । नेपाली राजनीतिमा गगन थापा स्वयंमा एउटा पद भइसकेको छ । ‘मेरो बिहेको कार्डमा मेरो नामको अगाडि केही थिएन । जस्तो ः इन्जिनियर भए नामअगाडि ई, डाक्टर भएर डा. हुन्छ,’ गगन भन्छन्, ‘त्यतिबेला मैले बुवासँग ठट्टा गरेँ– मेरो नामको अगाडि कुनै पद नभए पनि श्रीमतीको नामको अगाडि डाक्टर छ नि बुवा ।’

जब गगन ससुरासँग चुनाव लडे

गगनले स्कुल पढ्दा उनको परिवार ठूलो थियो । काका र ठुल्बुवाका छोराहरू पनि पढ्नका लागि काठमाडौँमै थिए । ठूलो परिवारको खर्च गगनका बुवाको जागिरले मात्रै टार्दैनथ्यो । त्यसैले उनका बुवाले काठमाडौँको डिल्लीबजारमा पुस्तक पसल चलाएका थिए । घरमै कपी प्रिन्टिङ गर्ने प्रेस पनि थियो । शनिबार बिदाको दिन आफ्नो सीप अनुसार, उनका बुवा घरको नक्सा बनाउने काममा निस्कन्थे ।

कुशे औंसीको दिन गगनको घरमा बुवा, ठूल्बुवा, काकाको मुख हेर्ने कार्यक्रम हुँदै आएको छ । आफूहरूलाई केटाकेटीदेखि नै आमाले यो संस्कार सिकाएको गगन बताउँछन् । ‘बुवाको मुख हेर्ने दिन बुवालाई भन्दा आफैँलाई रमाइलो हुन्थ्यो,’ गगन भन्छन्, ‘हामी आ–आफ्नो कामको तनाव र लयमा हुन्छौँ । यस्ता संस्कृति वा पर्वले सम्बन्धहरूलाई एकछिन अडिएर हेर्न, त्यसलाई मूल्य र महत्त्व दिन भूमिका खेलेका छन् ।’

गगन नोस्टाल्जिक हुन्छन्, ‘बुवाले हामीलाई वर्षमा एकपटक दसैँका बेला नयाँ लुगा हालिदिनुहुन्थ्यो । लुगा किनिदिन हामीलाई लाइन लगाएर न्युरोड लैजानुहुन्थ्यो । मैले अलि महँगो कपडामा आँखा लगाएँ भने उहाँले इसारा गर्नुहुन्थ्यो, त्यो महँगो छ नहेर् भन्ने किसिमले । म अहिले सम्झन्छु, बुवालाई हामीले रोजेको किनिदिन मन हुन्थ्यो होला, तर पैसा पुग्दैनथ्यो ।’

गगनका बुवाले आफू हारेको वा कमजोर भएको अनुहार छोराहरूलाई देखाउँदैनन् । सधैँ बुवाको दृढ अनुहार हेरेर गगन हुर्केका हुन् । उनले बुवा रोएको देखेको आफ्नी हजुरआमा खस्दा हो । ०६४ सालमा, पाटन अस्पतालमा हजुरआमा बित्दा गगनका बाबुछोरा सँगै थिए ।

‘त्यसपछि मैले बुवाको अनुहारमा तनाव देखेको १२औँ महाधिवेशनमा हो । जतिबेला म आफ्नै ससुराबुवा (अर्जुननरसिंह केसी)सँग चुनाव लडिरहेको थिएँ,’ यसो भन्दै गर्दा गगनको मुहारमा पनि तनावका तरङ्ग उत्रिएका थिए, ‘त्यो बेला बुवालाई एकदमै अप्ठेरो भएको मैले महसुस गरेको थिएँ । पार्टीभित्र होस् वा जनताको प्रतिनिधि बन्न होस्, राजनीतिमा लागेदेखि अहिलेसम्म म चुनाव लडिरहेकै छु । म चुनाव लड्दा उहाँ सधैँ खुसी नै हुनुहुन्थ्यो, उहाँ सधैँ मेरो साथमा रहेको मैले महसुस गर्थेँ ।’

त्यस महाधिवेशनमा ज्वाइँ–ससुरा दुवै पराजित भए । तर त्यतिबेला सम्मानजनक मत ल्याई गगनले पार्टीभित्र आफूलाई स्थापित गरेको विश्लेषण गरिन्छ ।

०००

कुशे औंसीको दिन गगनको घरमा बुवा, ठूल्बुवा, काकाको मुख हेर्ने कार्यक्रम हुँदै आएको छ । आफूहरूलाई केटाकेटीदेखि नै आमाले यो संस्कार सिकाएको गगन बताउँछन् । ‘बुवाको मुख हेर्ने दिन बुवालाई भन्दा आफैँलाई रमाइलो हुन्थ्यो,’ गगन भन्छन्, ‘हामी आ–आफ्नो कामको तनाव र लयमा हुन्छौँ । यस्ता संस्कृति वा पर्वले सम्बन्धहरूलाई एकछिन अडिएर हेर्न, त्यसलाई मूल्य र महत्त्व दिन भूमिका खेलेका छन् ।’

अहिले उनका दाजुभाइ सबै भाइबर ग्रुपमा छन्, जहाँ घरायसी कुरा हुन्छ । कति घरायसी कुरा गगनले यता घरमा बुवासँग गर्न सकिरहेका हुँदैनन् । उनले ग्रुपमा आफ्नो कुरा राख्छन् । दाजुभाइले भन्छन्– तँ घरमा छस्, यत्तिका वर्षदेखि बुवासँग सँगै छस् । तँ आफैँ भन् न ।

गगनले प्रेम विवाह गरेका हुन् । आफू प्रेममा रहेको कुरा उनले पहिले आमालाई सुनाए, आमाले बुवालाई । बुवाबाट सहजै स्वीकृति पाएर उनको विवाह भयो ।

‘मैले बुवालाई भन्न नसकेका कति कुरा आमालाई भन्छु, कति कुरा दाजुभाइलाई भन्छु अनि बुवासम्म मेरो कुरा पुग्छ,’ गगनले भने, ‘आज बुवाको विषयमा बोल्न पाएँ, मजा आयो ।’

गगनकी आमाको स्वभाव बुवाको भन्दा ठ्याक्कै विपरीत छ । उनी असाध्यै सरल छन् । एउटा पानी अर्को आगो भएकाले होला, गगनका आमाबुवाको सम्बन्ध सुमधुर रहँदै आएको छ । गगन आफूहरूको इच्छा व्यक्त गर्छन्, ‘कहिलेकाहीँ मैले र मेरी श्रीमतीले कुरा गर्छौं– हामीलाई केही चाहिँदैन, बुवा र आमाको सम्बन्ध सधैँ यस्तै रहोस् ।’  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।