शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वाम तालमेलमा कति सफल होलान् वामदेव ?

आइतबार, १२ असार २०७९, १५ : ४८
आइतबार, १२ असार २०७९

 तत्कालीन नेकपा एमालेका उपाध्यक्ष एवम् नेकपा  एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एकाएक सक्रियता बढाएका छन् । स्थानीय तह निर्वाचनमा निष्क्रिय रहेका उनी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको चर्चा सुरु हुनासाथ सक्रिय भएका हुन् ।

तत्कालीन नेकपा फुटाउन भूमिका खेलेको आरोप खेपेका गौतम पुनः वाम तालमेल गरेर नेकपा जुटाउने अभियान जुटेका हुन् । गत शनिबारदेखि सुरु भएको पार्टी एकता राष्ट्रिय अभियानको दोस्रो बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै गौतमले नेकपा जुटाएरै छोड्ने प्रतिवद्धता जनाए । शनिबार र आइतबार एकता राष्ट्रिय अभियानका नाममा बैठक राखेका उनले नेकपालाई पुरानै अवस्थामा फर्काएर आफूसमेत सक्रिय राजनीतिमा लाग्ने प्रतिवद्धतता जनाएका छन् ।

‘संयोजन समितिले पार्टी एकता वार्ता कमिटी निर्माण गर्ने छ । हामी एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रसँग पार्टी एकताका निम्ति वार्ता सुरु गर्ने छौं । त्यसैगरी जसपा र राष्ट्रिय जनमोर्चा लगायतका कम्युनिस्ट र समाजवादी पार्टी तथा समूहसँग पार्टी एकता र कार्यगत एकताको निम्ति वार्ता अगाडि बढाउने छौं,’ राजनीतिक प्रस्तावमा गौतमले भनेका छन्, ‘यदि नेकपा जुटाउन सम्भव नभएमा सम्भव हुन सक्ने पार्टीहरुसँग एकताको प्रस्ताव राख्ने छौं । हाम्रो प्रस्ताव मान्य भयो भने २०७५ साल जेठ ३ मा एकीकृत भएको नेकपाको पुनरोदय हुने छ ।’

उनले यसरी निर्माण हुने नेकपा नै स्थापनाकालको नेपाल कम्युनिस्ट पार्टीको सच्चा उत्तराधिकारी हुने दाबीसमेत गरे । उनले भनेका छन्, ‘हामी पनि सोही पार्टीमा सगौरव एकीकृत हुनेछौं ।’

​गौतम प्रदेश र संघको चुनाव अघि सकेसम्म वाम तालमेल मार्फत नेकपा जुटाउने अभियानमा देखिन्छन् । यद्यपि उनलाई यो अभियानमा सफल हुन त्यति सहज देखिँदैन । अहिलेको अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओली एकातिर छन् भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अर्कोतिर फर्किएको अवस्था छ । उनीहरुलाई मिलाउन तत्काल असम्भव जस्तै छ । त्यस्तो अवस्थामा गौतम आफू वार्तामार्फत नेकपा जुटाएरै छाड्ने ध्याउन्नमा रहने बताएका छन् । तर, गौतमसँगै निकट भई काम गरेका एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले तत्काल नेकपा मिलाउन सम्भव नभएकाले अन्तिम अवस्थामा गौतम एकीकृत समाजवादीमै आउने दाबी गरे ।

‘वामदेव कमरेडको राष्ट्रिय सभामा अझै चार वर्ष छ । यो चुनावमा उहाँ उठ्नु हुन्न । एकता अभियानबाट निर्वाचित हुन गाह्रो छ । यदि चुनाव उठे पनि जित्न सक्ने अवस्था छैन । सबै तथ्यहरुले वामदेव कमरेड चुनाव लड्नु हुन्न भन्ने नै देखिन्छ,’ रातोपाटीसँग कुरा गर्दै बास्कोटाले भने, ‘उहाँ(वामदेव गौतम) यति धेरै सक्रिय नेता हो कि चुनाव अघि नै नेकपा एक बनाउँछु भनेर लाग्नु भएको छ । त्यसमा उहाँको ऊर्जाले काम ग¥यो भने होला, नभए तत्काल नेकपा एक ठाउँमा हुँदैन ।’

अन्तिममा गौतमले प्रदेश र संघको चुनावमा एकीकृत समाजवादीलाई नै समर्थन गरेर जाने बास्कोटाले बताए । तत्कालीन नेकपाबाट अलग भएका गौतम पछिल्लो समय निकै कमजोर भएका छन् । उनलाई लामो समय साथ दिएका नेताहरु समेत कतिपय एमाले र कतिपय एकीकृत समाजवादीमा सक्रिय छन् । नेकपा एकता राष्ट्रिय अभियानमा गौतमलाई दरो साथ दिने प्रभावशाली नेतासमेत छैनन् । यस्तो अवस्थामा गौतमको प्रस्ताव सुनेर नेकपा एक हुने र उनले एकता गरेर बन्ने पार्टी पनि खासै प्रभावकारी नहुने तत्कालस्न नेकपाका नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप