आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

माधव नेपालको कठोर टिप्पणी : एमालेमा खतराको घण्टी बजिसक्यो (भिडियोसहित)

‘अब नचेते ठुलो विनाश हुन्छ’
बुधबार, २५ जेठ २०७९, १७ : ५२
बुधबार, २५ जेठ २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावपछि एमालेमा खतराको घण्टी बजिसकेको टिप्पणी गरेका छन् । यदि एमालेले समयमै नचेतेमा ठुलो विनाश हुनसक्ने नेपालले बताए ।  बुधबार रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले स्थानीय तहको चुनावको परिणामले एमालेको हैसियत स्पष्ट पारिसकेकाले बेलैमा सचेत हुनुपर्ने बताए । 

‘केपी ओलीले गठबन्धन फुटाउन प्रयास गर्नु अस्वाभाविक होइन । तर उहाँ (केपी ओली) को त्यो प्रयास सफल हुन दिने वा नदिने हामीमा भर पर्छ’, नेपालले भने,  ‘उहाँ (केपी ओली) बेलैमा रुपान्तरण भए, विगतमा भएका कमीकमजोरी आत्मालोचना गरेको भए बेग्लै कुरा हुने थियो । त्यो केही हुन सकेन ।’ 

केपी ओली नसच्चिएकाले नै पाँचदलीय गठबन्धन बनाएर संविधान, गणतन्त्र, परिर्वतनको रक्षा गर्न एक भएको नेपालले बताए । पाँच दलीय गठबन्धन बनाउनु रहर नभएको बताउँदै नेपालले देश र जनताको इच्छा चाहनामा निर्माण भएको जिकिर गरे । गठबन्धनमा अविश्वास र आशंका नहोस् भन्नेमा सबै दलहरु सचेत हुनुपर्ने अध्यक्ष नेपालको भनाई छ ।

पाँच दलीय गठबन्धन चुनावसम्म जाने 
सत्ता गठबन्धनका विषयमा अनेक भ्रम फैलिए पनि आगामी प्रदेश र संघको चुनावसम्म जाने नेपालको दाबी छ । ‘पाँच दलीय गठबन्धनका बारेमा अनेक खालका कुराहरु फैलिएका छन् । कतिपय भ्रमात्मक, कतिपय यथार्थपरक, कतिपय कन्फ्युजन हुने खालका छन् । ती सबै आशंकाहरु विश्लेषण भएका छन्’, नेपालले भने, ‘गठबन्धनको यात्रामा कसैले अत्यन्तै लाभ लिए । कसैले सन्तुष्ट हुनेगरी लिन सकेनन् । ती सबै विश्लेषण भइराखेका छन् ।’ 

काँग्रेस र माओवादीलाई लक्षित गर्दै नेपालले कतिपय दलमा जम्मै कुम्ल्याउन पाए हुन्थ्यो भन्ने एकाधिकारवादी चिन्तन समेत पाइएको नेपालले बताए । गठबन्धनमा सबै दलले लाभ लिनुपर्छ भन्ने निष्कर्षमा भएपनि काँग्रेस र माओवादीले बढी लाभ लिएको उनले बताए ।  त्यसपछि मात्रै थोरै जसपा, जनमोर्चा र एकीकृत समाजवादीले लिएको उनको भनाई छ ।

‘गठबन्धनबाट हामीले पनि केही लाभ उठायौँ । महानगरको सफलता गठबन्धनबिना जित्न सम्भव थिएन । हेटौडा उपमहानगर जितेका छौं त्यो गठबन्धन नभएको जित्न सकिने थिएन’, नेपालले भने, ‘तर, हामीले गठबन्धनको गीत ज्यादा गाउन थाल्यौँ । छुट्टै उम्मेदवारी उठाउने तयारी गरेनौ । त्यसैले राम्रो परिणाम आएन ।’ 


गठबन्धनमा इमानदार बन्न नसक्दा सोचे जति नतिजा ल्याउन नसकेको नेपालको ठहर छ । ‘हामीले गठबन्धनलाई इमानदार बनाउन सकेनौ । गठबन्धनको इमानदारिता देखाउने काममा आफ्नो पङ्क्तिलाई पनि सचेत बनाउन सकेनौ’,नेपालले भने ‘तर गठबन्धनको विकल्प छैन । त्यसैले कमी कमजोरी सुधार गर्नुपर्छ । यदि कसैले गठबन्धनको विकल्प ठान्छ भने त्यो भ्रम मात्रै हो ।’ 

एमालेप्रति लक्षित गर्दै नेपालले गठबन्धन फुटाउन अनेक खालको जाल फालिएको आरोप लगाए । ‘गठबन्धन फुटाउन अनेक खालको जाल फाल्ने कोसिस भइराखेको छ । त्यो जाल हो या साँचो प्रयास हो त्यसमा प्रश्न खडा गरेको छ । स्थितिमा नयाँ नयाँ देखिन थालेको छ । त्यसलाई थोरै भएपनि खतराको घण्टी बजेको रुपमा बुझ्नुपर्छ’ नेपालले भने, ‘आगामी दिनमा अहंकारबाट मुक्त भएर सबैको लाभ हुने कुरामा ध्यान दिनुपर्छ । विगतमा गरेको जेन्टलमेन्ट एग्रिमेन्टलाई पालन गर्ने कुरामा इमानदारिताका साथ अगाडि बढ्न सक्नुपर्छ । त्यसले नै गठबन्धनको भविष्यलाई सुनिश्चित गर्नेछ ।’

 

भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप