शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री हेरफेरको निर्णय ‘कच्चा’ होइन, सर्वसम्मत हो : झलनाथ खनाल

‘निर्णय कार्यान्वयन नभएको विषयमा छलफल, अध्ययन र अनुसन्धान गर्दैछौं’
बुधबार, २५ जेठ २०७९, ११ : ५८
बुधबार, २५ जेठ २०७९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नभएको विषय समकालीन राजनीतिमा एउटा नयाँ आश्चर्य भएको बताएका छन् । ‘यो विषय समकालीन राजनीतिमा एउटा नयाँ आश्चर्यको विषय भयो । यसबारेमा हामी हाम्रो पार्टीभित्र र गठबन्धनभित्र पनि यस्तो किन भयो भनेर छलफल गर्दैछौं’, रातोपाटीसँगको कुराकानीमा खनालले भने, ‘पार्टीले आफ्नै नेता, कार्यकर्ता र आफ्नो सरकार सञ्चालन गर्न नसकेर अन्यथा ढंगले पार्टी परिचालित हुने स्थिति आयो भने त्यस्ता पार्टीहरूको भविष्य सकिन्छ ।’

पार्टीले नयाँ मन्त्री नियुक्तिका लागि प्रधानमन्त्रीलाई नामै बुझाएर शपथको तयारी भइरहेका बेला परिवर्तन हुन लागेका मन्त्रीहरुले असन्तुष्टि जनाउदै अर्को पार्टीका नेतासँग हारगुहार मागेपछि शपथ रोकिएको थियो । किन बन्यो मन्त्री हेरफेरको निर्णय विवादित ? के अब पुरानै मन्त्रीले निरन्तरता पाउने हुन् ? यसमा क–कसको चलखेल भयो ? भनेर नेकपा समाजवादीका सम्मानित नेता खनाललाई रातोपाटीले सोधेको छ । प्रस्तुत छ खनालसँगको संक्षिप्त कुराकानीको सम्पादित अंश :

मन्त्री हेरफेरको निर्णय विवादित बन्नुका साथै कार्यान्वयन समेत हुन सकेन, कारण के हो ?

यो विवादित बन्ने कुरै होइन । कुनै पनि शक्तिले कसलाई मन्त्री बनाउने कसलाई नबनाउने आदि सबै कुरा पार्टीको सार्वभौम अधिकारको कुरा हुन्छ र, अहिले नेकपा एकीकृत समाजवादीले जुन निर्णय गरेको छ, त्यो उसको आफ्नो आत्मनिर्णयको अधिकारको कुरा हो । त्यसकारण यो विषयमा अरु कसैले टिकाटिप्पणी गर्नुपर्ने आवश्यकता नै छैन ।

तर सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन त भएन । तय भएको शपथ नै रोकियो, केही चलखेल भयो ?

यो चाहिँ नेपालको समकालीन राजनीतिमा एउटा नयाँ आश्चर्य हो । यसबारेमा हामी हाम्रो पार्टीभित्र र गठबन्धनभित्र पनि यस्तो किन भयो भनेर छलफल गर्दैछौं । के कारणले यसो हुन गयो भनेर अहिले सबै कारण थाहा भइसकेको छैन । सबै कारण आइसकेपछि बल्ल एउटा निष्कर्षमा पुग्न सकिन्छ ।

नयाँ मन्त्रीहरुको शपथ अझै अनिश्चित रह्यो । दुई दुईजना पूर्वप्रधानमन्त्री रहेको पार्टीले गरेको निर्णय नै कार्यान्वयन नभएपछि कतिपयले ‘कच्चा’ निर्णयको संज्ञा पनि दिन थालेका छन् । किन यस्तो कच्चा निर्णय गर्न पुग्नुभयो ?

मन्त्री हेरफेरको निर्णय कुनै पनि हालतमा कच्चा निर्णय होइन । यो सुविचारित ढंगले गरेको परिपक्व निर्णय हो, साथै पार्टीको अधिकारको विषय पनि हो । तर कार्यान्वयन किन भएन भन्नेबारेमा हामी छलफल, अध्ययन र अनुसन्धानको प्रक्रियामा छौं ।

आर्थिक वर्षको बजेट संसदमा पेस भएको र त्यसको जवाफ दिने बेलामा मन्त्रीहरु हेरफेर गर्दा अप्ठ्यारो पर्छ भन्ने जानकारी तपाईहरुलाई नभएको हो ?

धेरै देशमा बहुदलीय व्यवस्था छ तर कुनै पनि देशमा यस्ता समस्या आएकोजस्तो मलाई लाग्दैन । त्यसैले यस्तो कुरा कुतर्कबाहेक केही होइन ।

निर्णय कार्यान्वयन नहुने हो भने अब नेपालमा पार्टीले मन्त्री चलाउने कि मन्त्रीले पार्टी चलाउने भन्ने प्रश्न उठ्न पुग्यो नि, होइन ?

पार्टीले आफ्नै नेता, कार्यकर्ताहरु, आफ्नो सरकार सञ्चालन गर्न सकेन र अन्यथा ढंगले पार्टी परिचालित हुने स्थिति आयो भने त्यस्ता पार्टीहरुको भविष्य सकिन्छ ।

निर्णयलगत्तै तपाईहरुको पार्टीले फेर्न लागेका पुराना मन्त्रीहरु अरु पार्टीका नेताहरुलाई भेट्न पुगेको र गोप्य राख्ने भनिएको निर्णय तपाई आफैले तत्काल सार्वजनिक गर्दा पनि समस्या आएको भनेर भनिएको छ नि ?

पार्टीमा सबै सज्जन छन् र सबैले राम्रोसँग काम गर्छन् भनेर म भन्न सक्दिनँ तर जे निर्णय भयो, त्यो निर्णय हुनुभन्दा अगाडि हाम्रो अध्यक्षले प्रधानमन्त्रीसँग कुनै विचार विमर्श गर्नुभएको छ कि छैन ? भन्ने प्रश्न गरीकन यसबारेमा विचार विमर्श भइसकेको छ । त्यसरी कुरा हुँदा यो निर्णय गर्न उपयुक्त नै छ भनेर गरिएको हो । निर्णय गर्दा पनि सर्वसम्मत नै गरिएको हो । अर्को कुरा, यो निर्णयलाई कसले बाहिर ल्याउने, कसले नल्याउने भन्ने कुरा पार्टी कार्यालयको कुरा हो । फेरि त्यो गोप्य निर्णय पनि थिएन, कार्यान्वयन गर्नका लागि गरिएको निर्णय भएकाले कसैले पनि बाहिर भने होलान्, त्यो अनौठो र नयाँ कुरा भएन ।

पुरानै सहमति अनुसार निर्णय कार्यान्वयन गर्न खोजिएको मात्र थियो ?

हो । यो निर्णय जतिबेला वर्तमान सरकार बन्यो, त्यो बेला नै हामीले ६ महिनाका लागि एउटा मन्त्रीको टीम पठाउने र ६ महिनापछि अर्को पठाउने भनेर निर्णय गरेका थियौं । त्यही निर्णयलाई अहिले कार्यान्वयनमा लैजान लागिएको मात्रै हो ।

मन्त्री हेरफेरको विषयले पार्टी नै विभाजन हुन्छ कि भन्ने चर्चा पनि हुन थालेको छ । के यो निर्णय कार्यान्वयन भयो भने पार्टीमा कुनै असर गर्ला ?

यो निर्णय कार्यान्वयन नहुँदाखेरि पार्टीमा एउटा समस्या त आउँछ तर त्यो समस्यालाई ट्रयाकल गरेर पार्टी एकतावद्ध भएर क्रान्तिकारी कार्यदिशासहितको लक्ष्य पूरा गर्न दृढतापूर्वक अगाडि बढ्छ । कहिलेकाहीँ घाउखटिरा पैदा हुन्छन्, त्यसमा मल्हम लगाएर अगाडि बढ्नुपर्छ ।

यो विषयले अध्यक्ष माधवकुमार नेपाल र तपाईंबीच तिक्तता बढ्यो, यसले तपाईले पार्टी नै छोड्नसक्ने भन्ने खालका आशंका समेत गर्न थालिएको छ, के वास्तविकता त्यस्तै हो र ?

यो बारेमा मलाई जानकारी नभएको कुरा हो । जानकारी नै नभएको विषयलाई मैले कसरी भन्न सक्छु र ! यो बारेमा बरु तपाईहरु अनुसन्धान गर्नुस्, अनुसन्धान गरेर कार्यपत्रहरु ल्यानुस् र सत्यत्थ्य सार्वजनिक गर्नुस् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप