शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महासचिवले आरोप लगाएको होइन, जिब्रो चिप्लिएछ : माधव नेपाल

बुधबार, २५ जेठ २०७९, १६ : २८
बुधबार, २५ जेठ २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन आगामी चुनाव र त्यस पछिसम्म  लैजान चाहेको बताएका छन् ।  बुधबार पार्टी निकट विद्यार्थी संगठनको काठमाडौमा भएको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको भविष्य छैन भनेर अनेकौं कू प्रचारहरु भइरहेपनि त्यस्ता कू प्रचारका पछि लाग्न जरुरी नरहेको बताए । 

‘त्यस्ता कू प्रचारका पछि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउने चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहान्छौँ’, अध्यक्ष नेपालको भनाइ छ । उनले गठबन्धन भत्कियोस् र आपसी असमझदारी बनोस् भन्ने प्रयासहरु भएपनि आफुहरु कमजोरी सच्याउँदै तथ्य र तर्कमा अघि बढ्न सक्नुपर्ने बताए । पार्टीले अघि सारेको क्रान्तिकारी राजनीतिको बाटो इमानदारिता, समाजसेवा र समाज रुपान्तरणको बाटो भएकाले त्यसबाट विचलन नहुन विद्यार्थीहरुलाई निर्देशन पनि दिए । 
अध्यक्ष नेपालले आफुहरु पनि प्रतिगमनको मतियार भएको भए देशको विनाश हुनसक्ने भएकाले गठबन्धन बनाएर अघि बढ्नुपरेको बताए । उनले आगामी निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अहिलेबाटै लाग्नुपर्ने भन्दै अहिलेसम्म आफ्नो पार्टीबाट मन्त्री बनेर राम्रो काम गरेकाहरूलाई धन्यवाद समेत दिए । 

आफ्नो पार्टीबाट मन्त्री भएकाहरुले पार्टीको निर्णय मान्ने र कुर्सीमा टाँसिएर नबस्ने नेता नेपालको भनाइ छ ।  ‘मिडियामा हाम्रो महासचिवको अभिव्यक्तिलाई लिइकन केही तलमाथि बाहिर आएको होला, उहाँले मलाई प्रस्ट भन्नुभएको छ मैले कुनै मन्त्रीमाथि आरोप लगाएको छैन भनेर’,अध्यक्ष नेपालको भनाइ छ । अध्यक्ष नेपालले पार्टीको आदेश मानेनन् भने के गर्ने ? भनेर मिडियाले सोध्दा महासचिवले ‘मान्छन्’ भनिदिएको भए हुन्थ्यो भन्दै ‘तर उहाँले मानेनन् भने ‘के गर्ने’ भन्दिनुभएछ, बिग्रिएछ ।’ उनले जिब्रो पनि बडो विचित्रको हुने भन्दै कहिले कहिले जिब्रो चिप्लिन सक्ने भएकाले होस पुर्याउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप