शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘८५ हजार मत ल्याएर जित्छौँ’

पोखरेली जनताको खुसीबारे सर्भे गरेर घोषणापत्र बनाएका छौँ : धनराज आचार्य
शुक्रबार, १६ वैशाख २०७९, १४ : ५९
शुक्रबार, १६ वैशाख २०७९

स्थानीय तह निर्वाचनमा पोखरा महानगरको मेयरका लागि पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् धनराज आचार्य । यो महानगरमा एमालेका तर्फबाट कृष्ण थापा मेयरका प्रत्यासी छन् । आचार्य र थापा विगतमा एमाले र नेकपामा सँगै काम गरेका नेता हुन् । नेकपा र एमाले विभाजनसँगै आचार्य र थापाको पार्टी फरक फरक हुन पुग्यो । आचार्य नेकपा एकीकृत समाजवादीबाट काँग्रेस, माओवादीसहित पाँच दलीय गठबन्धनका उम्मेदवार बन्दा थापा एमालेका उम्मेदवार बने । 

गठबन्धनबाट पोखराको मेयरमा काँग्रेसले पनि दाबी गरिरहेका बेला नेकपा एसका धनराज आचार्यले वाजी मारेका हुन् । बिहीबारमात्रै आफ्नो ५ बर्षे कार्यकालका लागि आचार्यसहितका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । ‘समुन्नत पोखराको आधार : सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नारा अघि सारेका छन् उनले । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगार, भौतिक पूर्वाधार लगायतका विषयलाई प्राथमिकतामा राखेका आचार्यले विद्युतीय रेलदेखि महानगर मेट्रो अस्पतालसम्मका योजना अघि सारेका छन् । प्रस्तुत छ, पोखरा महानगरको मेयरका उम्मेदवार आचार्यसँग चुनाव जित्ने आधार र जितेपछि गर्ने कामका बारेमा केन्द्रीत रही रातोपाटीले गरेको चुनावी संवाद :  

कस्तो पोखरा बनाउने तपाईंको सोच छ ?

पोखरा महानगरपालिका प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर सहर हो । एउटा महानगर हुन न्यूनतम पूर्वाधार के हुनुपर्छ ? भनेर हेर्ने हो भने पोखरा त्यसको र्‍याङकिङमा निकै तल छ । हामीले अघिल्लो पटक पुराना गाविस र वडाहरूलाई मिसाएर पोखरा उपमहानगरलाई महानगर बनाएका हौँ । पोखरा पुरानो सहर थियो, त्यसपछि लेखनाथ दोस्रो तह थियो । अहिले कास्की जिल्लाका पञ्चासेदेखि मौजासम्मका डाँडाकाँडा रहेको भाग पनि पोखरा महानगरमा छ । 

पूर्वाधार निर्माण गरेर महानगर घोषणा गर्ने कुरा एउटा हो भने घोषणा गरेर पूर्वाधार बनाउने कुरा अर्को हो । त्यसकारण यहाँ चुनौती धेरै छ । धेरै डाँडाकाँडा रहेको र १५ सय किलोमिटर भन्दा धेरै सडक यो महानगरपालिकामा छ । जसमध्ये ६४१ किमी मात्रै कालोपत्रे भएको छ । ६७० किमिभन्दा धेरै अझैपनि धुले बाटो छ । वडानम्बर २३ सवैभन्दा ठुलो भूभाग ओगटेको छ, जहाँ एक फिट पनि कालोपत्रे छैन । यस्तो पूर्वाधारमा असन्तुलन रहेको अवस्था तर आफैमा महानगर भएपनि त्यसका लागि चाहिने धेरै कुरा यहाँ छैन । 

हेर्दा सुन्दर ठाउँ छ, तथापि व्यवस्थित ढंगले यहाँ काम हुन सकेको छैन । अल्पकालीन र दीर्घकालीन योजना बनाउने भनेर धेरै पटक भनियो, धेरै कार्ययोजना पनि बने तर ती कार्ययोजना कार्यान्वयनमा गएनन् । त्यस हिसाबले मेरो प्राथमिकता नै पोखरालाई व्यवस्थित ढंगले स्मार्टनेस गर्ने रहन्छ । सबै हिसाबले विकाससँगै मानिसहरू सहज, सम्मानित तरिकाले बाँच्न सक्ने र त्यसका लागि राज्यले दिनुपर्ने सुविधाहरू दिनेतर्फ मेरो ध्यान रहन्छ ।

सबैलाई पोखरा मेरो हो, मैले बनाउनुपर्छ र हामी सबै मिलेर बनाउँछौ भन्ने अभियानमा जुटाउने योजना छ । यी योजना मेरा मात्रै नभएर हामी गठबन्धनमा छौँ । त्यसो भएकाले मेयर र उपमेयर दुवै जना उम्मेदवारले हाम्रा आगामी कार्यक्रम घोषणापत्रका रूपमा सार्वजनिक गरिसकेका छौ । जसमा शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासन लगायतमा के गर्ने भन्ने कुरा आफ्नो घोषणापत्रमा उल्लेख गरेका छौ । त्यसकारण अहिले मेरो मुख्य कुरा भनेको हामी पोखरावासीलाई फुल ड्युटी गर्ने होइन, ड्युटिफुल गर्ने प्रतिबद्धताका साथ जनतासँगै रहने गरी अघि बढ्दैछौँ ।

चुनावका वेला सबै राजनीतिक दल र उम्मेदवारहरूले यस्तै आश्वासन र प्रतिबद्धता जनाउने गर्छन् । तर चुनावपछि सबै बिर्सन्छन् । तपाईं त नयाँ पार्टीको नेता पनि हो । त्यो पुरानो प्रवृत्ति वा परम्परा नदोहोरियोस् भन्नेमा ध्यान दिनुभएको छ ?

जो साथीहरु अहिले मैदानमा हुनुहुन्छ, उहाँहरू टेष्टेड पनि हुनुहुन्छ । उहाँहरूले विगतमा के कस्तो कार्यसम्पादन गर्नुभयो, त्यसलाई पनि हेर्न सकिएला । हाम्रो टिमले भन्ने कुरा हामी दिन नै तोकेर तीन महिनामा यति काम गर्छौ, एक बर्षमा यति काम भनेर समय नै छुट्याएर आफ्नो काम गर्ने तरिका र योजनाअनुसार गर्छौ । र, जाने बेलामा यति काम भयो भनेर डेटाबेसमै प्रस्तुत गरेर जान्छौ । 

विगतमा पनि हामी संलग्न भएका, हाम्रो टीम र व्यक्तिगत हिसाबले म मेयरको उम्मेदवार भैरहँदा मेरो कार्यशैली, कार्यक्षमता जनताले देखेका छन् । विगतमा म महानगरपालिकाको निर्वाचित प्रतिनिधि नभएपनि यही समुदायमा बसेर मैले काम गरेकाले त्यो हेरेर जनताले मूल्याङ्कन गरेका छन् भन्ने मलाई लागेको छ । त्यसैले हामी जे बोल्छौ, त्यो गर्छौ । जति बोल्छौ, त्यति गर्छौ भनेका छौ । विगतमा जनता निराश हुनु र नेताहरू चुनावमा मात्रै बोल्छन् भन्ने परेको छ, त्यसलाई चिर्न चाहन्छौ ।

 

गठबन्धनका तर्फबाट चुनावी एजेण्डा अघि सार्दै गर्दा चुनावी अभियान कसरी थाल्दै हुनुहुन्छ ?

 

चुनावी अभियानमा सबै वडामा गठबन्धनका उम्मेदवारहरुको ५ जनाको सेट होस् भनेर हामी लागिरहेका छौ । १६ गते बेलुकासम्म सम्भवतः त्यो हुन्छ । केहीमा भएन भनेपनि स्वस्थ प्रतिस्पर्धा गरेर जानुस् पनि भनेका छौ । जहाँसम्म मेयर उपमेयरको कार्यक्रम छ, हामीले पाँचै दलको संयुक्त संयन्त्र नेपाली काँग्रेसका सभापति किशोरदत्त बरालको संयोजकत्वको एक हजार ५५ सदस्यीय निर्वाचन परिचालन समिति बनेको छ । त्यो कमिटीले सम्पूर्ण निर्वाचनको कार्यक्रम तय गर्छ । मेयर, उमपेयरको कार्यक्रम सबै वडामा योजना बनाएर जान्छौं । त्यसरी जाँदा सम्बन्धित वडाध्यक्ष र सदस्यहरु पनि त्यो कार्यक्रममा सहभागी बन्नु हुनेछ, यसैअनुसार हामी चुनावी क्याम्पियन गर्छौ ।

तपाईं लामो समयदेखि पोखरामै बसेर काम गर्दै आउनुभएको छ । पोखरा महानगरपालिकाका जनता के चाहन्छन् भन्ने बुझ्नुभएको छ ?

पहिलो कुरा सुशासन नै हो । हामी अत्यन्त धेरै झमेलामा फस्नुपर्छ, हुने काम पनि भएन भन्ने एक नम्बर गुनासो जनताका पाएका छौ । हामीले यसमा पब्लिक सर्भे पनि गरेका छौ । के हुँदा खुसी हुनुहुन्छ र के हुनुपर्ने हो ? भनेर हामीले जनताको तहमा गएर सर्भे गरेर रिजल्ट निकालेका छौ । ती आधारमा घोषणापत्र बनाएका छौ । हामी सहज ढंगले बाँच्न पाउनुपर्यो, हामीले गर्ने काममा कुनै वाधा हुनुभएन । र, महानगरपालिका भनेको अहिलेको स्थानीय सरकार हो, सरकार अभिभावक बन्नुपर्यो भन्ने जनताको भनाइ छ । 

अहिले सरकार त छ तर अलि धम्क्याउने खालको, थर्काउने खालको र भनसुनमा चल्ने खालको हुन पुग्यो । जुन सरकारले अभिभावकत्व प्रदान गर्नुपथ्र्यो, त्यो सकेन र चुक्यो भन्ने जनताको निराशा छ । त्यो निराशालाई हामी आशामा परिणत गराउन चाहन्छौ । पोखरासँग सम्बन्धित चाहे त्यो फेवातालको कुरा होस् वा अरु सार्वजनिक ठाउँका सवालमा थुप्रै अनुत्तरित प्रश्न छन् । प्रश्नै प्रश्नले महानगरपालिका घेरिएको छ । ती सबै प्रश्नको जवाफ खोज्ने र कार्यान्वयन गर्ने दिशामा हामी लाग्नेछौ ।

पोखरामा एमालेको जनमत बलियो छ भने अर्काेतिर गठबन्धन बीचमै बागी उम्मेदवार पनि छन् । यस्तो अवस्थामा चुनावी नतिजा तपाईंको पक्षमा कसरी आउला ?

निर्वाचन आयोगले उम्मेदवारहरुको सूची प्रकाशन गरिसकेको छ । त्यो सबैले देखेको कुरा भयो । पोखरामा गठबन्धनमा रहेका ५ दलमा हामी धनराज आचार्य र कोपिला रानाभाटबाहेक अरु कोही पनि प्रत्याशी हुनुहुन्न । दलका हिसाबले कोही पनि उम्मेदवार नभएको र २५ जनाजति स्वतन्त्र उम्मेदवार भएको अवस्था हो । स्वतन्त्र उम्मेदवार हुन पाउने व्यक्तिको नैसर्गिक अधिकार पनि हो । कोही व्यक्ति इन्डिभिज्युअल चुनावमा जानुहुन्छ भने उहाँहरुका बारेमा नकारात्मक टिप्पणी गर्ने कुरा पनि भएन । उहाँहरुको स्वतन्त्रतालाई हामीले सम्मान गर्नुपर्छ । 

जहाँसम्म पार्टीहरुको कुरा छ, पार्टीहरुले आफ्ना सदस्यहरुलाई यदि पार्टीमै रहेर पार्टीको निर्देशन नमानेको अवस्थामा आफ्नो प्रक्रिया पनि अघि बढाउँछ । तर मलाई जहाँसम्म लाग्छ, गठबन्धनका नेताहरुले हामी एक ठाउँमा छौ, एक साथमा छौ । हामीमा कुनै समस्या आउँदैन भनेर विश्वास दिलाउनु भएको छ ।

विगतमा एउटै पार्टी एमालेमा रहेका नेता तपाईं र कृष्ण थापाबीच अहिले फरक पार्टीबाट एउटै पद मेयरमा प्रतिस्पर्धा हुँदैछ । यसले कतै अस्वस्थ प्रतिस्पर्धा त हुँदैन भन्ने शंका पनि भइरहेको छ । यसबारे के भन्नुहुन्छ ?

पोखरामा मात्रै होेइन, देशभर नै यो खालको प्रतिस्पर्धा हामीले गरिरहेका छौ । म सामाजिक र व्यावसायिक क्षेत्रबाट पनि आएको कारणले समाजमा नकारात्मक टिप्पणी हुने खालका गतिविधि नगरौँ । स्वस्थ प्रतिस्पर्धा गरौँ, आफ्ना कुराहरू जनताका बीचमा प्रस्ट राखौँ । यसो गर्दा मित्रवत् प्रतिस्पर्धा पनि गर्न सकिन्छ । आफ्ना अजेण्डामा जाने हो, आफैमा लडाई गर्ने कुरा हुँदैन । जहाँसम्म व्यक्तिको कुरा छ मेरो मित्र साथी र म भन्दा सिनियर नेता पनि हो कृष्ण थापाजी । उहाँका पनि कतिपय राम्रा कुरा होलान्, कतिपय कमजोरी पनि होलान्, कति काम गर्न सक्नुभयो, सक्नु भएन । ती कुरा जनताले देख्नुभएको होला, तर हाम्रो सम्बन्ध नराम्रो छैन । र, कसैसँग पनि नराम्रो हुनुपर्छ भन्ने मलाई लाग्दैन । 

म सबै पोखरावासी, सबै दाजुभाइ, दिदीबहिनीहरूसँग उत्तिकै नजिकको सम्बन्ध राखेर काम गर्न चाहन्छु । त्यसो भएकाले म निर्वाचित भएको भोलिपल्ट नै एउटा पार्टीभन्दा माथि उठेर सबै पोखरेलीको सबैको साझा प्रतिनिधिको रूपमा काम गर्नेछु । यो मेरो पार्टीको, यो अर्को पार्टीको, यसले मलाई मतदान गरेको, यसले नगरेको भनेर कसैलाई भेदभाव गर्दिन भन्ने प्रतिबद्धता जाहेर गर्दछु । साथै काम गर्ने क्रममा सर्टेन लेबलबाट माथि उठेर काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

तपाईंले विगतमा यस भूगोलमा बसेर त्यति धेरै काम नगरेको भन्ने पनि सुनिन्छ । यसले कुनै समस्या निम्त्याउने सोच्नु भएको छ कि ?

त्यस्तो समस्या आउँदैन । म कास्कीको सबै ठाउँमा विद्यार्थी हुँदादेखि नै फिल्डमा छु । निर्वाचन नलडेको मात्रै हो । २०४८ साल यताका सबै निर्वाचनमा जिताउन खटिने काम र सबै निर्वाचन क्षेत्रका अन्तर कुन्तरमा पुगेर योजना बनाउने काममा र योजनामा म सहभागी हुँदै आएको छु । यसले गर्दा पोखरा महानगरपालिकाको कुनै पनि भूगोल, जनता कार्यकर्ताका बीचमा म अपरिचित छैन । यही जन्मे हुर्केको र विविध हिसाबले जनताको तहसम्म पुगेर काम गर्दै आएको छु । त्यसकारण धनराज आचार्य जनताकै छोरो र जनताकै काम गर्ने भएकाले पोखराका लागि अपरिचित व्यक्ति होइन ।

त्यसो हो भने पोखरा महानगरमा कति मतान्तरले विजयी हुने अङ्कगणितको हिसाब राख्नुभएको छ ?

पोखरा महानगरमा २ लाख आठ हजारको हाराहारी मतदाता छन् । त्यसमध्ये ७०/७५ प्रतिशत मत खस्ने विगतको अनुमानले भन्छ । त्यसमध्ये हामी गठबन्धनका मेयर, उपमेयरका उम्मेदवार दुवैले ८५ हजारको हाराहारीमा मत ल्याएर जित्छौँ भन्नेमा ढुक्क छौँ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप