शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पोखरामा गठबन्धन कागजमा मात्रै छ’

पोखरालाई स्मार्ट सिटीका रुपमा घोषणा गर्ने मेरो लक्ष्य हुनेछ : कृष्ण थापा
शुक्रबार, १६ वैशाख २०७९, १२ : ४२
शुक्रबार, १६ वैशाख २०७९

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको पोखरा महानगरपालिकामा यस पटक सोही पार्टीबाट कृष्ण थापा प्रमुखमा र मञ्जु गुरुङ उपप्रमुखमा उम्मेदवार बनेका छन् । पोखरा महानगर प्रमुखमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा काँग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दिएकी छन् ।

विगतमा एमालेको वर्चश्व रहेको यो महानगरमा यस पटक भने एमालेले आफ्नै पूर्व सहकर्मीको चुनौतीमात्र होइन, सत्तारुढ गठबन्धनमा रहेका अन्य दलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । तर, एमालेबाट महानगर प्रमुखका उम्मेदवार रहेका थापा भने सत्तारुढ गठबन्धन कागजमा मात्र सीमित रहेको बताउँदै आफूलाई त्यसले खासै असर नगर्ने बताउँछन् ।

२०५४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनबाट पनि जनमतका साथ आफूले पोखराको मेयरमा रहेर काम गरेको अनुभवका आधारमा पोखरावासीले आफूलाई फेरि पनि विश्वास गर्ने उनको दाबी छ । स्थानीय तहको आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीचको प्रतिस्पर्धाका आयामहरु, महानगर प्रमुखको उम्मेदवारी दिएको अवस्थामा महानगरको विकासका लागि तयार पारेका योजना लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले कृष्ण थापासँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, एमालेबाट पोखरा महानगर प्रमुखमा उम्मेदवारी दिएका कृष्ण थापासँग गरिएको कुराकानीको सम्पादित अंश–  
 
पोखरा महानगरको नेतृत्वका लागि एमालेबाट उम्मेदवार बन्नुभएको छ, चुनावी योजना र रणनीति कसरी अघि बढाउँदै हुनुहुन्छ ?

हामीले नेकपा एमालेको ‘स्ट्रेन्थ’ अनुसार आफ्ना कार्यक्रम अघि बढाएका छौं । जनतामा परीक्षण भइसकेकाले पनि हामीलाई हाम्रा कार्यक्रम अघि बढाउन सहज हुन्छ भन्ने हाम्रो बुझाइ छ । उम्मेदवारी मनोनयनपछि हामी आन्तरिक भेटघाट र छलफल गर्दै बिहीबारसम्म पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित बनाउनेतिर केन्द्रित हुन्छौं । शनिबार बृहत भेला पनि राखेका छौं । त्यो भेलापछि महानगरका ३३ वटा वडाका जनताको घरघरमा गएर भेटघाट र मत माग्ने योजना बनाएका छौं ।
 
प्रदेश सांसदबाट राजीनामा गरेर महानगरको मेयरका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । पोखरा महानगरमा परिवर्तनका लागि के योजना बनाउनुभएको छ ?
 
मसँग २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेको अनुभव छ । त्यो समय पोखरा महानगरका धेरै पूर्वाधार तयार गर्ने काम गरियो । त्यसबेला पोखराको सडक, ढल, खानेपानी लगायतका पूर्वाधारमा धेरै कामको सुरुवात गरिएको थियो । त्यसबेला म काठामाडौं जाँदा त्यहाँका साँघुरा गल्ली देख्दा मेरो सहर कहिल्यै यस्तो नहोस् भन्ने लागेर मैले केही बाइलाइनहरु बनाएँ । जसमा न्युनतम बाटोको चौडाई १५ फिट हुनुपर्छ भनेर काम सुरु गरेको थिएँ । त्यति भएपछि कमसे कम पोखरा कहिल्यै गल्ली हुँदैन भन्ने मेरो सोच थियो ।

त्यसपछि नेपालमै पहिलो सेनेटरी ल्याण्डफिल्ड लगायतका काम सुरुवात भयो । तर त्यो पूरा हुन सकेन । त्यो कार्यकालपछि चुनाव नै हुन सकेन, बीचमा स्थानीय तह १५ वर्षसम्म कर्मचारीको हातमा पुग्यो । त्यही बीचमा माओवादी द्वन्द्वले असर गर्‍यो । यी विविध कारणले आफूले सुरु गरेका काम पूरा भएका थिएनन् ।

पोखरा प्राकृतिक हिसावले संसारकै उत्कृष्ट ठाउँ हो । यो प्राकृतिक हिसावले मात्रै सुन्दर भएर भएन, यसलाई हामीले सजाउन सक्नुपर्छ र पोखरालाई बुटिक सहर र अन्तर्राष्ट्रिय स्ट्याण्डरको सहरका रुपमा विकास गर्नुपर्छ भन्ने मेरो सोच पहिलेदेखिकै हो । तर त्यो योजना र सोच कार्यान्वयन गर्न नेतृत्व अवश्य चाहिन्छ । त्यसैले पोखरा निर्माण गर्ने सोचका साथ पुनः महानगरको नेतृत्वका लागि म प्रतिस्पर्धामा उत्रेको हो । यसमा मेरो अरु कुनै स्वार्थ छैन ।

 

भनेपछि तपाईंले २०५४ सालमा सुरु गरेका कामहरुलाई पूर्णता दिन पुनः महानगरको नेतृत्व सम्हाल्ने आकांक्षाका साथ चुनावी महासंग्राममा होमिनुभएको हो भनेर बुझ्दा हुन्छ ? 
त्यतिमात्रै होइन । अवश्य पनि ०५४ सालमा सुरु गरेका कामहरुलाई स्तरोन्नति र निरन्तरता दिनु त छँदैछ । यसका साथै थप विकासका कामहरुलाई अघि बढाउनु अनिवार्य छ ।  मैले अघि नै भनिसकेँ कि पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउने मेरो लक्ष्य हो । त्यसका लागि भारतको दिल्लीमा हुने सवै सुविधा पोखरामा किन दिन नसक्ने ? किनभने हाम्रो अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट पनि अब त अन्तिम अवस्थामा पुगेको छ । करिव २० वर्ष नेपाल नगरपालिका संघको नेतृत्वमा बसेर काम गरेको पनि अनुभव मसँग छ । मेरो राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्कलाई पोखराको विकासमा किन नलगाउने ? त्यसबाहेक मेरो पालामा अन्य देशका नगरपालिकाहरुसँग सम्बन्ध विस्तार गर्ने योजना अघि सारेर जापानसँग सम्बन्ध विस्तार गरेको छु । उहाँहरु पनि असाध्यै लालयित हुनुहुन्छ पोखरा निर्माणका लागि । तर उहाँहरुले त्यो वातावरण पाउनु भएन । अब म पुनः महानगरको नेतृत्वमा पुगेँ भने उहाँहरु पुनः त्यो कन्सेप्ट कार्यान्वयन गर्न चाहनुहुन्छ ।
 
महानगरको नेतृत्व गर्न पाए पोखराको विकास गर्न दिल्ली र जापानको मोडेल भित्र्याउने तपाईंको योजना हो ?

मोडेलभन्दा पनि त्यहाँ हुने स्ट्याण्डर्ड यहाँ हामीले किन गर्न सक्दैनौं भन्ने कुरा हो । स्वाभाविक रुपमा दिल्ली, जापान र चाइनाबाट पनि सिक्ने कुरा त छँदैछ । तर अन्तर्राष्ट्रिय सम्बन्धलाई पोखराको विकासमा जोड्नुपर्छ भन्ने प्रश्न हो ।
 
अरुभन्दा फरक विशेषतासहितको पोखरा महानगर बनाउने योजना हो ?

भूगोलका हिसाबले पोखरा महानगर अहिले असाध्यै ठुलो महानगर भएको छ । यो महानगरका जनताले पाउनुपर्ने दैनिक डेलिभरीमा अलिकति समस्या छ । त्यसैले पहिलो काम भनेकै हाम्रो महानगरबाट जनतालाई प्रदान गरिने सेवासुविधालाई चुस्त, दुरुस्त र सकेसम्म प्रविधिमैत्री बनाएर लैजानुका साथै अनलाइनसेवालाई प्राथमिकता राखेर कामहरु अघि बढाउने मेरो योजना छ । त्यसपछि सिंहदरबार हेर्न काठमाडौं जाने भनिन्छ, पोखरामा त सिंहदरवार बनेको छैन । त्यसो भएकाले हामी अत्याधुनिक पोखराको सिंहदरबार बनाउन चाहन्छौं । यस्तो हुन्छ पोखरेली जनताले सेवा लिने सिंहदरबार भनेर हामी देखाउन चाहन्छौं । म निर्वाचित भएको तीन महिनाभित्र पोखराको विकास निर्माणका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्बन्धित विज्ञहरुको समेत सहयोगमा ५ देखि ५० वर्षे योजना बनाउँछु । जसमा तत्काल गर्ने ५ वर्षे योजनामा पर्छन् भने दोस्रोमा १० वर्षे, तेस्रोमा २० वर्षे र लामो योजनाका रुपमा ५० वर्षे योजना बन्छ । यसरी पोखरालाई सुविधासम्पन्न स्मार्ट सिटीका रुपमा घोषणा गर्ने मेरो योजना र लक्ष्य हुनेछ ।
 
तपाईंले यस्ता सपना बाँड्दै गर्दा निर्वाचन जित्न तपाईंका सामु चुनौती पनि त्यतिकै छन् । जस्तो कि तपाईंको पहिलो चुनौती पाँच दलीय गठबन्धनको उम्मेदवार मैदानमा हुनुहुन्छ । यस्तो अवस्थामा पोखरेली जनताले तपाईंलाई नै विजयी गराउने आधार के–के देख्नुभएको छ ?
 
विजयी हुने आधार भनेको हाम्रा मतदाता नै हुन् । किनभने नेकपा एमाले भनेको एउटा इतिहास बोकेको र विकासप्रति प्रतिवद्ध पार्टी हुनुका साथै नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि महत्वपूर्ण भूमिका खेलेको पार्टी हो भन्ने कुरा हाम्रा मतदाता र पोखरेली जनताले राम्रोसँग बुझेका छन् ।

दोस्रो कुरा, हाम्रो पार्टीको नेतृत्व श्रद्धेय पार्टी अध्यक्ष केपी शर्मा ओली, जो निवर्तमान प्रधानमन्त्री हुनुहुन्छ । उहाँका एजेण्डा नै नेपालमा स्थापित भएका छन् । तर पनि उहाँलाई अदालतको आदेशबाट हटाइएको छ । हामी अदालतको आदेशबाट होइन, जनताको आदेशबाट सरकार बनाउनुपर्छ भन्ने मान्यतामा विश्वास गर्छौं । साथै ओली नेतृत्वको सरकारले गरेका कामहरु हाम्रो पहिलो आधार हो ।

हाम्रो पार्टीले प्रदेश सरकारको पनि नेतृत्व गर्ने मौका पाएको छ । त्यो प्रदेश सरकारले गरेका कामहरु हामीले जित्ने अर्को आधार हो । यस्तै, २०७४ पछि हामीले नै नेतृत्व गरेको यो महानगर हो । त्यसबेला मानबहादुर जीसी मेयर र मञ्जुदेवी गुरुङ उपमेयर निर्वाचित हुनुभएको थियो । उहाँहरुले आफ्नो कार्यकालमा पोखराको विकास निर्माणका लागि प्रतिकुलताका बाबजुद पनि राम्रा कामको सुरुवात गर्नुभएको छ ।

अर्को कुरा, महानगरमा मलाई नेतृत्व गर्न पार्टीले विश्वास गरेको छ । पञ्चायतकालदेखि नै जेलनेल खाँदै विद्यार्थी राजनीति हुँदै आएको व्यक्ति हो म । यस्ता विभिन्न आन्दोलन र अनुभवबाट खारिदै आएकोले पनि पोखराको विकासका लागि मैले सहयोग गर्नसक्छु भन्नेमा पार्टीलाई पनि विश्वास हुन पुग्यो । मतदातालाई पनि के विश्वास छ भने नयाँ मनिस आयो भने ऊसँग चिनजान गर्न नै समय लाग्छ । तर कृष्ण थापा आयो भने चिनजान गर्नै पर्दैन । किनभने म त तीन दशकदेखि यहीँका जनताको काम गरेर बसेको छु । अर्कोतिर हाम्रो पार्टीबाट उपमेयरको उम्मेदवार बन्नुभएको व्यक्ति पनि अनुभवी र एउटा सिङ्गो समुदायमा परिचित नाम हो । उहाँसँग पनि छुट्टै अनुभव छ । यी र यस्ता धेरै हाम्रा चुनाव जित्ने महत्वपूर्ण आधार छन् ।
 
तपाईंले यस्तो दाबी पेस गर्दैगर्दा एमालेको केन्द्र, प्रदेश र स्थानीय सरकार भएको बेलामा समेत पोखरामा अपेक्षित विकास र जनताका काम हुन नसकेको भनेर गुनासो सुनिँदै आएको थियो, अहिले पनि त्यो गुनासो सुन्न सकिन्छ । यस्तो अवस्थामा फेरि एमालेकै उम्मेदवारलाई किन जिताउने भन्ने मतदाताको प्रश्न पनि छ नि ?
 
जति काम हुनुपर्थ्यो वा जनताका अपेक्षा कति थिए, त्यो बेग्लै बहसको कुरा हुनसक्छ । तर मैले अघि नै भनेँ, पोखरा महानगरमा प्रतिकुलताकाबीच पनि धेरै काम सुरु भएका छन् । निर्वाचन भएको ६ महिनापछि संघ र प्रदेशको चुनाव भयो, यसबीचमा उहाँहरुलाई नियम कानुन बनाएर अघि बढ्न नै एक वर्ष लाग्यो, यो कुरा सत्य हो । त्यसपछि घोषाणापत्र अनुसारका योजना बनाएर काम सुरु गर्दा नगर्दै तेस्रो वर्ष हुँदा नहुँदै कोरोना महामारीले हामी सबैलाई गाज्न पुग्यो । कोरोनाले धेरै कुरालाई डिस्टर्ब गर्न पुग्यो । त्यसपछि दुर्भाग्य नै भन्नुपर्छ, झण्डै एक वर्षदेखि हाम्रो पोखराका मेयरसाब बिरामी हुनुभयो, जसले थालेका योजनाअनुसारका काम तीव्र गतिमा अघि बढ्न सकेनन् । तर प्रयत्न धेरै गर्नुभएको हो । त्यसैले भएका राम्रा कामहरुको निरन्तरता दिँदै इमानदारीपूर्वक कमजोरीहरू जनतामाझ स्वीकार्दै र आत्मालोचित हुँदै अघि बढ्न चाहन्छौं ।
 
पोखराको मुख्य समस्याको रुपमा फेवाताल अतिक्रमण पनि हो । यसबाहेक ढल, सडकको पनि त्यतिकै समस्या छन् भन्ने गुनासो सुनिन्छ । यी विषयहरुलाई सम्बोधन गर्ने केही योजना बनाउनुभएको छ ?
 
ढल र सडकका सवालमा काठमाडौंको तुलनामा धेरै व्यवस्थित छ, यो कुरा म दाबीका साथ भन्न सक्छु । फेवातालको अतिक्रमणको सवालमा महानगरपालिकाले एउटा योजना अघि सारेको छ । अब त्यो योजना कार्यान्वन गरेर फेवाताल अतिक्रमण हुनबाट रोकिन्छ । त्यसकारण पोखराको तस्बिर अहिले जे देख्नुभएको छ र कृष्ण थापा निर्वाचित भएपछि २ वर्षको अवधिमा बेग्लै र फरक तस्बिर देख्न पाउनुहुनेछ ।
 
पोखराको महानगर प्रमुखका लागि तपाईंसँग तपाईंकै पूर्व सहयात्री धनराज आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । आचार्य पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ तर तपाईंले गठबन्धनलाई कागजी गठबन्धन भनेर टिप्पणी गरेको पनि सुनिएको छ, के पोखरामा पाँच दललाई कम आँक्नुभएको हो ?
 
मैले कसैलाई कम आँकेको होइन, अन्डरस्टिमेट गरेको पनि होइन, सत्य कुरा बोलेको मात्रै हो । उहाँहरुको गठबन्धन कागजमा मात्रै छ । तर लोकतन्त्र, प्रजातन्त्र र राष्ट्रप्रेमी काँग्रेसका मतदाता र जनतासँग हाम्रो गठबन्धन छ । वास्तविक क्रान्तिकारी, इमानदार क्रान्तिकारीहरु, माओवादी साथीहरु जसको बलिदानबाट यो व्यवस्था आयो, हो उनीहरुसँग पनि हाम्रो गठबन्धन छ । त्यसकारण जनतासँग गठबन्धन हाम्रो छ, कागजमा उहाँहरुको पाँच दलीय गठबन्धन छ । वास्तविकता के हो भन्ने कुरा भोलि चुनावी परिणाम आएपछि थाहा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप