बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : आजका टप टेन समाचार

मङ्गलबार, २२ चैत २०७८, २२ : ०२
मङ्गलबार, २२ चैत २०७८

 

आज २०७८ चैत २२ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
 

मच्छिन्द्र बाहिरियो

नेपालको ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत श्रीलंकन क्लब ब्लू स्टारसँग पराजित भएको छ । मंगलबार भएको खेलमा मच्छिन्द्र श्रीलंकलन क्लब ब्लू स्टारसँग २–१ गोल अन्तरले पराजित भएको हो ।  ​​

नेपालको अर्थतन्त्रमा श्रीलंकामा जस्तो समस्या आउँछ

अर्थविद् डा. डिल्लीराज खनालले आफूहरुले पहिलेदेखि नै मुलुकमा आर्थिक संकट आउँदैछ भनेर सुरुदेखि नै सरकारलाई सचेत गराएको स्मरण गराए । उनले भने,‘अहिले जुन आर्थिक संकट छ, एउटा क्षेत्रमात्रै होईन । पुँजीगत खर्च नहुने, राजश्व जम्मा भएर बस्ने । जुन ढंगले बैकिङ क्षेत्रबाट लगानी भयो । व्यापार घाटा बढ्यो, चालु खाता घाटा छ, धेरै समस्या छ । हिजोमात्रै राष्ट्र बैंकले अर्थतन्त्रमा निकै ठूलो संकट नै आईसक्यो भनेर कठोर नीति लियो । हामी त यो विषय सुरुदेखि नै लेखिरहेका छौं । अर्थतन्त्रका संकेत राम्रा छैनन्, गम्भीर मोडतर्फ अर्थतन्त्र जाँदैछ भनेर भनेका थियौं ।’​

सञ्चालनमा आयो उपत्यकाभित्रकै पहिलो बन्दरगाह

उपत्यकाभित्रकै पहिलो बन्दरगाह ‘चोभार ड्राइपोर्ट’ सञ्चालनमा आएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले वीरगञ्ज नाका हुँदै भारतबाट लोड भएर आएका तीन वटा मालवाहक कन्टेनरको सिल खोल्दै बन्दरगाहको विधिवत रुपमा उद्घाटन गरेका हुन् । ​

अर्थमन्त्रीलाई गभर्नरले दिए १५ सुझाव

मुलुकको बिग्रँदो अर्थव्यवस्थालाई सुधारी अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई १५ बुँदे लिखित सुझाव दिएका छन् । मंगलबार अर्थमन्त्रीलाई पत्र लेख्दै गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र सुधार्न अत्यावश्यक बाहेकका सम्पूर्ण बिलासी वस्तुको आयात प्रतितपत्र (एलसी) पूर्णरूपमा बन्द गर्नदेखि  पेट्रोलियम पदार्थको खपत कमका लागि सातामा दुई दिन विदा दिनसम्म सुझाव दिएका हुन् ।​

स्थानीय निर्वाचनबारे माओवादीको अपिल

नेकपा माओवादी केन्द्रले सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको मोडलबाट समाजवादउन्मुख समृद्धिको परिकल्पना गरेको जनाएको छ । माओवादी केन्द्रले स्थानीय निर्वाचनबारे एक अपील जारी गर्दै नागरिकका आधारभूत आवश्यकताको परिपूर्तिका साथै  गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ति, उत्पादनमुखी  अर्थव्यवस्थाको निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ ।​

गठबन्धन भर्सेस एमाले

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरू उम्मेदवार चयनमा व्यस्त हुन थालेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा पनि प्रमुख दलहरू उम्मेदवार चयन लगायत चुनाव केन्द्रित गतिविधिमा जुटेका छन् ।१३ स्थानीय तह रहेको यस जिल्लामा २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ५ नगरपालिका र २ गाउँपालिकामा जित हासिल गरेको थियो । यस्तै, नेपाली काँग्रेसले एक नगरपालिका र ३ गाउँपालिका र नेकपा माओवादी केन्द्रले २ गाउँपालिकामा जित हासिल गरेको थियो ।​

नेपालमा बक्स अफिस

लामो संघर्ष र कसरतपछि १ साउन २०७५ मा नेपाली फिल्म क्षेत्रमा पहिलो पटक बक्स अफिस प्रणालीको सुरु भयो । तत्कालीन सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले २०७५ असार ३२ गते ‘बक्स अफिस प्रणाली’को उद्घाटन गरेका थिए । निर्माताको माग अनुसार चलचित्र विकास बोर्डले बक्स अफिस लागु त गर्‍यो । तर, त्यसको कार्यान्वयन पक्ष भने फितलो रह्यो ।​

इन्स्पेक्टर सरुवा १९ महिनादेखि रोकियो

नेपाल प्रहरीका महानिरीक्षकलाई प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार छ । तर, प्रहरी नायव निरीक्षक (सई) तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवामा समेत गृह मन्त्रालयले हस्तक्षेप गरेपछि लामो समयदेखि सरुवा रोकिएको छ । ​

अन्तरिम आदेश दिन अस्वीकार

नेपाल प्रहरीको एआईजीमा भएको बढुवाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डा  कुमार चुडालको एकल इजलासले निवेदनको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । ​

रमेश सिलवालले दायर गरेको रिट खारेज

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालिन सदस्य–सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज भएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप