शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा एमाले भर्सेस ५ दलीय गठबन्धन, यस्तो छ अंकगणित

भागबण्डा मिलाउन पालिकाका तहसम्म गठबन्धनको संयन्त्र
मङ्गलबार, २२ चैत २०७८, २० : ००
मङ्गलबार, २२ चैत २०७८

 २०७४ को निर्वाचनलाई आधारमा चितवनमा सबैभन्दा ठुलो दल नेकपा एमाले भएको थियो । एमालेले गत निर्वाचनमा चितवनको ७ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा पालिका प्रमुख र उपप्रमुख पद जितेको थियो भने एउटामा पालिकामा उपप्रमुख पद जितेको थियो । यस्तै एउटा पालिकामा काँग्रेस–माओवादी केन्द्रको गठबन्धन विजयी भएको थियो । उक्त गठबन्धनबाट माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकाको प्रमुख र काँग्रेसले उपप्रमुख पदमा जितेको थियो ।

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा काँग्रेसले दुवै पदमा जितेको थियो । माडी नगरपालिकामा भने माओवादी केन्द्रले मेयर पदमा जितेको थियो भने उपमेयरमा एमालेले जितेको थियो । यता एमालेले भने एकल रूपमा ४ वटा पालिका प्रमुख र उपप्रमुख पदमा जितेको थियो । चितवनको राप्ती, रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा एमालेका उम्मेदवार मुख्य दुवै पदमा सफल भए । उक्त सफलताले एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गरेको थियो ।

पछिल्लो समय पार्टी विभाजनको असर भोग्दै आएको एमालेले चितवनको प्रायः सबै पालिकाहरुमा आफ्नो सांगठनिक संरचना बलियो रहेको दाबी गर्दै आएको छ । यसैबीच नेपाली काँग्रेसले भने चितवनमा आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै आएको आएको छ ।

‘यस्तो छ अंकगणित’

इच्छाकामना गाउँपलिका

२०७४ सालको स्थानीय तहको निर्वाचनबाट चितवनको एक मात्र गाउँपालिकाको नेतृत्व काँग्रेसले गरिरहेको छ । उक्त निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष पदमा काँग्रेसका उम्मेदवार सफल भएका थिए । उक्त निर्वाचनबाट पालिका अध्यक्षमा काँग्रेसकी गीता कुमारी गुरुङ र उपाध्यक्षमा कृति कुमार श्रेष्ठ विजयी भएका थिए । अध्यक्ष गुरुङले एमालेका नारायण प्रसाद अधिकारीलाई १९३ मतान्तरले पराजित गरेकी थिइन् । गुरुङले ३ हजार २५४ मत पाएकी थिइन् भने अधिकारीले ३ हजार ६१ मत पाएका थिए । माओवादी केन्द्रका प्रताप गुरुङ २ हजार ३९९ मत सहित तेस्रो भए ।

यता पालिका उपाध्यक्ष पदमा काँग्रेसका श्रेष्ठले ३ हजार ३८९ मतसहित जित हात पारेका थिए । उनले एमालेकी जुनु राजभण्डारीलाई ३ हजार ९७ मतमा सिमित बनाएका थिए भने माओवादी केन्द्रकी सावित्रा सिलवाल २ हजार २२९ मतमा सिमित भइन् ।

कुल ७ वटा वडा रहेको सो गाउँपालिकाको एउटा मात्र वडा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार सफल भए । माओवादी केन्द्रले ३ नम्बर वडाको अध्यक्षमा मात्र जित्न सफल भएको थियो । अन्य ६ वटा वडाको अध्यक्ष पदमा एमाले र काँग्रेसका उम्मेदवार सफल भए । काँग्रेसले सो पालिकाको ३ वटा वडाहरू ४, ५ र ७ मा जितेको थियो भने एमालेले १, २ र ६ नम्बर वडामा जितेको थियो ।

कालिका नगरपालिका

विगतको निर्वाचनमा कालिका नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवारले जितेका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका खुम नारायण श्रेष्ठले कालिका नगरपालिकाको मेयर पदमा जितेका थिए । उनले ७ हजार ४९२ मत पाएका थिए । उक्त पदमा काँग्रेसका उम्मेदवार कमल प्रसाद आचार्यले ७ हजार १६४ मत पाएका थिए भने माओवादी केन्द्रका रामध्वज डल्लाकोटीले २ हजार ३७८ मत पाएका थिए ।

यता पालिका उपप्रमुखमा एमालेकी कमला भट्टराइले ७ हजार ५३५ मत सहित विजयी भएकी थिइन् भने उक्त पदमा उम्मेदवारी दिएकी निरुजा श्रेष्ठले ६ हजार ७५० मत र माओवादी केन्द्रकी उम्मेदवार सविता लामाले २ हजार ५९३ मत पाएकी थिइन् ।

सो निर्वाचनमा पालिकाको कुल ११ वटा वडामध्ये एमालेका उम्मेदवारले ६ र काँग्रेसका उम्मेदवारले ५ वडामा अध्यक्ष पद जितेका थिए । एमालेले कालिकाको २, ३, ६, ७, ८, ११ को वडा अध्यक्ष पदमा जितेको थियो भने काँग्रेसले १, ४, ५, ९ र १० मा जितेको थियो । माओवादी केन्द्रले भने सो पालिकाको वडाहरूमा जित्न सकेन ।

खैरहनी नगरपालिका

२०७४ को निर्वाचनमा खैरहनी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवारले जित हासिल गरे । नगर प्रमुखमा एमालेका लालमणि चौधरीले १० हजार ७१७ मतका साथ निर्वाचनमा सफलता पाएका थिए । उक्त पदमा कांग्रेसका तर्फबाट उम्मेदवार रहेका राजेन्द्र प्रसाद चौधरीले ९ हजार ७३३ मत र माओवादी केन्द्रका एकराज डल्लाकोटीले ३ हजार १४७ मत पाएका थिए ।

यता, पालिका उपप्रमुखमा एमालेकी सुनिता खरेलले जित हात पारेकी थिइन् । उनले १० हजार ४५१ मत पाएकी थिइन् । उक्त पदमा कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी शुसिलादेवी उप्रेतीले ९ हजार ८ मत र माओवादी केन्द्रकी उम्मेदवार रेवती सेढाइँले २ हजार ९ सय २० मत पाइन् । कुल १३ वटा वडा रहेको सो नगरपालिकाको ७ वडामा एमालेका उम्मेदवारहरूले वडाअध्यक्ष पदमा जितेका थिए । एमालेले वडा नम्वर १, ६, ७, ८,९,१० र ११ मा वडाध्यक्ष पद सुरक्षित गरेको थियो ।

त्यस्तै, काँग्रेसले बाँकी रहेको ६ वटा वडाहरूमा जितेको थियो । काँग्रेसले २,३,४,५, १२ र १३ नम्वर वडाको वडाध्यक्ष पदमा जित निकालेको थियो । माओवादी केन्द्र भने सो पालिकाको वडा तहमा निल देखियो ।

भरतपुर महानगरपालिका

२०७४ सालको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदमा माओवादी केन्द्र र काँग्रेसबीच चुनावी तालमेल भएको थियो ।

माओवादी केन्द्रले मेयर र काँग्रेसले उपमेयर लिएर भरतपुर महानगरपालिकामा दुवै पार्टी निर्वाचनमा होमिएका थिए । निर्वाचनको नतिजा अनुसार भरतपुरमा सो गठबन्धन सफल पनि भयो । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । उपमेयमा काँग्रेसबाट पार्वती शाह ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् ।

भरतपुर को कूल २७ वटा वडा मध्ये माओवादी केन्द्रको पक्षमा ३ वटा वडा मात्रै रहेको छ । भरतपुरको १३, २५ र २६ नम्बरमा माओवादी केन्द्रले वडाध्यक्ष पदमा नतिजा हात पारेको थियो । अन्य २४ वटा वडा मध्ये काँग्रेसले १२ र एमालेले १२ वटा वडामा वडाध्यक्ष पदमा जितेको थियो ।

एमालेले २, ४, ५, ७, ९, १०, ११, १२, १६,२२, २३ र २४ नम्वर वडाको वडाध्यक्ष पदमा जितेको थियो । काँग्रेसले भने १, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ नम्वर वडाको वडाध्यक्ष पद सुरक्षित गरेको थियो ।

माडी नगरपालिका

विगतको निर्वाचनमा माडी नगरपालिकामा माओवादी केन्द्रले नेतृत्व लिएको थियो । २०७४ को स्थानीय निर्वाचनमा माडी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकालले चुनाव जिते । उनले ३ हजार ७३ मतसहित चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका खेम प्रसाद महतोले ३ हजार ८२९ मत पाए भने एमालेका नारादमणी पौडेलले ३ हजार ८२६ मत पाए । सो नगरपालिकामा राप्रपाको उपस्थिति पनि बलियो देखिएको छ । नगर प्रमुख पदमा राप्रपाका मदनप्रसाद पौडेलले ३ हजार ७३ मत पाएका थिए ।

यता, पालिका उपप्रमुख पदमा एमालेले जितेको थियो । एमालेकी ताराकुमारी काजी महतोले ४ हजार ६९० मतले निर्वाचन जितेकी थिइन् । उक्त पदमा माओवादी केन्द्रकी उम्मेदवार सविता महतोले ३ हजार ८०४ मत, काँग्रेसकी शिवमाया भट्टराइले २ हजार ८४ र राप्रपाकी भीमकुमारी महतोले ३ हजार १८६ मत पाइन् ।

कूल ९ वटा वडा रहेको सो पालिकामा काँग्रेसले एउटामात्र वडाको नेतृत्व गरेको छ । काँग्रेसले माडीको वडा नम्वर १ को नेतृत्व पायो भने, माओवादी केन्द्रले ३ वटा वडा (२, ४ र ५) को नेतृत्व गर्यो । त्यस्तै एमालेले माडीको ५ वटा वडामा जित हात पार्यो । एमालेले वडा नम्वर ३, ६, ७, ८ र ९ नम्वर वडाको वडाध्यक्ष पदमा नतिजा हात पारेको थियो ।

रत्ननगर नगरपालिका

नेकपा एमालेको बलियो उपस्थिति रहेको नगरपालिका हो, रत्ननगर । २०७४ को निर्वाचनमा सो नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार सफल भए । मेयर पदमा एमालेका नारायण वन १४ हजार ६ सय ७७ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी काँग्रेसका रुपनराज घिमिरेले १३ हजार २२७ मत, माओवादी केन्द्रका पूर्णबहादुर आमगाईँले ३ हजार ६७१ मत पाए ।

त्यस्तै सो नगरपालिकाको उपमेयर पदमा एमालेकी विमलादेवी दवाडी निर्वाचित भइन् । उनले १४ हजार ४८१ मत पाइन् । उनको प्रतिस्पर्धी काँग्रेसकी निता घलानले १२ हजार ७०३ मत पाइन् । सोही पदमा माओवादी केन्द्रकी उम्मेदवार संगीता भट्टराई रेग्मीले ४ हजार २४ मत पाइन् ।

कूल १६ वटा वडा रहेको सो नगरपालिकाको अधिकांश वडामा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । एमालेले १६ वटा वडामध्ये १० वटा वडामा जित हासिल गरेको थियो । एमालेले ३, ४, ५, ८, ९, १०, १३, १४, १५ र १६ नम्वर वडाको वडाध्यक्ष पदमा जित हासिल गर्यो भने काँग्रेसले बाँकी रहेको ६ वटा वडाको नेतृत्व लियो । काँग्रेसले १, २, ६, ७, ११ र १२ नम्वर वडामा नेतृत्व गर्यो । सो नगरपालिकाको नेतृत्वदायी भूमिकाबाट माओवादी केन्द्र बञ्चित हुन पुग्यो ।

राप्ती नगरपालिका

चितवनको राप्ती नगरपालिका एमालेको बलियो पकड भएको क्षेत्र हो । विगतको निर्वाचनमा सो पालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवारहरु सफल भएका थिए । २०७४ को निर्वाचनमा सो नगरपालिकाको मेयर पदमा एमालेकी प्रभा बरालले ११ हजार ६१३ मतका साथ काँग्रेसका किरणभुषण ओलीलाई पराजित गरिन् । ओलीले ७ हजार २९२ मत पाए भने माओवादी केन्द्रका रामचन्द्र पाठकले २ हजार ४९५ मत पाए ।

त्यस्तै सो नगरपालिकाको उपमेयरमा पनि एमालेका इमानसिंह मोक्तानले जिते । मोक्तानले ११ हजार ८८२ मत पाएका थिए । सोही पदमा काँग्रेसको तर्फबाट उम्मेदवार रहेकी अनिता मैनालीले ७ हजार ७४ मत पाइन भने माओवादी केन्द्रकी कल्पना मोक्तानले २ हजार २२७ मत पाइन् । कुल १२ वटा वडा रहेको सो पालिकाको २ वटा बाहेक सबै वडाहरूमा एमालेले नेतृत्व गरिरहेको छ ।

सो नगरपालिकाको ९ र १२ नम्वर वडामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने अन्य १, २, ३, ४, ५, ६, ७, ८, १०, ११ र १३ नम्वर वडामा एमालेले नेतृत्व गरिरहेको छ । माओवादी केन्द्र भने वडा तहसम्मै शुन्य अवस्थामा रहेको छ ।

भागबण्डा मिलाउन पालिकाका तहसम्म गठबन्धनको संयन्त्र

चितवनमा काँग्रेस अन्य ४ मिलेर चुनावमा जाने तयारीमा रहेको छ । पछिल्लो समय चितवनमा काँग्रेस कार्यकर्ता, सांगठनिक संरचना र जनतामा आफूलाई स्थापित गराउन सक्रिय रहेको छ । यसैबीच केन्द्रीय निर्णयानुसार चितवनको सबै स्थानीय तहमा सत्ता गठबन्धनका बीच तालमेलको पहल थालिएको छ । एमालेविरुद्ध काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा एक ढिक्का भएर निर्वाचनमा जानेबारे सहमति गरेर भागबण्डाको छलफल सुरु थालेको छ ।

विगतको निर्वाचनको नतिजा, संगठन संरचना र आम कार्यकर्ताको उपस्थितिका आधारमा गठबन्धन भागबण्डा गरेर निर्वाचन लड्ने तयारीमा रहको छ । आगामी निर्वाचनमा चितवनमा सत्तारुढ दलहरूबीच गठबन्धन गर्ने सहमति भएसँगै पालिका स्तरको संयन्त्र निर्माणमा गठबन्धनमा आवद्ध दलहरु लागेका छन् । नेपाली काँग्रेसको नेतृत्वमा ५ दलका जिल्ला नेतृत्वकर्ताहरु भागबण्डाको तयारीमा जुटेको छ ।

५ दलीय गठबन्धनले चितवनको वडा तहसम्म उम्मेदवारहरूको व्यवस्थापनको लागि मत सर्वेक्षण गर्ने काम थालेको र सोको आधारमा मापदण्ड तयार पारेर उम्मेदवारलाई टिकट वितरण गर्ने तयारी रहेको छ । सो कार्यका लागि चितवनमा जिल्ला र पालिका तह स्तरमा गठबन्धनको संयन्त्र बनाएर बैठक संचालन गरिनेछ ।

आगामी निर्वाचनको लागि गठबन्धनमा आबद्ध दलहरूले आ–आफ्नो तर्फबाट भागबण्डाका लागि दाबी पेश गर्नेछन् । दलीय हैसियत अनुसार चितवनको ७ वटा पालिका र ९७ वटा वडाहरूमा पदीय भागबण्डा गर्ने खाकामा गठबन्धनका दलहरू सहमती गर्ने नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप