शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा माओवादी एक्लै लड्न तयार छ : अइन्द्रविक्रम

राष्ट्रिय वा स्थानीय आवश्यकताले गठबन्धन बन्छ भने हामी खुल्ला छौं
शुक्रबार, १८ चैत २०७८, १६ : ४७
शुक्रबार, १८ चैत २०७८

 पूर्वको ऐतिहासिक पालिकामध्ये एक हो धरान उपमहानगरपालिका । वामपन्थीको किल्ला भत्काएर उपचुनावमा मेयर पद जितेको नेपाली काँग्रेसका नेताहरु अहिले धरानमा एमाले र माओवादी दुबै मिलेर आए पनि हराउने दाबी गरिरहेका छन् ।​ उपचुनावमा हार व्यहोरेको एमाले भने माओवादीका कार्यकर्ता आफ्नो पार्टीमा आएको र काँग्रेसको छवि धुमिल भएको भन्दै यसपालि गुमेको साख फर्काउने रणनीतिमा देखिन्छ । तर, माओवादीका नेताचाहिँ काँग्रेस र एमाले दुबै असफल सावित भएको भन्दै एकीकृत समाजवादी र जसपासँग मिलेर प्रतिस्पर्धामा उत्रने दाउमा छ ।   

०७४ सालको निर्वाचनमा यस उपमहानगरपालिकामा नेकपा एमालेबाट तारा सुब्बा र मञ्जु भण्डारीले मेयर र उपमेयर विजयी बनेका थिए । तर, मेयरको सुब्बाको असामयिक निधनपछि काँग्रेस नेता तिलक राईले एमाले र माओवादी मिलेर बनेको नेकपालाई हराएर वामपन्थीको किल्ला तोडियो ।

मेयरमा जितेका एमाले नेता तारा सुब्बाले त्यसबेला २० हजार ९ सय ७५ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी बनेका कांग्रेसका तिलक राईले १६ हजार १ सय २ पाएका थिए । तेस्रो स्थानमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याएका थिए । 

​प्रमुख सुब्बाको निधन भएपछि सम्पन्न उपनिर्वाचनमा कांग्रेसका तिलक राईले परिणाम उल्ट्याउँदै एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका उम्मेद्वार प्रकाश राईलाई झण्डै ३ हजार मतले पराजित गरे । उपनिर्वाचनमा काँग्रेसका तिलक राईले २६ हजार ७ सय ९ मत ल्याउँदा तत्कालीन नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९ सय १४ मत पाएका थिए ।

उपमहानगरको वडागत परिणामलाई हेर्दा धरानका २० वटा वडामध्ये एमाले एक्लैले १४ वटा जितेको थियो । कांग्रेसले ५ वटा र माओवादी केन्द्रले १ वडा जित्न सफल भएको थियो । धरानमा आगामी स्थानीय निर्वाचनमा परिणाम कस्तो आउला भन्ने विषयमा ठोस विश्लेषण गर्न अहिल्यै नसकिएला । तर, त्यसयता पार्टीहरुबीचको टुटफुट र नयाँ मतदाताको मतले पनि परिणाममा परिवर्तन ल्याउन सक्छ ।

यसपटक केन्द्रबाटै गठबन्धनको तयारी गरिरहेका पाँच दल र एक्लै चुनाव लड्न बाध्य नेकपा एमालेमध्ये चुनाव कसले जित्ला ? धरानमाथि सबैको नजर परेको छ ।

यसै सन्दर्भमा ०७४ सालमा माओवादी केन्द्रबाट मेयरको उम्मेद्वार बनेका आइन्द्र विक्रम बेघा यस पटकको निर्वाचनमा आफू  पुनः उम्मेद्वार बन्ने र चुनाव जित्ने बताउँछन् ।

प्रस्तुत छ माओवादी नेता बेघासँग धरानको सन्दर्भमा रातोपाटीले गरेको कुराकानीको संक्षिप्त अंश :

स्थानीय तहको निर्वाचन लागिसकेको छ । नेकपा माओवादी केन्द्र धरानमा के गर्दैछ ?

अहिले हामी निर्वाचन केन्द्रित कार्यक्रम तयार गरेर वडा भेला, टोल भेला साथै विभिन्न खालका भेटघाट कार्यक्रम गरिरहेका छौं । जनतासँग छलफल र अन्तरक्रिया तीव्र गतिमा अगाडि बढाइरहेका छौं । पार्टीको घोषणापत्र तयारी गर्न स्थानीय समस्याको पहिचान र निधानका उपायबारे संस्थागत र व्यक्तिगत रुपमा छलफल गरिरहेका छौं ।

धरानको प्रमुख पदमा तपाईको उम्मेदवारी रहन्छ कि रहँदैन ?

धरानको जनताले चाहेको अवस्था र पार्टीले जिम्मेवारी दिएमा म पनि प्रमुख पदका लागि योग्य छु जस्तो लागेको छ । तर, कसैका व्यक्तिगत प्रश्न भन्दा पनि धरानको आवश्यकताका आधारमा पार्टीले प्रमुख पदको उमेरद्वार चयन गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

धरानमा यसअघि माओवादीको अवस्था तेस्रो थियो । अहिले तपाईहरूको अवस्था के हो ?

हो, हामी अघिल्लो स्थानीय तहको निर्वाचनमा तेस्रो थियौं । तर, अहिले हाम्रो पार्टीको संगठनात्मक अवस्था पहिलाभन्दा  मजबुत भएको छ । राष्ट्रिय राजनीतिक मुद्दामा हाम्रो पार्टीले खेलेको सकारात्मक भूमिकाको कारणले पनि हाम्रो अवस्थामा सकारात्मक सुधार ल्याएको छ ।

अझ स्थानीय मुद्दाको आँखाबाट हेर्दा धरानको मतदाताको मनस्थिति बदलिएको अवस्था छ । किनकि अहिलेसम्म धरानको नेतृत्व कांग्रेस र एमालेले गरिसकेका छन् । दुई पार्टीको नेतृत्वले खास गरेर कांग्रेस र एमालेले धरानका तमामखाले समस्या थाती रहेका छन् । जस्तै– खानेपानी समस्याको व्यवस्थापनको प्रश्न, सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्ने प्रश्न, अन्य थुप्रै विकास निर्माण र पूर्वाधार निर्माण गर्ने प्रश्न अपुरै छन् ।

जनताले जुन अपेक्षा गरेर जनताले मतदान गरेका थिए त्यो पूरा गर्न नसकेका कारण आज धरानमा पुरानो पार्टीहरू भन्दा पनि नयाँ पार्टीको नेतृत्व खोजिरहेका छन् । त्यसैले धराने जनताले धरानको नेतृत्व परिवर्तन गर्न चाहिरहेका छन् ।

माओवादीको अवस्था सुध्रिएको कसरी पत्याउने ? ? पार्टी कमिटीको बैठकले पदाधिकारी चयन गर्न नसकेर महिनौं लगाएको होइन ?

पार्टीको पदाधिकारी चयन गर्न केही सकस परेकै हो । तर, पार्टी कमजोर भएर होइन नेतृत्वको श्रृङ्खला, नेतृत्व गर्ने इच्छाशक्ति भएका र सक्षम टीम बढी भएर हो । हामीले जनवादी प्रक्रियाबाट हल पनि गरिसकेका छौं । अहिले उक्त टिम पुरै निर्वाचन अभियानमा सामेल भइसकेको छ ।

धरानमा गठबन्धन बन्छ कि बन्दैन ? बन्दा को–को सँग बन्छ ?

हामी गठबन्धनको भरमा छैनौं । हामी हाम्रै बलले जित्ने हो । तर राष्ट्रिय आवश्यकता वा स्थानीय आवश्यकताले गठबन्धन बन्छ भने त्यसको लागि पनि हामी खुल्ला छौं । अहिले को–कोसँग गठबन्धन बन्छ भनेर ठोस कुरा गर्ने अवस्था बनेको छैन ।

कांग्रेसले तपाईंहरूलाई मेयर पद दिन्छ र ? दिएन भने एमालेसँग मिलेर चुनाव लड्ने अवस्था के छ ?

यदि गठबन्धन भयो भने हामीले मेयर वा अरू कुनै पद दिने माग्ने प्रश्न भन्दा पनि राष्ट्रिय र स्थानीय आवश्यकताको आधारबाट परिणाम के हुन्छ त्यो गर्ने हो । चुनाव एक्लै लड्ने हो हामी । एमालेसँगको गठबन्धन भइहाल्छ भन्ने मलाई लागेको छैन । तर हुनुहुँदैन भन्ने मेरो मत पनि होइन ।

एक्लाएक्लै लड्दाको अवस्था के होला ?

हामी जित्ने अवस्थामा छौं । अहिले हाम्रो संगठनात्मक अवस्था पहिले भन्दा बलियो छ । स्थानीय मुद्दाहरूको सवालमा अहिले माओवादी केन्द्र धराने जनतासँग छ ।

धरानमा कांग्रेस र एमालेको अवस्थाचाहिँ कस्तो होला ?

धरानमा एमाले र माओवादी मिल्दाको बखतमा पनि उप–निर्वाचनमा कांग्रेसले करिब २७ सय मतले जितेको थियो । त्यसलाई मात्रै आधार मान्दा कांग्रेस केही भारी हो कि जस्तो देखिन्छ । तर, परिणाम त्यतिले मात्रै सही निस्कँदैन । किनकि अहिले थपिएका नयाँ मतदाता मात्रै करिव २१ हजार छन् । मतदाताको मनस्थिति बदलिएको छ । त्यसैले मचाहिँ त्रिपक्षीय भिडन्त हुने अवस्था देख्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप