प्रदेश १ मा माओवादीको दाबी : एक्लै ३० बढी पालिका जित्छौँ
नेपालको राजनीतिमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको प्रदेश १ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तेस्रो दलका रुपमा स्थापित छ । ०७४ सालको निर्वाचनमा माओवादीले प्रदेश १ का १३७ स्थानीय तहमध्ये ८ वटामा मात्रै जित निकाल्न सकेको थियो । यसपालि भने ३० भन्दा बढी पालिकाहरुमा एक्लै जित्ने माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) को दाबी छ ।
देशका अन्य भागमा जस्तै प्रदेश १ मा पनि नेकपा एमाले र नेपाली काँग्रेस नै दुई ठूला पार्टीमा रुपमा रहेका छन् । साथमा माओवादी, जसपा, राप्रपा जस्ता शक्तिहरु पनि यो प्रदेशमा अस्तित्वमा छन् । एमाले फुटेर बनेको एकीकृत समाजवादी नयाँ दलका रुपमा उदाएको छ । पहिचानवादी (लिम्बुवान) पार्टीका रुपमा परिचित प्रदेशसभामा एकसीट रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पनि केही स्थानीय तहमा सामान्य प्रभाव देखिन्छ ।
साना राजनीतिक पार्टीको समेत चहल–पहल रहेको प्रदेश १ मा यसपटक आफ्नो पार्टीले निकै ठूलो सुधार ल्याउने माओवादी नेताहरुको दाबी छ । ‘यो पटक हामी ३० भन्दा बढी पालिकामा एक्लै प्रतिस्पर्धा गरेर जित्छौँ,’ प्रदेश १ का अध्यक्ष नेम्वाङको भनाइ छ ।
प्रदेश १ का धेरैवटा स्थानीय तहमा माओवादीसँग गठबन्धन नगर्दा चुनाव हारिने डर काँग्रेस र एमालेका नेताहरुलाई छ । यतिसम्म कि माओवादीसँग गठबन्धन गर्नुहुँदैन भन्ने डा. शेखर कोइरालासमेत कतिपय स्थानीय तहमा अपवादकै रुपमा भए पनि माओवादी र काँग्रेस मिल्नुपर्ने बताउँछन् ।
नेकपा एमालेका नेताहरु पनि वाम गठबन्धन हुनुपर्छ भन्दै कतिपय स्थानीय तहमा माओवादीलाई फकाइरहेका छन् । प्रदेश १ का माओवादी नेताहरुमा भने गठबन्धनको विषयमा मूलतः तीनखाले धारणा पाइएका छन् : एक– एक्लै लड्ने । दुई– केन्द्रको जस्तै काँग्रेससँगै मिल्ने । र, तीन– काँग्रेसले घमण्ड गर्यो भने एमालेसँग गठबन्धन गर्ने ।
प्रदेश १ मा देखिएका यिनै राजनीतिक परिदृश्यहरुमाथि माओवादी पार्टीको धारणा बुझ्नका लागि हामीले प्रदेश १ का माओवादी अध्यक्ष हर्कबहादुर नेम्वाङसँग कुराकानी गरेका छौं -
गत फागुन २९ गते विराटनगरमा आयोजित प्रदेशस्तरीय पार्टी प्रशिक्षणमा अध्यक्ष प्रचण्डले दिनुभएको निर्देशनको सार के थियो ?
उहाँले दिएको मुख्य कुरा भनेको एक्लै चुनाव लड्ने हो । समाजवादको आधार तयार पार्न, उपलब्धीको रक्षा गर्न, शान्ति प्रक्रिया लगायतका बाँकी काम पूरा गर्न पनि माओवादीले जित्नै पर्छ । त्यसकारण पार्टीका सबै कार्यकर्ताहरूलाई चुनावमा लाग्न उहाँले आह्वान गर्नुभएको छ ।
माओवादीले प्रदेशमा चुनाव लक्षित कार्यक्रम कसरी बनाइरहेको छ ?
केन्द्रले पनि नीति बनाएको छ । प्रदेश १ ले पनि कार्यालयको बैठक बसेर नीति बनाएको छ । अन्तरपार्टी निर्देशन जारी भएको छ । त्यहाँ हाम्रो आवश्यक रणनीति उल्लेख गरेका छौं ।
तपाईहरुले कमाण्ड पनि छुट्याउनु भएको छ । यसको संरचना कस्तो हो ? यसले कसरी काम गर्छ ?
कमाण्ड भनेको केन्द्रले निर्धारण गरेको टिम हो । केन्द्रीय समिति सदस्यहरुलाई पालिकाको निर्वाचनमा सहजीकरण गर्न र अभियानको नेतृत्व गर्नका लागि खटाइएको छ । यो प्रदेश नम्बर १ मा पाँचवटा कमाण्डहरु बनाइएको छ र सोहीअनुसार पार्टी परिचालन भएको छ ।
केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेले नेतृत्व गर्ने झापा, मोरङ र सुनसरीको एउटा कमाण्ड बनेको छ । धनकुटा, तेह्रथुम र संखुवासभाको हेमराज भण्डारीले नेतृत्व गर्ने कमाण्ड बनेको छ । त्यस्तै इलाम, पाँचथर र ताप्लेजुङको कमाण्ड इन्द्रबहादुर आङ्बोले गर्नुभएको छ । खोटाङ र भोजपुरको अजम्बर काङ्माङले नेतृत्व गर्नुभएको छ भने उदयपुर, ओखलढुंगा र सोलुखुम्बुको हिमाल किरातीले कमाण्ड गरिरहनुभएको छ ।
कमाण्डरले पार्टीको प्रदेश तथा पालिकास्तरका कमिटीहरुसँग कसरी कोअर्डिनेसन गर्छन् ? यसले विवाद ल्याउँदैन ?
विवाद हुँदैन । यो कमिटीगत प्रणाली होइन, यो कामको विन्यास हो । निर्वाचनमा जाँदा कसरी सहज अवस्था आउँछ, त्यसलाई मध्यनजर गरेर प्रदेश र कमाण्डबीचमा समन्वय गरेर अगाडि बढ्छौं ।
चुनावी गठबन्धनको विषयमा चाहिँ कसरी छलफल अगाडि बढिरहेको छ ?
अहिले गठबन्धनको सोच बनाएको छैन । भरसक गठबन्धन नगरी चुनावमा जाने हो । पार्टी केन्द्रको कुरा पनि त्यही छ । फेरि, गठबन्धनका सहयात्री दलहरुले पनि गठबन्धनको विषयमा त्यति राम्रो सन्देश प्रवाह गरिरहेका छैनन् । त्यसकारण गठबन्धन भइहाल्ने सम्भावना पनि छैन ।
गठबन्धनको विषयमा हाम्रो पार्टी खुल्ला छ । गठबन्धन हुँदा पनि सहयात्री दलहरुलाई नै प्राथमिकतामा राखेर गर्ने हो । त्यस बाहेकका दलसँग पनि गठबन्धन हुन सक्ने कुरालाई हामी अस्वीकार गर्दैनौं । नेकपा एमालेसँग पनि हुन सक्छ, अन्य पार्टीसँग पनि एलायन्स हुन सक्छ । तर, अहिलेसम्म हाम्रो पार्टीले एलायन्स गरेर जाने सोचेको छैन । सम्भव भएसम्म हामी एकल ढंगले जानेछौं ।
अहिले एमाले विभाजित भएको छ । प्रदेश १ एमालेको प्रभाव रहेको क्षेत्र पनि हो । तपाईहरुले चाहिँ एमालेको अवस्थालाई कस्तो पाउनुभएको छ ?
एमालेको अवस्था यही हो भन्ने देखिँदैन । पछिल्लो अवस्था हेर्दा कांग्रेस, एमाले र माओवादी प्रतिस्पर्धी पार्टी हुन् । तीन पार्टीमध्ये दुई पार्टीबीच कसले तालमेल गर्छन्, त्यही पार्टीले बाजी मार्ने भन्ने मात्रै कुरा रहयो । एमाले ठूलो शक्तिशाली छ भन्ने देखिँदैन । एमालेले जिन्दगीभर म ठूलो छु त भनि नै रहन्छ । तर, अन्तिममा तालमेल नगरी एमालेले जित्न सक्दैन ।
एमालेसँग हामी डराउँदैनौं । उसको जनमत धेरै खस्किसकेको छ । पार्टी फुटेको छ, संगठन भताभुङ्ग भएको छ । एमाले भनेको सबैभन्दा बढी हावादारी पार्टी हो । सबैभन्दा ढुलमुले, जनतालाई भ्रम छर्ने, राजनीतिक विचार भन्दा प्राविधिक कुरामा अल्झिनेखालको पार्टी भएकाले एमाले ठूलो पार्टी बन्छ भन्ने कुनै ग्यारेन्टी छैन । यो चुनावबाट एमाले नराम्रोसँगले पछारिने मैले देखेको छु ।
आफ्नो पार्टीको अवस्थाचाहिँ कस्तो देख्नुहुन्छ ? माओवादीले १ नम्बर प्रदेशमा कति जित्छ ?
हाम्रो पार्टी गुणात्मक सुधारको अवस्थामा छ । मूलतः प्रदेश १ मा हामी १३७ मध्ये ५० वटा पालिकामा एकल लड्दा पनि कांग्रेस एमालेसँग समान ढंगले प्रतिस्पर्धा गर्न सक्छौं । ३० वटा पालिकामा हामी एक्लै लड्दा पनि जित्न सक्ने अवस्था छ । गठबन्धन गर्ने हो भने कति पालिकाहरु हाम्रो पक्षमा आउँछन् भन्ने कुरा ठोस भइसकेको छैन ।
तपाईले माओवादीको अवस्था गुणात्मक सुधार भएको भन्दै गर्दा पार्टीबाट जितेका पालिकाका मेयरले ने पार्टी परित्याग गरेको देखिएको छ । अरु नेताहरुले पनि पार्टी परित्याग गरेका समाचार आइरहेका छन् नि ?
यो सामान्य कुरा हो । पार्टी अदल–बदल हुने क्रम भइरहन्छ । अब पालिकाको मेयर भनेर रंगेली नगरपालिकातिर इंगित गरेजस्तो लाग्यो । रंगेलीको मेयरको कुरा नयाँ होइन । नेकपा विभाजन भएपछि नै उहाँ एमालेतिर लाग्नुभएको हो । अब, हेर्दै जानुहोला, रंगेली नगरपालिका फेरि माओवादीले जित्छ ।
त्यस्तो जित्ने आधार के छ ? त्यहाँ त माओवादी सकियो भन्छन् नि ?
दिलिप बगडिया पार्टीको मेयर हुँदा हाम्रा १ हजार ५ सय पार्टी सदस्य हुन् । अहिले हाम्रो पार्टी सदस्य संख्या २ हजार २ सय भन्दा धेरै छ । पार्टीप्रतिको उभार धेरै छ । दिलिप बगडियाले गरेका नकारात्मक कामको प्रचार धेरै भएको छ । पार्टीको हाम्रो आधार भत्किएको छैन । यसपटक पनि हामी चुनाव जित्छौं ।
तर, यस प्रदेशका माओवादी कार्यकर्तामा अलि निराशा छ भन्ने सुनिन्छ नि ?
माओवादी निराश हुनुपर्ने कुनै कारण छैन । अब हामी अझै उत्साहित हुनुपर्छ । हाम्रो एजेण्डा लागू भइरहेको अवस्थामा हामी निराश हुनुपर्ने, कमजोर हुनुपर्ने, गल्ती महसुस गर्नुपर्ने कुनै कारण छैन । हाम्रा कार्यकर्तालाई हामीले छाती फुलाएर भएका उपलब्धीको जस लिन र निर्वाचनमा जान आह्वान गरेका छौं । कार्यकर्तालाई सक्रियताका आधारमा मूल्यांकनको उचित विधि बनाएर लागू पनि गरेका छौं । त्यसकारण पनि हाम्रो कार्यकर्ता पंक्ति उत्साहित छ भन्ने लाग्छ ।
काँग्रेसका कतिपय नेताहरुले गठबन्धनको विपक्षमा बोलिरहेको विषयलाई कसरी लिनुहुन्छ ?
कांग्रेसका साथीहरुमा घमण्ड निक्कै पलाएको छ । हामी अध्ययन गरिरहेका छौं । उहाँहरुको घमण्ड देख्दा भुइँ अलि छोड्नुभएको छ कि जस्तो देखिन्छ । कांग्रेस नेताहरुमा मात्रै होइन, केही कार्यकर्तामा पनि त्यो देखिएको छ । यसको गतिलो जवाफ यही चुनावबाटै पाउनुहुन्छ उहाँहरुले ।
यसकारण म गठबन्धनभित्रै रहेका कारण कांग्रेसलाई भन्न चाहन्छु– भुइँमा आउनुहोस्, यथार्थ धरातलमा टेक्नुहोस्, सहकार्य गर्ने, समझदारी गर्ने हो भने वार्ता छलफल गरौं, होइन भने कांग्रेससँग माओवादी पार्टी सति जान तयार छैन । कांग्रेस त सकिँदैछ । माओवादी काँग्रेससँगै गएर सकिँदैन । हामी हाम्रै बलबुँतामा, हाम्रै एजेण्डा लिएर, हाम्रै विचार लिएर, हाम्रै आधार बनाएर जनतामा जान्छौं । त्यसैमा हाम्रो पार्टीको पनि भलो छ ।
एमालेले अहिले कतिपय स्थानीय तहमा माओवादीलाई उपप्रमुख दिएर वार्तामा आउन भनिरहेको सुनिन्छ नि ?
एमालेले त्यसखालको औपचारिकरुपमा भनेको छैन । तर, कतिपय स्थानीय तहमा हाम्रा साथीहरुलाई दिग्भ्रमित बनाउने कोशीस गर्न खोजेका छन् । हामीले त्यसलाई रोक्छौं । प्रदेश समितिले पनि त्यसखालको निर्णय गरिसकेको छ । त्यसखालको कुनै पनि दलसँग छलफल गर्ने, वार्ता गर्ने र सहमति गर्ने जिम्मा प्रदेश समिति र केन्द्रलाई मात्रै छ । अहिले कुनै दलले वडाध्यक्ष दिने, उपाध्यक्ष दिने भन्ने जस्तो लोभ देखाएर कुनै स्वार्थ पूर्ति गर्न खोज्छ भने त्यो सम्भव छैन । गठबन्धन नै गर्ने भयो भने केन्द्रसँग आवश्यक सल्लाह लिएर प्रदेशले निर्णय गर्छ ।
अन्त्यमा, माओवादी पार्टीले उम्मेदवार छनोटको प्रक्रिया र विधि कस्तो बनाएको छ ?
माओवादीले अन्तरपार्टी निर्देशन पनि जारी गरिसकेको छ । लोकप्रियताका आधारमा, सिनियर र पुराना नेता, जित्नेलाई, विचार राजनीतिमा लैस भएका, जनतासँग भिजेका नेतालाई हामी चुनावमा उम्मेदवार बनाउनेछौं । उम्मेदवार छनोटको प्रक्रियाचाहिं वडाले वडास्तरमा उठ्ने उम्मेदवारको लिष्ट बनाएर सर्वसम्मत भए त्यसैलाई फाइनल गर्छ र माथिल्लो कमिटिले त्यसलाई अनुमोदन गर्छ ।
पालिकास्तरका उम्मेदवार पालिकाले सर्वसम्मत गरे त्यहीँ निर्णय गर्छ र माथिल्लो कमिटीले अनुमोदन गर्छ । सर्वसम्मत हुन नसकेमा उम्मेदवार बन्न चाहनेको सूची माथिल्लो कमिटीमा पठाउँछ र माथिल्लो कमिटीले आवश्यक सुझाव दिएर अन्तिम नामको टुंगो लगाउँछ । सबै उम्मेदवारलाई प्रदेश समितिले टिकट दिन्छ र मनोनयन हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आजबाट चिसो र शीतलहर बढ्ने, सतर्क रहन प्राधिकरणको अनुरोध
-
राजनैतिक दलको विचार र अडानलाई सांसदले बोक्नुपर्छ : योगेश भट्टराई
-
मनमोहन सिंहको निधनमा भारतले साताव्यापी राष्ट्रिय शोक मनाउने
-
बक्सिङ डे टेस्टमा अस्ट्रेलिया बलियो स्थितिमा, भारतीय खेलाडीको हातमा कालो पट्टी
-
रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो
-
आचारसंहिता मिच्ने थप २ सञ्चारमाध्यम कालोसूचीमा