बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘विराटनगरमा एक्लै लड्दा पनि जसपाले जित्छ’

११ हजार मत बदर भएपछि अघिल्लो चुनाव हारेँ : उमेश यादव
बिहीबार, १७ चैत २०७८, १७ : ४३
बिहीबार, १७ चैत २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित चहलपहल बढेको छ । चुनावी जोडघटाउमा दलका सम्भावित उमेद्वारहरु लागिरहेका छन् । देशका ६ वटा महानगरपालिकामध्ये विराटनगर पनि महत्वपूर्ण महानगर हो । यसको मत परिणाम र चुनावी दाउपेचले केन्द्रीय राजनीतिलाई पनि आकर्षित गरिरहेको हुन्छ ।

विराटनगर महानगरपालिकामा ०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको आधारमा काँग्रेसको मत १६ हजार ७ सय ६६ थियो । यस्तै, एमालेको १६ हजार २ सय १८ र संघीय समाजवादी फोरमको मत लगभग ११ हजार थियो । तर, मेयर पदमा प्रतिस्पर्धाको हिसावले हेर्ने हो भने विजयी बनेका काँग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याउँदा एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए ।

यस्तै माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेद्वार बनेका उमेशकुमार यादवले १४ हजार ९ सय ५८ मत ल्याएका थिए । विराटनगर महानगरपालिकामा अघिल्लो निर्वाचनको तुलनामा हाल १९ हजार ३ सय ८१ जना मतदाता थप भएका छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार मतदाताको संख्या विराटनगरमा मात्रै १ लाख ३३ हजार १ सय ४२ जना पुगेको छ । २०७४ सालको निर्वाचनमा विराटनगरमा मतदाताको संख्या १ लाख १३ हजार ७ सय ६१ थियो ।

०७४ सालको निर्वाचनको मत परिणामलाई आधार मानेर मात्रै आसन्न निर्वाचनको परिणाम आकलन गर्न कठिन हुन्छ । किनकि त्यसयता थुप्रै पार्टी मिल्ने र विभाजित हुने क्रम चलिसकेको छ भने नयाँ मतदाताको रुझानले पनि परिणाममा धेरै फेरबदल ल्याउन सक्छ ।

यद्यपि, त्यसबेलाका संघीय समाजवादीका उम्मेदवार र हाल जनता समाजवादी पार्टी नेपालबाट मेयर पदका लागि आकांक्षी बनेका उमेशकुमार यादव यस पटक आफ्नो पार्टीले चुनाव जित्ने दाबी गर्दछन् । मतदाता शिक्षाको अभावमा त्यतिबेला आफूले पाएको ११ हजारभन्दा बढी मत बदर भएको भन्दै उनले बदर हुन नदिन सावधानी अपनाउने र ठूलो मतान्तरमा चुनाव जित्ने दाबी गरे ।

विराटनगर महानगरपालिकामा सुरु भएको चुनावी गतिविधि, जसपा नेपालको योजना लगायतका विषयमा रातोपाटीले सोही पार्टीका युवा नेता उमेशकुमार यादवसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ– यादवसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईंको पार्टीले चुनावको तयारी कसरी गरिरहेको छ ?

देशै चुनावमा गइसकेपछि हामीले पनि चुनावी गतिविधि गरिरहेका छौं । हामी जनताको घरदैलोसम्म पुगिरहेका छौं । स्थानीय तहबाट चैत २० गतेभित्र माथिल्लो निकायमा उम्मेदवारको नामावली सिफारिस गर्ने गरी तयारी भइरहेको छ । सँगसँगै पार्टीको संगठन सुदृढीकरण गर्ने काम पनि भइरहेको छ ।

तपाईंहरुको पार्टीको अवस्था विराटनगरमा कस्तो छ ? विपक्षीको अवस्थालाई कसरी हेर्नुहुन्छ ?

विराटनगरमा सबैभन्दा मजबुत अवस्थामा जसपा नेपाल नै छ । किनभने विगतको चुनावले नै देखाइसकेको छ । ०७४ सालमा हाम्रो पार्टी चुनावमा भाग नलिने अवस्थामा थियो तर मनोनयनपत्र दर्ताको २ दिन अगाडि पार्टीले चुनावमा भाग लिने अवस्था आयो । त्यसकारण हामीले चुनावको तयारीका लागि १०÷१२ दिनमात्रै समय पायौं । हामीलाई त्यसबेला जनताले चुनाव जिताएकै हो । हामीले जनतालाई प्रशिक्षित गर्न सकेनौँ, मतदाता शिक्षा दिन सकिएन, जसका कारण हामीले हार व्यहोर्न प-यो । हामीले बदर मतका कारण हारेको हो । तर, जनताको मतले त जितेकै हो नि ।

त्यसबेला माओवादीसँग अन्तिम समयमा गठबन्धन भयो । तर, निर्वाचन आयोगले छापेको मतपत्रमा हाम्रो गठबन्धन देखिएन । जनतालाई हामीले त्यसरी सिकाउन पनि सकेनौँ । मेयर हामीले लियौं । उपमेयर माओवादीलाई दियौँ । फेरि वडामा सबै आ–आफ्नो हिसावले गयौं । मेयरमा मसाललाई छाप, उपमेयरमा हँसिया हथौडामा दिनु भनेर हामीले मतदातालाई समयमै सम्झाउन सकेनौँ । मतदाता शिक्षाबाट बञ्चित मतदाताले मेयर, उपमेयरमै हँसिया हथौडामा पनि र मसालमा पनि मत दिए । ल्याप्चे मत पनि बढी थियो । त्यसखालको मत ११ हजारभन्दा बढी देखिएको थियो । बदर र सदर जोड्ने हो भने त हामी हजारौंको मतले विजयी प्राप्त गरेका हुन्थ्यौं नि !

नेपाली काँग्रेसका कार्यकर्ता विराटनगरलाई काँग्रेसको गढ भन्दै आएका छन् । यहाँ नेपाली काँग्रेसले नै फेरि पनि जित्छ भन्ने उनीहरुको दाबी छ । यस्तो अवस्थामा तपाईले यहाँ कसरी जित्नु हुन्छ ? तपाईको पार्टीले जित्ने आधार के छ र ?

हिजोको अवस्थामा भन्दा हामी अहिले सचेत भएका छौं । निरन्तर जनताको घरदैलोमा गएका छौं । जनता आफै पनि हामी यस पटक सचेत भएका छन् । त्यसबेला मतदाता शिक्षाको अभाव भयो । यस पटक मत बिगार्दैनौं भन्ने कुरा जनताबाटै आएको छ । हाम्रो पार्टी त्यतिबेला भन्दा अझ सशक्त रुपमा मजबुत भएर आएको छ ।

अघिल्लो चुनावमा तपाईंहरुको पार्टी र माओवादी केन्द्रबीचमा गठबन्धन थियो । यसपटक त्यस्तो खाले गठबन्धन हुने वा पाँच वटा सत्तारुढ दलबीच गठबन्धन हुन्छ ? या तपाईहरु एक्लै लड्नुहुन्छ ?

यसमा तीनवटा अवस्था छ । काँग्रेससहितको गठबन्धन बन्ने अवस्था पनि छ । त्यसबाहेक माओवादी, नेकपा एकीकृत समाजवादी र हाम्रो पार्टीबीच गठबन्धन हुने अवस्था पनि छ । त्यो पनि भएन भने विराटनगरमा एक्लै पनि चुनाव जित्ने अवस्थामा हामी छौं । गठबन्धन गर्नुपर्छ या पर्दैन ? अरू पार्टीलाई मेयर दिएर पनि गठबन्धन हुन्छ ? हाम्रो पार्टीले मेयर पद लिएरमात्रै गठबन्धन हुन्छ । अरुलाई सघाउने गरी हामी अगाडि बढ्दैनौँ । हामी मेयर राखेरमात्रै गठबन्धन गर्छौं ।

विराटनगर महानगरपालिकामा तपाईंको उम्मेदवारी फेरि पनि रहन्छ ?

मेरो उम्मेदवारी कायम राखेको छु । मेरो उम्मेदवारी रहन्छ । जसपा नेपालको म नै आधिकारिक उम्मेदवार हुँ र मलाई नै पार्टीले उम्मेदवार बनाउँछ भन्ने कुरामा म विश्वस्त छु । स्थानीय तहबाट जनता र कार्यकर्ताको भावना अनुसार मेयरको टिकट दिने हो । मलाई लाग्छ जनता र पार्टीको कार्यकर्ताले पनि मलाई माया गर्छन् । पार्टीले पनि सोही अनुसार नै निर्णय गर्छ भन्ने मलाई लागेको छ ।

तपाईको पार्टीबाट भुराज राई, उपेन्द्र यादवको छोरा अमरेन्द्र यादव, केन्द्रीय सदस्यहरू तेजलाल कर्ण, भरत दाहाल लगायतले पनि मेयर पदमा उम्मेदवारी दिने बताइरहेका छन्, टिकट तपाईले नै पाउनुहुन्छ भन्ने के ग्यारेण्टी छ ?

तपाईले नाम लिनुभएका हरेक नेताहरु सबै जना पार्टीका प्रखर नेता हुनुहुन्छ । तर, हाम्रो पार्टीभित्रको आन्तरिक टिकटको लागि प्रतिस्पर्धा हो । जति जनाले दाबी गर्नुभएको छ, सबै योग्य र पार्टीका इमानदार नेता हुन् ।

०७४ सालको निर्वाचनबाट भीम पराजुलीको नेतृत्वमा स्थानीय सरकार बन्यो, त्यस यता विराटनगर महानगरमा भएका कामको मूल्याङ्कन तपाईले कसरी गर्नुभएको छ ?

स्थानीय सरकार यहाँ असफल भएर गएको छ । तपाई हामी सबै विराटनगरमा छौं । विराटनगरमा तपाई हामीले के नयाँ देखेका छौं ? फलाना मेयरले यो ५ वर्षमा यस्तो ग¥यो भन्ने के देख्नुभएको छ ? यहाँ नयाँपन केही पनि देखाउनु त ?

विराटनगरका सडकहरू युरोपको जस्तो भएको छ भन्ने कुरा छ नि ?

यो प्रोजेक्ट त एडीबीको हो । यो एडीबीको बजेट आएर सडक बनेको हो । भीम पराजुली आउनुभन्दा अगाडि नै यो कामका लागि सम्झौता भइसकेको थियो । त्यसबेला प्रोजेक्ट फर्किन लागेको अवस्थामा विराटनगर–१४ सिंघिया खोला क्षेत्रमा जग्गा चाहिएको थियो । जग्गा उपलब्ध नभएको खण्डमा एडीबीको प्रोजेक्ट नै फिर्ता जाने अवस्था थियो । त्यसबेला मैले ८ बिगाहा र जयराम यादवले ६ बिगाहा जग्गा नदिएको भए नगरपालिकाले त्यो प्रोजेक्ट नै फिर्ता जान्थ्यो । बजेट फिर्ता गएको भए कुन बजेटले बाटोघाटो बन्थ्यो ? जति पनि तपाईले नालासहितको पिच देख्नुहुन्छ, सम्पूर्ण बजेट भनेको एडीबीको बजेटबाट बनेको बाटोघाटो हो । जुन, मेयर आएको भए पनि, जो आएको भए पनि त्यो त बन्थ्यो नै । यो कुरा सबै जनताले बुझेका छन् । सबै जनतालाई थाहा छ ।

बरु यसको श्रेय जाने हो भने त्यतिबेलाका कार्यकारी अधिकृत गोपाल रेग्मीलाई जान्छ । उहाँकै पहलमा एडीबीको प्रोजेक्ट आएको हो विराटनगरमा ।

काम भएन भन्ने कुरामा हालका मेयर भीम पराजुलीले अर्को गुनासो गरिरहनु भएको छ । कोरोना आयो, प्रदेश र संघले कार्यक्रम तथा बजेट दिएन भन्ने उहाँको कुरा छ । अबचाहिँ रफ्तार लिन्छ भन्ने कुरा पनि उहाँले गर्नुभएको छ त ?

तपाईले भीम पराजुलीले जुन गुनासो गर्नुभएको छ, मेरो अनुकूलको सरकार भएन, माथिल्लो निकायले बजेट दिएन भनेर जुन तरिकाले उहाँ भन्दै हुनुहुन्छ । त्यस्तै तरिकाले यो बाटोघाटो पनि मेरो कारणले बनेको होइन । एडीबीको प्रोजेक्टबाट बनेको हो, गोपाल रेग्मीको पालामा आएको हो पनि त भन्न सक्नु प-यो नि । भएका कामको चाहिँ जस आफूले लिन खोज्ने, नभएको कामको अपजस पनि त लिनुप¥यो नि !

विराटनगरलाई विकसित गर्ने तपाईको एजेण्डाचाहिँ के छ ?

स्वास्थ्य, शिक्षा, सुकुमबासीहरुको समस्या समाधान गर्ने, तटबन्धको कुराहरु लिएर अगाडि बढ्ने हो । विराटनगरमा कमसे कम ५ वर्षको अवधिमा फलानो मेयरले केही चिज दिएर गएको छ भन्ने कुराको महसुस हुने गरी काम गर्छु । विराटनगरमा आमूल परिवर्तन, आमूल विकास निर्माणको काम हुनेछन् । अहिले नै चुनावको उम्मेदवार बनिसकेको पनि छैन । पार्टीको तर्फबाट घोषणापत्र आउँछ । त्यसबेला अरू धेरै कुरा भनौँला ।

विराटनगर महानगरपालिकाको सम्भावित परिणामको आँकलन कसरी गर्नुहुन्छ ? जनमतको अवस्था कस्तो छ ? एमालेले पनि हामी जित्छौँ भनिरहेको छ त ?

एमालेले जित्छु भनिरहे पनि त्यसको आधार छ जस्तो मलाई लाग्दैन । किनभने स्थानीय वडामा ३ वटामात्रै उहाँहरुले जित्नुभएको हो । अन्य वडामा उहाँहरुको अवस्था के थियो भन्ने कुरा पनि हेर्नुपर्छ । जित्ने हामी नै हो । त्यसको धेरै पछाडिको अवस्थामा दोस्रो काँग्रेस हुन्छ ।

के आधारले काँग्रेस धेरै पछाडि पर्छ भन्ने विश्लेषण गर्नुहुन्छ तपाई ?

हामीले ०७४ सालको रिजल्ट हेर्ने हो । त्यसपछि निरन्तर हामी जनताको घरदैलोमा छौं । जनताको समस्यामा जुधेर अगाडि बढिरहेका छौं । त्यसको अनुभवमा हामी भन्दैछौं कि हाम्रो पार्टीले ५ वर्ष पछाडिको चुनावको तयारी त्यसबेलादेखि नै गरेको हो ।

विराटनगरमा तपाईंहरुको पार्टी सदस्य कति छन् ?

विराटनगरमा १० हजारको संख्यामा हाम्रो पार्टी सदस्य छन् । ०७४ सालमा हामीले ६ वटा वडाअध्यक्ष जितेका थियौं ।

वडाअध्यक्षहरुको मतको हिसाव निकाल्दा त ०७४ सालमा तपाईंहरुको पार्टी तेस्रो देखिन्छ । अनि कसरी चुनाव जित्नुहुन्छ ?

त्यतिबेलाको भन्दा अहिलेको अवस्था हाम्रो बलियो भएर गएको छ । त्यसलाई मात्रै आधार मानेर हुँदैन । हामीले ५ वर्षमा पार्टीको अवस्था धेरै राम्रो बनाएका छौं । विराटनगरमा यस पटक हामी पहिलो पार्टी हुन्छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप