बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बनेका रंगेलीका मेयरले चुनाव जित्लान् ? यस्तो छ हिसाब

सोमबार, ३० फागुन २०७८, १९ : १०
सोमबार, ३० फागुन २०७८

माओवादी केन्द्रबाट निर्वाचित मोरङ रंगेलीका प्रमुख दिलिपकुमार अग्रवाल (बगडिया) अघिल्लो साता केपी ओलीको हातबाट टीका लगाएर एमालेमा प्रवेश गरिसकेका छन् । अग्रवाल एमालेबाट मेयरको टिकट पाउने अपेक्षासहित एमालेमा प्रवेश गरेका हुन् । तर, आगामी निर्वाचनमा अग्रवालले एमालेका तर्फबाट चुनाव जित्लान् ? के छ रंगेलीको राजनीतिक अवस्था ? मोरङमा अहिले यो विषयमा चर्चा बढेको छ ।

मेयर अग्रवाल आफ्नो पार्टीमा प्रवेश गरेपछि एमाले समर्थकहरुले मोरङको दक्षिणी बेल्टबाट माओवादी कमजोर भएको र आगामी चुनावमा एमालेले जित्ने अवस्था बनेको दाबी गर्न थालेका छन् । तर, माओवादीले पनि विगतको आफ्नो साख गिर्न नदिने दाबी गर्न छाडेको छैन ।

यसअघि २०७४ सालको निर्वाचनमा माओवादीका उम्मेदवार बनेका अग्रवालले काँग्रेस भन्दा १९ सय बढी र एमालेभन्दा ५ हजार बढी मत ल्याएर विजयी बनेका थिए ।

माओवादीले ८ हजार मत पाएकाे थियाे भने एमालेले पाएको अधिकतम मत ४४ सय थियो । यो दुबै मत जोड्दा लगभग साढे १२ हजार मत  पुग्छ । तर, माओवादीबाट खसेको सबै मत अब बगडियालाई नै जाने स्थिति छैन । ०७४ सालको मतको आधा नै बडडियाले पाए भने पनि एमाले र उनको मत जोड्दा ८/९ हजार पुग्न सक्छ । यस्तो अवस्थामा काँग्रेस र माओवादीबीच गठबन्धन भयो भने गठबन्धनको पक्षमा माओवादीको ५ हजार र काँग्रेसको ६ हजारसमेत ११ हजार मत खस्न सक्छ । तर, यो चुनावमा केही मतदाताहरू पनि थपिएका कारण विगतको गणितले मात्रै सही निष्कर्ष ननिस्कन सक्छ ।   

प्रमुख र उपप्रमुखलाई ०७४ सालमा प्राप्त मतको अवस्था हेर्दा  काँग्रेस र माओवादी केन्द्रको झण्डै २ हजार ३ सय मतको अन्तर छ । र, यो मत दिलिप अग्रवालको लोकप्रियताको मत हो भन्ने आधार प्रशस्त छ । यस आधारमा हेर्दा अग्रवालसँग रहेको आफ्नो मत भनेको करिब २ हजार हो । तेस्रो स्थानमा रहेको एमालेको मत ३ हजार हो ।

एमालेका प्रमुखको भन्दा बढी उपप्रमुखको १ हजार ७ सय बढी मत खसेको थियो । नेपाली काँग्रेस र तत्कालीन संघीय समाजवादी फोरमको प्रमुख र उपप्रमुखको मतान्तर भने खासै धेरै थिएन ।

अग्रवालले चुनाव जित्लान् त ?

एमाले प्रवेश गरेका रंगेलीका प्रमुख बगडियाले रातोपाटीसँगको कुराकानीका क्रममा आफू चुनावमा पुनः उठ्ने बताए । आफू जित निकाल्ने उनको दाबी छ ।

स्थानीय सर्वसाधारण पनि जुनसुकै पार्टीबाट उम्मेदवार बने पनि अग्रवालले चुनाव जित्ने सम्भावना नै बढी देख्छन् । रंगेलीका स्थानीय पत्रकार रविन्द्र बराल भन्छन्, ‘यहाँ पार्टीले जित्ने होइन, व्यक्तिले जित्ने देखिन्छ, धेरै मानिसले दिलिपलाई भोट हाल्ने बताउँछन् ।’

नेकपा एमाले रंगेलीका इन्चार्ज मनोज अग्रवालले प्रमुख मात्रै नभएर  उनको प्यानलले उपप्रमुख तथा सबै वडा जित्ने दाबी गरे । ‘काँग्रेस, माओवादी वा अन्य जोसुकै, जतिसुकै ठूलो गठबन्धन गरेर आए पनि हामी एक्लै जित्छौं,’ उनले भने । यद्यपि टिकट दिलिप अग्रवालले नै पाउने–नपाउने भन्ने विषयमा चाहिँ पार्टीभित्र छलफल हुन बाँकी रहेको उनले बताए ।

उता काँग्रेस र माओवादी केन्द्रका स्थानीय नेता भने दिलिप बगडिया नामको भ्रम देखाएर मानिसको आँखामा छारो हाल्न खोजिएको बताउँछन् । उनले दिलिप अग्रवालले यसपटक धेरै ठूलो मत अन्तरले हार्ने पनि दाबी गरे । ‘यो सबै भ्रम हो, एउटा मान्छे जहाँ जान्छ, त्यसको पछिपछि सर्वसाधारण मतदाता जान्छन् र ? त्यो असम्भव कुरा हो,’ काँग्रेस रंगेलीका सभापति जनन्नाथ मण्डलले रातोपाटीसँग भने, ‘हाम्रो मत दायाँ–बायाँ भएको छैन, हल्लाखल्ला गरेजस्तो माओवादीका स्थानीय मतदाता पनि हल्लिएका छैनन्, यो सबै भ्रम मात्रै हो, जनताको आँखामा छारो हाल्न खोजिएको हो ।’

माओवादी केन्द्र रंगेलीका सहसचिव सुशील साहले माओवादीले टिकट दिएर जिताएको मान्छेले एमालेमा लागेर नजित्ने दाबी गरे । ‘हाम्रो पार्टीले, यहाँका माननीय शिवकुमार मण्डलले तथा स्थानीय पार्टीले भूमिका खेलेर रंगेलीको विकास भएको हो,’ साहले भने, ‘बगडियाको एक्लै भूमिकाले विकास हुँदैनथ्यो, आउँदो चुनावमा जित्छु भन्ने उनलाई भ्रम होला, त्यो पूरा हुँदैन ।’

यस्तो छ ०७४ मा वडाको परिणाम

रंगेलीको चुनावी विश्लेषणका लागि पालिका अन्तरगत सबै वडाहरूको मत परिणाम हेर्नु आवश्यक छ । ९ वटा वडा रहेको रंगेलीमा वडा नम्बर १, ५ र ७ नम्बर वडामा माओवादीका उम्मेदवार विजयी भएका थिए ।

काँग्रेस वडा नम्बर २, ३ र ९ को अध्यक्षमा विजयी भएको थियो । संघीय समाजवादी फोरम नेपाल वडा नम्बर ४ र वडा नम्बर ६ मा विजयी हुँदा नेकपा एमालेले वडा नम्बर ८ मा मात्रै जित निकालेको थियो ।

हेर्नुहोस् वडाध्यक्षको मत (विजयी वडा पहेँलो बक्स)

वडा अध्यक्षले ल्याएको मतको तथ्याङ्क हेर्दा पनि त्यहाँ माओवादीको मत नै बढी देखिन्छ । सबै वडाध्यक्षको मत जोड्दा माओवादीको ५ हजार २ सय ८० छ भने काँग्रेसको ५ हजार १ सय २१, एमालेको ४ हजार ४ सय १९ र संघीय समाजवादी फोरम नेपालको २ हजार ६६ मत खसेको थियो ।

गठबन्धन भए अग्रवाललाई चुनाव जित्न गाह्रो

वडाको र प्रमुख, उपप्रमुखले ल्याएको मतको अवस्था हेर्दा सत्तामा भएका दलहरुबीच गठबन्धन भए दिलिप अग्रवालले चुनाव जित्ने सम्भावना भने कम देखिन्छ ।

अघिल्लो पटकको चुनावलाई आधार मान्दा एमाले तेस्रो स्थानमा छ । उसले आफ्नो स्थान अरू पार्टीसमान बनाउन अग्रवालको व्यक्तित्व र सकारात्मक छविलाई प्रयोग गर्न सक्छ । तर, त्यही आधारमा चुनाव जितिहाल्ने अवस्था बन्ने देखिँदैन ।

यसपटक गठबन्धनमा रहेका र रंगेलीमा प्रभाव राख्ने पार्टीहरू काँग्रेस, माओवादी, जनता समाजवादीले गठबन्धन गरेको खण्डमा समर्थक मतदाताको अवस्था एमालेको भन्दा धेरै तलमाथि बन्ने देखिन्छ ।

तत्कालीन मतको अवस्थालाई जोड्दा तीन पार्टीको मत मात्रै लगभग १७ हजार पुग्छ । एमालेले आफ्नो अवस्थामा नाटकीय सुधार ल्याए पनि र उम्मेदवार दिलिप अग्रवाललाई बनाउँदा पनि ७ हजार मत कटाउन धेरै मिहेनत गर्नुपर्ने देखिन्छ ।

यसर्थ, आउँदो स्थानीय तहको चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातको टीका लगाएर पार्टी प्रवेश गरेका अग्रवाललाई चुनाव जित्नु फलामको च्यूरा चपाउनुसरह देखिन्छ ।

गठबन्धन दलहरु नमिली एक्लाएक्लै चुनावमा गएको अवस्थामा भने अग्रवाललाई जित निकाल्न सहज हुने देखिन्छ । तथापि नेता र पार्टीहरूले आ–आफ्नो दाबी गरिरहे पनि निर्वाचनमा मतदाताले हालेको मत गणना नगरेसम्म यसै भन्न सक्ने अवस्था छैन । बाँकी परिणामको कुरा निर्वाचनले नै देखाउला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप