शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हराउँदै होलीको परम्परागत गीत, अश्लील गीतसँग लगाउँदै प्रीत

शुक्रबार, ०४ चैत २०७८, १६ : ०४
शुक्रबार, ०४ चैत २०७८

‘शिवमण्ठ पर राम खेलैय होरी,​ शिवमण्ठ पर...डम्फु, ढोलक, झाइल’

यस्ता गीत गाउँदै होली मनाउने चलन हराउँदै गएको छ । अहिले त्यसको ठाउँ डिजे गीतले लिदै छ । पहिले श्रीपञ्चमी अर्थात् सरस्वती पूजाकै दिनदेखि तराई मधेसको टोल टोलमा डम्फुमा होली गीत गाउने चलन थियो । अब यस्तो गीत गुञ्जिदैन । कसैको घर जाँदा भाङको शरवत वा चिनी–पानी, कागतीको सरबत दिने चलन थियो । तर अहिले भाङको ठाउँ देशी विदेशी रक्सी, कोकले लिएको छ ।

होलीको दिन मदिरा पिएर लठ्ठ भएका युवाहरु साउण्ड बक्स घन्काएर नाचिरहेका हुन्छन् । आमसञ्चार प्राधिकरण, मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव भन्छन्, ‘आधुनिकतासँगै हाम्रा लोकसँस्कृति हराउँदै जानुले चिन्ताको विषय बनेको छ । आधुनिकताको बहानामा समाज छाडातन्त्रमा गइरहेको छ ।’

पहिले होली भन्ने वित्तिकै मन हुरुक्क हुन्थ्यो तर अहिले त्यो अवस्था छैन, अहिले होलीमा आफ्नो प्रतिष्ठता बचाउनुपर्ने अवस्था आएको यादव बताउँछन् । मैथिली, भोजपुरीका अश्लील गीत बजाएर गाउँघरका युवाहरु उधुम मचाएका हुन्छन्, जुन नाचगान सुन्न पनि लाज हुन्छ । पहिला पहिला गाउँघरका बुढापाका तथा युवाहरु डम्फु, ढोलक, हरमुनियम, झाइल लिएर समूहमा गीत गाउँदै घरघर गएर दक्षिणा लिने, चलन थियो । आदरपूर्वक एक अर्कालाई रंग लगाएर सम्मान दिने चलन थियो । त्यसमा सद्भाव, अपनत्व, भावना मिसिएको हुन्थ्यो, अहिले त्यो पुरै हराएको बताउँछन् सिरहाका श्रीदेव यादव । ‘अहिले त कसले कति रक्सी खान सक्छ, कसले कति होहल्ला गर्न सक्छ ? त्यसमा प्रतिस्पर्धा हुने गरेको छ,’ उनी भन्छन् ।

‘कोन ताल पर ढोलक बाजे कोन ताल मृदङ ?   

कौन ताल पर गोरिया नाचे कौन ताल पर हम ?   

जोगिरा सर र र !’

होलीका अवसरमा गाइने यस्ता कर्णप्रिय गीत तथा जोगिरा हराउँदै गएका छन् । जबकि होलीकै जोगिरा तथा गीतमा सवाल जवाफ हुन्थ्यो । जुन सुन्दा मन मुग्ध हुन्थ्यो । होली गाउनेले कुनैले प्रश्न गर्छः

‘किनका के हाथ कनक पिचकारी,   

किनका के हाथ अबिर झोरी ?

जोगिरा सररर.... !!’

त्यस मध्येकै अर्कोले यसरी जवाफ दिन्छः   

 रामजी के हाथमें कनक पिचकारी,   

 सियाजी के हाथ अबिर झोरी !   

 जोगिरा..सररर..!!’   

यस्ता गीत हराएर अहिले त भोजपुरी तथा मैथिलीका अश्लील गीत गाउन, सुन्नमा युवाहरु मस्ताराम छन् । पहिलाको गीतमा पनि कामोत्वसवको मर्म धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ, उर्जा हुन्थ्यो । सँस्कृतिको प्रकाश, परम्पराको आधार, पिरती तथा उन्मुक्ति हुन्थ्यो । त्यो सुन्दा माधुर्य र कर्णप्रिय लाग्थ्यो । तर, अहिले यस्ता अश्लील गीत आएका छन्, जुन सुन्दा कान थुन्नुपर्छ भन्छन्, सिरहा लहानका रामसुफल सदाय । अहिले त पहिला जस्तो होली खेल्न बाहिर निस्किन मनै लाग्दैन । उच्छृङ्खलताका कारण वातावरण राम्रो नरहेको उनी बताउँछन् ।

पहिला पहिला होलीको गीतमा सीताराम र शिव–पार्वती, होलिका, गणेश केन्द्रीत हुन्थ्यो तर अहिले भैया, भौजी, छोरी, मौगीले स्थान लिएको छ ।

होली मे जोवन पनियता...,

देवरा घुसियता हे मोट पिचकरिया हे सखी...।

यस्ता दुई अर्थ लाग्ने गीत गाउँटोलमा मात्र होइन, एफएम रेडियोमा पनि सुन्ने गरिन्छ । धार्मिक परम्परा भएको होलीलाई अश्लील बनाउँदा मधेसी समाजमा चिन्ता बढेको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप