आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

हराउँदै छ मधेसमा होलीको रौनकता

शुक्रबार, ०४ चैत २०७८, १२ : ४०
शुक्रबार, ०४ चैत २०७८

हरेक वर्षझैँ यो वर्षको होली काठमाडौं लगायत पहाडमा बिहीवार मनाइसके भने तराई, मधेसमा आज शुक्रबार मनाइँदैछ । यो पर्व पहाड र तराईमा फरक फरक दिनमा केही फरक तरिकाले मनाइए पनि यसको उद्देश्य र यसबारेको मिथक एउटै छ । त्यो हो हिरण्य कश्यपुले आफ्नो छोरा ईश्वरभक्त भएपछि मार्न आफ्नै बहिनी होलिकाको काखमा राखेर जलाउने प्रयास गर्दा होलीका नै जलेर नष्ट भएको घटना । यसलाई हिन्दूहरूले दानवीय प्रवृत्तिको नास र ईश्वरीय प्रवृत्तिको विजयका रूपमा मनाउँदै आएका छन् ।

मधेसमा यो पर्वको मौलिकता हराउँदै गएकोे छ । शोषित पीडितहरूका पीडाले भरिएका होली गीत, त्यसमा प्रयोग हुने वाद्यवादन, घरघर गाउँदै हिँड्ने गायक गायिका सबै हराउँदै गएको अवस्था छ । यसै सन्दर्भमा होलीबारे तराई क्षेत्रका लेखक, साहित्यकार तथा संस्कृतिविद् रामदयाल राकेश, रामभरोस कापडी, धीरेन्द्र प्रेमर्षि त्रयको विचार रातोपाटीले समेटेको छ :

‘सम्मत’ चलाएर होलीः रामदयाल राकेश

होली रङ र उत्सवको पर्व हो । मिथकका आधारमा भन्ने हो भने दानवी प्रवृत्तिमाथि दैवी शक्तिको विजयोत्सवका रूपमा यो पर्व मनाइन्छ । पौराणिक कालका हिरण्य कशिपु नामक् अत्याचारी राजाले आफ्नो भगवान्भक्त छोरा प्रह्लादलाई मार्न आगोले पनि नडढ्ने बरदान प्राप्त गरेकी आफ्नै बहिनी होलिकालाई जिम्मा दिए । प्रह्लादकी फुपू होलिकाले भष्म पार्न लाग्दा उनी आफैँ भष्म भएकी तर विष्णुभक्त प्रह्लादलाई केही नभएको प्रसङ्गसँग जोडेर हेरिन्छ । त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरु भएको भनेर सबैले मान्दै आएका छन् ।

तराई मधेसमा यस दिन ‘सम्मत’ चलाइन्छ । गाउँभरीको फोहोर जम्मा गरेर फागु पूर्णिमाको राति आगो लगाइन्छ । यसलाई सम्मत भनिन्छ । त्यो सम्मत जलाएपछि तराई मधेसमा होलीको प्रारम्भ हुन्छ । पहाडी भूभाग र काठमाडौं उपत्यकामा भने एक हप्ता अघि चिर ठड्याइन्छ र फागु पूर्णिमाको दिन मात्र फागु मनाइन्छ । तर तराई मधेसमा त्यो सम्मत जलाएको खरानी टाउकोमा दलेर बिहानदेखि होली मनाइन्छ, होली गीत गाइन्छ । होली गीत गाउने एउटा समूह हुन्छ, त्यसले घरघरमा गीत गाउँदै हिँड्छ । उनीहरूलाई स्वागत गरिन्छ । अबिर दल्ने, पिच्कारीले रङ्ग छ्याप्ने गर्छन् ।

शत्रुता समाप्त गर्ने दिनः रामभरोस कापडी

तराई क्षेत्रको विशुद्ध कृषिमा आधारित सांस्कृतिक पर्व हो होली । आफ्नै खेत, करेसाबारीमा उब्जिएको अन्न, फलफूल खाएर यो पर्व मनाइन्छ । होली, होरी, फागु, फगुवा जे भने पनि परम्परा भने त्यही हो । समाजलाई आदर्शतिर डोर्याउन मात्र आध्यात्मिकताको कूट दिइएको हो । यसमा आफ्नै घरमा उब्जाएको चामल, गहुँ आदिका परिकार बनाई यो पर्व मनाइन्छ । घरमै पालिएका गाईभैँसीले दिएका दूधबाट विविध परिकारका साथै पुवा, पुरी, तरकारी जस्ता पकवानहरू बनाइन्छ । माछामासु पनि आफ्नै घरआँगनमा उत्पादन गरेको खाइन्छ ।

पहिले पहिले घरघरमा जम्मा भएर गीत गाउने, झ्याली मर्धाङ कुद्ने, आफ्ना परम्परागत गीत गाएर होली मनाइन्थ्यो । गाउँका प्रतिष्ठित व्यक्तिका घरमा होलियाहरू आएर मजाले गीत गाउँदै अबिर लगाउने चलन थियो । उनीहरूलाई खानपान र केही पैसाको व्यवस्था पनि हुन्थ्यो । वसन्त पञ्चमीदेखि फागुपूर्णिमासम्म करिब एक महिना होलीका गीतहरू गाइन्थे । हरेक घरमा क्षमताअनुसार होली मनाउँथे । अहिले त्यो डम्फा, मदिया झ्याल जस्ता वाद्यवादन र परम्परागत रूपमा गाउने होलियाहरू पनि हराइसके । अब त्यो बाँकी रहेको छैन, सबै सकियो । अहिले त आयोजना गरेर, प्रतियोगिता गरेर मात्र खेल्ने चलन आयो । आयो खायो, गाली गर्यो, त्यसैमा सीमित छ ।

होलीको सदुपयोग र दुरुपयोग हुने कार्य यसको प्रारम्भबाटै भएको देखिन्छ । कसैसँग रिस छ, भन्न नसक्दा त्यो दिनमा भाङ, रक्सी खाने अनि मस्त भएर ती व्यक्तिलाई मजाले बेइज्जत गर्ने गर्थे । पछि कसैले त्यसको बारेमा सोध्यो भने, खाएको बेला परेछ भनेपछि छुट हुन्थ्यो । क्षमा पनि हुन्थ्यो ।

पहिले यही पर्व कत्ति सुन्दर थियो । अर्को पक्षका साथीहरूलाई बोलाएर मजाले खानपिन गर्ने, रङ्ग अबिर लगाउने चलन थियो । अनि सबैको दुस्मनी राख्ने, बोलचाल बन्द हुने, खाना बाराबार हुनेलाई पनि घरमा बोलाएर मिल्ने, अबिर लगाउने, गला मिलाउने गरेर शत्रुता समाप्त गर्ने चलन थियो । यो एकदमै राम्रो संस्कार हो । यही संस्कारका आधारमा होलीको प्रारम्भ भएको हो ।

यो पर्व अहिले उपभोगको संस्कृतिका रूपमा पनि आउने गरेको छ । यसलाई विभिन्न पार्टीहरूले प्रचार प्रसारको माध्यम बनाएका छन् । अहिले सबै पार्टीले रङ्ग मिलानको होली  भनेर कार्यक्रम राखेका छन् । गाउँगाउँ कुदिरहेका छन् ।

समानताको पर्व होलीः धीरेन्द्र प्रेमर्षि

होली समानताको पर्व हो । यो पर्व मनाउँदा सबै बराबर हुन्छन् । मान्छेमा भिन्नता देखिने भनेको लुगाफाटाले हो । अनुहारको रङले हो, सिँगारपटारले हो । होलीमा रङ लगाइदिएपछि त्यो विभेद सबै सकिन्छ । सबै एकैनासका हुन्छन् । यसर्थ यो एउटा समानताको पर्व हो ।

नेपाली समाजमा त्यसै पनि जात बाँडिएको छ । सरस्वती पूजा ब्राह्मणहरूको पर्व भन्छन् । त्यसमा ज्ञानको पूजा हुने भएकाले शिक्षक, विद्यार्थीहरूले मनाउँछन् । यस्तै क्षत्रीयहरूको दुर्गापूजा हो । लक्ष्मीपूजा चाहिँ वैश्यको पूजा, धनको पूजा । यो होली चाहिँ शूद्रको पूजा हो । समाजका सबैभन्दा पिँधमा भएका व्यक्तिहरूले गर्ने पूजा हो होली ।

तर अहिले स्रोत, साधन र बाहिरी प्रभावले गर्दा पहिले पहिलेको भन्दा फरक तरिकाले यो पर्व मनाउने गरेको देखिन्छ । पहिले आफ्नो संस्कृतिअनुसार मनाइने गरिन्थ्यो ।

मिथिलामा होली मनाउँदा सबैभन्दा पहिले घरको कुलदेवतालाई अबिर, रङ्ग चढाएपछि मात्र होली खेल्न सुरु हुन्छ । पहिले पहिले मौलिक गीतसङ्गीतको विशिष्ट महत्त्व थियो । त्यसपछि आफैले होली गीत गाउने चलन थियो । आफ्ना दुःख, पीर, वेदनाका गीतहरू पनि होलीमा गाउँथे ।  महिलाहरूले गाउने छुुट्टै हुन्थ्यो, वृद्धहरूले गाउने छुट्टै हुन्थ्यो । यो चलन चाहिँ अहिले हराएर गयो ।

माघ शुक्ल पञ्चमीदेखि फागु फूर्णिमासम्म निरन्तर होली गायनको क्रम चल्थ्यो । राति खाना खाएपछि गाउँका कुनै एकजनाको दलानमा सबै गाउँलेहरू बसेर होली गाउँथे । विस्तारै यो प्रचलन हराउँदै गएको छ । मानिस वैदेशिक रोजगारीमा जान थाले, गाउँमा युवाको सङ्ख्या घट्यो । यो संस्कृतिलाई सबैभन्दा बढी आघात पुर्याएको भनेको माओवादी जनयुद्धले हो । किनभने त्यो समयमा साँझ पर्नेवित्तिकै मान्छे ढोका थुनेर सुतिहाल्थे । यो दस वर्षमा एक पुस्ता नै ग्याप हुन गयो । होली लगायत पर्व पुस्तान्तरण हुन पाएन ।

अहिले होलीमा विकृति भित्रिएको छ । हिन्दी, भोजपुरी, अङ्ग्रेजी छाडा प्रकृतिका गीत सुन्ने, त्यसैमा उफ्रिने परिपाटी बन्यो । यसले हाम्रो मौलिक सांस्कृतिक गीत सकिएका छन् । मदिरा खाएर जथाभावी बोल्ने, झगडा गर्ने विकृति पनि त्यतिकै बढेको छ ।

पहिले पहिले भाङ दूधमा घोलेर, विभिन्न मसला हालेर सबैलाई प्रसादका रूपमा खुवाइन्थ्यो । घरकै सदस्यहरूले पनि आफ्ना बच्चाहरूलाई आज प्रसादका रूपमा अलिकति खाए हुन्छ भनेर खुवाउँथे । यो दिन प्रसाद भनेर खाइन्थ्यो ।

पहिले पहिले यस दिनलाई अभिव्यक्ति स्वतन्त्रताका रूपमा पनि लिन्थे । यो दिन दबिएका आवाज भाङ र रक्सी खाएर मातेको बेला सबै कुरा भन्थे । गाउँका ठालुहरूले गरेको शोषण दमनलाई गीतका माध्यमबाट अभिव्यक्ति दिन्थे तर अहिले त्यो अवस्था छैन । ती भुइँमान्छेका आवाज अहिले आयातित गीतहरूले छोपिदिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप