मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् १७ भाइ महामूर्ख !

शुक्रबार, ०४ चैत २०७८, १४ : ०५
शुक्रबार, ०४ चैत २०७८

मधेस प्रदेशको राजधानी जनकपुरधाममा हरेक वर्ष एउटा अनौठो सम्मेलन हुँदै आएको छ । विगत १७ वर्षदेखि हुँदै आएको यो सम्मेलनले महामूर्ख र मूर्खहरूको छनोट गर्दै आएको छ । ०६१ सालदेखि अहिलेसम्म १७ जना महामूर्खहरु छनोट भइसकेका छन् । आजको सम्मेलनले ०७८ सालका लागि १८ औं महामूर्ख छान्दैछ ।

प्रत्येक वर्ष होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) ले जनकपुरधाममा आयोजना गर्दै आएको दुई दिवसीय होरी महोत्सव तथा महामूर्ख सम्मेलनबाट ‘महामूर्ख’ घोषणा गर्ने प्रचलन ०६१ सालदेखि थालिएको हो ।

 विसं. ०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुरले पाएका थिए । ०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा महामूर्ख घोषित भएका थिए । त्यस्तै ०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बीसीलाई महामूर्ख घोषणा गरिएको थियो ।

त्यस्तै, ०६४ सालको होली महोत्सवमा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झालाई महामूर्ख घोषणा गरिएको थियो । ०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल महामूर्ख घोषित भएका थिए । ०६६ मा पूर्वमन्त्री रामचन्द्र झालाई महामूर्ख उपाधि दिइएको थियो भने ०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल महामूर्ख घोषित भएका थिए ।

त्यसैगरी ०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमरलाई महामूर्ख बनाइएको थियो भने ०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव र ०७० मा डा. विजयकुमार सिंहलाई महामूर्ख घोषित गरिएको थियो । ०७१ राजनीतिज्ञ शत्रुघन महतोलाई महामूर्ख बनाइएको थियो भने ०७२ मा जनकपुरको समसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएका समाजसेवी पवन सिंघानियालाई मिनापले महामूर्खको उपाधि प्रदान गरेको थियो ।

यसैबीच ०७३ सालमा सप्तरीको मलेठमा नेकपा एमालेले गरेको मेची–महाकाली अभियानको क्रममा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होरी महोत्सव कार्यक्रम मिनापले स्थगित गरेको थियो । त्यसवर्ष कसैलाई पनि महामूर्ख घोषणा गरिएन ।

अर्को वर्ष, ०७४ मा महामूर्खको उपाधि तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका नेता वृषेशचन्द्र लाल महामूर्ख घोषित भए भने ०७५ मा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहलाई महामूर्खको उपाधि प्रदान गरियो । ०७६ सालमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत महामूर्ख घोषित भए ।

यही क्रममा ०७७ सालमा भने महामूर्खको उपाधि मधेस बाहिरका व्यक्तित्वले पाए । ०७७ को महामूर्ख उपाधि चर्चित हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई संयुक्तरुपमा दिइयो । यस वर्ष अर्थात ०७८ को महामूर्खको उपाधि आजै वितरण हुँदैछ ।

महामूर्ख सम्मेलनबाट समाजका भलाद्मीदेखि राजनीतिकर्मी, समाजसेवी, साहित्यकार लगायतकालाई महामूर्खसहित विभिन्न उपाधि दिनुअघि भब्यरुपमा गायन, वाद्यवादन, नृत्यसहितका कार्यक्रमहरु प्रतियोगितात्मक रुपमा मिनापले गर्दै आएको छ ।

मिनापले यसपटकको महामूर्खका लागि करिब दुई दर्जन विशिष्ट व्यक्तिहरुको सूची बनाएको जनाइएको छ । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, भाषा वैज्ञानिक डा. भोगेन्द्र यादव, भाषाविद् डा. रामदयाल राकेश, प्रा.डा. भोगेन्द्र झालगायतका मध्ये कुनै एकजनालाई महामूर्खको उपाधि प्रदान गर्ने योजना रहेको महासचिव मल्लिकले बताए । त्यस्तै अन्य १ दर्जनलाई अन्य विविध उपाधि प्रदान गरिनेछ ।

होरी महोत्सवमा धनुषा र महोत्तरीका गाउँबाट १० वटा डम्फा समूह सहभागी भएको मिनापका महासचिव शैलेन्द्र मल्लिकले रातोपाटीलाई बताए । ती समूहहरूबीच होरी गीत गायन, डम्फा वादन तथा जोगिडा गायनको प्रतिस्पर्धा भएको छ । विजयी तीन समूहलाई पुरस्कार तथा अन्य समूहलाई प्रशंसापत्र प्रदान गरिने मल्लिकले बताए ।

मिनापका महासचिव शैलेन्द्र मल्लिकका अनुसार फागु महोत्सवको दोस्रो दिन होरी गायन र नृत्यसँगै महामूर्ख सम्मेलनको आयोजना हुने गर्दछ । यो सम्मेलनमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका एक दर्जन विशिष्ट व्यक्तिहरुलाई मूर्ख तथा एकजनालाई महामूर्खको उपाधि प्रदान गर्ने परम्परा रहेको महासचिव मल्लिकले बताए ।

आधुनिकतासँगै धर्म, संस्कृति, संस्कार र परम्पराप्रति युवा पुस्तामा विकर्षण बढ्न थालेपछि मिनापले मातृभाषा, मिथिला सभ्यता, संस्कृति र पहिचानलाई जोगाउनका लागि अभियानकै रुपमा फागु महोत्सवको आरम्भ गरेको महासचिव मल्लिक बताउँछन् ।

मिनापले आयोजना गर्दै आएको सम्मेलनमा महामूर्खको उपाधि लिनका लागि पहुँचवालाले समेत कार्यक्रमको खर्च भुक्तानी गरेर उपाधि लिने चलनको विकास हुन थालेको कतिपयको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप