नेपालमा क्रिप्टोकरेन्सी : डलरको तस्करी र हुण्डी कि सेयरको कारोबार ?
नेपाल राष्ट्र बैंकले माघ ९ गते सूचना नै निकालेर क्रिप्टोकरेन्सीको कारोबार अवैधानिक रहेको भन्दै नेपालमा बसोबास गर्ने स्वदेशी वा विदेशी नागरिक र विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई समेत भर्चुअल करेन्सीको कारोबार नगर्न आग्रह दियो । कारोबार गरेको प्रमाणित भए प्रचलित कानूनअनुसार कारबाही हुने चेतावनीसमेत दियो ।
जतिबेला नेपालको केन्द्रीय बैंकले यस्तो चेतावनी दिएको थियो, त्यतिबेला नेपाल प्रहरीले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्तिहरूलाई धमाधम पक्राउ गर्न थालिसकेको थियो । प्रहरीले सोही समयमै ३७ करोड रुपैयाँभन्दा बढी रकम बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको भन्दै कैलालीका २८ वर्षीय दिनेश खड्कालाई पक्राउ गरेको थियो ।
नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने दिनेश एक्ला व्यक्ति होइनन् । प्रहरीले क्रिप्टोकरेन्सी, अनलाइन बेटिङ आदिमा जोडिएका व्यक्तिहरूलाई धमाधम पक्राउ गर्न थालिसकेको थियो । त्यसै क्रममा पक्राउ परेको एक व्यक्ति हुन् दिनेश ।
दिनेशको कारोबार ज्यादै अचम्म लाग्दो थियो । उनको पेशा वा व्यवसाय केही नभएपनि उनले करिब डेढ वर्षको अवधिमा ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका थिए । विभिन्न चार जनाको बैंक खाता, जो उनैले प्रयोग गर्थे, मा उनले यतिधेरै रकमको कारोबार गरेको पाइएको थियो ।
बैंकमा अस्वभाविक कारोबार भएको देखेपछि प्रहरीले दिनेशमाथि निगरानी बढाउँदा उनी क्रिप्टोकरेन्सी र अनलाइन बेटिङमा संलग्न भएको पाइएको थियो । त्यसपछि राजस्व अनुसन्धान विभागले दिनेशमाथि विदेशी मुद्रा अपचलन आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
यतिबेला नेपालमै बसोबास गरिरहेका नेपाली नागरिकमात्रै होइनन्, नेपालमा रहेका विदेशी नागरिक र विदेशमा रहेका नेपाली नागरिकहरूले पनि यस्तो क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको पाइरहेको छ । छोटो समयमै अत्याधिक लाभ प्राप्त गर्न सकिने भन्दै हाइपर फण्ड लगायतका पिरामिण आकारका नेटवर्किङ व्यवसाय र क्रिप्टोकरेन्सीमा नेपाली नागरिकहरू लागि परेका छन् ।
तर, नेपालमा अवैध भएका कारण यदि कसैले क्रिप्टोकरेन्सी कारोबार गरेको पाइएमा उनीहरूमाथि विदेशी विनिमय ऐन अन्तर्गत कारवाही हुन्छ भने जफत भएको रकमसमेत सरकारी राजस्वमा दाखिला हुन्छ ।
के हो क्रिप्टोकरेन्सी ?
पछिल्लो समय क्रिप्टोकरेन्सीको चर्चा धेरै हुन थालेको छ । ‘भर्चुअल मनी’ अर्थात् क्रिप्टोकरेन्सी एक प्रकारको विनिमयको साधन हो, जुन विनिमयको साधनलाई नेपालले मान्यता दिएको छैन । क्रिप्टोकरेन्सीको कुनै भौतिक उपस्थिति हुँदैन र त्यसको दायित्व वा भुक्तानीको जिम्मेवारी कुनै देशले पनि लिएको छैन । पछिल्लो समय विश्वका विभिन्न स्थानमा बिटक्वाइन, इथेरियम, टेथर, बाइनान्स क्वाइन, कारडानो, ब्लकचेन, डजक्वाइन र एनएफटी लगायतका क्रिप्टोकरेन्सीहरू कारोबार हुुन थालेको छ । अभौतिक मुद्रा भएकाले इन्टरनेटको माध्यमबाट त यस्तो करेन्सी विश्वभर नै प्रयोग भइरहेको छ ।
यद्यपि, यी सबै अभौतिक मुद्रा (भर्चअल करेन्सी) हुन् । यी मुद्राको भौतिक अस्तित्व हुँदैन । यसले डिजिटल सम्पत्तिको विनिमयमात्रै गर्छ । जसरी एउटा बैंकको खाताबाट अर्को बैंकको खातामा रकम पठाउँदा पठाउनेको खातामा भएको रकम (अंक) मा कमी आउँछ र पाउनेको रकम वा अंकमा बढी हुन्छ : क्रिप्टोकरेन्सीको कारोबारमा पनि त्यस्तै नै हुने गरेको छ । भर्चुअल रूपमै तयार पारिएको एउटा खाताबाट अर्को खातामा कुनै सामानको विनिमय गर्दा रकम पठाउने वा पाउने गर्दा उनीहरूको अंकमा परिवर्तन आउँछ ।
क्रिप्टोकरेन्सीमा हरेक कारोबारको एउटै ठूलै तह (लेअर) हुन्छ, जहाँ सबै कारोबारको रेकर्ड रहन्छ । कसको खाताबाट कहाँ गयो र कसकोमा बढ्यो या कसकोमा घट्यो भन्ने जानकारी कारोबार गर्ने सबैलाई हुन्छ ।
नेपालमा क्रिप्टोकरेन्सीको प्रयोग
अहिले विश्वमा नै सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइन हो । आइतबारको यसको मूल्य एक बिटक्वाइन बराबर ४१ हजार अमेरिकी डलरभन्दा बढी छ । जसको नेपाली मूल्य करिब ४९ लाख रुपैयाँ बराबर हो ।
अहिले धेरै नेपाली नागरिकहरू क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको पाइएको छ । प्रहरीले गत एक महिना अवधिमा पक्राउ गरेका व्यक्तिहरूको कारोबार केलाउँदा पनि नेपालमा धेरै व्यक्तिहरू क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको पुष्टी हुन्छ । तर, त्यसको प्रयोग कुन प्रयोजनका लागि कसरी भइरहेको छ भन्ने स्पष्ट कारण अहिलेसम्म पनि न नेपाल राष्ट्र बैंकसँग छ, न त प्रहरीसँग नै !
तर, यही अवैध कारोबारबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारी भने क्रिप्टोकरेन्सीको कारोबार तीन प्रकारबाट भइरहेको दाबी गर्छन् । ती प्रहरी अधिकारीका अनुसार क्रिप्टोकरेन्सीको कारोबार सेयरकै शैलीमा छिटो नाफा कमाउन, डलरको तस्करी गर्न र हुण्डीको कारोबार गर्न भइरहेको छ ।
ती अधिकारीले रातोपाटीसँग भने, ‘क्रिप्टोकरेन्सीको कारोबार खोतल्दै जाँदा यसो हुनुमा हामीले तीन प्रकारका कारण भेटेका छौँ । पहिलो कारण : सेयर मूल्य परिवर्तन भइरहने कारण छिटो नाफा कमाउन यसको कारोबार भइरहेको छ । सेयर भ्यालुमा क्षणभरमै परिवर्तन आउने भएको कारण कसैले यसको मूल्य धेरै माथि पुग्दैछ भनेर उचालिदिने गरेको कारण पनि नेपाली नागरिकहरू क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न छन् ।’
अनुसन्धान अधिकारीका अनुसार यसको दोस्रो कारण भनेको डलरको तस्करी नै हो । पछिल्लो समय नेपाल राष्ट्र बैंकले यसबारे चासो राख्नुको एउटा प्रमुख कारण नेपालमा भित्रनुपर्ने डलर बैंकिङ च्यानलमा नआइ गायब हुनु पनि हो । ती प्रहरी अधिकारीका अनुसार नेपालमा आएको डलर एकाएक गायब हुन थालेपछि नेपाल राष्ट्र बैंकले यसबारे चासो राखेको थियो । यसको खोजी गर्ने क्रममा क्रिप्टोकरेन्सीको कारोबार बाहिर आएको हो ।
त्यसपछि नेपाल राष्ट्र बैंकले यसमा अझ कडा निगरानी गर्दै प्रहरीलाई सक्रिय बनाएको हो । प्रहरी भन्छ, ‘क्रिप्टोकरेन्सीको कारोबारको दोस्रो कारण भनेको डलरको तस्करी नै हो । क्रिप्टोकरेन्सी किन्न पनि डलर नै चाहिन्छ । त्यसो भएपछि मानिसहरूलाई क्रिप्टोकरेन्सी किन्न डलर चाहिने भयो । नेपालमा क्रिप्टोकरेन्सी अवैध भएको कारण बजारबाटै डलर उठाएर क्रिप्टोकरेन्सी किन्ने र विदेशी भूमिमा पुगेर त्यसलाई डलरकै रुपमा रूपान्तरण गर्ने । त्यसो भएपछि डलर बोकेर जानु पनि परेन, तर डलर कुनै न कुनै माध्यमबाट त्यहाँ पुग्यो ।’
प्रहरी अधिकारीका अनुसार तेस्रो कारण भनेको हुण्डी कारोबार पनि हो । उनले भने, ‘अहिले व्यापारीहरूले न्यून विजकीकरण गरेर सामान ल्याउने गरेको कुरा धेरै घटनाहरूले पुष्टि गरिसकेको छ । विदेशबाट एलसी (प्रतीतपत्र) खोलेरमात्रै सामान ल्याउनुपर्ने हुन्छ । न्यून विजकीकरण गर्दा कम रकम तिरेर नै ल्याउन पाइन्थ्यो । पहिले डलर नै नगदका रूपमा लिएर जान्थे र डलरको तस्करी हुन्थ्यो ।
त्यसबाहेक, विदेशमा रहेका नेपालीहरूले रेमिटेन्सका रूपमा पठाउने पैसा विदेशमै हुण्डी कारोबारीले लिन्थे र नेपालमा रहेका आफन्तलाई नगद दिन्थे । अब त त्यसो गर्न पनि परेन । यहाँका व्यापारीले नेपाली रकममा दिने, उताबाट आएको डलर ती एजेण्टले क्रिप्टोकरेन्सीका रूपमा व्यापारीको खातामा हालिदिने ! अनि व्यापारी सम्बन्धित देशमा पुगेर उक्त क्रिप्टोकरेन्सीलाई बेचेर डलर लिने र सामान किन्ने । अहिले क्रिप्टोकरेन्सी हुण्डीको सबैभन्दा सजिलो माध्यम बनेको छ ।’
यसरी सामान्य रूपमा हेर्दा नेपालमा क्रिप्टोकरेन्सीको कारोबार छिटो नाफा कमाउने सोचका साथ भएको देखिए पनि डलरको तस्करी र हुण्डी कारोबारसँग पनि जोडिएको प्रहरीको दाबी छ ।
तर, राजस्व अनुसन्धान विभाग भने क्रिप्टोकरेन्सी वा भर्चुअल करेन्सीको बारेमा कुनै विशेष सूचना र जानकारी नभएको बताउँछ । विभागका प्रवक्ता टंकप्रसाद पाण्डे विभागले यतिबेला विदेशी विनिमय अपचलनसम्बन्धी कारोबार हेरेर त्यसैसँग सम्बन्धित ऐनअनुसार मुद्दा दर्ता गरेको बताउँछन् । उनी भन्छन्, ‘कुनै व्यक्तिको खातामा अस्वाभाविक कारोबार भएको देखिएपछि अनुसन्धान गर्दै जाँदा त्यहाँ विदेशी मुद्राको कारोबार भएको पाइयो । हामीले क्रिप्टोकरेन्सी भन्दा पनि विदेशी मुद्राको अपचलनसम्बन्धी कसुरमा मुद्दा चलाएका हौं ।’
‘विदेशी मुद्राको कारोबार कसरी र कुन प्रयोजनका लागि भएको पाउनुभयो ?’ भन्ने रातोपाटीको प्रश्नमा उनले यसबारे विश्लेषण भइरहेको भन्दै अहिले नै यही हो भनेर भन्न नमिल्ने बताए ।
तर, प्रहरीका अनुसार क्रिप्टोकरेन्सीको कारोबारमा नाफा कमाउने उद्धेश्यले केही साना लगानीकर्ता लागे पनि ठूला कारोबारको विश्लेषण गर्दा त्यसमा व्यापारीहरू संलग्न रहेको पाइएको छ । ठूलो रकमको कारोबारमा व्यापारीका आफन्त, नातेदार लगायत पनि संलग्न देखिएका छन् । ती प्रहरी अधिकारीले भने, ‘त्यो भनेको व्यापारीले नै अदृश्य रूपमा कारोबार गरिरहेका छन् भन्ने नै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो
-
पोखराको फेवाताल किनारमा शनिबारदेखि सडक महोत्सव
-
बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा
-
त्रिविको ५० औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
-
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
-
१० बजे १० समाचार : नयाँ पार्टी घोषणाको तयारीमा रावल, बालेनसँग संवादमा रास्वपा