मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

रामचन्द्र अधिकारीको जीवन : अभिनयले गर्दा दमाइ भनेर होटलबाटै निकाले

ठगिएको कुरा सम्झने हो भने अहिले क्वाँ क्वाँ रुन मन लाग्छ
शनिबार, १५ माघ २०७८, ११ : ३०
शनिबार, १५ माघ २०७८

रामचन्द्र अधिकारी पछिल्लो समय ‘गोक्ते काजी’ को रूपमा चर्चित छन् । यो परिचय उनले हास्य शृङ्खला ‘मेरी बस्सै’बाट पाएका हुन् । उनी अभिनयमा सर्वत्र चिनिएको भूमिका भने ‘पुन्टे दमाई’ हो । २०४६ मा निर्माण भएको टेलिसिरियल ‘टाढाको बस्ती’मा उनले यो भूमिका निर्वाह गरेका थिए ।

२०३५ बाट अभिनय थालेका अधिकारीले डेढ दर्जन नाटक, थुप्रै टेलिसिरियल र ठूला पर्दाका ४ सयभन्दा बढी फिल्म अभिनय गरेका छन् । तर उनलाई सर्वत्र चिनाउने काम भने टेलिसिरियल नै छ । ४ दशकभन्दा बढी समय कलाकारितामा बिताएका अधिकारी सोझा कलाकार मध्येका एक हुन् । त्यसैले त उनले कलाकारिताबाट ठूलो उपलब्धि केही गर्न सकेका छैनन् । कलाकारिताबाट राम्रै नाम कमाए पनि दाममा भने अधिकारीको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

नेवारी खाजा आहा !
मनपर्ने खाना ढिँडो हो । पहिले आमाले भाइबहिनीलाई माया गरेर भात र मलाई ढिँडो दिनुहुन्थ्यो । त्यो समय ढिँडो हेर्नै मन लाग्दैनथियो । दाल, भात, तरकारी पनि मनपर्छ । खानेकुरामा मीठो नलाग्ने केही छैन । माछा, मासुलगायत खान हुने सबै चिज खान्छु ।

रेस्टुरेन्ट, साथीभाइसँग र एक्लै पनि जान्छु । रेस्टुरेन्टको नेवारी खाजा मनपर्छ । पकाउन रुचि छ । मासु, दालभात, तरकारी, चाउमिन लगायत प्रायः खानेकुरा पकाउन सक्छु ।

छैन एक्सरसाइज
साथी भए भने कहिलेकाहीँ मर्निङ्वाक हिँड्छु । अन्य एक्सरसाइज केही गर्दिनँ । अल्छी भनौँ वा जीवनको सङ्घर्ष । एक्सरसाइजमा समय दिने फुर्सद कहिल्यै मिलेन । कामको भागदौडमै जिन्दगी बित्यो ।

पोसाकमा रुचि भएन
पोसाकमा खासै रुचि भएन । हरहमेसा प्रयोग गर्ने दौरासुरुवाल हो । अभिनयका लागि सधैँ यही प्रयोग गर्छु । टोपी पनि मनपर्छ । गर्मीमा टिसर्ट, पाइन्ट बढी प्रयोग गर्छु । ज्वारीकोट एकदमै मनपर्छ ।

दुःखमा हुर्किएको भएकाले पहिरनमा रङ्ग रोजिएन । धेरै मनपर्ने क्रिम कलर हो । ज्याकेट र खरानी कलरको कोट पनि मनपर्छ । विवाह, विशेष कार्यक्रम लगायतमा जानुपर्दा म दौरा, सुरुवाल र कोट लगाउने गर्छु ।

पहिले पढ्थेँ
पढ्न धेरै मनपर्छ, पहिले पढ्थेँ । सानैमा स्कुल छुट्यो । त्यसपछि नेपाली, हिन्दी लगायतका उपन्यास, कथाहरू पढ्थे । त्यो बानी पनि आँखाका कारणले छुट्यो ।

केटाकेटीमा मैले ग्रहण हेरेँछु क्यारे । मेरो आँखाको रेटिनामा दाग लागेको छ । त्यसको कारणले १३ वर्षको उमेरदेखि मसिनो अक्षय केही देख्दिनँ । सोही कारण पढ्ने बानी छुट्यो । त्यो समय रोचक कथा, अनुसन्धानका विषय विषयवस्तुले भरिएको पुस्तक धेरै पढ्थेँ ।

आँखाको कारणले सुटिङको स्क्रिप्ट त पढ्न सक्दिनँ । त्यसैले सहनिर्देशक बोलाएर डायलग सुन्छु । जति नै लामो डायलग भए पनि दुई पटक सुनेपछि कण्ठ हुन्छ ।

घुमघाममा रुचि
घुमघाममा एकदमै रुचि छ । कलाकारिताले पनि घुमाउने गरेको छ । टेलिकमको जागिर हुँदा पनि केही ठाउँ घुमेँ । घुम्न मनपर्ने स्थान पाखा पर्वत नै हो ।
चितवन, इलाम, बुटवल, कैलाली कञ्चनपुर लगायत करिब ५० जिल्ला देशको घुमेको छु । पाल्पा, हुम्ला, रुकुम रोल्पा जान अहिले मन लागेको छ । विदेशका भने अमेरिका, अस्ट्रेलिया, भारतलगायत केही देश पटक पटक पुगेको छु ।

अलिअलि फुर्सद
पछिल्लो समय ‘मेरी बास्सै’ र ‘कान्छी’ भन्ने सिरियल अभिनय गरिरहेको छु । केही म्युजिक भिडियो पनि गर्छु । हप्तामा ३, ४ दिन व्यस्त हुन्छु । जागिरबाट रिटायर भएकाले अहिले कलाकारिताका बाहेकको समय फुर्सद हुन्छु । फुर्सदमा टीभी हेर्ने र परिवारलाई समय दिने गर्छु ।

झगडा पर्दथ्याे
खेलकुदमा सानोमा रुचि थियो । साथीहरूसँग धेरै फुटबल खेल्थे । सो क्रममा साथीहरूसँग झगडा पनि पर्दथ्याे । ठूलो भएपछि बाँच्नका लागि कमाउने सङ्घर्षतिर लागियो । खेलकुद छुट्यो । अहिले भने खेल हेर्न मनपर्छ । फुटबलका गेमहरू रातभर हेर्छु । 

टुकटुके थियो
केही अगाडिसम्म सामान्य टुकटुके अर्थात् फोन गर्न र उठाउन मिल्ने मात्र मोबाइल बोक्थेँ । अहिले छोराले विदेशबाट पठाएको भएकाले राम्रो बोक्छु । मोबाइलमा फोन गर्ने र उठाउने बाहेक केही चलाउन जान्दिनँ । मोबाइल छिटोछिटो फेर्ने बानी पनि छैन ।

हलमा जान्छु
टीभी पहिले र अहिले पनि धेरै हेर्छु । टीभी हेर्ने समय प्रायः बेलुका हो । टीभीमा बढी हेर्ने भनेको समाचार । त्यसपछि टेलिफिल्म, कमेडीका कार्यक्रम, हिन्दी, नेपाली सिरियल र म्युजिक भिडियो ।
फिल्म पनि हेर्छु । फिल्म हलमा र टीभीमा दुवैमा हेर्छु । हलमा रिलिज भएका सबै हेर्दिनँ । चर्चा आएका र राम्रा फिल्म हलमा हेर्छु ।

रिटायर्ड कर्मचारी
म टेलिकमको रिटायर्ड कर्मचारी हुँ । पियनबाट जागिर सुरु गरेको थिएँ, नासुको सुविधा लिएर रिटायर भएँ । मैले जागिर छोडेको करिब ७ वर्ष भयो ।

सिंहदरबारको पुतली बगैँचाबाट सुरु भएको जागिर देशको विभिन्न ठाउँ घुम्दै सुन्धारामा आएर रिटायर भएँ । सरकारी जागिरबाट धेरैले उन्नति गरेको देख्छु । आफ्नो त बिहान बेलुकाको छाक टार्ने काम मात्र भयो । जागिर र कलाकारिता एकसाथ अगाडि बढाउँदा कहिलेकाहीँ पीडा भोग्नुपरेको छ । जागिरमा कलाकारिता गर्न पाइँदैन भन्ने हाकिम पनि भेटिए । कलाकारलाई माया गर्नुपर्छ भन्ने पनि पाएँ ।

साथीहरूले जागिर छोड्दा बिदाको पैसा ९, १० लाखसम्म लिएँ । मेरो भने कलाकारिताले समय बिदा खाएकाले सुक्को पनि आएन ।

दमाई परिचय दियो  
विसं २०३५ देखि नाटकबाट मेरो कलाकारिता यात्रा सुरु भएको थियो । अहिले पनि अनवरत जारी छ । ‘सच्चा प्रेम’ भन्ने नाटकबाट सुरु भएको मेरो कलाकारिता फिल्म, टेलिफिल्मसम्म आएको छ ।

‘सच्चा प्रेम’ पछि ‘अँध्यारो उज्यालो’, ‘लैजाऊ जोवन’, ‘हिमाल हाँस्छ’, ‘बसाईं’, ‘थ्याङ्क्यु मिस्टर ग्ल्याड’ गरेर अहिलेसम्म करिब डेढ दर्जन नाटक अभिनय गरेँ होला ।

फिल्ममा डेब्यु २०३९ सालको ‘बासुदेव’बाट भएको हो । त्यसपछि ‘कोसेली’, ‘चेलीबेटी’, ‘अधिकार’, ‘माया प्रीति’, ‘आँधीबेरी’, ‘चिनो’ हुँदै पछिल्लो समय ‘हल्लो काशीराम’ सम्म आइपुग्दा ४ सयभन्दा बढी चलचित्र अभिनय गरिसकेँ ।

फिल्ममा अभिनयमा मैले पण्डितदेखि दमाई, कामी र भिलेनको भूमिका निर्वाह गरेँ । थुप्रै सरकारी र प्राइभेट विज्ञापनमा समेत काम गरेको मलाई फिल्म, नाटकले भन्दा अभिनयमा चिनाउने काम टेलिसिरियलले गर्यो । २०४४ मा निर्माण भएको टेलिसिरियल ‘टाढाको बस्ती’ मैले ‘पुन्टे दमाई’ को भूमिका निर्वाह गरेको थिएँ । यो भूमिकाबाट म सर्वत्र चिनिएँ । पछिल्लो समय ‘मेरी बास्सै’को भूमिका ‘गोक्ते काजी’ अर्थात् ‘काजी साप’बाट चर्चित छु ।

‘पुन्टे दमाई’ भूमिकाले अभिनयमा चिनाएको मात्र होइन, थुप्रै पीडासमेत दिएको छ । बजारमा हिँड्दा बच्चाहरूले घेरेर ‘पुन्टे दमाई’ भन्दै जिस्क्याएकोदेखि साँच्चै दमाई भनेर चिया पसलभित्र छिर्न नदिएको, चिया खाँदाखाँदै निकालेको अनुभव पनि छ मसँग ।

अहिले भने ‘काजी साप’ भनेर सम्मान गर्छन् । अहिलेसम्म ५० भन्दा बढी म्युजिक भिडियो अभिनय गरेको मैले कलाकारिताबाट घर, गाडी केही जोड्न सकिनँ । नाम कमाए, अलिअलि घर खर्च चल्यो । त्यति मात्र हो । छोराछोरी पढाएर राम्रो देशमा पठाउन भने सफल भने भए । त्यसैमा सन्तुष्टि छु । 

काम त मैले धेरै गरेँ । त्यो हिसाबले पैसा पनि कमाउन सक्थेँ होला । तर पैसाको बार्गेनिङ गर्न नसक्नु मेरो कमजोरी रह्यो । धेरैबाट ठगिएको, कतिले आधा पैसा दिएको अवस्था पनि छ । कलाकारितामा ठगिएको कुरा सम्झने हो भने अहिले क्वाँ क्वाँ रुन मन लाग्छ । मेरा केही फिल्म ओस्कारमा पनि पुगेका छन् । यी कुराले आनन्द दिन्छन् ।

 

विवाहपछि प्रेम२०३४ मा मैलै मागी विवाह गरेको हो । त्यो समय म जागिरे भइसकेको थिएँ । म गोठाटार बस्थेँ । छिमेकी हजुरबुबाले काभ्रेको दाप्चा पुर्याएर विवाह गर्दिनुभयो । विवाह अगाडि र पछाडि बाहिर प्रेम, डेटिङ केही भएन ।
श्रीमतीसँगै प्रेम बस्यो, उनीसँग घुमेको पल मेरो डेटिङ भयो । कलाकारलाई बाहिर प्रेम गर्ने, पछि लाग्ने पनि हुन्छन् । तर मेरो मामलामा त्यो भएन । अरूले प्रेम गर्थे कि मैले बुझिनँ होला ।

 

राम्रो चलचित्र
एउटा राम्रो चलचित्र बनाउने सपना छ । त्यसका लागि धेरै अगाडि प्रोडक्सन हाउस पनि दर्ता गरेको थिएँ । महानायक राजेश हमाल र महानायिका करिष्मा मानन्धरले तपाईंको फिल्म फ्रीमा खेलेर सहयोग गर्छु भन्नुभएको थियो ।
कथा पनि रेडी गरेको थिए । विभिन्न कारणले फिल्म बन्न सकेन । अहिले भने राष्ट्रभक्तिले भरिएको एउटा फिल्म बनाउने इच्छा छ ।

फिल्म निर्माणका विषयमा अमेरिकामा रहेको कान्छो छोरासँग कुरा भएको छ । ४ वर्षपछि ऊ डाक्टर हुन्छ । अनि फिल्म बनाउँछु । 

गीत सुन्छु
फुर्सदमा गीतसङ्गीत सुन्छु । पुराना गायक गायिका नारायण गोपाल, तारादेवी, माणिकरत्न, प्रकाश श्रेष्ठ, प्रेमध्वज प्रधान, कुमार बस्नेत लगायत गीतहरू धेरै सुन्छु । 

जिन्दगी दुःख
जिन्दगी एउटा भोगाइ रहेछ । कलाकारितामा मेरो कोही थिएन । त्यसैले मैले धेरै सङ्घर्ष गर्नुपर्यो । कलाकारितामा धेरै सोझो हुँदा पनि पीडा मिल्दो रहेछ । कलाकारितामा शोषण गर्ने निर्माता निर्देशक छन् । त्यो देख्दा र भोग्दा दुःख लाग्छ ।

भूल भए
जीवनमा जानी नजानी भूल त धेरै भएका होलान् । सधैँ पछुताउनुपर्ने ठूलै भूल गरेँ भन्ने अहिलेसम्म लाग्दैन । केही कलाकारले कलाकारितामा आएर भूल भयो समेत भनेको सुनेको छु । म कलाकारिताप्रति गर्व गर्छु ।
कलाकारिताले मानसम्मान दिएको छ । देशविदेशमा चिनिएको छु । कलाकारिताले गर्दा चैतर्फी माया र चिनिने अवसर पाएको छु । मैले जीवनमा गरेको राम्रो निर्णय भन्नु नै कलाकारिता रोज्नु हो ।

प्रेसर छ
करिब ७ वर्षदेखि मलाई प्रेसर छ । रवि खड्का नामका एक कलाकारको अस्पतालमा उपचार हुँदै थियो । उनलाई हेर्न जाँदा प्रेसरले त्यही ढलेछु । त्यो बेलादेखि मलाई प्रेसर देखिएको हो । यसको नियमित औषधि खाँदैछु । सुगर भने बोडर लाइनमा छ । आँखाको समस्या त छँदैछ । 

हल्का मापसे
नियमित मापसे गर्ने बानी छैन, हल्का गर्छु । पार्टी, विवाह र साथीभाइको जमघटमा लिन्छु । गाउँ, लेक पुगेको समय त्यहाँको राम्रो लोकल खान्छु । अन्य समय गर्मीमा भोड्का र जाडोमा खुकुरी रम लिन्छु । घरमा रक्सी सजाएर राख्ने गरेको छैन । त्यो श्रीमतीलाई मनपर्दैन । थोरै खान छुट दिएकी छन् ।

खराब बानी
अहिले बिहान चाँडै उठ्न सक्दिनँ । सबैलाई विश्वास गर्छु । त्यसले धोका मिल्ने गरेको छ । खराब मानिस चिन्न सक्दिनँ । यो मेरो खराब बानी हो ।

राशि ‘मेष’
मेरो राशि ‘मेष’ हो । पहिले पहिले ग्रहदशा हेराउने जुराउने गर्थें । अहिले गर्दिनँ । पूजापाठ गर्दिनँ । भगवान्प्रति आस्था छ । सुटिङ नभएको दिन मन्दिर जान्छु ।

मृत्यु सत्य
मृत्यु प्राकृतिको नियम हो । ध्रुव सत्य हो । हामीले स्वीकार्नुपर्छ । मृत्यसँग डर छैन । किन भने कसैले टार्न पनि त सक्दैन नि ।  मृत्यु सुटिङ स्पोटमै, अभिनय गर्दागर्दै होस् भन्ने चाहना छ । तस्बिर: कृष्ण खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप