‘नक्कली नोट काण्डमा मलाई फसाउन खोजियो’
नेपाली फिल्मका सफल निर्माता तथा वितरक हुन् माधव वाग्ले । सन् २००९ मा फिल्म ‘फेस्टिभल’ बाट निर्माताको रूपमा प्रवेश गरेका उनले ‘लुट’, ‘छड्के’देखि पछिल्लो समयको ‘चङ्गा चेट’ सम्म आइपुग्दा करिब एक दर्जन फिल्म निर्माण गरेका छन् । उनको ‘लुट’ले त नेपाली फिल्म क्षेत्रमै नयाँ ट्रेन्ड भित्र्याउन सफल भएको थियो ।
फिल्म क्षेत्रका विभिन्न सङ्घसंस्थामा समेत रहेर काम गर्दै आएका उनी ‘चङ्गा चेट’ रिलिजको समय नक्कली नोट कारोबारको आरोपमा पक्राउसमेत परेका थिए । सो मुद्दा अहिले पनि सकिएको छैन । फिल्मले आफूलाई नाम दिए पनि धुरुधुरु रुवाएको बताउँछन् उनी तर फिल्म क्षेत्र छाड् सक्तैनन् । । त्यसैले त उनी छिट्टै फिल्म निर्देशकको रूपमा पनि देखिँदैछन् । निर्माता माधव वाग्लेका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा :
मन नपर्ने खीर
नेपाली दाल, भात, तरकारी त दैनिक खाइन्छ । त्यो बाहेकका परिकार फेरी फेरी खान मनपर्छ । विदेश गएँ भने पनि नौला र नखाएका खाना खान्छु । माछा, मासु मीठो लाग्छ । मन नपर्ने खाना चाहिं खीर हो ।
परिवार र साथीभाइ सबैसँग रेस्टुरेन्ट जान्छु । समयअनुसार रेस्टुरेन्टको स्पेसल खानेकुरा के छ, त्यही खान्छु । पकाउन त आउँछ । तर मीठो खान इन्ट्रेस नलाग्ने भएकाले आफू पकाउँदिनँ ।
सजग छु
फिट्नेसको मामिलामा सजग छु । त्यसैले एक्सरसाइजका लागि बिहान नियमित ३, ४ किलोमिटर मर्निङवाक गर्छु । त्यसपछि घरमा सेटअप, पुसअप गर्छु । पहिले फिट्नेस क्लब पनि जान्थेँ, अहिले जाँदिनँ । एक्सरसाइजका लागि घरमा ट्रेडमिल, डम्बेल पनि छ ।
बजार चहार्दिनँ
पोसाकमा खासै रुचि छैन । क्याजुअल मनपर्छ । विवाह, पार्टी, विशेष कार्यक्रम लगायतमा जानुपर्दा कोटपाइन्ट, दौरासुरुवाल लगाउँछु । मनपर्ने पहिरन कलर कालो र सेतो हो । पहिले पहिरन सिलाएर धेरै लगाउँथेँ, अहिले त रेडिमेड नै किन्नुपर्छ । खल्तीमा पैसा भयो भने ब्रान्डेड नै पोशाक किन्छु । पहिरन किन्न नै भनेर बजार चहार्दिनँ । क्याप लगाउने बानी छ ।
पुस्तक पढ्ने बानी
फिल्म आउनुपूर्व पुस्तकहरू अध्ययन गर्थें । फिल्ममा आएपछि अध्ययन गर्ने बानी घट्यो । अहिले भिजुअलमा रमाउँछु । फिल्म निर्माणमा रिसर्चका लागि आवश्यक विषयवस्तु रहेको पुस्तक भने पढ्छु । वास्तविकतामा लेखिएका, ठूल्ठूला व्यक्तिका जीवनी पढ्न मन छ । बुद्धि सागर, अमर न्यौपाने, नयनराज पाण्डे लगायतका पुस्तक पढ्ने गरेको छु ।
म जागिरे होइन । फिल्ममा काम गर्ने भएकाले काम भएको समय ब्यस्त, अन्य समय फुर्सदै फुर्सद हुन्छ । पछिल्लो समय कोरोनाले फिल्म क्षेत्र सुस्ताएकाले फुर्सदै छ । फुर्सदको समय क्रिएसनका लागि आवश्यक विषयवस्तु रिसर्च गर्न, पढ्न मनपर्छ ।
पृथ्वीको चक्कर लाइसकेँ
घुमघाममा धेरै रुचि छ । पाएसम्म घुम्छु । विकसित मुलक, फिल्मी क्षेत्रले भरिएका ठाउँ, स्टुडियो, सुटिङस्थल, ऐतिहासिक स्थाल घुम्न मनपर्छ । देशको तराईका भूभाग सबै घुमेको छु । पहाडका केही जिल्ला घुम्न बाँकी छन् । भन्नैपर्दा अहिलेसम्म करिब ५०, ६० जिल्ला घुमें होला ।
टिकटकले देशका ठाउँ एकदमै सुन्दर देखाउने गरेको छ । त्यसैले देशको सबै ठाउँ घुम्न मन छ । विदेशका कुरा गर्ने हो भने पृथ्वीलाई करिब एक चक्कर लाइसकेँ । अहिले जान मन लागेको अफ्रिका हो । त्यहाँको सफारी हेर्न मन छ । अन्य देशको रहर छैन ।
बक्सिङ खेलाडी
खेलकुदमा पहिले रुचि थियो, अहिले छैन । स्कुल पढ्दा फुटबल, भलिबल, टेबलटेनिस, बक्सिङ लगायत खेल खेलें । विभिन्न प्रतियोगितामा भाग लिएँ । जिल्लाबाट ५६ किलो तौल समूहमा म बक्सिङको राम्रो खेलाडी थिएँ । अहिले खेलकुद हेर्नमा रुचि छ । विशेष गरेर क्रिकेट र फुटबल गेम हेर्छु ।
मोबाइल फेर्दिनँ
अहिले मसँग सामसुङ ब्रान्डको एउटा मोबाइल छ । यो ५ वर्षदेखि बोक्दैछु । छिटो छिटो मोबाइल फेर्ने बानी छैन । नहराए, नबिग्रिएसम्म फेर्दिनँ । अहिले मसँग भएको मोबाइल छोराले विदेशबाट पठाएको हो । फोन गर्ने, उठाउनेबाहेक मोबाइलमा भाइबर, फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, टिकटक, युट्युबलगायत सामाजिक सञ्जाल चलाउँछु ।
फिल्म धेरै हेर्छु
टीभी पहिले धेरै हेरिन्थ्यो । अहिले कम हेर्छु । टीभीमा फिल्मी कार्यक्रम, बुद्धिजीवीहरूको अन्तर्वार्ता, विभिन्न सामाजिक विषयका बहस र थोरै समाचार पनि हेर्छु । टीभीमा खेलहरू पनि हेर्न मनपर्छ । घरमा मात्र होइन, फिल्म हलमा फिल्म पहिले र अहिले पनि धेरै हेर्छु । हिन्दी, नेपाली, अङ्ग्रेजी सबै प्रकारका फिल्म हेर्छु ।
फिल्म हेर्नेबाहेक गीत पनि धेरै सुन्छु । आफ्ना जमानाका रोमान्टिक गीत बढी मनपर्छन् । नेपाली, हिन्दी, अङ्ग्रेजी सबै भाषाका गीतसङ्गीत मनपर्छ । म धेरै समय म्यूजिकमा रमाउँछु ।
फिल्मले रुवायो
पछिल्लो समय म फिल्म क्षेत्रमा निर्माताको रूपमा क्रियाशील छु । साथी नरेन्द्र महर्जनमार्फत् फिल्म बुझ्न भनेर सन् २००७ मा यो क्षेत्रमा आएको थिए । २००९ को ‘फस्ट लभ’ फिल्ममा निर्माता हुँदा त्यो फिल्मको व्यवसाय हेर्दा २, ४ करोड आउँछ जस्तो लाग्थ्यो । तर नाफा २०, २२ लाख मात्र भयो । त्यसपछि लुट बनाएँ । यो फिल्मले चलचित्र उद्योग जोगाउने मात्र काम गरेन, फिल्म क्षेत्रमा नयाँ ट्रेन्ड ल्यायो । फिल्मबाट नाम र दाम दुवै कमाइयो ।
‘रेशम फिलिली’ र ‘लुट २’ बाट पनि केही कमाइयो । तर ‘छड्के’, ‘मिसन पैसा’, ‘लभसासा’, ‘चङ्गा चेट’ बाट भने नाफा मिलेन । फिल्म निर्माणबाट अहिलेसम्म न नाफा, न घाटा लगभग बराबरको स्थितिमा छु । फिल्मले मलाई स चिनायो तर धुरु धुरु रुवायो पनि । फिल्मबारे मैले जति सायद कसैले भोगेको छैन । फिल्मको कारणले चावहिलको एउटा घरसमेत बेचेँ ।
सुटिङमा प्रयोग भएका नक्कली नोटका कारण म जेल परेँ । ‘नक्कली नोट’ कान्ड लगाएर मलाई फँसाउन खोजियो । सो मुद्दा अहिले पनि खेपिरहेको छु । म अहिले नेपाल सरकारलाई च्यालेन्ज गर्छु, नक्कली नोटमा अपराधी प्रमाणित गरेर देखाओस् । नक्कली नोटमा फिल्म प्रयोजन लेखिएको देख्दादेख्दै कारोबारी भनेर फँसायो । पाकिस्तानी एजेन्ट, आईएसआईसम्म भनियो । म अहिले पनि भन्छु, अपराधी ठहरिए सजाय दिनुपर्यो । निर्दाेष ठहरिए सफाइले पुग्दैन । त्यो एउटा नजिर बन्नुपर्छ ।
त्यो समय भिसा एक्सचेन्जका लागि अमेरिकी एम्बेसीमा पासपोर्ट दिएको थिएँ । अहिलेसम्म पनि त्यही छ । कुनै पनि निर्माताले मैले जस्तो दुःख पाउनु नपरोस् ।
फिल्म निर्माणमा म युवतीसँग डेटिङ गर्न आएको होइन । त्यसैले अहिलेसम्म फिल्म देखाएर गलत फाइदा लिएको छैन । मेरो अनुभवमा एक सयमा एक फिल्मले पैसा कमाउँछ, ९९ फिल्मले घरबार लैजान्छ । तर पनि अहिले म दुइटा फिल्म निर्माणको तयारीमा छु ।
सी क्लासको ठेकदार
म सी क्लासको ठेकदार थिएँ पहिले । स्कुल अध्ययन सकाएसंगै संग्लग्न भएकोमा कलेज अध्ययन गर्दा पनि ठेकेदारी गर्थें । करिब ११ वर्ष ठेकदारी गरियो । ठेकेदारको काम गर्दा देशभरका विभिन्न सडक, बिल्डिङ, खाने पानीको ट्याङ्की, बाँधलगायत विभिन्न योजना निर्माण गरेको छु । यसबाट गजब आम्दानी गरेको थिएँ । तपाईं पत्याउनु हुन्न, ठेकेदारी गर्दाको समय मसँग कुनै समय १७ वटा गाडी थियो ।
भर्खर प्रेम
२०४६ मेरो मागी विवाह भएको हो । त्यो समय म ठेक्कापट्टा गर्थें । उनी कलेज पढ्थिन् । विवाहपछि मैले उनलाई श्रीमती, बच्चाकी आमा र घरको सामान्य सदस्य मात्र सोच्थेँ । अहिले भने बल्ल उनीसँग प्रेम बसेजस्तो छ । ५ वर्षयता त्यो प्रेम महसुस गरिरहेको छु । किन ढाँट्नु र, विवाह अगाडि, पछाडि पनि बाहिर प्रेम गर्ने, डेटिङ गर्ने गरेँ । अब चाहिं श्रीमतीसँग मात्रै प्रेम ।
अहिले खुसी छैन
आफूसँग जे छ, त्यसमा चित्त बुझाउन सक्ने व्यक्ति जति सुखी संसारमा अन्य कोही हुनै सक्दैन । पहिले मेरो काठमाडौंमा एक आना जमिन पनि थिएन तर म धेरै खुसी थिएँ । त्यो समय काठमाडौं हङ्कङ, बैंङ्कक जस्तो लाग्थ्यो । गाडीमा ३, ४ जना साथी लिएर काठमाडौं आउँथे । काम पनि गर्थें, मोजमस्ती पनि गर्थें । फाइब स्टारदेखि हरेक प्रकारको होटल, रेस्टुरेन्टसम्म चहार्थें । अहिले १६ आना जमिन र २, ३ वटा घर छ तर मनमा खुसी छैन ।
विदेशका फिल्म फेस्टिभल
सबैसँग राम्रो सम्बन्ध बनाउने, पैसाको पछाडि नभाग्ने, देश विदेशका भ्रमण गर्ने र सकभर राम्रो गाडी चढ्ने मेरो सपना छ । एउटा राम्रो फिल्म बनाएर विदेशका विभिन्न फेस्टिभलमा पठाउने अर्काे सपना हो । मलाई अङ्ग्रेजी त्यति आउँदैन । विदेशका फिल्म फेस्टिभलमा आफ्नो फिल्म लगेर अङ्ग्रेजी ट्रान्सलेटर राखेर कुरा गर्ने इच्छा छ ।
सफल व्यक्ति
म आफूलाई सफल व्यक्ति भन्छु । तर असल मान्दिनँ । सफल यो मानेमा कि मैले जीवनमा जे चाहेको छु, ती पूरा भएका छन् । भित्री रूपमा म नराम्रो छैन । तर मेरो क्रियाकलापले मलाई असल बुझाउँदैन ।
मलाई रिस छिट्टै उठ्छ । गलत व्यक्तिलाई म सहनै सक्दिनँ । ढिलो रियाक्ट गर्दा हुने कुरोमा पनि छिट्टै रियाक्ट गर्छु ।
जीवनमा जानी नजानी भूल धेरै भएका छन् । सधैँ पछुताउनुपर्ने ठूलै भूल गरेँ भन्ने अहिलेसम्म केही भए जस्तो लागेको छैन । फिल्म लाइनमा नआएको भए, सायद मसँग धेरै सम्पत्ति हुन्थ्यो होला ।
प्रेसर छ
ब्लडप्रेसर, डिप्रेसनलगायत केही रोग छन् । प्रेसर ५ वर्षदेखि र डिप्रेसन पहिलेदेखि हो । यसको नियमित औषधि खाँदैछु । अहिले घुँडामा पनि केही समस्या देखिन थालेको छ ।
राशि वृश्चिक
मेरो राशि वृश्चिक हो । ग्रहदशामा विश्वास लाग्दैन र हेराउने, जुराउने पनि गर्दिनँ । बाबुबाजेको पालादेखि चलिआएको पूजापाठ गर्छु । बिहान नियमित जप गर्छु ।
मृत्यु सत्य हो
मृत्यु सत्य हो । उमेर पुगेर निधन भयो भने दुःख लाग्दैन । त्यस्तो मानिसको परिवारलाई शोक नगर्न अनुरोध गर्छु । अल्पायुमा बितेको मानिस दुस्मनै भए पनि पीडाबोध हुन्छ । कसैको अल्पायुमा मृत्यु न होस् भन्ने मेरो कामना छ । तस्बिर: कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड