ad
x
मेरो जीवन

त्यो थाहा पाएको भए सायद राजनीतिमा आउँदिन थिएँ : एनपी साउद

‘म जेल बसेको अहिले जस्तो राजनीतिका लागि होइन’

person explore access_timeपुस १८, २०७८ chat_bubble_outline0

नारायणप्रसाद (एनपी) साउद नेपाली काँग्रेसका युवा नेता हुन् । सभापति शेरबहादुर देउवा निकट मानिएका उनी १४ औँ महाधिवेशनमा खुल्लातर्फको ३५ केन्द्रीय सदस्यमध्ये दोस्रो लोकप्रिय मत ल्याएर विजयी बने । विद्यार्थी राजनीतिबाट उदाएका साउदले नेविसङ्घबाट राजनीति सुरु गरेका थिए ।


०४८ सालमा नेविसङ्घको केन्द्रीय अध्यक्ष भए । ०५९ मा वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा काँग्रेस विभाजित भएर बनेको काँग्रेस (प्रजातान्त्रिक) मा उनी केन्द्रीय सदस्य भए । काँग्रेस प्रजातन्त्रिकको ११औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका साउद ०६४ मा काँग्रेस र काँग्रेस प्रजातन्त्रिकबीच एकता हुँदा पनि केन्द्रीय सदस्यकै रूपमा रहे ।



एकीकरणपछिको १२औँ र १३औँ महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य रहेका थिए । ०५६ सालको आम निर्वाचनमा कञ्चनपुर २ बाट सांसद बनेका उनी ०५७ मा शिक्षा राज्यमन्त्री बने । यस्तै ०७० को चुनावमा कञ्चनपुरको सोही क्षेत्रबाट सांसद भएका साउद सुशील कोइराला नेतृत्वको सरकारमा सिँचाइ मन्त्री बने । ०७४ को आम निर्वाचनमा भने उनी वाम गठबन्धनसँग पराजित भए । नेपाली काँग्रेसमा उदीयमान नेताको छवि बनाएका साउदको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा । 



मीठो मम
मनपर्ने खाना नेपाली खाना दाल, भात, तरकारी र विशेष मनपर्नेे थकाली खाना हो । चाइनिज, कोरियन, कन्टिनेन्टल समेत मनपर्छ । सिफुड मनपर्दैन, माछा, मासु मीठो लाग्छ । साथीभाइ, परिवार र आफन्तसँग रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्टमा खानाको धेरै भेराइटी हुन्छ । तर मलाई मम मनपर्छ । विद्यार्थी जीवनमा पकाउँथे । अहिले पकाउदिनँ ।



त्यो छुट्यो
फिट्नेसका लागि अहिले मर्निङवाक गर्छु । पहिले हेल्थ क्लब पनि जान्थेँ । अहिले त्यो छुट्यो । चिसोका कारण पछिल्लो केही दिनयता मर्निङवाक पनि गरेको छैन । अहिलेकहिले काहीँ रामदेवको योगा गर्छु । हरिद्वारमै पुगेर एक साता योगा प्रशिक्षण लिएको थिएँ । एक्सरसाइजका लागि घरमा ट्रेडमिल मात्र छ ।



ब्रान्डेड रोज्छु
घरमा बस्दा सजिलो र सहज पहिरन प्रयोग गर्छु । सामान्यतया सर्टपाइन्ट, ट्र्याकसुट, टिसर्ट लगाउँछु । विशेष कार्यक्रम, सरकारी काम, संसद्का लागि दौरासुरुवाल लगाउँथे । प्रकृतिसँग जोडिएको भएकाले हरियो मेरो मनपर्ने पहिरन हो । विद्यार्थी जीवनमा पहिरन सिलाएर मात्र लगाउँथे । अहिले रेडिमेट र ब्रान्डेड खोज्छु ।





रुचि फिलोसफी
इतिहास र फिलोसफी पढ्न रुचिको विषय हो । पत्रपत्रिका र अनलाइनका समाचार नियमित पढ्छु । जीवनी, इतिहासमा पनि रुचि छ । यात्राको क्रममा पनि पढ्छु । प्लेनमा यात्रा गर्दा किताब लिएर जान्छु । भारतको मुगल शासन विषयको इतिहास अध्ययन गरेँ । नेहरूको ‘माई स्टोरी’ भर्खर पढेर सकेँ । घरमा लाइब्रेरी छैन । किताबको कलेक्सन भने छ । 

घुम्न मनपर्छ
घुमघाममा धेरै रुचि छ । पहाड, पर्वत, नदी, तालतलेवा, सामुद्री किनारजस्ता मनोरम ठाउँ मनपर्छ । देशका दुई जिल्लाबाहेक सबै घुमेको छु । विदेशका पनि २२, २४ राष्ट्र घुमेँ होला । अहिले जान मन लागेको मनाङ, पश्चिम रुकुम र जाजरकोट हो । विदेशका युरोप, अफ्रिका, अरब, जापान, कोरिया, अस्ट्रेलिया, अमेरिकालगायत देश पुगेको छु । एक पटक फेरि अमेरिका जान मन लागेको छ । आउँदो स्थानीय चुनाव निर्धारित समयमा भएन भने जान्छु ।      

केको फुर्सद
फुर्सद कमै हुन्छ । सामाजिक, राजनीतिक र साथीभाइ लगायतका काममा व्यस्त हुन्छु । देशभरीका साथीभाइ कमहरू लिएर आउँछन् । धेरैभन्दा धेरै मानिसलाई सघाउने मेरो इच्छा हुन्छ । त्यसैले व्यस्त रहन्छु ।

खेलाडी होइन
म राम्रो खेलाडी होइन । सानोमा कबड्डी, ब्याडमिन्टन, कलेज जीवनको सुरुवाती समयमा चेस खेल्थेँ । आफैँले भाग लिएर टुर्नामेन्ट खेलेको छैन । अहिले टीभीमा फुटबल, क्रिकेट लगायतका चर्चित गेम हेर्छु ।

एप्पल ब्रान्ड
मसँग एप्पल ब्रान्डको एउटा मोबाइल छ । अहिलेसम्म मैले जति मोबाइल बोकेँ यही ब्रान्डको बोकेँ । मोबाइलमा धेरैथरी चलाउन जान्दिनँ । मोबाइलमा फोन गर्ने, उठाउनेको अलवा फोटो खिच्ने, फेसबुकलगायत सामाजिक सञ्जाल चलाउने गर्छु । ट्विटर पनि छ, कम चलाउँछु ।

टीभी किन नहेर्नु
टीभी प्रायः साँझको समय हेर्छु । टीभीमा धेरै हेर्ने समाचार हो । त्यसपछि जोग्राफी च्यानल हेर्छु । कमेडीका कार्यक्रम, सिरियलसमेत छोराछोरीसँग बसेर हेर्छु । पहिले पहिले नेपाल टेलिभिजनबाट आउने ‘हिजोआजका कुरा’लगायत कार्यक्रम हेर्थें । अहिले पनि पुराना कलाकारले अभिनय गरेको टीभीका कमेडी कार्यक्रम मनपर्छ ।

हलमै हेर्छु
फिल्म धेरै कम हेर्छु, ५, ६ महिनामा एकचोटि । केटाकोटी,  परिवारलेसँगै हे¥यौँ भन्यो भने, राम्रो चलेको, घरायसी वातावरणले भरिएको हेर्छु । फिल्म धेरैजसो हलमै टिकट काटेर हेर्ने गरेको छु ।

नाम याद भएन, दीपक दीपाको, सलमान खानको र सुशान्त सिंह राजपुतका गरेर पछिल्लो समय केही फिल्म हेरेको छु । मैले धेरै हेर्ने फिल्म हिन्दी हो । नेपाली पनि राम्रो आयो भने हेर्छु । सामाजिक विषयमा बनेको फिल्म बढी मनपर्छ ।

सीधा भाषण
भाषण विषयवस्तुमा केन्द्रित रहेर सीधा तरिकाले गरेको मनपर्छ । भाषण दिँदा प्रस्तुति कलात्मक हुनुपर्छ । जो श्रोता हो, त्यसको ध्यान चाहिँ आफूतिर खिच्न सक्नुपर्छ । कतिपयले एग्रेसिभ भाषणसमेत गर्छन् । त्यस्तो भाषण मनपराउदिनँ म । आफू पनि गर्दिनँ ।

माइकमा चिच्याएर गरेको भाषण मनपर्दैन । श्रोताको ध्यान खिच्दै उतारचढावमा बगेको भाषण ठीक लाग्छ । म पहिले भाषणमा आफ्नो कुरा राख्न ध्यान दिन्थेँ । अहिले भने मानिसको सोच र ध्यान केमा छ त्यो सबै विचार गरेर ठोक्छु ।

राजनीति नै पेसा
मानिसहरू राजनीति पेसा हुन सक्दैन भन्छन् । पेसा, काम, समाजसेवा जे भने पनि मेरो राजनीति भएको छ । सानैदेखि विद्याथी सङ्गठन गर्न सक्ने, अतिरिक्त क्रियाकलापमा अगाडि भएकाले अतिरिक्त क्रियाकलापमा पनि भाग लिन्थेँ, पुरस्कार जित्थे ।

२०३६ पछि नेपाल विद्यार्थी सङ्घसँग जोडिएर अगाडि बढेँ  । स्कुलमा नेपाल विद्यर्थी सङ्घको सचिव भएँ, कलेज पढ्दा स्ववियुको सचिव । त्यसपछि जिल्ला कमिटीको सदस्य हँुदै २०४१ तिर बलबहादुर केसीको नेतृत्वमा बनेको नेवि सङ्घको केन्द्रीय सदस्य भएँ ।

०४३ मा नेविसङ्घको उपसभापति हँुदै ०४८ मा सभापति भएँ । ०५३ मा विद्यार्थी राजनीतिबाट बिदा लिएर नेपाली काँग्रेसको राजनीतिमा होमिएँ ।

२०४८ मै काँग्रेसको युवा विभागको सदस्य भएको म २०५१ सालमा कञ्चनपुरको तत्कालीन क्षेत्र नम्बर ३ बाट सांसद लडेर पराजित भएँ । ०५६ मा फेरि कञ्चरपुर १ जितेँ । ०५७ मा  शिक्षा तथा खेलकुद राज्यमन्त्री भएको म ०७० को चुनावमा कञ्चनपुरको सोही क्षेत्रबाट सांसद भएर सुशील कोइराला नेतृत्वको सरकारमा सिँचाइ मन्त्री भएँ ।

२०६१/०६२ मा म नेपाली काँग्रेसको केन्द्रीय सदस्य भए । त्यो समयदेखि लगातार केन्द्रीय सदस्य रहँदै आएको छु । अहिले मेरो चौथो कार्यकाल हो ।

जतिबेला म राजनीतिमा लागँे, त्यो समय समाज बदल्ने, समाजलाई दिशा निर्देशन, रूपान्तरण गर्ने, सुख, समृद्धि दिने र मानिसलाई स्वतन्त्रता दिने थियो । राजनीतिमा सुख र समृद्धिमा पनि सर्त लाग्दारहेछन् । ठूलो जनसङ्ख्या अहिले पनि दुःख, पीडा र वेदनामा छ । राजनीति मैले जे सोचेको थिए, त्यस्तो भएन । राजनीति सीधा बाटोमा लाग्दो रहेनछ । राजनीति अहिले व्यापारिक, क्यारियर ओरेन्टेड भएको छ ।

म जेल गएको, ढुङ्गा हानेको अहिलेको राजनीतिका लागि होइन । अहिलेको राजनीतिमा दुःख, पीडा, निरासा पनि छ । बदल्न सकिने आस छ । आफू मात्र बन्नु राजनीति होइन । आफूसँगै सबैलाई बनाउनु राजनीति हो मेरो बुझाइमा । म राजनीतिमा क्रियाशील छु । पार्टीले र मुलुकले चाह्यो र जिम्मेवारी दियो भने देश हाँक्न सक्छु ।  

प्रेम विवाह
म आफैँ राम्रोसँग स्थापित हुन नसकेको कारण केही ढिलो विवाह भयो । २०६३ मा मैले प्रेम विवाह गरेको हो । विवाह गर्दा (ज्योत्सना) सामाजिक काम गर्थिन् । म राजनीतिमा थिएँ । एकजना साथीमार्फत हाम्रो पहिलो भेट भएको थियो ।
त्यसपछि भेटघाट बाक्लिँदै गएपछि प्रेम बस्यो । दुवै परिवारको सहमतीमा विवाह गर्याैँ । हामीले जनकपुरको रामजानकी मन्दिरमा विवाह गरेका थियौँ । विवाहपछि प्रेम झन् बढ्दो रहेछ ।

सपना त्यही हो
राजनीतिमा साझा सपना बोकेर अगाडि बढेको छु । देशमा थुप्रै सम्भावना छन्, हामी भने गरिब छौँ । हामी सबैको साझा सपना मुलुकको उन्नति र प्रगति हो । म २०, २५ राष्ट्र घुमेँ । त्यो क्रममा नेपाल जस्तो प्राकृतिक रूपले सुन्दर कुनै देश देखिनँ । देशको स्रोत र साधन राम्रोसँग प्रयोग गरेर मुलुक र जनताका लागि सम्पन्नता सकिन्छ भन्नेछ ।

सुख, दुःख त्यस्तै हो
सुख समृद्धिसँग तुलना गर्न सकिन्नँ । यो मानिसको अन्तरअनुभूतिसँग सम्बन्धित विषय पनि हो । हामीभन्दा धेरै अगाडिका मानिससँग अहिलेका सुविधा थिएन । तर पनि उनीहरु सुखी थिए । हामी भने हाँस्न सकेका छैनौँ । अहिले सुख विकासका साधनसँग बढी सम्बन्धित भएको छ ।

राजनीतिमा म इमानदार, निष्ठापूर्वक लागेको छु । त्यसैले राजनीतिको विसङ्गति देखेर दुःख लाग्छ । राजनीतिमा पावर गेम अलिअलि त हुनैपर्यो । तर धेरै विकृति देख्दा र हामीले सम्मान गर्नुपर्ने मानिस विकृतिमै मुछिएको देख्दा दुःख लाग्दोरहेछ ।

त्यो भूल हो
जीवनमा भूल नगर्ने मानिस हुँदैन । मेरा पनि जानी नजानी अलिअलि भएका होलान् कि ! जीवनमा सधैँ पछुताउने भूल भयो भन्ने मान्दिनँ ।

आफूलाई हरेक दिन झन् सङ्गठित रूपमा, राम्रो रूपमा प्रस्तुत गर्न सक्थेँ भन्ने लागिरहन्छ । राजनीतिमा आउनु भूल भयो भन्दिनँ । आजको जस्तो राजनीतिमा हामी पुग्छौँ भन्ने राजनीति सुरु गर्दा लागेको भए वा यस्तो राजनीतिको खेलाडी म पनि एक हुन्छु भनेर थाहा पाएको भए सायद राजनीतिमा आउँदिन थिएँ ।

खराब बानी 
कहिलेकाहीँ म आफ्नो कुरो एकोहोरो तरिकाले राख्छु भन्ने श्रीमतीको गुनासो हुन्छ । अरूले कुरो सकेको हुँदैन, म बुझेँ भन्छु रे । जे कुरामा पनि हतार गरेजस्तो गर्छु । त्यो मेरो खराब बानी रहेछ ।

गीत मनपर्छ
आधुनिक गीत मनपर्छ, सुन्छु । विषेश गरेर गजल बढी मनपर्छ । गीत र गजल हृदय छुने, सेन्टिमेन्टल मनपर्छ । पछिल्लो समय समाजको प्रतिनिधित्व गर्ने, सामाजिक वस्तुस्थिति झल्काउने खालका गीत सुन्न थालेको छु । कविता भने कोर्ने गरेको छु । 

ठूलो रोग छैन
अहिले खासै ठूलो रोग केही छैन । पाइल्सको समस्या थियो । केही वर्ष पहिले अपरेसन गरेको थिएँ । अहिले अलिकति ब्लडप्रेसर देखिएको छ । त्यसका लागि नियमित औषधि लिन्छु । त्योबाहेक अन्य रोग छैन ।

मापसे गर्छु 
पार्टी, विशेष कार्यक्रम र कहिलेकाहीँ साथीभाइको जमघटमा थोरै मापसे लिन्छु । मैले खाने भनेको ह्विस्की र वाइन हो । ह्विस्की यही चाहिन्छ भन्ने छैन । जमघटमा जे छ, त्यो खान्छु तर घरमा रक्सी सजाएर राख्दिनँ ।

राशि वृश्चिक
मेरा राशि वृश्चिक हो । पहिले ग्रहदशामा विश्वास लाग्दैन थियो । हेराउने देखाउने गर्दिनँ थिएँ । विवाहपछि श्रीमती कहिलेकाहीँ ज्योतिषी कहाँ धाउँछिन् । हेराउने, जुराउने, पूजापाठ पनि गर्छिन् । 

मृत्यु अन्तिम सत्य
मृत्यु अन्तिम सत्य, जीवनको समाप्ति हो । मृत्युलाई मानिसले स्वाभाविक रूपमा लिन सक्नुपर्छ । त्यो लिन मानिसलाई गाह्रो छ । कतिपय मानिसले मृत्यको चाहना गर्छन् तर पाउँदैनन् । कतिपय मृत्युको उमेर पुगे पनि बाँच्ने कुराले हाँस्छन् । म मृत्यु भन्दा जीवन सुन्दर देख्छु । त्यसैले हामीले राम्रोसँग बाँच्ने कोसिस गर्नुपर्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X