राजाराम पौडेलको जीवन : जन्तीले ढिलो गर्दा खाल्डोमा झन्डै पुरेनन्
लोकप्रिय कलाकार हुन् राजाराम पौडेल । करिब ४ दशकदेखि अनवरत कलाकारितामा क्रियाशील उनी कमेडी कलाकारितामा स्थापित छन् । फिल्म, टेलिफिल्मदेखि स्टेजसम्म सबैतिर छाउन सफल उनी बालकदेखि वृद्धसम्मको मनमा बस्न सफल छन् । नेपाली कलाक्षेत्रका थुप्रै आरोहअवरोह पार गर्दै वर्तमान अवस्थासम्म आउन सफल उनीसँग कलाकारिताका अनगन्ती तीतामीठा अनुभव छन् । त्यो हिसाबले पनि उनी कलाकारिता एउटा फटाहा पेसा भएको बताउँछन् । कलाक्षेत्रमा नव–प्रवेशीलाई हिरो, हिरोनी बन्छु भनेर नभित्रिन सुझाउने उनले नेपाली कलाक्षेत्रमा फिजिकल्ली हिरो, हिरोइन धेरै नटिकेका प्रशस्तै देखाएका छन् । अचेल युवापुस्ता झैँ टिकटकमा समेत सधैँ भेट्न सकिने कलाकार पौडेलको जीवनका विभिन्न पाटो रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।
अहिले भेज म
नेपाली दाल, भात, तरकारी र अचार नै मेरो मनपर्ने खाना हो । ६ महिनाको हुँदा पास्नीमा खाएदेखि नमरुन्जेल हामी यो खाना खान्छौँ । कहिलेकाहीँ थाइफुड र चटपटे खालका खानेकुरा मनपर्छ । माछा, मासु मीठो लाग्छ । तर विगत दुई महिनायता आमाको बरखी भएकाले अहिले पूरै भेज हो म । मन नपर्ने तरकारी फर्सीको मुन्टा हो ।
होटल, रेस्टुरेन्ट, पार्टी प्यालेसमा विवाह, पार्टी र कार्यक्रममा सहभागी हुनुपर्दासमेत भोकै घर फर्किन्छु । पकाउन मज्जा लाग्छ । सबैथोक पकाउँछु । आफैले पकाएर खान जान्यो भने जहाँ गए पनि भोको पर्नुपर्दैन । यो मेरो मान्यता हो ।
केको एक्सरसाइज
फिट्नेसका लागि केको एक्सरसाइज । मर्निङवाक त हिँड्दिनँ । मेरो विचारमा हाम्रो देशको बायुमण्डलमा धुलोका कण धेरै भएकाले मर्निङवाक बाहिर हिँड्नु फाइदा होइन हानिकारक छ । मर्निङवाकमा कतिपय मानिस थाहा नपाएर रोगी बनिरहेका छन् ।
मलाई डाक्टरले पनि मर्निङवाक नगर्न सुझाए । घरमा बिहान तीन तलमाथि धेरै चोटि कामले तलमाथि गर्छु । अहिलेसम्म त्यसैले एक्सरसाइज पुगेको छ ।
नाङ्गो बस्नु भएन
पोसाकमा खासै रुचि छैन । औपचारिक कार्यक्रममा सहभागी हुनुपर्ने भयो भने दौरासुरुवाल, कोट र टोपी प्रयोग गर्छु । विवाह, पार्टी लगायतमा कोटपाइन्ट, अन्य समय गर्मीमा हाफ पाइन्ट र टिसर्ट; जाडोमा टाउजर, ज्यकेट यस्तै यस्तै हो ।
आफूलाई सजिलो र अरूले हेर्दा राम्रो देखिने पहिरन लगाउनुपर्छ भन्ने मेरो विचार हो । पहिरनमा मेरो फेबरेट रङ पनि छैन र ब्रान्ड नि हेर्दिनँ । जे मनपर्यो त्यही किन्छु । शरीर ढाक्न पाए पुग्छ । नाङ्गो बस्नु भएन ।
पुस्तक पढ्छु
पहिले धेरै ऐतिहासिक पुस्तक, उपन्यास पढ्थे । अहिले बढ्दो उमेरले होला पढ्न रिडिङ ग्लास चाहिन्छ । त्यसैले पढ्न अल्छी लाग्छ । तर बाहिर निस्किएँ भने किताब किनेरै घर फर्किन्छु । घरमा लाइब्रेरी नभनौँ किताबका अलिअलि कलेक्सन छ ।
ऐतिहासिक उपन्यास, विश्व चर्चित व्यक्तिका जीवनीलगायत अध्ययन गर्न मनपर्छ । पुस्तक प्रदर्शनी भयो भने अवलोन पनि गर्छु र फर्किंदा पुस्तक पनि किनेर फर्किन्छु । अध्ययन सबैका लागि महत्त्वपूर्ण छ ।
पेसाले घुमाउँछ
घुमघाममा रुचि नभए पनि पेसाले घुमाउँछ । धेरै ठाउँ पुगेको छु । केही दिन पहिले नेपालगञ्ज र दार्जलिङमा फिल्मको सुटिङ परेकाले फिक्कल समेत घुमेर फर्किएँ । कतिपय ठाउँ त मन नपरे बाध्यताले नि घुम्नुपर्छ ।
देशको धेरै ठाउँ पुगेँ, डोल्पा, हुम्ला र कालिकोट अझै पुग्न सकेको छैन । विदेशका अमेरिका, क्यानडा जापान, रसिया, हङ्कङ लगायत ८, १० देशमा कार्यक्रमै गरेको छु । चीन अहिले वल्र्डको सुपरपावर देश भएको छ । त्यसैले चीन र अफ्रिका हेर्न मन लागेको छ ।
टिकटकमा रमाउँछु
कोरोना कहरको समय फिल्मी गतिविधि बन्द भएकाले फुर्सदै फुर्सद थियो । अहिले केही काम हुन थालेको छन् । पछिल्लो समय दुई फिल्ममा काम गरेँ । ४ फिल्म साइन गरेर बसेको काम कहिले हो कहिले । त्यसैले अहिले फुर्सद नै छ । फुर्सदको समय टिकटकमा रमाउँछु । टिकटक लाइभ नि बस्छु ।
टिकटकमा धेरै माग्ने भेटिँदा रहेछन् । कोही चस्मा पठा भन्छन्, कोही के हैरान पर्दा रहेछन् । यसबाटै धेरै पैसा कमाउँदासमेत रहेछन् । त्यसैले कतिपयले टिकटक भेटिने कलाकारलाई नेगेटिभ दृष्टिले हेर्छन् । म पनि हरेक दिन ५ बजेपछि फ्यानसँग जोडिन टिकटकमा रहन्छु । मसँग विभिन्न फ्यान जोडिन्छन् । माग्न होइन, अरूलाई मनोरञ्जन दिलाउन टिकटकमा बसेको हो । टिकटकमा म केही माग्दिनँ ।
टोले खेलाडी
स्कुले जीवनमा फुटबल, बक्सिङ धेरै खेल्थेँ । प्रतियोगिता होइन, साथीभाइसँग खेल्ने टोले खेलाडी थिए । अहिले भने खेल हेर्छु । मध्यरातका खेल भने हेर्दिनँ । रातको समय मेरो पहिलो प्रथामिकता घुर्न अर्थात निन्द्रामा हुन्छ । किनभने म दिउँसो कहिलै सुत्न सक्दिनँ । सुटिङका लागि राति समय दिनुपर्छ भने त अभिनय गर्दिनँ भन्छु ।
मोबाइल माग्दिनँ
अहिले मसँग दुईवटा मोबाइल छ । एउटा सामान्य छ । त्यो फोन गर्न र उठाउन मात्र । अर्काे राम्रो छ टिकटकलगायत सामाजिक सञ्जालका लागि । ब्रान्डेड र राम्रो मोबाइल बोक्नुपर्छ भन्ने मान्यता ममा छैन । मोबाइल कसैलाई देखाउन बोक्ने होइन ।
मोबाइलमा फोन गर्ने, उठाउने, भाइबर, युट्युबलगायत सामाजिक सञ्जाल चलाउने, तस्बिर खिच्ने गर्छु । युट्युबमा विद्वान व्यक्ति, देशविदेशका चर्चित व्यक्तिको अन्तर्वार्ता हेर्न मनपर्छ ।
विदेशी फिटिकै हेर्दिनँ
टीभी पहिले धेरै र अहिले थोरै हेर्छु । म मात्र होइन, अहिले देशभर नै टीभीका दर्शक घटेका होलान् । मैले टीभीमा हेर्ने नेपाली च्यानल मात्र हो । जस्तोसुकै कार्यक्रम आए पनि विदेशी च्यानल हेर्दिनँ ।
अहिलेका बच्चाहरु हिन्दी धेरै बोल्न थालेका छन् । त्यो विदेशी च्यानल हेर्न थालेर हो । यो क्रम बढ्दै गयो भने भोलि राष्ट्रिय भाषा बिर्सन पनि सक्छन् । त्यसैले विदेशी च्यालन हेर्दिनँ । टीभीमा बढी हेर्ने समाचार ।
फिल्म पनि विदेशी हेर्दिनँ । अर्काे कुरा हलमा गएर टिकट काटेर पनि हेर्दिनँ । आफैले खेलेका वा कसैल प्रिमियरमा बोलाए भने हेर्छु ।
फटाह पेसा
मेरो पेसा कलाकारिता हो । म सानैदेखि यो पेसामा जोडिएको हो । सानोमा रेडियो नेपालको बालकार्यक्रममा गीत, कविता, कथा भन्थे । त्यसपछि यो केटाले राम्रो गर्दाे रहेछ भनेर रेडियो नाटकमा अवसर दिए ।
त्यसपछि पेसा, व्यवसाय, जागिर जे भने पनि कलाकारिता नै भयो । मेरो विचरमा कलाकारिता एउटा फटाहा पेसा हो । किनभने जे होइन, त्यो हामीले भनिरहेको, गरिरहेको हुन्छौँ । दर्शक भुलाउँछौँ ।
म यो फटाहा पेसामा आधिकारिक रूपमा लागेको २०३९ सालमा निर्माण भएको फिल्म ‘वासुदेव’बाट हो । यसमा एक सिन थियो । पहिलो टेलिफिल्म २०४३ मा मह जोडीको ‘सन्तती’ हो ।
कलाकारिताको लामो यात्रा पार गरेर अहिलेसम्म आइपुग्दा एक सयभन्दा बढी फिल्म अभिनय गरेँ होला । सिरियल ‘जिरे खुर्सानी’, ‘गोलमाल’ लगायत धेरै भाग प्रसारण हुने पनि गरेको छु । थोरै माग प्रसारण हुने पनि गरेको । सङ्ख्याका हिसाबले सिरियल तीन दर्जन नाघे होला ।
मलाई कलाकारितामा राजाराम पौडेल भनेर चिनाएको सिरियल मह जोडीको ‘१५ गते’ ले हो । यो सिरियलमा मैले लमीको भूमिका निर्वाह गरेको थिएँ । सिरियलभित्र रहेको विवाहको एक दृश्यमा जन्ति आउन ढिलो गर्दा मलाई झण्डै खाल्डोमा पूरेको दृश्य थियो । त्यसले दर्शकको मनमा अहिले पनि छाप छोडेको छ । त्यो अभिनय आजसम्म पनि अमर छ जस्तो लाग्छ ।
म स्टेजको पनि कलाकार हो । नाटक, प्रहसन लगायत थुप्रै स्टेज सो गरेको छु । सानातिना नाटक दुई दर्जनभन्दा बढी भए होला । अभिनयमा पूर्णाङ्की नाटक भनेको महको ‘विज्ञापन’ नै हो । म्युजिक भिडियो त ४, ५ वटा गरेको छु ।
अभिनयमा हिरो हुने रहर भने मलाई कहिलै लागेन । त्यो एक हिसाबले भगवानले मलाई सद्बुद्धि दिएको हो । हिरो भएको भए म उहिले हराइसक्थेँ । अर्काे कुरो हिरो हुने अनुहार पनि मेरो थिए ।
नेपाली कलाक्षेत्रमा नयाँ आउनेलाई म हिरो, हिरोनी बन्छु भनेर नआउन र कलाकार बन्छु भनेर आउनुस् भन्छु । नेपाली कलाक्षेत्रमा फिजिकल्ली हिरो, हिरोइन धेरै टिक्दैनन् । कथाले मागेको हिरो, हिरोइन लामो समय टिक्छन् ।
म निर्माता पनि हो । दुईवटा सर्ट फिल्म बनाएको छु । फिल्म ‘सयकडा दस’ को सहनिर्माता थिएँ । फिल्म चलेन लगानी स्वाहा ।
विवाहपछि प्रेम
२०४० मा मैले मागी विवाह गरेको हो । त्यो समय म भर्खर कलाकारिता सुरु गर्दै थिए । उनी भने वन विभागमा जागिरे थिइन् । दुवै परिवारको सहमतीमा हाम्रो विवाह विवाह भयो । विवाहपछि उनीसँग बसेको प्रेम अहिले पनि जारी छ ।
उनीसँग विवाह हुनु मेरो भाग्य पनि हो । म कहाँ जान्छ, के गर्छ त्यो केही मतलव गर्दिनँ । उनले शङ्का गर्ने, विभिन्न डिमान्ड गर्ने गरेको भए कलाकारितामा म यति सफल हुने थिएन होला । हराउन पनि सक्थेँ ।
अरूको जस्तै सपना
देश समृद्ध भएको हेर्ने मन छ । यो मेरो मात्र होइन सबै नेपालीको सपना हो । नेताहरूले देश बेच्न लागिसके । चिन्ता त्यसमा छ । पुर्खाको बलिदानले जोगिएको नेपालमाथि कसैको हस्तक्षेप नहोस्, कसैको दास भएर होइन, स्वाभिमानी नेपाली भएर बाँच्न पाइयोस् भन्ने छ ।
गीत किन नसुन्ने
फुर्सदमा गीतसङ्गीत सुन्छु । लोक, आधुनिक, सेन्टिमेन्टलगायत सबै प्रकार तर नेपाली मात्र गीत सुन्छु । त्यसमा पनि नारायण गोपालका धेरै सुन्छु । हाम्रो गीतसङ्गीत कुनै अन्तर्राष्ट्रियभन्दा कम छैनन् । अहिले आएका नयाँ कलाकारसमेत राम्रा छन् । यो कसैलाई थाहा छैन । हास्यकलाकार हुुनुअगाडि ममा गायक बन्ने धोको थियो । एकै पटकमा रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरेको थिए । त्योबेला मेरो घाँटीबाट दोहोरो आवाज निस्किएका कारणले अपरेसन गर्नुपर्यो । त्यसपछि गायक बन्ने सपना हरायो ।
दुःख अनेक छन्
कलाकारिताका दुःख अनेक छन् । कामको सिलसिलामा आउने दुःख त्यस्तो केही लाग्दैन । हास्य कलाकार भएको हिसाबले आफ्नै पेसा होच्याए हेर्ने गरिन्छ । मुखै खोलेर नभने पनि व्यवहारले हेप्ने, होच्याउने गरिन्छ । फिल्मका पोस्टरमा पनि सानो टाउको राख्न गाह्रो मान्छन् । भूमिका पनि रङ्ग न तालका दिन्छन् ।
पछिल्लो समय भने कलाकारिताले कोल्टे फेरेको छ । जोक्करहरु हिरो भएर उद्योग धानेका छन् । मेरो व्यक्तिगत दुःख केही लिन्नँ । त्यही भएर पनि म सधैँ खुसी, सुखी छु ।
भूल भए
जीवनमा जानी नजानी भूल त धेरै भएका होलान् । सधैँ पछुताउनुपर्ने ठूलै भूल गरेँ भन्ने अहिलेसम्म केही भएजस्तो लागेको छैन । केही कलाकारले कलाकारमा आएर भूल भयो भनेको पनि सुनेको छु । म कलाकारिताप्रति गर्व गर्छु । ४, ५ वर्षका केटाकेटीदेखि बूढाबूढीसम्मको प्रिय मलाई कलाकारिताले बनाएको हो । यस्तो माया बिरलैले पाउँछन् ।
सुगरको रोगी
भगवान्को कृपाले ठूलो रोग केही छैन । १५, १६ वर्षदेखि सुगरको भने समस्या छ । त्यसका लागि नियमित औषधि र इन्सुलिन लिने गरेको छु ।
हल्का मापसे
नियमित पिउने बानी छैन । हल्का मापसे गर्छु । त्यो पनि घरमै । साथीभाइ जमघटमा, विशेष समारोह, पार्टीमा खान्छन् । मेरो भने घरमै थोरै पिउने बानी छ । मैले पिउने ब्रान्ड भोड्का नै हो । घरमा सानोतिनो बार बनाएर केही रक्सी सजाएर राखेको छु ।
मृत्युसँग केको डर
मृत्यु अन्तिम सत्य हो । योसँग डर छैन । किनभने कसैले टार्न पनि सक्दैन नि । जति डराए पनि समय आएपछि जानैपर्छ । मेरो विचारमा मृत्युपछि गरिने दाहासंस्कार जीवनको अन्तिम फेस्टिभल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै