मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

इच्छाराजको मासिक पारिश्रमिक आठ लाख, कर्मचारीलाई छ महिनासम्म बेतलबी परिश्रम

शनिबार, १८ मङ्सिर २०७८, १७ : २५
शनिबार, १८ मङ्सिर २०७८

सिभिल डेभिड एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङले मासिक ८ लाखसम्म तलब बुझेको पाइएको छ । तामाङले सहकारी संस्थाबाट मासिक ५ लाख र अन्य कम्पनीबाट मासिक ३ लाख रुपैयाँ तलब लिने गरेको पाइएको हो ।

तर, सहकारी संस्थामै काम गर्ने कर्मचारीहरूले भने ६ महिनासम्म बेतलबी काम गरेको बताएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोगमा सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोग पत्रमा बयान लिनेक्रममा यस्तो खुलेको हो ।

सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठले अभियोग पत्रमा बयान दिँदै भने, ‘इच्छाराज तामाङले सहकारी संस्थाबाट बैठक भत्ताबाहेक मासिक पाँच लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । साथै सिभिल ग्रुप अन्तर्गतको अन्य कम्पनीबाट मासिक तीन लाख पारिश्रमिक लिने गरेका छन् ।’

अध्यक्ष श्रेष्ठले दिएको बयानले सयौँ बचतकर्ताको अर्बौँ रकम ठग्ने इच्छाराजले आफूले पारिश्रमिकबापत मोटो रकम लिने गरेको पुष्टि भएको छ । बैठक भत्ताबाहेक नै मासिक आठ लाख पारिश्रमिक लिने इच्छाराजले आफ्ना कर्मचारीलाई भने ६ महिनासम्म बेतलबी जागिर दिएको समेत खुलेको छ ।

२८४ पृष्ट लामो अभियोग पत्रमा बयान दिँदै सहकारी संस्थाका लेखा अधिकृत राकेश महर्जनले ६ महिनादेखि तलब नपाएको बताएका छन् । सरकारी वकिलको कार्यालयलाई बयान दिँदै उनले भने, ‘सहकारी संस्थाको लेखा अधिकृतमा रहँदा मैले ठगी गरेको छैन । बरु उल्टै ६ महिनासम्म बेतलबी श्रम गरेको छु ।’

यो बयानले इच्छाराजले आफ्ना बचतकर्तालाई मात्र नभई कर्मचारीलाई पनि ठग्दै आएको देखिएको छ । उनको ठगी गर्ने हकर्तबाट कर्मचारी समेत अछुतो रहेको पाइएको हो ।

बचतकर्ता लोभ्याउन आकर्षक ब्याज र सुनको सिक्का !

इच्छाराजको सोल्टीमोडमा रहेको सहकारी संस्थाले आफ्नो संस्थामा बचतकर्ता लोभ्याउनलाई सुनको सिक्का उपहारको योजना समेत ल्याएको थियो । सहकारीले धेरै बचतकर्ता ल्याउन र बचतकर्ताबाट अझै धेरै बचत ल्याउन सुनको सिक्का उपहार दिने योजना बनाएको थियो । सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोग पत्रमा बचतकर्ताले दिएको बयानले यस्तो देखाएको हो ।

अभियोग पत्रमा बयान दिने क्रममा तीन जना बचतकर्ताले आकर्षक ब्याज र सुनको सिक्का उपहार दिएको बताएका छन् । उनीहरूले धेरै पैसा राखेबापत सहकारीबाट पाँच ग्रामदेखि २ ग्रामसम्मको धेरै वटा सुनको सिक्का पाएको बयानमा बताएका छन् । तर, सीमित अवधिसम्म पैसा राखेपछि निक्षेप झिक्न जाँदा सहकारीले पैसा अभाव लगायतको विभिन्न बहाना देखाएर भुक्तानी दिन आनाकानी गरिरहेको उनीहरूको भनाई छ ।

बचतकर्ता जितनीदेवी कोइरानीका श्रीमान् विश्वनाथ सिंहले सहकारीमा मोटो रकम बुझाएबापत २.५ ग्रामको ८ वटा सुनका सिक्का पाएका थिए । विश्वनाथले सहकारीमा धेरै पटक गरेर करिब ८० लाख रुपैयाँ निक्षेप जम्मा गरेका थिए । त्यसबापत उनले १५ प्रतिशतसम्मको आकर्षक ब्याज पाउने आश्वासन सहकारीमार्फत पाएका थिए । तर, सावा÷ब्याजसहित सबै रकम झिक्न जाँदा एक करोड १९ लाखभन्दा बढी भुक्तानी पाएनन् ।

यस्तै, प्रतिभा अमात्यका श्रीमान् चन्द्रबहादुर श्रेष्ठले पनि २०७० सालमा ४० लाख जम्मा गरेबापत ५ ग्रामका २ वटा सिक्का पाएका थिए । त्यसपछि थप पैसा जम्मा गर्दा थप २.५ ग्राम तौलको दुई वटा सिक्का पाएका थिए । यसै गरी, प्रतिमा ताम्राकारका श्रीमानले सहकारीमा पाँच लाख रुपैयाँ जम्मा गर्दा दुई ग्रामका दुई वटा सिक्का पाएको बयानमा उल्लेख छ । पछि, पैसा फिर्ता लिन जाँदा विभिन्न बहानामा नपाएको उनीहरूले बयानमा बताएका छन् ।

इच्छाराज भन्छन् – भूकम्प र कोरोनाले थला पर्यौं

वि.स. २०५७ सालमा स्थापना भएको सहकारीले २१ सय जना निक्षेप सदस्यको अर्बौँ रकम भुक्तानी गर्न बाँकी छ । उनीहरूसँग निक्षेपकारुपमा लिएको मोटो रकम भुक्तानी दिन बाँकी रहेको संस्थापक अध्यक्ष तामाङले नै स्वीकारेका छन् । भनेका छन्, ‘करिब २१ सय बचतकर्ता सदस्यलाई ७ अर्ब रकम फिर्ता दिनुपर्ने हुन्छ ।’

जसमध्ये सहकारी संस्थाले सिभिल होम्स लगायतका संस्थाबाट ५ अर्ब कर्जा असुल्न बाँकी रहेको तामाङले बयान दिएका छन् । खास गरी, २०७२ सालमा आएको विनाशकारी भूकम्पले निर्माण सम्पन्न भएका र निर्माणाधीन अपार्टमेन्टमा क्षति पुर्‍याएकाले ठूलो नोक्सानी बेहोर्नु परेको उनको भनाई छ । ‘भूकम्पले निर्माण भइसकेका र निर्माणाधीन घर र अपार्टमेन्टमा क्षति पुर्‍यायो,’ उनले भने, ‘त्यसपछि २०७६ सालदेखि आएको कोरोना महामारीका कारणले घर÷अपार्टमेन्ट बिक्रीमा कमी आएकाले सावा÷ब्याज तिर्न नसकेको हो ।’

उनले सरकारी वकिल कार्यालय समक्ष बयान दिने क्रममा बचतकर्ताले बचत गरेको रकम फिर्ता दिने दायित्व आफ्नो नभएको समेत बताएका छन् । उनले अर्बौँ रकम फिर्ता दिने दायित्व संस्थाको भएको बयान दिएका छन् ।

अध्यक्षको उम्किने प्रयासमा लेखा अधिकृतको भाँजो

सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठले ठगी प्रकरणमा आफू संलग्न नरहेको भन्दै उम्किने प्रयास गरेका छन् । उनले दिएको बयानमा भनेका छन्, ‘मँ नाम मात्रको अध्यक्ष हुँ । मेरो खाता पनि इच्छाराज तामाङले चलाउँथे ।’ यसरी, आफू कठपुतली मात्रै भएको भन्दै ठगी प्रकरणको सम्पूर्ण दोष इच्छाराज तामाङमाथि थोपरेर उम्किने प्रयासमा उनकै संस्थाका लेखा अधिकृतले भाँजो हालेका छन् । उनले भनेका छन्, ‘इच्छाराजसँगै अध्यक्ष केशवलाल श्रेष्ठको पनि संलग्नता छ ।’

श्रेष्ठले सरकारी वकिलको कार्यालयलाई दिएको बयानमा धेरै जसो समय आफू निर्देश रहेको र इच्छाराज नै दोषी रहेको पुष्टि गर्न खर्चिएका छन् । श्रेष्ठले आफ्नो नामको खाता पनि इच्छाराजले नै चलाइरहेको समेत उल्लेख गरेका छन् । यद्यपि, इच्छाराजले बचतकर्ताको रकम फिर्ता गर्ने आफ्नो दायित्व नभएको बताउँदै गर्दा श्रेष्ठले भने सम्पत्ति बेचेरै भए पनि रकम फिर्ता गर्ने बयानमा बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप