शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निक्षेपकर्ता आकर्षित गर्न सुनको सिक्का उपहार दिन्थ्यो सिभिल सहकारी

शनिबार, १८ मङ्सिर २०७८, १२ : १७
शनिबार, १८ मङ्सिर २०७८

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले बचतकर्ता आकर्षित गर्न सुनको सिक्का उपहार दिने गरेको खुलेको छ । सोल्टीमोडमा रहेको कार्यालयमा धेरै रकम लिएर आउने निक्षेपकर्तालाई दुई ग्राम तौलको सुनको सिक्का उपहार दिने गरेको खुलेको हो ।

बचतकर्ताले दिएको बयानअनुसार इच्छाराज तामाङको सहकारीले आफूहरुलाई ठूलो मात्रामा निक्षेप राखेबापत सुनको सिक्का उपहार दिने गरेको थियो । निक्षेपकर्ता विश्वनाथ सिंहकी श्रीमती जितनीदेवी कोईरीनले सहकारीले आफूहरुलाई २.५ ग्रामको ८ वटा सुनको सिक्का उपहार दिएको बताइन् ।

उनले सहकारीमा २०६८ सालमा ८० लाख रुपैयाँ जम्मा गरेका थिए । सो बापत सहकारीले ८ वटा सुनका सिक्का उपहार पाएको विश्वनाथकी श्रीमती कोइरीनले बयान दिएकी हुन् । त्यसपछि पनि श्रीमान सिंहले रकम जम्मा गर्दै गएका थिए ।

तर, आफ्नो रकम लिन जाँदा सहकारीले रकम अभाव भएको बताउँदै सावाँ/ब्याजसहित एक करोड १९ लाख ५४ हजार रुपैयाँ रकम भुक्तानी दिएको थिएन । सिंहलाई सुनको सिक्काबाहेक १५ प्रतिशतको आर्कषक ब्याज दिने आश्वासन समेत सहकारीले दिएको थियो ।

यसैगरी, प्रतिभा अमात्यले दिएको बयानमा १४ प्रतिशत ब्याजदर दिने आससहित उनका श्रीमान चन्द्रबहादुर श्रेष्ठले ४० लाख रकम निक्षेप राखेका थिए । त्यसबापत सहकारीले श्रेष्ठलाई ५ ग्राम तौलको दुईवटा सुनका सिक्का दिएको थियो भने त्यसको तीन वर्षपछि फेरि २.५ ग्राम सुनका दुईवटा सिक्का पाएका थिए । हाल श्रेष्ठले सावाँ र ब्याजसहित गरेर ४४ लाख ६२ हजार रुपैयाँ लिन बाँकी छ ।\

यस्तै, बचतकर्ता प्रेमरत्न स्थापितले समेत १५ प्रतिशत ब्याजको आसमा २०७३ सालमा ५ लाख रुपैयाँ जम्मा गरेका थिए । तर, पछि सावाँ÷ब्याजसहित ४१ लाख ४६ हजार रुपैयाँ लिन जाँदा रकम अभाव भएको र तत्काल दिन नसक्ने जवाफ आएको थियो । पाँच लाख जम्मा गरेवापत सहकारीले उनलाई २ ग्राम तौलको दुईवटा सुनको सिक्का उपहार दिएको थियो ।

यसरी, निक्षेपकर्तालाई आकर्षक ब्याज दिने प्रलोभन पार्ने र ब्याजमा पनि प्रलोभनमा नपर्नेलाई सुनको सिक्का नै उपहार दिएर धेरैभन्दा धेरै निक्षेप जम्मा गर्न लगाउने नीति सहकारीको देखिन्छ । बचतकर्ताले सरकारी वकिल कार्यालय, काठमाडौंले तयार पारेको २८४ पृष्ठ लामो अभियोगपत्रमा यस्तो बयान दिएका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप