शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल ग्रुपमार्फत कयौंलाई ठगेका इच्छाराजको बयान : ‘रकम फिर्ता गर्ने दायित्व मेरो होइन’

शुक्रबार, १७ मङ्सिर २०७८, २१ : २३
शुक्रबार, १७ मङ्सिर २०७८

सिभिल ग्रुपअन्तर्गत सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङले बचतकर्ता सदस्यलाई रकम फिर्ता गर्ने दायित्व आफ्नो नभएको बयान दिएका छन् । सहकारी र सिभिल ग्रुपअन्तर्गतका अन्य कम्पनीमार्फत ठगी गरेका तामाङलाई असोज १९ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । 

आज (शुक्रबार) तामाङसहित ४२ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालत, काठमाडौंमा २८४ पृष्ठ लामो अभियोगपत्र दायर गरेको छ । सो अभियोगपत्रमा उल्लेख भएअनुसार तामाङले ठगीमा परेका बचतकर्तालाई रकम फिर्ता दिने दायित्व आफ्नो नभएको बयान सरकारी वकिल कार्यालयलाई दिएका हुन् । 

यस्तो छ तामाङले दिएको बयान :
२०५७ सालतिर हरिहर लामिछाने, प्रकाशकुमार बर्मा, जीवनराज बज्रचार्य, डा.दुर्गाप्रसाद संग्रौला, सूर्यप्रसाद संगौलासमेतका व्यक्तिहरू एक आपसमा छलफल गरी व्यवस्थित बसोबासका लागि हाउजिङ व्यवसाय गर्ने उद्देश्यले सहकारी संस्था स्थापना गरौं भनि योजना बनाई सोहीअनुसार २०५७ सालमा सहकारी स्थापना गर्ने काम भएको हो ।

स्थापना भएपश्चात तत्कालै मैले रु. १ (एक) लाख सेयर लगानी गरी सेयर सदस्यको रूपमा आबद्ध भई आएको हुँ । मैले संस्थालाई आवश्यकताअनुसार सञ्चालक समितिले निर्णय गरेअनुसार संस्थालाई पटक पटक थप सेयर लगानी गरेको हुँ । 

म संस्थाको स्थापनाकालदेखि २०६७ सम्म सञ्चालक समितको अध्यक्ष भएको हो । त्यसपछि २०७३ सालसम्म संस्थापक सल्लाहकारका रूपमा काम गरेको हो । २०६७ सालदेखि हालसम्म सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ छन् ।

संस्थाको विनियममा देशको चौतर्फी विकास गर्न संस्थाको क्षमताले भ्याएसम्म जलविद्युत्, यातायात, सञ्चारलगायतका उपयुक्त देखिने आयोजनाहरू निर्माण तथा सञ्चालन गर्ने भन्ने उल्लेख भए बमोजिम २०६० सालमा सिभिल सेभिङ एण्ड क्रेडिट संस्थाले पहिलो चरणमा आफ्नै नाममा हाउजिङ परियोजनाका लागि ललितपुर भैँसेपाटीमा जग्गा खरिद गरी घर निर्माण गरी बेचबिखन गरेको हो ।

त्यसैगरी २०६२ सालमा, २०६३ सालमा हाउजिङ परियोजनाका रूपमा विभिन्न स्थानमा जग्गा खरिद गरी हाउजिङ बनाई बिक्री गरी आएको हो । २०६३ सालतिर हाउजिङ व्यवसाय गर्नलाई सहकारी संस्थाबाट नगर्नु र छुट्टै कम्पनी प्रालि खडा गरी कारोबार गर्नु भनि आन्तरिक राजस्व विभागको फूल अडिटबाट कार्यान्वयन गर्नु भनी निर्देशनअनुसार व्यवस्थित बसोबासका लागि घरजग्गा निर्माण गरी बेचबिखन गर्ने गरी सिभिल होम्स प्रालि नामक कम्पनी दर्ता गरी हाउजिङ परियोजना शुरू गरेको हो ।

त्यसरी नै एउटा कम्पनीमा ३५ (पैँतीस) रोपनीभन्दा बढी जग्गा खरिद गर्न नपाइने हदबन्दीको कारणले २०६५ सालतिर सिभिल अपार्टमेन्ट प्रालि समेतका अन्य २१/२२ वटा जति कम्पनीहरू दर्ता गरी सञ्चालनमा आएपनि कतिपय बन्द भैसकेका छन् । सिभिल होम्स समेतका कम्पनीहरूले फेजवाइज हाउजिङ परियोजनाहरू सञ्चालन गरेको हो । सम्पूर्ण कम्पनीहरूमा सञ्चालक समितिको अध्यक्ष म इच्छाराज तामाङ, सदस्य केशवलाल श्रेष्ठ समेत सदस्य छन् ।

विभिन्न बैकहरूमा आफ्नो, आफ्नो परिवार तथा सिभिल होम्स समेतका कम्पनीहरूको खाता रहेको छ । सिभिल बैंकमा संस्थापक सेयर संख्या ४४८६०० रहेको छ । सो बाहेक अन्य बैंक, संस्था समेतमा सेयर रहेको छ ।

श्रीमती सिर्जना शाक्य, छोरीहरू प्रतिक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा समेत बिभिन्न बैक, वित्तीय संस्था, कम्पनीहरूमा सेयर, काठमाडौं कीर्तिपुरमा जग्गा जमिन छ । करिब २,१०० (एक्काइस सय) जना जति संस्थाका सदस्य बचतकर्ता सदस्यहरू भएको थाहा पाएको हुँ । उक्त संस्थाका बचतकर्ता सदस्यहरूलाई करिब ७ (सात) अर्ब जति रकम फिर्ता गर्नुपर्ने हुनुपर्दछ ।

सिभिल होम्स समेतका सबै कम्पनीबाट करिब ५ (पाँच) अर्ब जति कर्जा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई तिर्न बाँकी छ । २०७२ सालको बिनासकारी भूकम्पका कारण कम्पनीहरूले निर्माण गरेका अपार्टमेण्टहरूमा ठूलो क्षति पुर्‍याएकोले पुनःनिर्माण गर्न समय लागेकाले ठूलो नोक्सानी क्षति व्यहोर्नुपरेको र कोरोना महामारीको कारण घर÷अपार्टमेण्ट बिक्री वितरणमा कमी आएकाले भने जति सावा रकम कम्पनीको तर्फबाट सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई चुक्ता गर्न नसकेको हो ।

विभिन्न पत्रपत्रिकामा नकारात्मक समाचार सम्प्रेषण भएपछि सदस्यहरूलाई कर्जा रकम तुरुन्त फिर्ता गर्नुपर्ने बाध्यताले सम्पूर्ण रकम तिर्न नसकेको हो । म संस्थाको अध्यक्ष हुँदा संस्था नियम विनियम बमोजिम संस्थाको नाममा प्रायः जसो जग्गाहरू रजिष्ट्रेसन पारित गरी सो जग्गामा संस्था र कम्पनीको संयुक्त लगानी भएकाले धितो राखिराख्नुपर्ने आवश्यक नभएकाले धितो नराखिएको हो ।

कतिपय लगानीमा धितो समेत राखिएको थियो । कर्जा बापतको रकम चुक्ता गर्न बचतकर्ताको नाममा समेत घरजग्गा रजिष्ट्रेशन पारित गरी कम्पनीहरूको नाममा रहेको साँवा ब्याज रकम तिर्दै आएको र नगद रकम साँवा ब्याज रकम घटाई आएको छ । संस्थामा सदस्य बचतकर्ताहरूले बचत गरेको रकम बचतकर्ता सदस्यहरूलाई फिर्ता गर्ने मेरो व्यक्तिगत दायित्व होइन, संस्थाको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप