शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा विवादको चुरो : ज्ञानेन्द्रलाई राजा हुन हतारो ?

शुक्रबार, १७ मङ्सिर २०७८, १९ : ३९
शुक्रबार, १७ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनको महासंग्राममा छ । कमल थापा र राजेन्द्र लिङ्देनले आ–आफ्नो नेतृत्वमा प्यानल बनाएर भोट मागिरहेका छन् । शनिबार हुने मतदानबाट कसले अध्यक्ष जित्लान् भन्ने कौतुहल पार्टीभित्र र बाहिर दुवैतिर छ । तर, थापा र लिङ्देनबीच चुनावी भिडन्तको तयारी भइरहेका बेला एउटा प्रश्नचाहिँ निरुत्तरित छ, हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डामा एकै ठाउँ उभिएका यी दुई समूहबीच विवादचाहिँ केमा परेको होला ?

तीन दिनअघि रातोपाटीले राप्रपा नेता कमल थापालाई अन्तरवार्ताका क्रममा सोधेको थियो, ‘राजेन्द्र लिङ्देन र तपाईँबीच नेतृत्वको मात्रै विवाद हो कि पार्टीको लाइन, कार्यदिशा, कार्यनीतिका सम्बन्धमा पनि अन्तरविरोध देखापरेको हो ?’ जवाफमा थापाले भनेका थिए, ‘विचारमा कुनै भिन्नता छैन । हामीले जुन विचारलाई लिएर अगाडि बढिराखेका छौं, त्यो विचारमा पनि कसैको निष्ठामा म शंका गर्न चाहन्नँ । तर, भविष्यमा पार्टीको कार्यनीतिका बारेमा भने केही भिन्नता हुन सक्छ । तर, वैचारिक रुपमा त्यस्तो कुनै भिन्नता छैन ।’

त्यसैगरी रातोपाटीले अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र लिङ्देनलाई पनि सोधेको थियो, ‘पुस्ता हस्तान्तरण हुनुपर्ने तपाईको एउटा माग सुनिएको छ । वैचारिक एजेण्डामा चाहिँ कमल थापा र तपाईँबीच के फरक पर्यो र बेग्लै उम्मेदवारी घोषणा गर्नुभएको ?’

लिङ्देनको जवाफ पनि कमल थापाको जस्तै थियो । उनले भने, ‘वैचारिक भिन्नता छैन । तर, त्यो वैचारिक मान्यता स्थापित गर्ने र त्यसलाई प्राप्त गर्ने सवालमा उहाँको कार्यशैलीमा फरक पर्यो । अहिले जुन ढंगले उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अगाडि लगिराख्नुभएको  छ र जुन कार्यशैलीबाट उहाँले काम गरिराख्नुभएको छ, त्यो बाटोबाट कुनै दिन हाम्रो वैचारिक मान्यता स्थापित हुन्छ भन्ने त तपशीलको कुरा भयो, त्यो बाटोबाट त राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहन्छ कि रहँदैन भन्ने खतरा पैदा भयो ।’

लिङ्देनले कमल थापासँग आफूलाई भिन्नता छुट्याउँदै अगाडि भने, ‘हाम्रा राजनीतिक एजेण्डाहरु स्थापना गर्ने हाम्रो आगामी लक्ष हो । र, यसको प्रस्थान विन्दुका रुपमा हामीले नेतृत्व परिवर्तनलाई लिएका छौं । यो हाम्रो पहिलो स्टेप अर्थात माइलस्टोन हो । राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्नो जीवनको सबभन्दा कमजोर अवस्था छ । राप्रपाभित्रका केही मान्छेहरूको कुरा मात्रै होइन । राप्रपाभन्दा बाहिर पनि राप्रपाभन्दा ठूलो संख्याका राजा चाहिन्छ, हिन्दुराष्ट्र चाहिन्छ भन्ने मानिसहरु छन् । भोलि आउने चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ठूलो पार्टी बनाउन सकिन्छ ।’

राजेन्द्र लिङदेनको पक्षबाट महामन्त्रीमा उम्मेदवार बनेका अर्का नेता धवल शमशेर जबराले रातोपाटीसँगको कुराकानीमा भनेका छन्, ‘कमल थापा हामीले मानिरहेको अध्यक्ष हो, हामीलाई केही आपत्ति थिएन । दशौं बर्षदेखि मान्दै आएको मान्छेलाई मान्न केही समस्या थिएन । तर, अब उहाँलाई नेपाली जनताले नपछ्याउने भए । उहाँको नाम लिएर पार्टी अगाडि बढ्न नसक्ने भयो । उहाँले नेतृत्व गरेको पार्टीमा जनताले भोट नहालिदिने भए । उहाँले नेतृत्व गरेको पार्टीमा जनताले भोट नहाल्ने भएपछि हामी कसरी चुनावमा जाने भन्ने कुरा आयो । त्यसकारण पनि नेतृत्व परिवर्तनको कुरा आएको हो ।’

नेताहरुका कुरा सुन्दा राप्रपाको एजेण्डा, राजतन्त्र, हिन्दुराष्ट्र र संघीयताको खारेजीमा दुबै पक्ष एकै ठाउँमा छन् । तर, त्यसलाई प्राप्त गर्ने बाटो के हो भन्नेमा चाहिँ विवाद देखिएको छ । स्रोतका अनुसार राजेन्द्र लिङदेन पक्षका नेताहरु राजा आऊ देश बचाउ भन्दै तत्कालै सडक आन्दोलन थालिहाल्ने लाइनमा छन् । ज्ञानेन्द्रको फोटो टाँसेर देशैभरि आन्दोलनमा उत्रनुपर्छ र राजावादी जनमत आफूतिर आकर्षित हुन गई भोट बढाउन सकिन्छ भन्ने लिङ्देन पक्षको कार्यदिशा रहेको बुझिएको छ ।

​यसरी राजा आऊ देश बचाऊ भन्दै सडक आन्दोलनमा उत्रँदा राप्रपा बाहिरका जोगी, अभियन्ता र वकिलहरूलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने लिङ्देन पक्षको सोच रहेको नेताहरु बताउँछन् । जस्तो– अधिवक्ता बालकृष्ण न्यौपानेदेखि लिएर सहमतिमा आएको खण्डमा ज्ञानेन्द्र शाहीसम्मलाई साथमा लिएर अघि बढ्नुपर्ने र धर्मगुरुहरुलाई पनि सडकमा उतार्नुपर्ने ‘उग्र’ लाइन लिङ्देन पक्षको रहेको नेताहरु बताउँछन् । ‘राजा आऊ देश बचाऊ’ भन्दै सडक तताउने कार्यनीतिमा पूर्वराजा ज्ञानेन्द्र र भारतीय हिन्दु स्वयंसेवक दल आरएसएसको समेत रुची रहेको राप्रपा नेताहरुको भनाइ छ ।

 

उता, कमल थापाचाहिँ सडकमा राजाको फोटो टाँसेर उत्रिँदैमा राजतन्त्र पुनःस्थापना नहुने अडानमा रहेको उनी निकट नेताहरु बताउँछन् । जनताले राप्रपालाई ठूलो दलका रुपमा स्वीकारेपछि र काठमाडौंमा एक लाम मानिसले उत्रेर राजसंस्था माग्ने अवस्था आएपछि बल्ल संवैधानिक बाटोबाटै राजसंस्था फर्काउने सकिने थापाको लाइन रहेको उनी निकट नेताहरुको भनाइ छ । दुईचार जनाले चाहँदैमा र हल्ला गर्दैमा राजसंस्था नफर्कने थापाले बताएपछि ‘उग्र राजावादी’ हरुले लिङ्देनलाई अगाडि सारेको  एक नेताले रातोपाटीलाई बताए ।

ज्ञानेन्द्रलाई राजा हुन हतारो ?

पूर्वराजा ज्ञानेन्द्रसँग निकट रहेका निर्मल निवासका मानिसहरुले राप्रपालाई फुटाउने उद्देश्यले राजेन्द्र लिङ्देनलाई अगाडि सारेको गुनासो थापा पक्षका नेताहरुको छ ।

कमल थापा निकट एक नेताले रातोपाटीसँग भने, ‘उमेरका कारणले हो कि किन हो, राजालाई गद्दीमा फर्कन हतार लागेजस्तो देखिन्छ । तर, समय नआइकन कसैको हतारोले मात्रै राजसंस्था फर्कन सक्दैन, यसका लागि धैर्यतापूर्वक राजनीतिक शक्ति आर्जन गर्नुपर्छ । राप्रपा फुटाएर राजसंस्थाको एजेण्डा बलियो हुँदैन ।’

त्यसो त विगतमा पनि निर्मल निवासले राप्रपा फुटाउने भूमिका खेल्ने गरेकोमा असन्तुष्टि जनाउँदै राप्रपा नेता कमल थापाले त्यसो नगर्न निर्मल निवासलाई सचेत गराएका छन् । थापाले रातोपाटीसँगको अन्तरवार्तामा भनेका छन्–

‘यदाकदा केही गाइँगुइँहरू सुनिएको छ । अब केही उम्मेदवारहरूले राजा (पूर्वराजा ज्ञानेन्द्र) को तस्बिर र आफ्नो तस्बिर सँगै राखेर प्रचार गरेको पनि देखियो । र, केही सञ्चार माध्यमहरुमा राजाको नाम मुछेर कुनै एक अमूक उम्मेदवारलाई समर्थन छ भन्ने प्रचार पनि गरियो । तर, यसलाई तत्कालै पूर्वराजाको सचिवालयले खण्डन गर्यो । मलाई पूरा विश्वास छ कि राजा वा राजाको सचिवालयको तर्फबाट पार्टीको आन्तरिक विवादमा वा प्रतिस्पर्धामा हस्तक्षेप हुन्छ भन्ने लाग्दैन । हामीले परिकल्पना गरेको राजा भनेको राप्रपाको मात्र होइन, अन्य राजनीतिक दल र सिंगो नेपालीहरूको साझा संस्थाको परिकल्पना गरेका हौं । चुनावी राजनीति भन्दा माथि उठेको एउटा साझा र अभिभावकीय संस्थाको हामीले परिकल्पना गरेका हौं । त्यस्तो परिकल्पना गरिएको संस्थाबाट यदि पार्टीको आन्तरिक प्रतिस्पर्धामा दख्खल दिने र पक्ष–विपक्षमा बाँडिने कुनै पनि संकेतहरु देखियो भने त्यो अत्यन्तै दुर्भाग्यपूर्ण हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप