शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाथीभरा रिसाउँदिनन्, कमल थापालाई जित्छु : राजेन्द्र लिङ्देन

थापाले छाडिदिए सर्वसम्मत हुन्छु, नछाडे चुनाव जित्छु’
बुधबार, १५ मङ्सिर २०७८, ११ : ००
बुधबार, १५ मङ्सिर २०७८

राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुग्दा त्यहाँ नेता–कार्यकर्ताको भीडभाड थियो । भीडमा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन थिएनन् । छेवैको छाप्रो (रेष्टुरेन्ट) मा पनि नेता–कार्यकर्ताको भिडभाड थियो । त्यहाँ पनि लिङ्देन र उनका समर्थकहरु भेटिएनन् ।

पार्टी कार्यालय कमल थापा पक्षले कब्जा गरेको भन्दै चक्रपथमा राजेन्द्र लिङ्देनले बेग्लै सम्पर्क कार्यालय खोलेका रहेछन् । लिङ्देनले रातोपाटीसँग भने, ‘कमल थापाले सचिवालय पूर्णरुपमा कब्जा गर्नुभएको छ । एकपक्षीय रुपमा सचिवालय गठन गर्नुभएको मात्रै होइन, अरुलाई  निषेध गर्नुभएको छ । निर्वाचन आयोगले गर्ने काम सचिवालयले गरिरहेको छ । उहाँहरु व्यापक धाँधलीको तयारीमा रहेको देखिन्छ ।’

कमल थापाजस्तो बलियो राजनीतिज्ञलाई अध्यक्षमा चुनौती दिएका लिङ्देन आफूले जित्नेमा ढुक्क देखिएका छन् । तैपनि अन्तिम घडीमा थापाले आफूलाई छाडिदिएर सर्वसम्मत अध्यक्ष बन्ने आशा पनि  लिङ्देनमा देखियो ।

झापाबाट निर्वाचित राप्रपाका एकमात्र सांसद राजेन्द्र लिङ्देन पार्टीका महामन्त्री भइसकेका नेता हुन् । नेपालगञ्जका मेयर एवं अर्का नेता धवलशमशेर जबराको समर्थन लिएर अध्यक्षमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन जनाएपछि कमल थापा पक्षले ‘प्रेसर’ महसुस गर्न थालेको देखिन्छ ।

अध्यक्षका लागि कमल थापासँग भिड्ने तयारीमा रहेका लिङ्देनले राजनीतिक लाइनमा भने थापासँग आफ्नो फरक मत नरहेको बताए । उनले रातोपाटीसँग भने, ‘हाम्रो राजनीतिकरुपमा कुनै फरक मत छैन । मूलरुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई परिचालित गर्ने कार्यशैली चाहिँ फरक भयो र यसमा हामीले सुधार ल्याउन खोजेका हौं ।’

लिङ्देनले अगाडि भने, ‘पार्टी एकीकरणको दुई वर्षयता सुधारका कुनै संकेतहरु देखिएनन् । पार्टी झन्–झन् साँघुरिँदै गएको देखिएपछि हामीले अनिवार्य कदमका रुपमा यो निर्णय लिएका छौं । यो कसैले उक्साएर, कसैले भनेर गरिएको होइन । हामीले आफैं यो कदम लिएका हौं । अहिले यसमा सिनियर लिडरहरु पनि जोडिँदै जानुभएको छ । मैले जित्नेमा कुनै शंकै छैन ।’

प्रस्तुत छ, कमल थापाका प्रत्याशी लिङ्देनसँग राप्रपा महाधिवेशनको पूर्वसन्ध्यामा रातोपाटीले गरेको कुराकानी–

त्यतिमात्रै होइन, हामीजस्ता जननिर्वाचित प्रतिनिधिहरुलाई जिम्मेवारीविहीन बनाउने, पार्टी कार्यालय जाने बाटो बन्द गर्ने र एउटा सानो घेरामा रमाउन थाल्ने जस्ता क्रियाकलापहरु उहाँ( कमल थापा) बाट हुन थाल्यो ।

तपाईंले राप्रपाको महाधिवेशनमा कमल थापासँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएको छ । नेतृत्वको पुस्ता हस्तान्तरण हुनुपर्ने तपाईंको एउटा माग सुनिएको छ । वैचारिक एजेण्डामा चाहिँ कमल थापा र तपाईंबीच के फरक पर्यो र बेग्लै उम्मेदवारी घोषणा गर्नुभएको ?

वैचारिक भिन्नता छैन । तर, त्यो बैचारिक मान्यता स्थापित गर्ने र त्यसलाई प्राप्त गर्ने सवालमा उहाँको कार्यशैलीमा फरक पर्यो । अहिले जुन ढंगले उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अगाडि लगिराख्नुभएको  छ र जुन कार्यशैलीबाट उहाँले काम गरिराख्नुभएको छ, त्यो बाटोबाट कुनै दिन हाम्रो वैचारिक मान्यता स्थापित हुन्छ भन्ने त तपशीलको कुरा भयो । त्यो बाटोबाट त राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहन्छ कि रहँदैन भन्ने खतरा पैदा भयो ।

पार्टीको लक्ष्य हासिल गर्ने बाटोमा थापाको कार्यशैलीमा कहाँनेर समस्या देखियो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्नो जीवनको सबभन्दा कमजोर अवस्था छ । यो ३० वर्षको इतिहासमा अहिले यो समयमा आइपुग्दाखेरि राष्ट्रिय प्रजातन्त्र पार्टी छ कि छैन भनेर खोज्नुपर्ने जस्तो अवस्था छ । अहिले महाधिवेशनको सन्दर्भमा राप्रपा यसो चलेको जस्तो देखिए पनि राप्रपा एकप्रकारले कहाँ छ, कहाँ छ भन्ने अवस्थामा छ । पार्टी एकीकरण गरेको दुई वर्ष बित्यो ।

पार्टी एकीकरण के प्रयोजनका लागि गरियो भन्दाखेरि हिजो हामी पटक–पटक विभाजित हुँदा पार्टी कमजोर भयो मात्रै होइन कि यो मुद्दा नै समाप्त हुने हो कि भन्ने अवस्थामा पुग्यो । त्यसैले पार्टीलाई एकीकृत गरेर अगाडि जानुपर्छ र विगतका गल्तीहरु दोहोर्याउनुहुँदैन भन्ने कुरा थियो । तर, एकीकरणको यो दुई वर्ष बित्दाखेरि पनि विगतका गल्ती कमजोरी सच्याएर जाने र पार्टीलाई नयाँ रणनीतिका साथ अगाडि बढाउने कुनै काम भएन ।

त्यतिमात्रै होइन, हामीजस्ता जननिर्वाचित प्रतिनिधिहरुलाई जिम्मेवारीविहीन बनाउने, पार्टी कार्यालय जाने बाटो बन्द गर्ने र एउटा सानो घेरामा रमाउन थाल्ने जस्ता क्रियाकलापहरु उहाँ( कमल थापा) बाट हुन थाल्यो ।

पार्टी एकीकरणको दुई वर्षयता हेर्दाखेरि सुधारका कुनै संकेतहरु देखिएनन् । झन् झन् साँघुरिँदै गएको देखिएपछि हामीले अनिवार्य कदमका रुपमा यो निर्णय लिएका छौं । यो कसैले उक्साएर, कसैले भनेर गरिएको होइन ।

हाम्रो पार्टीसँग अन्य पार्टीहरुको भन्दा छुट्टै मुद्दा छ । काँग्रेस समाप्त भएर केही फरक पर्दैन, एमाले समाप्त भएर केही फरक पर्दैन । तर, राप्रपा समाप्त भयो भने एउटा मुद्दा समाप्त हुन्छ । त्यसकारण राप्रपालाई समाप्त हुने वा विघटन हुने सुविधा छैन । यसको दोस्रो तहको नेताको हिसाबले हामीलाई त्यो स्वतः विघटनलाई स्वीकार्ने छुट छैन । हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बचाउने र बढाउने जिम्मेवारी लिनुपर्छ भनेर हामीले नेतृत्व परिवर्तनको कुरा उठाएका हौं । यो नेतृत्व परिवर्तनको मुद्दा चाहिँ आगामी दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बलियो पार्टी बनाउने, पहिलो पार्टी बनाउने र देशमा भ्रष्टाचारमुक्त वातावरण निर्माण गर्ने हो । हाम्रा युवाहरुलाई देशमै गरिखाने वातावरण निर्माण गर्ने हाम्रो मुद्दा हो । र, हाम्रा राजनीतिक एजेण्डाहरु स्थापना गर्ने हाम्रो आगामी लक्ष हो । र, यसको प्रस्थान विन्दुका रुपमा हामीले नेतृत्व परिवर्तनलाई लिएका छौं । यो हाम्रो पहिलो स्टेप अर्थात माइलस्टोन हो ।

तपाईं आफैंभित्रबाट अभिप्रेरित भएर हो कि अरुले अघि बढ्नोस् भनेपछि कमल थापाविरुद्ध उम्मेदवार बन्ने निर्णयमा आइपुग्नुभएको हो ?

मलाई धवलशमशेर राणाजस्ता साथीहरुले केही समय अगाडिदेखि नै भन्नुभएको थियो कि यो नेतृत्वबाट काम चल्दैन, यो नेतृत्व समाजका लागि अविश्वसनीय पात्र बन्यो, यो नेतृत्वप्रति समाजको विश्वास टुट्यो, अब यसलाई उठाउन सकिँदैन, यो नेतृत्व आफैं पनि सच्चिन सक्ने देखिन्न, सच्चिने प्रयास गरेको पनि देखिँदैन, त्यसैले नेतृत्व परिवर्तन नगरी हुन्न भनिराख्नुभएको थियो । तर, मचाहिँ यही नेतृत्वलाई जोगाएर, बढाएर मात्रै अगाडि जान सकिन्छ र यही नेतृत्वलाई सच्याउनुपर्छ र सच्याउने कोसिस गरौं भनेर म लामो समयदेखि लागिराखेको थिएँ ।

ए, उसोभए तपाईं यही नेतृत्वलाई सुधार गर्न सकिन्छ भन्नेमा हुनुहुन्थ्यो, धवल शमशेरचाहिँ हिजैदेखि नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने लाइनमा हुनुहुन्थ्यो ? अहिले तपाईंहरु दुबै एकैठाउँ आइपुग्नुभएको हो ?

पार्टी एकीकरणको दुई वर्षयता हेर्दाखेरि सुधारका कुनै संकेतहरु देखिएनन् । झन् झन् साँघुरिँदै गएको देखिएपछि हामीले अनिवार्य कदमका रुपमा यो निर्णय लिएका छौं । यो कसैले उक्साएर, कसैले भनेर गरिएको होइन । हामीले आफैं यो कदम लिएका हौं । र, अहिले यसमा सिनियर लिडरहरु पनि जोडिँदै जानुभएको छ ।

संस्थापन पक्षको आरोपचाहिँ के छ भने राजेन्द्र लिङ्देनले अरुको उक्साहटमा परेर कमल थापाविरुद्ध उम्मेदवारी घोषणा गरेका हुन्....  

म उक्साहटमा पर्ने मान्छे हो कि हैन भन्ने कुरा त कमल थापा स्वयंलाई थाहा छ नि । म कसैले उकास्दा उकास्ने मान्छे हैन । अनिवार्य कदमका रुपमा हामीले यो निर्णय लिएका हौं । उो निर्णय नगर्दाखेरि राष्ट्रिय प्रजातन्त्र पार्टी दुर्घटनातर्फ गइराखेको थियो, त्यसबाट बचाउन हामीले यो कदम चालेका हौं ।

तर, तपाईंले पाथिभरा मन्दिरमा कसम खानुभएको थियो रे नि ? मेरो नेता कमल थापा नै हो, उहाँलाई साथ दिन्छु भनेर । अब पाथिभरा माताले राजेन्द्र लिङ्देनलाई सराप्छिन् भन्ने कुरो पनि सुनियो नेताहरुबाट....

मलाई दया लाग्छ यस्ता कुराहरु सुन्दाखेरि । मैले त कोसिस गरेकै हो । मैले अघि नै भनें नि । दुनियाँले नराम्रो भनेका बेला, दुनियाँले अस्वीकार गरेका बेला मैले कमल थापाचाहिँ दोस्रो भीमसेन थापा हुन्, देशले चिनेन भनेर हिँडें नि ।

कुनै पनि मेला मनोबल कमजोर नहोस् भनेर मैले पाथीभरा मन्दिर गएका बेला भनें, म सधैंभरि साथमा रहन्छु । तर, म सधैंभरि साथमा रहन्छु भन्नुको अर्थ त उहाँले मलाई जे गरे पनि म सहन्छु भनेको त होइन । म मेरो विरुद्धै तपाईंलाई सघाउँछु, तपाईंले मेरो विरुद्ध जे गरे पनि मान्छु, हामीले लिएर हिँडेको एजेण्डा छोडे पनि मान्छु भनेको त होइन नि ।

उहाँले अध्यक्ष हुनुलाई मात्रै सबै चिज मान्नुहुन्छ र अध्यक्ष भइञ्जेल हामीले उहाँलाई सघाइराख्ने, पार्टी जहाँसुकै जाओस्, मुद्दा स्थापित होस्, नहोस् भन्ने कुरालाई नै मान्यता दिएको हो मैले धोका दिएको हुन्छ । हैन, यो विचारलाई बलियो बनाउने भन्ने कुरालाई स्वीकार गर्ने हो भने यो मेरो उम्मेदवारीले उहाँलाई नै सहयोग गर्छ ।

अहिले मैले जुन कदम लिएको छु, त्यही पाथिभरामा मैले प्रतिवद्धता व्यक्त गरेको छु, त्यसको निरन्तरता स्वरुप हो यो । यसले उहाँलाई धोका हुँदैन, उहाँलाई यसले फाइदा नै गर्छ । उहाँले यतिबेला ल म पनि नेतृत्व परिवर्तनको पक्षमा भएँ, अहिलेलाई ल हामी व्यक्ति फेरिऔं, राजेन्द्रलाई मान्न म तयार भएँ भनेर उहाँ आउनुभयो भने त्यो (पाथिभराको) प्रतिवद्धताले निरन्तरतै पाउँछ । त्यसको लाभ सबभन्दा बेसी उहाँले पाउनुहुन्छ । यदि उहाँ दिलदेखि नै मनसा, बाता, कर्मणा हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा हुनुहुन्छ भने अहिले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको मुद्दालाई बलियो बनाऔं ।

राप्रपाभित्रका केही मान्छेहरुको कुरा मात्रै होइन । राप्रपा बाहिरका, राप्रपाभन्दा ठूलो संख्याका राजा चाहिन्छ, हिन्दुराष्ट्र चाहिन्छ भन्ने मानिसहरु के भनिराखेका छन् ? के भन्दाखेरि भोलि आउने चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ठूलो पार्टी बनाउन सकिन्छ र राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा जनमत बनाउन सकिन्छ ? यो कुरा त उहाँलाई थाहा छ । राप्रपाको पक्षमा ठूलो जनमत आउनु भनेको त कमल थापाको लिगेसीकै निरन्तरता हो । त्यसकारणले अहिले हामीले उठाएको यो मुद्दा पनि  उहाँकै पक्षमा हो ।

उहाँले अध्यक्ष हुनुलाई मात्रै सबै चिज मान्नुहुन्छ र अध्यक्ष भइञ्जेल हामीले उहाँलाई सघाइराख्ने, पार्टी जहाँसुकै जाओस्, मुद्दा स्थापित होस्, नहोस् भन्ने कुरालाई नै मान्यता दिएको हो मैले धोका दिएको हुन्छ । हैन, यो विचारलाई बलियो बनाउने भन्ने कुरालाई स्वीकार गर्ने हो भने यो मेरो उम्मेदवारीले उहाँलाई नै सहयोग गर्छ ।

तपाईंले अध्यक्षमा जित्नुभयो भने कमल थापालाई पार्टीमा कस्तो भूमिका दिनुहुन्छ ?

पार्टीको निर्णायक भूमिका उहाँहरु रहनुहुनेछ । यो नेतृत्व परिवर्तनको मुद्दा उठाउँदाखेरि पनि दुईप्रकारले हुन्छ नि । ल, उहाँहरु कामै नलाग्ने हुनुभो, उहाँहरुलाई नहटाई नहुने भने भन्न खोजेको होइन हामीले । यो चाहिँ हामीले निरन्तरतासहितको परिवर्तन खोजेको हो । उहाँहरुको भूमिकासहितको, उहाँहरुको अभिभावकत्व लिएर हामीले अध्यक्षमात्र परिवर्तन गर्न खोजेको हो । समाजमा एउटा असल सन्देश जाओस्, पुस्तान्तरण अथा नेतृत्व परिवर्तनको सुरुआत राप्रपाबाट भयो र यो पार्टी सुध्रियो भन्ने सन्देश जाओस् भनेर हामीले यो गर्न खोजेको हो । अब राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ भन्ने सबैको केन्द्रका रुपमा आफूलाई स्थापित गर्यो भन्ने म्यासेज जाओस् भन्न खोजेको हो हामीले ।

उसोभए कमल थापाविरुद्ध उजुरी दिँदा पाथीभरा माताले तपाईंलाई सराप्दिनन् ?

मलाई सराप्दिनन् । बरु कमल थापाले नै त्यहाँको प्रतिवद्धता उल्लंघन गर्नुभो । त्यहाँबाट आएपछि उहाँले मलाई यसको जिल्ला र क्षेत्रभन्दा माथि हैसियतै पुगेको छैन भन्नुभो । एउटा पत्रकारले राजेन्द्र लिङ्देनलाई अध्यक्ष बनाउने बेला भएन ? भनेर सोध्दाखेरि उहाँ झर्किनुभो । म त उहाँलाई त्यत्रो सपथ गरेर श्रद्धा व्यक्त गर्ने, उहाँको मनोबल नगिरोस् भनेर मैले भन्ने, तर उहाँको मनमा के कुरा रहेछ भन्ने त्यहाँ प्रकट भयो नि । त्यसकारणले यो (श्राप) त उहँलाई लाग्छ, मलाई किन लाग्छ ? उहाँको विचारलाई बलियो बनाउने यहीमात्रै उपाय हो अहिलेको हकमा ।

तपाईं युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरौं भन्दै हुनुहुन्छ, कमल थापाले तपाईंलाई टुँडिखेलमा दौडौं, कसले जित्दोरहेछ भनेर चुनौती दिएको सुनियो नि ? कमल थापासँग दौडन सक्नुहुन्छ ?

म चाहिँ यस्ता कुरामा विश्वास गर्दिनँ । त्यो त बैकुण्ठ मानन्धर छन् । हाम्रो गाउँतिर पनि दौडन सक्नेहरु थुपै्र छन् । म आफैं पनि कुद्नुपर्यो भने के हुन्छ, त्यो त हेर्न बाँकी नै छ । उहाँ र म कहिल्यै सँगै कुदेका छैनौं । तर, यसबाट के देखिन्छ भने उहाँचाहिँ गैर राजनीतिक कुराहरु गर्न थाल्नुभो । उहाँ विक्षिप्त बन्दै जानुभएको जस्तो लाग्छ । त्यस्तो अवस्था देख्छु । म यस विषयमा धेरै टिप्पणी गर्न चाहन्नँ । ओठे जवाफ दिएर उहाँको मन दुखाउन चाहन्नँ । मेरो नो कमेन्ट ।

पार्टी कार्यालय  धुम्बाराहीमा त तपाईं भेटिनुभएन, चक्रपथमा सम्पर्क कार्यालय खोल्नुभएको रहेछ । महाधिवेशनमा स्वच्छ चुनाव हुन्छ भन्नेमा चाहिँ तपाईं कति विश्वस्त हुनुहुन्छ ?

उहाँले सचिवालय पूर्णरुपमा कब्जा गर्नुभएको छ । एकपक्षीय रुपमा सचिवालय गठन गर्नुभएको मात्रै होइन, उहाँले अरुलाई  निषेध गर्नुभएको छ । निर्वाचन आयोगले गर्ने काम सचिवालयले गरिरहेको छ । जिल्ला जिल्लाबाट मतदाता नामावली संकलन निर्वाचन समितिले गर्नुपर्ने हो, त्यो काम सचिवालयले गरिराखेको छ । सचिवालयमा उहाँ पक्षीय मान्छेहरुमात्रै क्रियाशील हुनुहुन्छ ।

अहिले पछिल्लो दिनमा आएर ५ प्रतिशत मनोनित गर्ने काम कुनै परामर्शविना गर्नुभयो । अध्यक्षले गर्ने भन्ने विधानमा लेखेको आधारलाई टेकेर गर्नुभो । महाधिवेशनले निर्वाचित गरेको अध्यक्षले पो गर्ने हो त । उहाँ त महाधिवेशनले बनाएको अध्यक्ष होइन । तर, उहाँले मनोनित गरिसक्नुभो ।

जिल्लाबाट क्षेत्रीय समितिले समेत निर्णय गरेर बनाएको कार्यतालिका अथवा कार्यसूचीअनुसार निर्वाचन सम्पन्न भई छानिएका महाधिवशेन प्रतिनिधिहरुको नामावली यहाँ आएपछि टिपेक्स लगाएर फेरिएको छ । कागजै अर्को पेश गरिएको छ । आरक्षणका कोटामा अर्कै ठाउँका नामहरु थप्ने काम भइराखेको छ । कति जिल्लामा प्रदेश निर्वाचन क्षेत्रमा सक्रिय सदस्यको ठाउँमा उहाँहरुले अर्को निर्वाचन क्षेत्रमा भएका प्रतिनिधिहरुको नाम सारेर संख्या पुर्याएर प्रतिनिधि छान्ने प्रयासहरु गरिएको छ ।

अधिवेशन सम्पन्न गरेका वर्गीय संगठनहरुलाई ४ जनाका दरले प्रतिनिधिहरु छानिनेछ भनेको ठाउँमा अघिवेशनै नभएका आफूलाई मन परेकाहरुलाई प्रतिनिधित्व दिने काम गरिएको छ । आफूसँग सहमत नभएको तर अधिवेशन सम्पन्न गरिराखेको धर्म संस्कृति संगठनलाई प्रतिनिधित्व गर्नै दिइएको छैन । यस्ता कामहरु गरिराख्नुभएको छ र उहाँहरु व्यापक धाँधलीको तयारीमा रहेको देखिन्छ । तर, यी सबैलाई  चिरेर हामी अगाडि जान्छौं ।

अध्यक्षमा जितिन्छ भन्नेमा तपाईं ढुक्क हुनुहुन्छ ?

यसमा कुनै शंकै छैन । हामी प्रारम्भदेखि नै ढुक्क छौं । यो राप्रपाका कार्यकर्ताका लागि अनिवार्य आवश्यकता हो । पार्टी कार्यकर्ताले कि त राप्रपाको विघटन र समाप्ति रोज्नुपर्यो, कि त यो विकल्प रोज्नुपर्यो ।

तपाईंले जित्नुभयो भने राप्रपालाई कतातिर लानुहुन्छ ? कस्तो बनाउनुहुन्छ ?

राप्रपालाई देशको सबैभन्दा लोकप्रिय पार्टी बनाउँछु । यसले नेपाली राजनीतिमा एउटा इमान्दार नेतृत्व प्राप्त गर्यो भने सबै नेताहरु चोर हुँदारहेनछन् भन्ने कुरा स्थापित गर्छ । हाम्रो मुद्दालाई मजबुद बनाउने हाम्रो आन्दोलन त छँदैछ । यसको सिलसिलामा सबैभन्दा पहिले हाम्रो पार्टीभन्दा बाहिर रहेका हिन्दु राष्ट्र र राजसंस्थाका समर्थकहरुलाई समेट्ने काम हुन्छ । हामीले जनदबावका कामहरु पनि सुरु गर्छौं । आगामी स्थानीय तहको निर्वाचन र संसदीय निर्वाचनको तयारी पनि सुरु गर्छौं । अलग संस्कारयुक्त पार्टीका रुपमा राप्रपालाई विकसित गर्छौं ।

०७४ को चुनावयता माओवादी र राप्रपाजस्ता पार्टीहरु एमाले वा काँग्रेससँग लेपासा नलागी स्वतन्त्र रुपमा चुनाव लड्न सक्ने स्थिति देखिन थाल्यो । तपाईंले पनि एमालेसँगको गठबन्धनबाटै झापाबाट जित्नुभयो । तपाईंले अध्यक्ष जितेपछि पनि यही कुराले निरन्तरता पाउने त होला नि...

मेरो कुरा यस्तो छ, मुलतः राष्ट्रिय प्रजातन्त्र पार्टीले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरु उठाउनुपर्छ । त्यही हिसाबले तयारी गर्नुपर्छ । सबैमा जित्न नसकिएला, कुनै ठाउँमा उपस्थिति जनाउने, कुनै ठाउँमा मेजर पार्टीका रुपमा आफूलाई स्थापित गराउने र कतिपय ठाउँमा जित्ने । आवश्यकता र प्राथमिकता हेरेर अन्य दलहरुले हामीलाई आवश्यक ठाने, पार्टीले त्यसलाई उपयुक्त ठान्यो र यसबाट संसदमा हाम्रो उपस्थिति मजबुद हुन्छ भन्ने भयो भने त्यसबेला गर्ने हो तालमेल ।

तर, एउटा अलग पार्टीको रुपमा राप्रपालाई विकसित गर्नुपर्छ । अहिलेदेखि नै फलाना पार्टीसँग मिल्छु भनेर अहिलेदेखि नै सम्बन्ध विस्तार गर्नु अनुचित हुन्छ । हाम्रो नेतृत्वबाट कतिपय सन्दर्भमा त्यस्ता कामहरु पनि भइराखेको देखिन्छ । कसैसँग मिलेर चुनाव लड्ने, ४\५ वटा प्रत्यक्षमा जित्ने, जोड गरेर ३ प्रतिशत कटाउने, ८\१० सिटको पार्टी बनाउने अनि सधैं सरकारमा जान पाइन्छ । यत्तिमा मात्रै केन्द्रित रहेको देखियो । हामीले नेतृत्व परिवर्तनको कुरा उठाउनुका पछाडि यो पनि एउटा प्रमुख कारण छ ।

अस्ति चितवनमा एमाले महाधिवेशनलाई शुभकामना दिँदा अध्यक्ष कमल थापाले केपी शर्मा ओलीलाई राष्ट्रवादी नेता भन्नुभयो । तपाईंले पनि झापामा एमालेसँगै मिलेर चुनाव जित्नुभएको हो । तपाईंहरु दुबैजना केपी ओलीकै नजिक हैन त ?

हैन, राष्ट्रवादी नेता भन्नुमा त कुनै आपत्तिको कुरा भएन । मैले भिजुअल चाहिँ सुनेको छैन । केही सञ्चार माध्यममा आएको समाचार अनुसार उहाँले ओलीलाई राष्ट्रियताको प्रतीक भनेको सुनियो । त्यो चाहिँ हो भने अलि बढी नै हो कि भन्ने लाग्छ । राप्रपाको सन्दर्भमा राजसंस्था बाहेक कुनै व्यक्ति राष्ट्रियताको प्रतीक हुन सक्दैन ।

छुट्टै दस्ताबेज तयार पारेको छैन । किनभने, हाम्रो राजनीतिक रुपमा कुनै फरक मत छैन । मूल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई परिचालित गर्ने कार्यशैली चाहिँ फरक भयो । यसमा हामीले सुधार ल्याउन खोजेका हौं ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई हेर्ने कुरामा कमल थापा र तपाईंबीच एउटै नजर छैन ?

उहाँले कसरी हेर्नुहुन्छ थाहा छैन, मैलेचाहिँ एमालेलाई अन्य राजनीतिक पार्टीहरु सरह समदूरीमा हेर्ने गर्छु । भोलि कुनै घटनाविशेष, मुद्दा विशेषमा कार्यगत एकता हुनु बेग्लै कुरा हो, हाम्रा लागि सबै पार्टीहरु समान हुन् ।

एजेण्डाका रुपमा भन्ने हो भने गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा सबै दलहरु समान छन् । बरु संघीयताको एउटा मुद्दामा चित्रबहादुर केसीको पार्टी (राष्ट्रिय जनमोर्चा) ले हामीसँग निकटता राख्नुहुन्छ । हाम्रो सबभन्दा निकटको पार्टी भन्यो भने त चित्रबहादुर केसीको पार्टी हुन सक्छ । अरु त कोही नजिक छैनन् ।

तपाईंले पार्टी अध्यक्षमा उठिराख्दा राप्रपामा कुनै छुट्टै राजनीतिक प्रतिवेदन पनि तयार गर्नुभएको छ कि ?

छुट्टै दस्ताबेज तयार पारेको छैन । किनभने, हाम्रो राजनीतिक रुपमा कुनै फरक मत छैन । मूल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई परिचालित गर्ने कार्यशैली चाहिँ फरक भयो । यसमा हामीले सुधार ल्याउन खोजेका हौं ।

भनेपछि, कमल थापासँग तपाईंको कुनै नीतिगत फरक रहेनछ । भोलि अध्यक्षमा चुनाव हार्नुभयो भने राप्रपा छोड्नुहुन्छ कि ?

हैन, यो त आगामी नेतृत्वमा को जाने भन्ने आन्तरिक प्रतिस्पर्धा मात्र हो । कमल थापाले हार्नुभयो भने न उहाँले पार्टी छाडेर जाने कुरा आउँछ, मैले हारें भने न छाडेर जाने कुरा आउँछ । पार्टी जीवनमा यो एउटा नियमित प्रक्रिया हो, यसलाई पार्टी फुट्न आँट्यो भन्ने अर्थमा लिनुहुँदैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा हाम्रो उपस्थितिले परम्परागत गुटहरुको पनि अन्त्य हुँदैछ । अब कसैले म लोहनीको मान्छे, म थापाको मान्छे भनेर आफूलाई ट्याग भिरेर हिँड्नुपर्ने बाध्यताको अन्त्य हुन्छ । राजेन्द्र लिङ्देनको मान्छे पनि भन्नुपर्दैन । हामीले एक व्यक्ति एक पद भनेका छौं । एउटा व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा बस्नुहुँदैन भनेका छौं ।

त्यसैले आगामी दिनमा अब कसैले गुटै निर्माण गर्नुपर्दैन, स्वतः नेतृत्व हस्तान्तरण हुन्छ । असक्ष भयो भने एकै कार्यकालमा गइहाल्छ । राम्रो काम गर्यो भने पनि दुई कार्यकालभन्दा बढी दोहोरिन पाउँदैन । यस्तो भएपछि अर्को आकांक्षीले पनि उसका विरुद्ध धेरै संघर्ष गर्नुपर्दैन । कुनै योजना पनि बनाइराख्नुपर्दैन । र, नेतृत्वमा हुनेले पनि बाँचिराख्नका लागि भनेर आफ्नो गुट निर्माण गरिराख्नुपर्दैन, जानैपर्ने अनिवार्य व्यवस्था हुन्छ ।

अहिले संविधान र दलहरुको विधानमा कहीँ पनि नेतृत्व हस्तान्तरणको सहज व्यवस्था नभएका कारणले नै यस प्रकारका अस्थिरता र समस्याहरु सिर्जना भएका छन् । हामी यसको अन्त्य गर्न चाहन्छौं र त्यसको व्यवहारमै अगुवाई राष्ट्रिय प्रजातन्त्र पार्टीले योपटक गर्छ ।

तपाईंले उम्मेदवारी घोषणा गरेपछि पार्टीभित्र र बाहिर, सामाजिक सञ्जालमा पनि एक प्रकारको तरंग आएको देखिन्छ । सबै दलमा युवा पुस्ता नेतृत्वमा आउनैपर्छ भनेको सुनिन्छ । तपाईंलाई कस्तो महसुस भइरहेको छ ?

मेरो अपेक्षित नै विषय हो यो । मलाई म्यासेन्जरमा, फोनमा साथीहरुले तपाईं यो नेतृत्व परिवर्तन गर्न सक्षम हुनुभयो भने हामी तपाईंहरुको पार्टीमा आउँछौं भनिरहनुभएको छ । हामी राप्रपालाई भोट हाल्छौं भनिरहनुभएको छ । यस्ता कुराहरु आइराखेका छन् ।

सल्लाह गर्दै जाऔं । सहमति गर्ने समय अझै बाँकी छ । उम्मेदवारी फिर्ता लिने बेलासम्म यो सम्भावना त बाँकी रहन्छ । मलाई लाग्छ, उहाँले अन्तिम क्षणमा आएर पनि हामीलाई समर्थन गर्नुहुन्छ ।

सोसल मिडियामा त तपाईंहरुले देखिराख्नुभएकै छ । राजेन्द्रले जित्नुपर्छ सबैले भनिराखेका छन् । यसको गाम्भीर्यता र यस्तो हुन्छ भन्ने बुझेरै हामीले कदम लिएका हौं । यो नेतृत्व परिवर्तनले देशमा परिवर्तन चाहने आम जनतालाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा आकर्षित गर्न सक्छ । यो ठीक समय हो भनेरै हामीले यो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ठूलो पार्टी बनाउनका लागि लागेका हौं ।

तर, यसरी दुई नेताबीच प्रतिस्पर्धा गर्दा पार्टी कमजोर हुने र फुटको सन्देश जाने खतरा हुन्छ कि हुँदैन ?

यो गलत कुरा हो ।  यसबाट एकदमै राम्रो सन्देश गएको छ । यसले पार्टीलाई कमजोर हैन, बलियो बनाउनेछ ।

तपाईंले कमल थापालाई भेटेर छाडिदिनोस् भन्नुभएन ?

मैले भनें । मैले किन बाँकी राख्थेँ र ।

उहाँले एकचोटि म अध्यक्ष हुन्छु, अर्कोचोटि छाडौँला भन्नुभयो कि ?

सल्लाह गर्दै जाऔं । सहमति गर्ने समय अझै बाँकी छ । उम्मेदवारी फिर्ता लिने बेलासम्म यो सम्भावना त बाँकी रहन्छ । मलाई लाग्छ, उहाँले अन्तिम क्षणमा आएर पनि हामीलाई समर्थन गर्नुहुन्छ । र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुलाई यो जाडोका बेला मतदान गर्ने र त्यसको परिणाम पर्खने झण्झट दिनुहुन्न भन्ने मलाई लाग्छ ।

ज्येष्ठ अध्यक्ष पशुपति शमेशरबाट आफ्नो उम्मेदवारी नरहने कुरा सार्वजनिक भइसकेको छ । अर्का अध्यक्ष डा. लोहनीले हामीलाई समर्थन दिइसक्नुभएको छ । यस्तो अवस्थामा अब उहाँ (कमल थापा) ले हामीलाई समर्थन गर्नेवित्तिकै सर्वसम्मत नेतृत्व चयन हुन्छ । र, उहाँले मलाई समर्थन गर्नुहुन्छ भन्ने आशा मलाई अझै पनि छ । किनभने, पार्टी र उहाँको हित नै यसैमा छ । त्यसकारण जबरर्जस्ती गर्नुहुन्न भन्ने मलाई लाग्छ । र, यो नै राप्रपाका आम कार्यकर्ताको खुशीको विषय हुनेछ ।

तपाईंले चाहिँ एकपटकका लागि कमल थापालाई छाडिदिने सम्भावना चाहिँ कति छ ?

त्यो त सम्भावनै छैन । यो त मैले प्रारम्भको कुराकानीमै मैले उहाँलाई सन्देश पठाएको थिएँ । मैले छाड्ने गरी यो उम्मेदवारी घोषणा गरेको होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप