शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापाको नाम चुनावमा बिक्न छाड्यो : धवलशमशेर राणा

‘हामीमाथि राजदरबारको सदासयता छ’
बिहीबार, १६ मङ्सिर २०७८, २० : ३१
बिहीबार, १६ मङ्सिर २०७८

यतिबेला काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन महासंग्राम चलिरहेको छ । पार्टीमा नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीमा लामो समय नेतृत्व गरेका पशुपति शम्शेर राणा, डा प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्द जस्ता नेताहरु साइड लागेका छन् भने पछिल्लो समय नेतृत्व हाँकिरहेका कमल थापाले पार्टीलाई गति दिन नसकेको नयाँ पुस्ताका नेताहरुको आरोप छ ।

राम्रो एजेण्डा भएर पनि थापाको नेतृत्वको कारण गएका चुनावमा राप्रपा अत्यन्तै कमजोर भएको लिङ्देन पक्षधर नेताहरुको आरोप छ । राप्रपालाई अगाडि बढाउन नयाँ नेतृत्व चाहिन्छ भन्दै राप्रपाका दोस्रो पुस्ताका नेताहरु जुर्मुराइरहेका छन् । उनीहरुमध्ये एक हुन् नेपागञ्ज उपमहानगरपालिकाका प्रमुखसमेत रहेका धवलशमशेर राणा ।

राप्रपाको महामन्त्री र उपाध्यक्षसमेत भइसकेका राणाले नै लिङ्देनलाई अध्यक्षको उम्मेदवार बनाएका हुन् । प्रस्तुत छ राप्रपाको महाधिवेशनको विभिन्न पक्ष र सन्र्दभमा रातोपाटीले गरेको यो कुराकानी :

राजनीतिमा एउटा शब्दावली प्रचलित छ ‘किङमेकर’ । तपाईं राजेन्द्र लिङ्देनको किङमेकर हो ?

त्यस्तो केही पनि हैन, यो एउटा अभियान हो । पार्टी अगाडि नबढेको अवस्थामा राप्रपालाई अगाडि बढाउने अभियान हो । पार्टी अघि बढ्न नसक्ने भएका बेला यसलाई कसरी अगाडि बढाउने भन्ने एउटा सोच थियो । नेतृत्व परिवर्तन गर्नुपर्छ र नयाँ पुस्ताले अगाडि बढ्नुपर्छ । हाम्रा भएका नेताहरु बजारमा बिकेनन्, धर्ति सुहाउने माटो सुहाउने राम्रा एजेण्डा हुँदा हुँदैपनि हाम्रो पार्टीले गति लिन सकेन् । अब नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भनेर नेतृत्व परिवर्तनका लागि डेढ दुई वर्ष पहिले सुरु गरियो । त्यो सुरुवातले आज राम्रै नतिजा ल्याएको छ ।

अध्यक्षमा कोही तयार छैन भने म लडिदिन्छु भनेर मैले भन्दै आएको थिएँ । नेतृत्व परिवर्तनका लागि म काँध थाप्छु । अरु कसैले लड्छ भने मै नेता हुनुपर्छ भन्ने पनि छैन् । म दोश्रो वा तेश्रो तहमा बस्न तयार छु भनेको थिएँ राजेन्द्रजी आउनुभयो । उहाँले अध्यक्षमा लड्छु भन्नुभयो । एउटा लिम्बुको छोराले हिन्दू राज्यसहित राजासहितको प्रजातन्त्रको एजेण्डा मानेका छन् । सांसद पनि हुन् आफ्नो जिल्लामा पनि सदनमा पनि राम्रो उत्कृष्ट काम पनि गरेका छन् । हामी सबैले राजेन्द्रजीलाई अघि सारौं भनेर अगाडि बढेका हौं हामी यसमा सबै एकजुट छौँ ।

 


तपाईं लिङ्देनलाई जिताउने कुरामा लागिरहनुभएको छ हैन ?

यो त हाम्रो अभियान नै हो । उहाँ उत्कृष्ट मान्छे पनि हो । जिताउन पनि पर्ने हो । राष्ट्रका लागि नै एउटा नयाँ स्थिति चाहिएको हो ।

तपाईं पनि महामन्त्री, उपाध्यक्ष र लिङ्देन पनि महामन्त्री भएका नेताहरु पनि हुनुहुन्छ । तपाईंहरुले भूमिका नै नपाएर काम गर्न नपाएको स्थिति हो र ?  तपाईंहरुले पनि काम गर्न नसकेको हैन ?

म महामन्त्री पनि थिएँ, दुईपटक उपाध्यक्ष पनि भएँ । हामीले हाम्रो पार्टीको एजेण्डा जस्ताको त्यस्तै राख्ने हो । हाम्रा राम्रा एजेण्डा छन् तर पार्टी सञ्चालन गर्ने विधि अनुसार सबै कुरा अध्यक्षले गर्ने छ । अरु भूमिकाविहीन हुने भए । त्यहाँ नोट अफ डिसेन्ट लेख्ने ठाउँ नै भएन, बहुमतको त्यहाँ कदर नै भएन । यो सबै परिवर्तन गर्नुपर्‍यो । बाहिरबाट हेर्दा राप्रपा असफल भएको त्यसको दोष यो निर्वाचनमा देखियो । त्योबेला राजेन्द्रजी र म दुवैजना नेतृत्वमा थियांै । उहाँ महामन्त्री हुनुहुन्थ्यो, म उपाध्यक्ष थिएँ, फेरि म महामन्त्री भएँ । यो पार्टीको सबै कुरा एकल ब्यक्तिको निर्देशनमा चल्थ्यो । बहुमतको निर्णयमा चल्नुपर्छ, एकल ब्यक्तिको नेतृत्वमा चल्नुहुँदैन । अल्पमतले आफ्नो फरक मत दर्ज गर्न पाएको भए, श्रृङ्खलाबद्ध निर्णयहरुमा कस्को कारणले त्रुटी भएको भन्ने थाहा हुन्थ्यो । नोट अफ डिसेन्ट नभएका कारण अहिले त्यो भन्ने ठाउँ छैन ।

जस्तो– एक व्यक्ति एक पद, एकले व्यक्ति दुई कार्यकालभन्दा बढी नगर्ने, आर्थिक पारदर्शिता यी सबै कुराहरुलाई समेटेर हामी राप्रपालाई एउटा जीवन्त, कार्यकर्तामुखी, जनतामुखी पार्टी र नेपालकै लागि एउटा नयाँ सुरुवात गर्ने भनेर हामीले यो अभियान अघि बढाएका हौँ । यसमा सबै राजावादी, सबै राष्ट्रवादी, सबै हिन्दूवादीलाई एक ठाउँमा राखेर यो पार्टीलाई अगाडि चलाउँदा मात्र कम्युनिष्ट र कांग्रेससँग सामना गर्न सक्ने स्थिति आउँछ । हामीले ठूलो हृदय लिएर सबैलाई आह्वान गरेका छौँ र सबैलाई समेटेर जाने हो ।

राजेन्द्र लिङ्देनले जिते पनि कमल थापालाई सम्मानित स्थानमै राख्ने होला नि त ?

राख्ने हो, तीनवटै नेता हाम्रा अभिभावक हुन् । उहाँहरुको आफ्नै आफ्नै खालको खुबीहरु छ । डा. प्रकाशचन्द्र लोहनी अर्थशास्त्रको ठूलो विद्वान हुनुहुन्छ । पशुपति शम्शेर कुनै खोट नलागेको आफैमा ठूलो व्यक्तित्व हुनुहुन्छ । कमल दाइ एउटा राम्रो वक्ता हुनुहुन्छ । उहाँ मेहनत गर्नुहुन्छ । तीनवटै नेताहरुलाई हामीले प्रयोग गर्ने हो । पार्टीको आगामी योजनामा उहाँहरुको पनि सक्रिय योगदान लिने सोच बनाएका छौँ ।

दोश्रो पुस्ताका नेताले चाहिँ पार्टी चलाउने ?

दोश्रो पुस्ताका नेताहरुले पार्टी चलाउने ।

हाम्रा एजेण्डाहरु उत्कृष्ट छन्, एजेण्डामा मान्छेहरु उत्साहित भएर थपिइरहेका छन् ।

तपाईंले कमल थापालाई छोडिदिनुस् भन्नुभएन ?

तीन–चार बर्षदेखि कमल दाइलाई भन्दै आएको छु एक कदम पछाडि जानुस् । अहिलेको स्थितिमा तपाईं बिक्न सक्ने अवस्थामा हुनुभएन । भोलि फेरि आउन सक्नुहुन्छ अहिलेलाई एक चरण तपाईं पछाडि आउनुस भनेका हौँ । केही दिनसम्म त उहाँले मान्नुभयो, मैले अब अध्यक्ष पद छोडछु पनि भन्नुभयो । फेरि पछि म छोड्दिनँ भनेर रिसाउन थाल्नुभयो र बरु हामीलाई नै छोड भन्न थाल्नुभयो ।

उहाँले अझै एकपटक मलाई अध्यक्ष देऊ त्यसपछि छोड्छु भन्नुभएको हो ?

हामीले मानिरहेको अध्यक्ष हो, हामीलाई केही आपत्ति थिएन । दशौं बर्षदेखि मान्दै आएको मान्छेलाई मान्न केही समस्या थिएन । तर अब उहाँलाई नेपाली जनताले नपछ्याउने भए । उहाँको नाम लिएर पार्टी अगाडि बढ्न नसक्ने भयो । उहाँले नेतृत्व गरेको पार्टीमा जनताले भोट नहालिदिने भए । म त चुनाव लड्ने मान्छे । उहाँले नेतृत्व गरेको पार्टीमा जनताले भोट नहाल्ने भएपछि हामी कसरी चुनावमा जाने भन्ने कुरा आयो । त्यसकारण पनि नेतृत्व परिवर्तनको कुरा आएको हो ।

जनताले तपाईंहरुको एजेण्डलाई नपत्याएको हो कि ?

हाम्रा एजेण्डाहरु उत्कृष्ट छन्, एजेण्डामा मान्छेहरु उत्साहित भएर थपिइरहेका छन् । साना साना गुटका पार्टीहरुले हाम्रो एजेण्डालाई पछ्याइरहेका छन् ।

तपाईंहरु भन्दै हुनुहुन्छ कि महाधिवेशनमा कमल थापाले धाँधली गरे, सचिवालय कब्जा गरे, यो स्थितिमा तपाईंहरु हार्नुभयो भने कमल थापालाई नेतृत्व मानेर बस्नुहुन्छ कि अर्को विकल्प खोज्नुहुन्छ ?

हामी पार्टी फोर्दैनौँ । हाम्रो अग्रजहरुले पनि पार्टी फोर्नुहुन्न गीता छोएर कसम खानुभएको छ । तर, हामी चुनाव हार्दैंनौँ, चुनाव जित्ने ठूलो लहर छ । तर, कथंकाल त्यस्तो स्थिति भइहाल्यो भने हामी यो पार्टीलाई सिध्याउने, बिगार्ने अथवा यसको विकल्प खोज्नेतिर हामी जाँदैनौँ ।

अहिले दुई अध्यक्ष उठेर निर्वाचनमा जाँदा राप्रपामा पनि कांग्रेस एमालेमा जस्तो दुई गुट देखियो भन्ने गुनासो आइरहेको छ । यो प्रक्रियाले राप्रपालाई फाइदा गर्छ कि घाटा ?

मैले यहाँलाई अघि नै भनिसकेँ हामीलाई बाध्यता छ । नेतृत्व परिवर्तन चाहेर गर्नुपरेको हैन, जनताले नै नमान्ने स्थिति छ त्यसकारण हाम्रो बाध्यता छ । यो बाध्यतालाई यथार्थमा परिणत गर्नका लागि हामीले विनम्र आग्रह गरिरहेका छौँ । तपाईंहरु अभिभावकीय भूमिका खेल्नुस् भन्दा मान्नुहुन्न भने हाम्रो विकल्प के छ त ?

कमल थापाले अझै दाबी छोड्नुहुन्छ भन्ने आशा छ ?

अझै आशा छ । त्यो स्थितिमा उहाँले छोडेर पार्टी जनताका बीचमा जान सक्यो भने भोलिका दिनका एक तिहाई जनता हाम्रो पक्षमा उभिन्छन् भन्ने हामीले विश्वास लिएका छौँ ।

यो पार्टी आफ्नै खुट्टामा उभिएर एउटा राष्ट्रिय पार्टी भएर देश चलाउनतिर जानुपर्छ । हामी काँग्रेसको भाइ पार्टी, एमालेको भाइ पार्टी हुने हैन ।

तपाईंहरुलाई दरबारले पनि साथ दिएको र बाहिरिया पक्षले कमल थापालाई सिध्याउन खोजेको संस्थापन पक्षलाई शंका रहेछ, यो के हो ?

यो सबै बेकार कुरा हो । दरबारको साथ त सबैलाई छ । हामी संवैधानिक राजतन्त्र चाहने पार्टी हो दरबारको असहयोग हुने त कुरै आएन । उहाँहरुलाई पनि सहयोग होला, हामीलाई पनि सहयोग छ । समग्र राप्रपालाई दरबारको सदासयता छ ।

फुटाउन त खोजिएको हैन नि ? विगतमा राप्रपा फुटाएको आरोप पनि निर्मल निवासलाई थियो...

अहिले हामी राष्ट्रिय पार्टीको रुपमै छैनौँ । नेपाली राजनीतिक क्षितिजमै हामी छैनौँ । हामी त गन्तिमै छैनौँ, कसले चासो राखेर हाम्रो पछि लाग्छ । अहिले हामी चासो लाग्नुपर्ने शक्ति नै हैनौँ ।

तपाईं मैदानमा चुनाव लडेर निर्वाचित भएर आएको ‘पब्लिक फिगर’ भएको नेता हो । राप्रपाले २०७४ सालको निर्वाचनमा कि कांग्रेसको पछि लाग्नुपर्ने कि कम्युनिष्टको पछि लाग्नुपर्ने अवस्थामा राप्रपा पुग्यो । अहिले माओवादीको पनि त्यही हालत देखिन्छ । केपी ओलीसँग मिलेर चुनाव लड्ने लाइनमा कमल थापा र राजेन्द्र लिङ्देनको एउटै लाइन हैन र ?

यो पार्टी आफ्नै खुट्टामा उभिएर एउटा राष्ट्रिय पार्टी भएर देश चलाउनतिर जानुपर्छ । हामी काँग्रेसको भाइ पार्टी, एमालेको भाइ पार्टी हुने हैन । गठबन्धन बनाएर गए पनि हामी बलियो हुने अवस्थामा मात्र जाने हो । चार–पाँचवटा सिट लिएर ध्वस्त हुन किन जाने ? बरु हारियो भने पनि ३ प्रतिशत त हाम्रो मत आइहाल्थ्यो नि । अब पाँचजना मात्र चुनावमा लडाएको छ भने देशभरि कहाँबाट आउँछ त समानुपातिक मत ?

भनेपछि, अबको चुनावमा तपाईंहरु सबै ठाउँमा आफैं उम्मेदवारी दिएर जाने ?

गठबन्धन बनाए पनि ठूलो संख्यामा सिट आउनेगरी मात्र गर्नुपर्छ । त्यसका लागि हामीले पनि एउटा ठूलो पार्टीको रुपमा स्थान बनाउनुपर्‍यो । यो महाधिवेशनपछि हामी जनतालाई आह्वान गर्छौँ, स्थानीय तहहरुमा तपाईंहरुले उम्मेदवारी दिनुस, पढेलेखेका युवाहरु को को आउने हो, आउनुस् । सांसदका लागि को को आउने हो, आउनुस् । जिल्लामा उनीहरुको विषयमा छलफल गरेर टिकट दिन्छौँ । हामी सबै स्थानीय तहमा चुनाव लडाउने योजनामा जान्छौँ ।

प्रदेश नंबर १ मा दुबै क्षेत्रीय अध्यक्षहरु लडे, नयाँ उम्मेदवार आएको हुनाले हामीले त्यहाँ पनि थोरै मतले हार्‍यौँ ।

पार्टीमा तपाईंको भूमिकाचाहिँ के हुन्छ ?

साथीहरुले मलाई जेमा चुनाव लड, उम्मेदवारी दे भन्नुहुन्छ, दिने हो । अहिले महामन्त्री भनेका छन्, जे दिए पनि केही फरक पर्दैन ।

तपाईंको प्यानल पनि बनिसक्यो ?

प्यानल पनि बनाउनुपरिहाल्यो नि । डा. लोहनीका समर्थकहरुलाई पनि अटाउनु परिहाल्यो । पशुपति शमशेर दाइका मान्छेहरु पनि यतातिर आइरहेका छन, उनीहरुलाई समावेश गर्नुपर्‍यो । यसकारण प्यानलमा सबैलाई समान अवसर दिनुपर्‍यो ।

तपाईंले चुनाव जितिन्छ भन्नुभयो । एउटा रोचक गणित के रहेछ भने तपाईंको लुम्बिनी प्रदेशमा पनि प्रदेशको अध्यक्ष कमल थापा पक्षले नै जितेको अवस्था छ । प्रदेश १ को अध्यक्षमा पनि राजेन्द्र लिङ्देनका उम्मेद्वारले हारेछन् । एकजना नेताको भनाइ के थियो भने तपाईंहरुले सेमीफाइनलमै चुनाव हारिसक्नुभएको छ । के भएको हो यो ?

लुम्बिनी प्रदेशमा जो उम्मेदवार (प्रदीप उदय) थिए, उनले अन्तिम मौकामा खेमा परिवर्तन गरे । उनले धेरै महिनासम्म म नयाँ पुस्तासँगै छु भने । तर, अन्तिम समयमा आएर म उतातिर छु भने । त्यसपछि हामीले नयाँ उम्मेदवार खडा गर्नुपर्‍यो । तैपनि त्यहाँ व्यापक रुपले धाँधली भयो । एकजनाले सात–आठ वटा भोट हाले । हामीले भैरहवामा चुनाव गर्‍यौँ । त्यो ठाउँ कसको हो, कस्तो ठाउँ हो मैले भनिरहनुपर्र्दैन । (दीपक बोहोरालाई संकेत गर्दै) त्यहाँ फोटोसमेत नभएको परिचय पत्रका आधारमा भोट हाल्ने काम भयो ।

प्रदेश नंबर १ मा दुबै क्षेत्रीय अध्यक्षहरु लडे, नयाँ उम्मेदवार आएको हुनाले हामीले त्यहाँ पनि थोरै मतले हार्‍यौँ ।

पार्टीको सिद्धान्तको विषयमा कतै पनि द्विविधा छैन् । तर, पार्टी सञ्चालन गर्ने विधि र प्रक्रियामा आमूल परिवर्तन ल्याउनुपर्ने छ ।

सेमीफाइनलमै यत्रो धाँधली भएको रहेछ, यो फाइनलमा झन् धाँधली हुँदैन ?

यसपटक हामी धेरै सचेत छौँ । परिचयपत्र फोटो भएको हुन्छ । हामी घायल भएकोले यो पटक धेरै सचेत छौँ । मैले के पाँए भने प्रदेशको चुनावमा कार्यकर्ताहरु अलिकति द्धैध मनस्थितिमा थिए, कसलाई भोट दिने, नयाँ पुरानो कसलाई दिने भन्ने अवस्था थियो । तर, महाधिवेशनका लागि उनीहरु हामीभन्दा अगाडि गइसके । पार्टी स्वाहा भयो, पार्टी समाप्त हुन लाग्यो । हामी अस्तित्वविहीन हुन लाग्यौँ । अब पनि परिवर्तन गरेनौँ भने अब राजनीतिमा हाम्रो कुनै स्थान नै हुँदैन । अब नयाँ नेतृत्व चयन गर्नुपर्‍यो भनेर कार्यकर्ताहरु हामीभन्दा अगाडि गइसकेका छन् । अब धाँधली हुँदैन, हामी रोक्छौँ ।

मनोनयनको पाँच प्रतिशतमै धाँधली भइसक्यो क्यारे ?

उहाँहरु तीनजना अध्यक्षले पाँच प्रतिशत लिनुभएको छ । डा.लोहनीले हामीलाई समर्थन गरेपछि उहाँका मान्छेलाई हामीलाई भोट हाल्छन् । पशुपति दाइ तटष्ट हुनुहुन्छ । उतातिरकाले जसलाई मन लाग्छ, उसैलाई भोट हाल्छन् । कमल थापा पक्षले उहाँलाई भोट हाल्छन् । एक हिसावले सन्तुलन पनि भयो ।

नीतिको कुरा गर्दा पार्टीको कार्यदिशाका बारेमा मतभिन्नता छैन, पार्टीलाई कसरी हाँक्ने भन्ने कुरामा मात्र तपाईंहरुको चासो हो ?

पार्टीको सिद्धान्तको विषयमा कतै पनि द्विविधा छैन् । तर, पार्टी सञ्चालन गर्ने विधि र प्रक्रियामा आमूल परिवर्तन ल्याउनुपर्ने छ । पार्टीलाई कार्यकर्तामुखी, जनतामुखी, प्रजातन्त्रमुखी र पारदर्शी पार्टी रहनुपर्ने आवश्यकता छ । अहिलेसम्म यो स्थिति छैन् । परम्परादेखि चलेर आएको ‘फ्युडल’ पार्टी हो । नेताको पार्टीबाट जनता र कार्यकर्ताको पार्टी बनाउँनका लागि हामी संघर्ष गरिरहेका छौँ ।

तपाईंले ‘फ्युडल’ शब्द प्रयोग गर्नुभयोे, सामन्तवादसँग लड्नुभएको हो त तपाईंहरु ?

हो । पार्टीको मान्छे भन्ने भन्दा पनि मेरा मान्छे भन्ने अवस्था छ । मेरा मान्छे हैन पार्टीका मान्छे भन्ने अवस्था आउँनुपर्‍यो । जनताका मान्छे भन्ने अवस्था आउनुपर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप