
राप्रपाको एक दर्जन जिल्लामा महाधिवेशन प्रतिनिधि विवाद, प्रतिनिधि हेरफेरको आरोप

बुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशन शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने कार्यक्रम रहेको छ । तर, चुनावको एक दिनअघिसम्म केही जिल्लामा प्रतिनिधिको विवाद देखिएको छ । राप्रपा नेता सुन्दर पाण्डेले काठमाडौँ, ललितपुरसहित एक दर्जन जिल्लामा प्रतिनिधिको विवाद रहेको र सो को समाधान गरेर निर्वाचनमा जानुपर्ने बताए । त्यसका लागि उच्चस्तरीय विवाद समाधान समिति गठन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
राप्रपाका जिल्ला कार्यसमितिले सिफारिस गरेर केन्द्रमा पठाएको कतिपय महाधिवेशन प्रतिनिधिको सूची केन्द्रमा परिवर्तन गरिँदा समस्या भएको नेताहरूले बताएका छन् । केन्द्रीय सचिवालयमा आएको प्रतिनिधिको कतिपय सूचीलाई संस्थापनले आफू अनुकूल परिवर्तन गरेको भन्दै बुधबार राति राजेन्द्र लिङ्देन समूहले पार्टी कार्यालय घेराउ गर्दै नाराबाजी समेत गरेको थियो ।
लिङ्देन समूहले महाधिवेशन प्रतिनिधिको विवाद टुङ्गो लगाएर चुनावमा जानुपर्ने बताउँदै आएको छ भने यही विषयमा नेताहरू आन्तरिक छलफलमा रहेको पाण्डेको भनाइ छ । नेताहरू आन्तरिक छलफलमा जुट्न राप्रपाको दोस्रो दिनको बन्दसत्र समेत प्रभावित भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेका छैन । बन्दसत्रमा अध्यक्षत्रयले पेस गरेको राजनीतिक र विधान संशोधन प्रस्तावमाथि छलफल भएर पारित गर्ने कार्यसूची रहेको छ ।
राप्रपाको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन दौडमा छन् । उनीहरूले प्यानलसहित चुनावी प्रतिस्पर्धा गर्ने भनिए पनि हालसम्म घोषणा भने भइसकेको छैन ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ