बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको बन्दसत्रमा दुई प्रस्ताव पेश, नेतृत्वमै रस्साकस्सी

बुधबार, १५ मङ्सिर २०७८, २२ : ११
बुधबार, १५ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बुधबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र सुरु भएको छ । आजको बन्दसत्रमा अध्यक्षत्रयको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्ताव पेस भएको राप्रपा नेता सगुन सुन्दर लावतीले जानकारी दिए । उनले आजको बन्दसत्र बिहीबार फेरि ८ बजेदेखि बस्नेगरी सकिएको जानकारी दिए । भोलिको बन्दसत्रबाट दुबै प्रस्ताव पारित गर्ने कार्यतालिका तय गरिएको छ । 

राजधानीको भृकुटीमण्डपमा राप्रपाको महाधिवेशनको उद्घाटनसत्र चलेको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर जबराले दललाई एकताबद्ध बनाइराख्न आफू अध्यक्षको उम्मेदवार नहुने निर्णयमा पुगेको जानकारी दिए । उनले सहमतिमै नेतृत्व चयनमा जोड पनि सो क्रममा दिए । 
  
‘मैले जितेपछि पार्टी फुट्यो भने तीतो अनुभव हुन्छ, यसैले अध्यक्ष पदमा उम्मेदवार बन्दिनँ, अध्यक्ष दाबेदार मित्र कमल थापा र राजेन्द्र लिङ्देनलाई पनि सर्वसम्मतरूपमा अध्यक्ष निर्वाचित गरेर एकताको सन्देश दिन आह्वान गर्छु, सम्भव भएन भने प्रजातान्त्रिक प्रक्रियाबाट आउने परिणामलाई सबैले मान्नुपर्छ’, उनले भने। 
 
पार्टीका अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले दलमा एकता महाधिवेशनले फुटको अन्त्य भई एकताबद्ध भएर अघि जाने वातावरण बन्नेमा आफू विश्वस्त रहेको बताए ।  नेपालमा राजनीतिक विकासमात्र भई विकासका लागि राजनीति नभएकाले यसतर्फ सबै दलले चिन्तन गर्नुपर्ने पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष लोहनीको भनाइ थियो । नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गरी धार्मिक पर्यटन प्रवद्र्धनका माध्यमबाट अर्थतन्त्रको विकासमा योगदान गर्न सकिनेमा उनले जोड दिए । 
 
यस्तै कमल थापाले दलको यो अन्तिम एकता महाधिवेशन हुने बताउँदै यसका लागि तीनै जना अध्यक्षले पार्टी फुट्न नदिने सङ्कल्प गरेको बताए । पार्टी नटुक्र्याउन तीनैजना अध्यक्षले गीता छोएर कसम खाएको अध्यक्ष थापाले महाधिवेशन उद्घाटन समारोहमा जानकारी गराए । 

पार्टीका संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले अन्यायले न्यायलाई छोप्ने प्रवृत्ति बढ्दै जाँदा जनता असन्तुष्ट भएकाले न्यायपूर्ण समाज निर्माण गर्ने गरी राप्रपाले प्रस्ताव पारित गर्न सुझाव दिए । 
 
राप्रपाका तर्फबाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा जनता हुँदा पनि पार्टी राष्ट्रिय दल बन्न नसक्नुमा नेतृत्वको कमजोरी रहेको बताए । राप्रपालाई राष्ट्रिय दलका रूपमा स्थापित गर्न कार्यकारिणी फेरिनुपर्ने उनको भनाइ थियो । उद्घाटनसत्रलाई विभिन्न राजनीतिक दलका नेताहरुले पनि सम्बोधनमार्फत शुभकामना दिएका थिए । 

तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुनेछ ।  राप्रपाको अध्यक्षमा थापा र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् भने राणा तटस्थ बसेपनि लिङ्देनलाई भने लोहनी र युवापंक्तिको बलियो समर्थन रहेको छ । लिङ्देन समूहले थापालाई अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरेपनि थापाले मानेका छैनन् । 

अहिलेसम्म थापाको पक्षमा नेताहरु बुद्धिमान तामाङ, दीपक बोहरा, भुवन पाठक, जयन्त चन्द, भास्कर भद्रालगायत खुलेका छन् भने लिङ्देनको पक्षमा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीसहित, डा.धवलशमशेर राणा, दिलनाथ गिरी, दुर्गा श्रेष्ठ, सगुन लावती, रवीन्द्रप्रताप शाह, रामकुमार सुब्बा, मोहन श्रेष्ठ, राजाराम श्रेष्ठ, आङछिरिङ शेर्पालगायत देखिएका छन् । अर्का अध्यक्ष पशुपति शमशेर राणा  व्यक्तिगतरुपमा तटस्थ देखिएपनि उनी निकटका अधिकांश नेताहरु भने लिङ्देनतिरै देखिएका छन् ।

राप्रपामा युवापुस्ता नेतृत्वमा आउनुपर्ने भन्दै चर्को आवाज सुनिएको छ । यस्तो पृष्ठभूमिमा अनुभवी राजनीतिक खेलाडी थापा र युवापुस्ताको नेतृत्व गर्ने लिङ्देन बीचको चुनावी प्रतिस्पर्धा रोचक बन्ने निश्चित छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप