मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको महाधिवेशनमा सीपी मैनाली र प्रचण्डको जुहारी (भिडियोसहित)

बुधबार, १५ मङ्सिर २०७८, २२ : ००
बुधबार, १५ मङ्सिर २०७८

राप्रपाको महाधिवेशनमा अतिथिको रुपमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा मालेका महासचिव सीपी मैनालीबीच जुहारी चलेको छ ।  बुधबार राजधानीको भृकुटीमण्डपमा आयोजित महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा मैनालीले ०४६ र त्यसपछिको परिवर्तनमा बाह्य हस्तक्षेप रहेको तथा त्यसमा प्रचण्डको पनि भूमिका रहेको बताएका थिए । त्यसपछि बोलेका प्रचण्डले मैनाली  अभिव्यक्तिमा असन्तुष्टि जनाउँदै राप्रपाको अध्यक्षले जस्तो टिप्पणी गरेको भन्दै कटाक्ष गरे । 

मैनालीले तत्कालीन राजा महेन्द्रलाई राष्ट्रवादी व्यक्तिको रुपमा चित्रित गर्दै उनकै अडान र चतुर्याइँले नेपाल सिक्किम जसरी विलय हुने अवस्थाबाट रोकिएको बताएका थिए ।  मैनालीले भनेका थिए– २०४६ सालको परिवर्तन पनि अवाञ्छित वाह्य प्रभाव र हस्तक्षेपसहितको परिवर्तन हो, हो हो । र, हाम्रो पुष्पकमल दाहालले नेतृत्व गरेको जुन २०६३ सालको परिवर्तन छ, त्यसले पनि अवाञ्छित वाह्य प्रभाव र हस्तक्षेप ल्यायो, ल्यायो, ल्यायो ।

मैनालीले त्यसअघि राजा महेन्द्रले दिल्ली हस्तक्षेपबाट भएका परिवर्तनलाई खारेज गरिदिएको बताएका थिए ।  ‘सिंगो नेपाल भारतमा गाभिएको सिक्किमजस्तो हुनबाट रोक्न पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ भने त्यो राजा महेन्द्रले नै हो’, उनले भनेका थिए, ‘संविधानसभा हाम्रो ७ दशकदेखिको एजेण्डा भनेर नेताहरुले भन्दै आउनुभएको छ, ००९/०१० सालमा संविधानसभा गर्न पाएको भए नेपाल सिक्किम भइसक्थ्यो । महेन्द्रले त्यो बुझेर तुहाइदिनुभयो ।’

त्यसपछि बोलेका प्रचण्डले सीपी ओलीको अभिव्यक्तिको आलोचना गरे । उनले आफूले लागेको कुरा बोल्ने तर सीपी मैनालीले जस्तो अर्को भाषा बोल्न नसक्ने बताए ।  ‘तपाईँहरू (राप्रपा)को र हाम्रो विचार र मत त्यति मिल्दैन । तर, राष्ट्रिय भावना, स्वाधीनताप्रतिको निष्ठा र देशभक्ति एउटै छ, त्यसअर्थमा तपाईँ हामी उस्तै उस्तै गोत्र भनेको थिएँ मैले । हाम्रो विचार र दर्शन मिल्दैन’, प्रचण्डले भने, ‘म अर्को भाषा बोल्न सक्दिन । हुन त सीपीजीले सजिलै बोलिदिनुभयो । पहिला राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो । अहिले तपाईँहरूको अगाडि महान राजा पनि भन्नुभयो । मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँच्चै  त्यसै हो भने सीपीजीलाई बधाई छ ।’

उनले विचारमा मतभिन्नता हुनु स्वाभाविक भएको भन्दै संस्कृति र परम्पराको बीचमा निरन्तर बहस हुँदै बहस र मत मतान्तरणको बीचबाट समाजको रुपान्तरण हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप