शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापा र राजेन्द्र लिङ्देनलाई पशुपति शमशेरको आग्रह– सकिन्छ भन्ने सर्वसम्मत नेतृत्व चयन गरौं

बुधबार, १५ मङ्सिर २०७८, १६ : ४७
बुधबार, १५ मङ्सिर २०७८

काठमाडौं । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले कमल थापा र राजेन्द्र लिङ्देनलाई सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग गर्न आग्रह गरेका छन् । पार्टीको एकता महाधिवेशनको उद्घाटनसत्रलाई अध्यक्षता गरेका राणाले अध्यक्ष पदमा दाबी गरेका थापा र लिङदेनलाई सर्वसम्मत रुपमा नेतृत्व चयनमा सघाउन आग्रह गरेका हुन् । 

उनले पार्टीको हित र कार्यकर्ताको भावनालाई सम्मान गर्दै आफूले अध्यक्ष पदमा दाबी नगरेको जानकारी गराउँदै थापा र लिङ्देनलाई पनि सर्वसम्मत रुपमा नेतृत्व चयन हुने वातावरण बनाउन आह्वान गरेका हुन् ।
‘लामो अवधिसम्म पार्टी अध्यक्षमा उठ्ने दाबा गर्दागर्दै मैले अहिलेको अवस्थामा पार्टीको बृहत्तर हित र एकताका लागि आफ्नो दाबी छाड्नुपर्छ भन्ने टुंगोमा पुगेँ,’ उनले भने, ‘धेरै साथीले अत्यन्त चित्त दुखाए । तपाईलाई जिताउन हामी यत्रो ठुलो कोसिस गरिरहेको बखत किन छोड्नुभयो भनेर सोधे ।’ आफूले यो पार्टीलाई अत्यन्त माया गर्ने, पार्टीभन्दा पनि तमाम कार्यकर्तालाई आफूले अत्यन्त माया गर्ने भएकाले पार्टी र कार्यकर्ताको हितलाई ध्यानमा राखेर अध्यक्षमा दाबी नगर्ने अप्रिय निर्णय लिएको उनले सुनाए ।

​‘केही साथीले मलाई तपाईले जित्नु हुन्छ तर कता कता झण्डै दुई वर्षअघि गरेको एकताचाहिँ खतरामा पर्छ भन्ने चिन्ता हामीलाई लागेको छ भनेर भने,’ उनले भने, ‘त्यसमा जब मैले सोचेँ, म यो पार्टीमा झण्डै तीन दशक काम गरेको मान्छे । मैले सोच्नै प¥यो– मेरो विजय ठुलो कि पार्टीको एकता ?’

आफू ८० वर्ष पुग्न लागेको अवस्थामा जत्रो ठुलो विजय हासिल गरे पनि पार्टी एक नरहेको अवस्थामा त्यो जित तितो हुन्छ भन्ने लागेर आफूले अध्यक्षमा उम्मेदवार नहुने निर्णय लिएको उनको भनाइ थियो ।
‘तपाईहरुलाई संकोच नहोस्, चिन्ता नहोस् कि यसको माने पशुपति शमशेर यो पार्टीमा रहन्न भन्ने तपाईहरुले चिन्ता लिनु पर्दैन । यो पार्टीको भविष्य र प्रजातान्त्रिक विकल्पमा स्थापित गर्ने सन्दर्भमा म उत्तिकै जोसका साथ साथ दिन्छु,’ उनले भने ।

अहिलेको अवस्थामा सबै एकतावद्ध भएर पार्टीको विचार अघि बढाउन आवश्यक रहेको उनले बताए । उनले सर्वसम्मत् रुपमा पार्टीको नेतृत्व चयन हुन नसकेमा निर्वाचनबाट आउने परिणामलाई स्वीकार गर्दै पार्टीको हितमा अनवरत समर्पित हुने प्रण अध्यक्ष पदका दुवै आकांक्षीले गर्नुपर्ने पनि प्रस्ट पारे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप