शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा जन्मियो नयाँ संकट : एकातिर शरणार्थी, अर्कातिर आईएस

केहो आईएस ? अब तालिबान र आईएसको सम्बन्ध कस्तो होला ?
आइतबार, १३ भदौ २०७८, २१ : ३५
आइतबार, १३ भदौ २०७८

गत अगस्ट १५ मा तालिबान विद्रोहीहरुले अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमाएसँगै दुईवटा प्रश्न जन्मिएका थिए ः पहिलो– तालिबानी शासन विगतको जस्तै कठोर हुन्छ वा उनीहरुले उदार नीति अवलम्वन गर्नेछन् ? दोस्रो– अफगानिस्तान विगतको जस्तै आतंकवादीहरुको सेल्टर बन्ला या शान्ति क्षेत्र बन्ला ?

तालिबानको पुनरोदयसँगै जन्मेका यी दुई प्रश्नको जवाफ नआउँदै अफगानिस्तानमा दुईवटा नयाँ संकट मडारिएका छन् । एक– थेगिनसक्नुको शरणार्थी समस्या । दुई– काबुल एयरपोर्टमा इस्लामिक स्टेटले गराएको नरघाती विस्फोटनले दिएको आतंकवादको पूर्वसन्देश ।

तत्कालीन सोभियत संघले अफगानिस्तानबाट सेना फिर्ता गरिसकेपछि सन् १९९६ मा तालिबानीहरुले पहिलोचोटि अफगानिस्तानको सत्ता कब्जा गरेका थिए । उनीहरुले १९९६ देखि सन् २००१ मा अमेरिकाले आक्रमण नगर्दासम्म शासन चलाए । अहिले २० वर्षपछि अमेरिकी सेना फर्कने तयारी हुँदैगर्दा सत्तामा तालिबानीहरुको पुनरागमन भएको छ । दोस्रोचोटि सत्तामा आउँदा तालिबानीहरुले उदार नीति अपनाउने र आतंकवादीहरुलाई प्रश्रय नदिने धेरैको अनुमान र अपेक्षा थियो । चीनले पनि तालिबानी नेताहरुलाई बेइजिङमा बोलाएर अतिवादीहरुसँग सम्बन्ध नराख्न भनेको थियो भने पश्चिमा मुलुकहरुले महिला अधिकार र मानव अधिकारको सम्मान गर्न भनिरहेका थिए ।  

सन् १९९६ देखि २००१ सम्मको शासन सञ्चालनका बेला तालिबानीहरुले एकातर्फ महिलाप्रति कठोर नीति लिने र निरंकुश शासन चलाउने काम गरे भने अर्कोतिर विभिन्न आतंकवादी समूहलाई देशभित्र सेल्टर दिने काम गरे । अन्ततः तिनै मध्येका एक अलकायदाका नेता बिन लादेनलाई सेल्टर दिएकै कारण त्यसबेला अमेरिकाले तालिबानी शासन ढाल्यो र अफगानिस्तानलाई आफ्नो कब्जामा लियो ।

तालिबानीहरुले पहिलोचोटि सत्ता हातमा लिएकै साल सन् १९९६ मा अलकायदाका नेता ओसामा बिन लादेन साउदी अरबबाट अफगानिस्तान छिरेका थिए । लादेनले अमेरिकाको ट्विन टावरमा आत्मघाती हमला गरेपछि तालिबानी शासनमाथि दुर्दिन शुरु भएको थियो ।

अहिले फेरि हिजोको अलकायदाले गरेजस्तै इस्लामिक स्टेट (आईएस) ले तालिबानीहरुलाई चुनौती दिन सुरु गरिसकेको छ । काबुल विमानस्थलमा भएको आत्मघाती हमलाले अब तालिबानीमाथि प्रश्न उब्जाएको छ कि अब उनीहरुले आईएसप्रति कस्तो नीति लेलान् ? कतै अफगानिस्तान आईएसको सेल्टर त बन्ने छैन ? अनि आईएसको सामना तालिबानले एक्लै गर्न सक्छ या आईएसलाई बहाना बनाएर फेरि त्यहाँ अमेरिकालगायत पश्चिमी राष्ट्रको उपस्थिति कायमै रहनेछ ?​


 

 

शुक्रबार काबुल विमानस्थलमा आईएसले गराएको बम हमलामा मृत्यु हुनेको संख्या १७० पुगेको छ । त्यसमध्ये अमेरिकी सैनिक १३ छन् भने बेलायती नागरिक २ जना र तालिवानी लडाकु २८ जनासमेत परेका छन् । बाँकी सर्वसाधारण मारिएका छन् । र, यो हमलाको जिम्मेवारी आईएसले लिएको छ ।  

केहो आईएस ?

मूलतः सन् २०१४ देखि इराक र सिरिया हुँदै विश्वभर फैलिएको आईएसको पूरा नाम इस्लामिक स्टेट इन इराक एण्ड अल शाम (सिरिया) हो, जसलाई ‘आईएस’ वा ‘आईएसआईएस’ भनिन्छ । आईएसले इराक र सिरियामा कब्जा गरेको भूभागलाई मिलाएर ‘खिलाफत’ (इस्लामिक राज्य) बनाएको छ ।

संयुक्त राष्ट्र संघले बनाएको सीमारेखा नमान्ने घोषणा गर्दै आईएसले इराक र सिरिया दुबै देशको सीमावर्ती भूभागलाई मिलाएर इस्लामिक स्टेटको घोषणा गरेको छ । आईएसको मुख्य उद्देश्य मुसलमानहरुको अलग्गै इलामिक राज्य घोषणा गर्नु हो । उसको मुख्य उद्देश्य इराकको सत्ता कब्जा गर्नु हो । त्यसपछि सिरियालाई कब्जामा लिने उसको रणनीति छ ।

सिरियाका र इराकको ठूलो भूभाग अहिले आईएसको नियन्त्रणमा छ । यस हिसाबले अफगानिस्तानको तालिबानीभन्दा इराक र सिरियाको भूभाग कब्जामा लिएर बसेको आईएस धेरै गुणा शक्तिशाली मानिन्छ ।

इराक र रिसियालाई मुख्य आधार क्षेत्र बनाएको आईएसको प्रभाव ५० भन्दा बढी देशमा फैलिएको विश्लेषण गरिँदै आएको छ । आईएसविरुद्धको लडाइँमा अमेरिका, डेनमार्क, जर्मनी, बेलायत, फ्रान्स, पोल्याण्ड, अल्बानिया, अष्ट्रेलिया, इटली, क्यानडालगायतका देशले सहकार्य गरिरहेका छन् । यो लडाइँलाई नर्वे, फिनल्याण्ड, स्वीट्जरल्याण्ड, टर्की, स्पेन, जापान, दक्षिण कोरिया, न्युजिल्याण्ड, हंगेरीलगायतका देशहरुले पनि सघाइरहेका छन् । सिरिया र इराकका सरकारहरु आईएससँग प्रत्यक्ष लडिरहेका छन् ।

विचारको हिसाबले पनि तालिबान भन्दा आईएस अमेरिकाप्रति आक्रामक र कडा मानिन्छ । तालीबानीहरुलाई आईएसले ‘अमेरिकाको पिछलग्गु’ बनेको आरोप लगाएको छ ।

आईएसको नेतृत्वमा दुई प्रकारको गठबन्धन छ । त्यसमध्ये पहिलो मुजाहिद्दीन हो । मुजाहिद्दीनले २००३ मा इराकमा अमेरिकासँग लडेका थिए भने अफगानिस्तानको पर्वतीय क्षेत्रमा सोभियत सेनासँग लड्न भन्दै अमेरिकाकै ‘ब्याकअप’ मा आफ्नो प्रारम्भिक तालिम लिएका थिए ।

इराकमा सत्ताच्युत भइसकेपछि सद्दाम हुसैनले अमेरिकासँग भूमिगत लडाइँ लड्दा हजारौं टन हतियार मुजाहिद्दीनले प्राप्त गरेका थिए । सोही शक्ति नै अहिले इस्लामिक स्टेटमा परिणत भएको छ । इराकमा आफ्नो नियन्त्रणमा रहेको सुन्नी प्रभावित क्षेत्रलाई उसले इस्लामिक राज्य घोषणा गरेको छ ।

दोस्रो, आईएसको नेतृत्वमा सद्दाम हुसेनका पालामा बाथ पार्टीमा आवद्ध कमाण्डरहरु पनि थपिएका छन् । २०१० देखि उनीहरुले इराकमा अमेरिकी हस्तक्षेपविरुद्ध गुरिल्ला युद्ध सुरु गरे । र, २०१३ मा नियमित सेनाको विकास ग¥यो । त्यसपछि इराक र सिरियाको एकीकृत आईएसआईएस बनेको हो । यससँगै उनीहरुले इराक र सिरियाबीचको सीमारेखा भत्काएका छन् । इराकी सेनाका पूर्वसैन्य अधिकारी अल–अनबरी पनि सिरियामा आईएसको नेतृत्व गर्न पुगेका छन् ।

इराकका बगदादी आईएसका संस्थापक प्रमुख हुन् भने सिरियामा लडिरहेका अबु मुस्लिम अल–तुर्कमानी डेपुटी नेता हुन् । सद्दाम हुसैनका पालाका इराकी सेनाका पूर्वलेफ्टिनेन्ट कर्णेल तुर्कमानी आईएसको विशेष फोर्सका कमाण्डर हुन् । अहिलेसम्म उनीहरु जीवित छन् या मृत्यु भयो भन्नेबारे विवादास्पद खबरहरु आउने गरेका छन् । बगदाती मारिइसकेको खबर पटक–पटक आइसकेको छ ।

अब पश्चिमा शक्तिहरुले अफगानिस्तानमा आफ्नो प्रभाव जमाइराख्न अनि चीनको प्रभावलाई रोक्नका लागि कतै ‘आईएस’ कार्ड पो खेल्ने हुन् कि ? काबुल विस्फोटनको घटनाले यो प्रश्नलाई पनि सतहमा ल्याएको छ । किनभने, हिजो अमेरिकाले मुजाहिद्दीनलाई समेत उपयोग गरेको इतिहासले मानिसहरुलाई झस्काउने गरेको छ ।

जे होस् यस कुरामा कसैको विमति छैन कि तालिबानले नियन्त्रणमा लिएको अफगानिस्तानमा आईएस ‘फ्याक्टर’ नयाँ संकटका रुपमा सतहमा देखा परेको छ । यो संकटले शान्त र स्वाधीन अफगानिस्तानको सपनामा तुँवालो लगाइदिएको छ ।

शरणार्थी समस्या

तालिबानको दोस्रो उदयपछि डराएर देशबाट भाग्ने शरणार्थीहरुको घुइँचो कम हुन सकेको छैन । तालिबानीहरुले नडराउन र देश नछाड्न आग्रह गर्दागर्दै पनि मानिसहरुले देश छाड्ने क्रम रोकिएको छैन । विमानस्थलमा त्यति ठूलो बिस्फोटन हुँदा पनि विदेश पलायन हुन चाहनेहरुको भीड रोकिएको छैन । यसले एउटा ठूलो संकटको प्रमाण दिइरहेको छ ।

यसरी अफगानीहरु भागेर विदेशतर्फ लाग्दा तालिबानीहरुलाई मात्रै असर पर्ने नभएर अमेरिका, युरोप र छिमेकी देशहरुमा शरणार्थी समस्या बढ्छ । सिरिया युद्धका कारणले उब्जिएको शरणार्थी समस्या नै समाधान गर्न विश्व समुदायलाई हम्मे परिरहेका बेला अफगानिस्तानमा युद्ध नहुँदै पनि जुन शरणार्थीको ताँती निस्कियो, यो  घरेलु मात्र नभएर वैश्यिक समस्या हो । र, यसले अझै पनि अफगानिस्तानको भविश्य उज्यालो छैन भन्ने वियोगान्त संकेत गरेको छ ।      

शरणार्थीको समस्या कति विकराल र ठूलो देखिएको छ भन्ने प्रमाण अगस्ट १५ यता विदेश फलायन हुने अफगानीहरुलाई हेर्दा पर्याप्त हुन्छ । अमेरिकाले मात्रै ५० हजारदेखि ६५ हजार अफगानी सहयोगीहरुलाई अगस्ट ३१ को समयसीमाभन्दा अघि उद्धार गर्ने लक्ष्य राखेको राष्ट्रपति जो बाइडेनले जनाएका छन् । स्पेशल इमिग्रेन्ट भिसा (एसआइभी) का लागि आवेदन दिएका व्यक्ति र उनीहरुको परिवारतर्फ बाइडेनले संकेत गरेका हुन् ।

काबुलबाट अहिलेसम्म कति अफगानीहरुलाई निकालेर अमेरिका ल्याइयो भन्ने विषयमा भने अमेरिकाले केही जानकारी दिएको छैन । काबुलबाट आउने उद्धार उडानले अमेरिकी नागरिक, स्थायी आवासीय मान्यता पाएका नागरिक, अफगान एसआईभी आवेदक र जोखिममा रहेका अफगानी नागरिकलाई ल्याउने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

त्यस्तै बेलायतले अफगान नागरिक पुनस्र्थापना स्किममार्फत यस वर्ष ५ हजार अफगानीलाई भित्र्याउने लक्ष्य राखेको छ । दीर्घकालीन लक्ष्य २० हजार अफगानीहरु भित्र्याउने बताइएको छ ।

यो स्किम सिरियाली जोखिम व्यक्ति पुनस्र्थापना स्किमजस्तै हो । जसले अति जरुरी परेका व्यक्ति, जसलाई तत्कालै औषधी उपचारको खाँचो छ, यातनाका शिकार भएका, महिला र बालबालिका लक्षित हो ।

विगतमा सिरियाबाट यस्तै स्किमअन्तर्गत २० हजार नागरिक भित्र्याउने लक्ष्य बेलायतले पूरा गरेको थियो । त्यसमध्ये आधा बालबालिका थिए । सन् २०१५ देखि २०२० को पाँच वर्षे अवधिमा यस्तो लक्ष्य पूरा गरिएको थियो । बेलायतको गृह मन्त्रालयका अनुसार यो युरोपकै ठूलो पुनस्र्थापना कार्यक्रम हो ।

यसैगरी अफगानिस्तानमा बेलायती सेनालाई सहयोग गर्नेहरुका लागि अफगान रिलोकेशन एन्ड एसिस्टेन्स पोलिसी (एआरएपी) स्किम १ अप्रिलबाट सुरु भएको थियो । यसले दोभासे र बेलायतलाई अफगानिस्तानमा सहयोग गर्ने अन्य व्यक्तिहरुलाई पुनस्र्थापना गर्ने लक्ष्य राखेको छ ।

यस कार्यक्रमअन्तर्गत जुन २२ यता २ हजार पूर्व अफगानी कर्मचारी र उनीहरुका परिवारलाई बेलायतमा पुनस्र्थापना गरिएको छ । यस स्किमअन्तर्गत पनि यस वर्षको अन्त्यसम्म ५ हजार जनालाई बेलायत भित्र्याउने लक्ष्य छ ।

बेलायतमा शरण खोज्दै १ हजार ३३६ जना अफगानीले २०२० मा आवेदन दिएका थिए । यसमध्ये ५८० जनाले शरण पाए । ३१ मार्च २०२१ सम्म यसरी शरण खोज्दै आवेदन दिनेहरुको संख्या ३ हजार ११७ पुगेको छ । यसमध्ये ७० प्रतिशत अर्थात् २ हजार २ सय २० जनाले ६५ महिनाभन्दा धेरै प्रतिक्षा गरिसकेका छन् ।

तालिबानले सत्ता कब्जा गर्न थालेयता फ्रान्समा १ हजार अफगानीहरु छिरिसकेका छन् । उद्धार उडानमार्फत फ्रान्सले ती अफगानीहरुलाई आफ्नो देशमा लगेको हो । फ्रान्सेली प्रधानमन्त्री जियन क्यासटेक्सले जोखिममा परेका शरणार्थीहरुलाई ठाउँ दिइने बताएका छन् ।

उता, अस्ट्रियाका चान्सलर सेवास्टियन क्रुजले भने अफगानी शरणार्थीलाई आफ्नो देशमा छिर्न नदिने घोषणा गरेका छन् । यसअघि नै अस्ट्रियाले ४४ हजार अफगानीहरुलाई शरण दिइसकेकाले थप शरणार्थी नलिने घोषणा उनले गरेका हुन् ।

त्यसैगरी आफ्ना नागरिकलाई उद्धार गरिसकेपछि न्युजिल्यान्डले पनि अफगानिस्तानमा उद्धार उडान समाप्त भएको घोषणा गरेको छ, जसकारण न्युजिल्यान्डको सेनालाई सहयोग गर्ने दोभासे र सहयोगीहरु अफगानिस्तानमै बस्न बाध्य छन् ।

अफगानिस्तानमा अलपत्र परेका आफ्ना नागरिक तथा न्युजिल्यान्डको भिसा लिइसकेका त्यस्ता सहयोगीहरुलाई स्थलमार्ग हुँदै अर्को देशमा जान र त्यहाँको नजिक पर्ने दूतावास वा कन्सुलेटमा सम्पर्क राख्न न्युजिल्यान्डले आग्रह गरेको छ । अस्ट्रेलियाले पनि आफ्ना नागरिक उद्धार गरेपछि उद्धार उडान समाप्त गरिसकेको छ ।

छिमेकी पाकिस्तानमा झन्डै ३० लाख अफगानी शरणार्थी छन् । अफगानिस्तान अस्थिर भएसँगै यहाँ थप शरणार्थीको संख्या बढ्ने अनुमान गरिएको छ । तर, पाकिस्तान सरकारले आफ्नो देशले क्षमताभन्दा बढी शरणार्थीलाई शरण दिइसकेको भन्दै थप शरणार्थी राख्न नसकिने जनाएको छ ।

अर्को छिमेकी ईरानमा पनि १० लाखको हाराहारीमा शरणार्थी छन् । अस्थिरता निम्तिएसँगै अहिले फेरि ठूलो संख्यामा अफगानीहरु ईरानतर्फ लागेका छन् । युएनएचसीआरले ९ अगस्टमा (जतिबेला काबुल कब्जा भइसकेको थिएन) सार्वजनिक गरेको तथ्याङ्कमा  अनुमानित ४ लाख अफगानीहरु देशभित्रै बिस्थापित बनेको र मे महिना यतामात्रै २ लाख ४४ हजार मानिसहरु बिस्थापित भएको उल्लेख छ । काबुल कब्जा भएयता देश छाड्नेहरुको संख्या बढ्दो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप