शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘देउवालाई हराउन एकल उम्मेदवारी आवश्यक छ’

पुरानो पात नझरी हाँगा लुछ्न थाल्यौँ भने रुख मर्छ : बलबहादुर केसी
मङ्गलबार, ०८ भदौ २०७८, १३ : ३७
मङ्गलबार, ०८ भदौ २०७८

नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनको प्राविधिक तयारी पूरा भएको छ । अब नेताहरू चुनावी रणनीति बनाउन जुटेका छन् । यससँगै सभापतिका आकाङ्क्षीहरू आफ्नो टिम निर्माण एवं विस्तारको आन्तरिक तयारीमा जुटेका छन् ।

वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित करिब एक दर्जन नेता सभापतिका दाबेदार देखिएका छन् । देउवा पक्षबाट तीनजना र पौडेल पक्षबाट ६ जना सभापतिको लाइनमा उभिएका छन् । त्यस्तै, कृष्णप्रसाद सिटौला पनि सभापतिको तयारीमा देखिन्छन् ।

देउवाले आफ्नो पक्षबाट सभापतिमा दाबी गरिरहेका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र वर्तमान उपसभापति विमलेन्द्र निधिको चुनौतीलाई सामान्यरूपमै लिएको देखिन्छ । उता, पौडेल पक्षका नेताले भने देउवालाई पराजित गर्न एकल उम्मेदवारीको अपरिहार्यता रहेको निष्कर्ष निकालेका छन् ।

वडा अधिवेशनअघि नै पौडेल पक्षबाट एकल उम्मेदवारी तय गर्ने गृहकार्य भइरहेको नेता बलबहादुर केसीले रातोपाटीसँगको कुराकानीमा सुनाए । उनी भन्छन् ‘शेरबहादुरबाट काँग्रेस जोगाउन सबै एक ठाउँमा आउन अपरिहार्य छ । त्यसो हुँदा शेरबहादुरलाई काँग्रेसबाट किनारा लगाउन सकिन्छ भन्ने मलाई लागेको छ ।’

१४ औँ महाधिवेशनमा पौडेल पक्षबाट शेरबहादुर देउवालाई पराजित गर्न सम्भव छ त ? यसका लागि अब संस्थापन इत्तर टिमको व्यवस्थापन कसरी होला ? यिनै सन्दर्भमा रातोपाटीले रामचन्द्र पौडेल पक्षीय नेता केसीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

सोमबार रामचन्द्र पौडेल समूहमा सभापतिका दाबेदारका रूपमा देखिएका नेताहरूबीचको छलफलका विषय के–के थिए ?

हाम्रो छलफल तीनवटा विषयमा केन्द्रित थियो । एउटा– क्रियाशील सदस्यताका सन्दर्भमा छलफल गर्यौँ । दोस्रो– साउन ३० को केन्द्रीय समिति बैठकले तय गरेको तालिकाभित्र अधिवेशन सुरु गर्ने विषयमा छलफल गर्यौँ । तेस्रो– महाधिवेशनमा हाम्रो पक्षबाट एउटा मात्रै सभापतिको उम्मेदवार बनाउनका निम्ति छलफल आरम्भ भएको छ । यिनै तीनवटा कुरालाई ध्यानमा राखेर हामीले सोमबार भेटघाट कार्यक्रम गरेका हौैँ ।

यी तीनवटा विषयमा छलफल मात्र गर्नुभयो कि निकास र निष्कर्षसम्म पुग्ने उपाय पनि खोज्नुुभयो ?

अब उपाय पनि खोज्ने कोसिस भएको छ । क्रियाशील सदस्यको विवाद समाधानको जिम्मा लिएका नेताहरू कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखकले विवाद टुङ्ग्याउनुभएको छ । अब अधिवेशनको टुङ्गो लागिसकेकै छ । मुख्य कुरा साझा उम्मेदवारीको हो ।

वडा अधिवेशन (भदौ १८ गते) हुनुभन्दा पहिले हाम्रो तर्फबाट साझा उम्मेदवारी दिन्छौँ भनेर पार्टीका सबै कार्यकर्ता साथीलाई विश्वास दिलाउने सहमति भएको छ । योबीचमा एकजना मात्र सभापतिको उम्मेदवार बनाउन गृहकार्य गरौँ ।

यदि काँग्रेसको साख गिरेको हो, पार्टीको सङ्गठन भद्रगोल भएको हो, वैचारिक आधार खस्केको हो भन्ने हाम्रो निष्कर्ष हो भने नेपाली काँग्रेसलाई शेरबहादुरबाट बाहिर निकाल्नुपर्यो  । त्यसैले कुनै व्यक्ति विशेषलाई सभापति बनाउनका निम्ति यो बैठक भइरहेको छैन ।

त्यसोभए भदौ १८ गतेभित्र रामचन्द्र पौडेलले नेतृत्व गरेको समूहबाट एक जना उम्मेदवार अगाडि सार्नुहुन्छ ?

कोसिसमा छौँ । हाम्रो प्रयत्न पनि त्यही रहन्छ । योबीचमा भएका छलफल पनि त्यही दिशामा सकारात्मक रूपमा अगाडि बढिरहेका छन् ।

तपाईंहरूले गर्ने कोसिसभित्र सम्भावना छ ? सम्भावना छ । पौडेल समूहबाट आधा दर्जनभन्दा बढी सभापतिका दाबेदारबीच एक जना उम्मेदवार तय गर्ने सम्भव होला र ?

यसमा मुख्य दुुईवटा कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरा शेरबहादुर देउवा मन पर्ने,नपर्ने कसैको निजी विषय हो । तर, पाँच–छ वर्ष शेरबहादुरजीले नेपाली काँग्रेसलाई नेतृत्व गर्नुभयो । उहाँको नेतृत्वमा नेपाली काँग्रेसको अवस्था के छ भनेर विश्लेषण गर्नुपर्छ ।

के काँग्रेस ठीक ढङ्गगले चल्यो ? के काँग्रेसको शाख बढ्यो ? के काँग्रेस एकताका साथ अगाडि बढ्यो ? कि केही सानो जमातलाई नेपाली काँग्रेसको सभापतिले बोकेर हिँड्नुभयो ? पहिला हामीले यी प्रश्नको वस्तुनिष्ठ जवाफ खोज्नुपर्छ ।

​यदि काँग्रेसको साख गिरेको हो, पार्टीको सङ्गठन भद्रगोल भएको हो, वैचारिक आधार खस्केको हो भन्ने हाम्रो निष्कर्ष हो भने नेपाली काँग्रेसलाई शेरबहादुरबाट बाहिर निकाल्नुपर्यो  । त्यसैले कुनै व्यक्ति विशेषलाई सभापति बनाउनका निम्ति यो बैठक भइरहेको छैन । काँग्रेसलाई मजबुत बनाउन एक जनालाई अगाडि सार्नुपर्छ भनेर हामीले निष्कर्ष निकालेका छौँ । किनभने शेरबहादुरजीबाट पार्टी बचाउन भए पनि हामी एक ठाउँमा उभिनु जरुरी छ ।

सबै एक नभइकन शेरबहादुरजीलाई जित्न नसकिने अवस्था देखिन्छ । अब सबै एक हुने कि नहुने ? होइन, यहीबेलामा म किन सभापतिमा नउठ्ने भनेर आफ्नो महत्त्वकाङ्क्षा पूरा गरेको के हुन्छ ? त्यसैले वडा अधिवेशन पहिले नै हामी एक रहेको सन्देश दिनुपर्छ भन्ने कुरा हो ।

आफ्नो समूहभित्र एकताको सन्देश बोकेर नेपाली काँग्रेसलाई मजबुत बनाउनका लागि अधिवेशनमा कार्यकर्ताका बीचमा आउँछौँ । तपाईंहरूले पनि त्यही खालमा अधिवेशनमा सहभागी हुनुस् भनेर आग्रह गरौँ भन्नेमा साथीहरू सबै सहमत हुनुहुन्छ ।

सभापतिका आकाङ्क्षीबीच भइरहेका छलफलमा कसैले कसैको नेतृत्व स्वीकार नगरेको अवस्था छ । तपाईं पनि सबैजसो छलफलमा सहभागी हुनुभएको छ । कसको नेतृत्वमा सहमति गरेर जाने अवस्था देख्नुभएको छ ?

यसरी कुनै व्यक्ति विशेषका नाममा होइन । अहिले जोजो साथीहरूले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ, सबैको आआफ्नो महत्त्व छ । एक्लाएक्लै शेरबहादुरजीको सामना गर्न सम्भव छैन भन्ने हाम्रो विश्लेषण हो । एकभन्दा बढी उम्मेदवार भयौँ भने हामी डिभाइडेड हुन्छौँ । शेरबहादुरजीको पक्षमा परिणाम आउन सक्छ के गर्ने भन्ने चिन्ता छ । हामी एक भयौँ भने शेरबहादुरबाट पार्टीलाई बचाउन सकिन्छ कि भन्ने नै हो ।

अहिलेसम्म यो वा त्योको कुरा भएन । कोही केही क्षमताका होलान्, कोही केही क्षमताका होलान्  । सबै महत्त्व बोकेकै नेता हुनुहुन्छ । सबैलाई एक ठाउँमा उभ्याएर एकताका साथ जानुपर्छ भन्ने हाम्रो साझा धारणा हो ।

१३ औँ महाधिवेशनमा शेरबहादुरसँगै पराजित रामचन्द्र पौडेल समूह मात्रै एक ठाउँमा आउँदैमा महाधिवेशन जित्न सक्नुहोला ? सभापतिमा दाबी गरेका पौडेल समूह बाहेकका नेताहरूसँग संवाद गर्न पर्दैन र ?

अहिले त्यो समय आइसकेको छैन । पहिलो चार–पाँच वर्षसम्म एक ठाउँमा भएका साथीहरूबीचमा सहमति हुनुपर्यो । त्यसपछि अन्य सभापतिका दाबेदारसँग छलफल  गर्छौं । यति मात्र होइन हामी शेरबहादुर देउवासँग पनि छलफल गर्न चाहन्छौँ । उहाँलाई हामी भन्छौँ कि तपार्ईंले सबैलाई मिलाउनुपर्यो, होइन तपाईंले मिलाउन सक्नुभएन भने मिलाउन सक्ने साथीलाई प्रस्ताव गर्नुपर्छ ।

हिजो शेरबहादुर देउवाजीले जसरी पार्टी चलाउँछु भन्ने सार्वजनिक रूपमा र कार्यकर्ताका बीचमा प्रतिबद्धता जनाउनुभएको थियो । सभापति भएपछि प्रतिबद्धताअनुसारको काम गर्न सक्नुभएन । नेपाली राजनीतिको नेचर नै सत्तामा पुग्न विधान र विधिको वकालत गर्ने र नेतृत्वमा पुगेपछि सबै मै हुँ भन्ने मनोवृत्ति देखिन थाल्यो ।

देउवाले म मिलाएर लान्छु भनेर आफ्नो नाम अगाडि सार्नुभयो भने तपाईंहरू फेरि पनि उहाँको नेतृत्व स्वीकार गर्न तयार हो ?

हामी तयार हुन्छौँ कि हुँदैनौँ आफ्नो ठाउँमा छ । तर सभापति जिम्मेवारी के हो ? नेपाली काँग्रेसलाई एक ठाउँमा उभ्याउने काम गर्नुपर्छ । सभापति र कार्यसमितिले अधिवेशन गराउने हो । केन्द्रीय कार्यसमितिले अफिसियल्ली  उम्मेदवारी दिने हाम्रो परम्परा थियो हिजो । त्यो कार्यशैलीलाई शेरबहादुरजीले अपनाउनु भएको भए राजनीतिक प्रस्ताव, आर्थिक प्रस्ताव, व्यवस्थापन समिति बनाउन सक्नुहुन्थ्यो । अहिले त्यो गर्नुभएन । किसुनजी, गिरिजाबाबुको पालामा पार्टीकैतर्फबाट कार्यसमितिमा एउटा उम्मेदवार तय गरिन्थ्यो । फलानोको नेतृत्वमा अधिवेशनमा जाने भन्ने पनि थियो । शेरबहादुरजीले सभापतिका नाताले सबै मिलेर जाऔँ भन्ने प्रस्ताव गर्नुहोला भन्ने अपेक्षा थियो । तर, उहाँले त्यो गर्नु भएन । आफ्नो गुटलाई राखेर आफू पनि सभापतिको उम्मेदवार रहेको घोषणा गर्नुभयो । कार्यशैली, सङ्गठन, नेतृत्व र विचारका हिसाबले उहाँ चुक्नुभयो ।

त्यसो भए १४औँ महाधिवेशनमा शेरबहादुर भर्सेस रामचन्द्र वा कुनै उम्मेदवार हुने परिस्थिति बन्छ भन्ने हो ?

म कुनै अमूक व्यक्तिका सन्दर्भमा कुरा गर्न चाहन्न । शेरबहादुरबाट काँग्रेस जोगाउन सबै एक ठाउँमा आउन अपरिहार्य छ । त्यसो हुँदा शेरबहादुरलाई काँग्रेसबाट किनारा लगाउन सकिन्छ भन्ने मलाई लागेको छ ।

देउवाले पार्टी विभाजन गर्दा तपाईंले बलियो साथ दिनुभएको थियो । आज काँग्रेस जोगाउन उहाँलाई किन किनारा लगाउनुपर्ने अवस्था आयो ?

हिजो शेरबहादुर देउवाजीले जसरी पार्टी चलाउँछु भन्ने सार्वजनिक रूपमा र कार्यकर्ताका बीचमा प्रतिबद्धता जनाउनुभएको थियो । सभापति भएपछि प्रतिबद्धताअनुसारको काम गर्न सक्नुभएन । नेपाली राजनीतिको नेचर नै सत्तामा पुग्न विधान र विधिको वकालत गर्ने र नेतृत्वमा पुगेपछि सबै मै हुँ भन्ने मनोवृत्ति देखिन थाल्यो ।

आज त्यसले सबै पार्टीमा विकृति निम्त्याएको छ । अहिले मात्र अरू पार्टीमा बढ्यो होला र सबै सिकाउने पार्टी काँग्रेस नै हो ।

तपाईंले जानेबुुझेको शेरबहादुर र अहिलको शेरबहादुरमा के फरक पाउनुभयो  ?

धेरै फरक पाएको छु । हिजो शेरबहादुर काँग्रेसभित्रको लडाकु शेरबहादुर हो । निष्ठावान शेरबहादुर हो । पार्टीको हित चाहने शेरबहादुर हो । कार्यकर्तालाई न्याय गर्ने शेरबहादुर हो । यस्ता धेरै विशेषण दिन सकिन्छ । तर, अहिलेको शेरबहादुर आत्मकेन्द्रित, कार्यकर्तालाई अन्याय गर्ने, सत्ताका लागि उन्मुख भएको पाउँछु । उहाँको नेतृत्व र काम गर्ने शैलीमा धेरै ठूलो फरक आएको छ ।

अहिलेको परिस्थितिमा शेरबहादुर र बलबहादुरको दूरी कति टाढा छ ? १४औँ महाधिवेशन एक ठाउँमा उभिने अवस्था छ कि छैन ?

आजका दिनसम्म म शेरबहादुरसँग छैन । किनभने १३ औँ महाधिवेशनमा म रामचन्द्र पौडेलको टिमबाट केन्द्रीय सदस्य लडेको थिएँ । मैले जितेँ पनि । आजका दिनसम्म रामचन्द्रजीकै टिममा काम गरिरहेको छु । १४औँ महाधिवेशनमा सानो फेरबदल भए पनि १३औँ महाधिवेशनकै ध्रुवीकरण देखिन्छ । यद्यपि नेतृत्व कसरी अगाडि बढ्छ । किनभने, शेरबहादुर सिङ्गो काँग्रेसको साझा उम्मेदवार पनि हुन सक्नुहुन्छ । उहाँले कसैलाई साझा उम्मेदवारका रूपमा अगाडि सार्न पनि सक्नुहुन्छ । बलबहादुरलाई मात्र भन्दा पनि सिङ्गो पार्टीलाई एक ठाउँमा उभ्याउने काम शेरबहादुरको हातमा छ ।

कुन टिममा बस्ने, कता जाने कुुरा छँदैछ । महाधिवेशनमा तपाईंको तयारी के छ ?

देशभरिका साथीहरूले तँ पछाडि परिस्, तँ पार्टीमा लगानी गरेको मान्छे, दुःख गरेको मान्छे, ०३६ सालको आन्दोलनको नेतृत्व गरेको मान्छे, ०४२ सालको सत्याग्रहको नेतृत्व गरेको मान्छे, ०४६ र ०६२ सालको आन्दोलनको नेतृत्व गरेको मान्छे भन्नुहुन्छ । एउटा व्यक्ति चार–चारवटा आन्दोलनलाई नेतृत्व गरेको मान्छे बहुत कम छन् । १० वर्ष जेल परेको मान्छे, तँमाथि पार्टी नेतृत्वले अन्याय गरेको छ, कार्यकर्ताको समर्थन छ, तँ मेजर पोजिसनमा उठ्नुपर्छ भन्ने साथीहरू पनि छन् । म अहिले हाम्रो पक्षका साथीहरूलाई एक गराउने गृहकार्यमा छु । तर, मुख्य पदमै मेरो उपस्थिति खोज्छु ।

सबैभन्दा बढी मत ल्याउने नै मैले हो । सिङ्गो पार्टीबाट कोही न कोही न्याय गर्ने मान्छे आउँछ ।

पौडेल पक्षबाट सभापतिमा एकजना उम्मेदवार बनाउने प्रयास सफल भएन र दुईजना उम्मेदवार बनेको अवस्थामा तपाईं पदाधिकारीको उम्मेदवारका रूपमा आउनुहुन्छ ?

पहिला एक गरौँ भने कुरा छ । अहिले नै अनुमानको कुरा नगरौँ । एकजना हुने अवस्थामा आएन भने त्यसपछि नै तय गरौँला नि । तर, म पदाधिकारीको उम्मेदवार हुन्छु । मैले पदाधिकारीमा लड्ने हो । केन्द्रीय कार्यसमितिमा शेरबहादुर र रामचन्द्रपछि सिनियर मै हुँ ।

नेवि संघमा शेरबहादुरपछि ०३६ सालको कार्यवाहक सभापति म हुँ । शेरबहादुर अध्यक्ष र म कार्यवाहक भएर अधिवेशन गरेर विमलेन्द्र निधिजीलाई जिम्मेवारी सुम्पिएका थियौँ । ०२७ महेन्द्ररत्न कलेजमा स्ववियु चुनाव जित्ने मान्छे बलबहादुर केसी हो । ५१ वर्ष काँग्रेसका नाममा खर्च गरिसकेँ । कसैको भन्दा मेरो लगानी कम छैन । तर, मलाई काम लगाउने नेता बाँकी हुनुहुँदैन । जोसँग मेरो प्रतिस्पर्धा थियो, उनीहरू नेतृत्वमा आए । अनि मलाई पार्टीमा छिराए हामीलाई सकिदिन्छ भन्ने डरले उहाँहरूले मलाई पार्टीभित्र स्थान दिनुभएन । तर, मलाई रोक्न खोज्दाखोज्दै पनि म पार्टीमा जबरजस्त उपस्थिति देखाइरहेको छु ।

पदाधिकारीमा चुनाव जित्नुहुन्छ त ?

सबैभन्दा बढी मत ल्याउने नै मैले हो । सिङ्गो पार्टीबाट कोही न कोही न्याय गर्ने मान्छे आउँछ ।

पौडेल पक्षमा आधा दर्जन सभापतिका आकाङ्क्षीबाट एकजना उम्मेदवार बनाउँदा अहिले सभापतिमा दाबी गर्नेहरूलाई पदाधिकारीमा व्यवस्थापन गर्नुपर्दा तपार्इंले ठाउँ पाउनुहोला र ?

पहिला एकजना सभापतिको उम्मेदवार तय गरिसकेपछि सभापतिमा दाबी गर्नेहरूको पदाधिकारीमा व्यवस्थापन गर्नुपर्छ कि  सदस्य मात्र उठ्नुहुन्छ कि हेर्नै बाँकी छ । अहिले यसबारे विश्लेषण गर्नु हतार हुन्छ । अहिले त्यो अवस्था आइसकेको छैन । तर म कुनै हालतमा पदाधिकारी उठ्छु ।

तपाईं काँग्रेसको दोस्रो तहका नेताका हिसाबले पदाधिकारीमा तेस्रो पुस्ताको जबरजस्त दाबेदारीलाई के–कति थ्रेट ठान्नुभएको छ ?

केही थ्रेट ठानेको छैन । यसको कुनै अर्थ पनि छैन । पार्टीभित्र पुराना र नयाँ सबैलाई समेटेर जानुपर्छ । पुरानो पात झर्ने र नयाँ पात पलाउने नियमित प्रक्रिया हो । हामीले नयाँ साथीलाई साथमा लिएर हिँड्नुपर्छ । तर, पुरानो पात नझरिकन हाँगा लुछ्न थाल्यौँ भने रुख नै मर्छ ।

अहिले भइरहेको महाधिवेशनको तयारीले मङ्सिर ९–१३ को डेटलाइन मिट गर्न सकिन्छ ?

हामी महाधिवेशन गर्न सशक्तरूपमा लागेका छौँ । त्यही मितिमा महाधिवेशन हुन्छ । वडा, गाउँ र जिल्ला तयारी अवस्थामा छन् ।

तर, पौडेल पक्षले  विभिन्न बखेडा झिकेर महाधिवेशनको हलो अड्काएको आरोप देउवा पक्षको छ नि ?

यो बेकार कुरा हो । महाधिवेशन गर्ने काम सभापतिको हो । उहाँले आफूसँग निकटलाई क्रियाशील छानविन समितिको सदस्य बनाउनुभयो । केन्द्रीय कार्यालय सभापतिको टिमले चलाएको छ । अरूलाई भन्नु बेकारको कुरा हो ।

१३ औँ महाधिवेशनमा पार्टीको सत्तामा हुँदा पनि रामचन्द्र पौडेल समूह पराजित भयो । अहिले सरकार र पार्टी सत्तामा रहेका शेरबहादुरलाई हराउन सक्नुहोला र ?

राजनीतिकरूपमा शेरबहादुरको छवि राम्रो छैन । तर, राजकीय र पार्टी सत्ताको दुरुपयोग हुन्छ भन्ने आशङ्का छ । हाम्रोजस्तो देशमा त्यसको प्रभाव पनि हुन्छ भन्ने कुुरामा दुई मत छैन । त्योबाट पनि बचेर लोकतन्त्रलाई बचाउनुपर्छ भन्ने बुझेका काँग्रेसमा कार्यकर्ता हुनुहुन्छ । त्यसबाट बचाउने कुरामा म ढुक्क छु ।

तर, वर्तमान राष्ट्रिय राजनीतिमा देउवाको अपरिहार्यता बढेको छ । काँग्रेस देउवाको विकल्प छैन भन्नेहरू पनि त छन् नि ?

यो दृष्टिकोण राख्नै नपाउने भन्ने त होइन नि । यो पनि एउटा दृष्टिकोण होला । तर, यो राख्नै नपाउने भन्ने होइन । त्यो भोलि देखिन्छ नि ।

कम्युनिस्ट पार्टीमा आएको विभाजनले काँग्रेस अप्रत्यासितरूपमा सत्तामा पुगको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीलाई तपाईंको के सुझाव छ ?

काँग्रेसको सभापति, संसदीय दलको नेता देशको प्रधानमन्त्री हुनुहुन्छ । उहाँका अगाडि तीनवटा चुनौती छन् । पहिलो गठबन्धनलाई मिलाएर जाने । किनभने, नेपाली काँग्रेसको एकल सरकार होइन । दोस्रो, सरकारले डेलिभरी दिनुपर्ने चुनौती छ ।

सरकारले जनताका निम्ति गर्नुपर्ने काममा फरकपन महसुस गराउनुपर्छ । तेस्रो, सरकार चलाउने कार्यशैली फेर्नुपर्छ । जति जोगी आए पनि कान नै चिरिएको भन्ने छाप परेको छ, त्यो मेटाउनुपर्ने छ । यसका साथै कोरोना र भ्रष्टाचार नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्छ ।

गठबन्धनलाई मिलाएर लैजानुपर्छ भन्नुभयो । चुनावसम्म लैजानुपर्छ कि सरकार सञ्चालनका लागि मात्र ?

अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि हो । चुनावमा सँगै जाने कुरा सम्भव छैन । विचार मिल्दैन । सङ्गठन मिल्दैन । नीति मिल्दैन । कार्यशैली मिल्दैन । अहिले संविधान जोगाउन गठबन्धन गरियो । चुनावमा कसका विरुद्धमा गठबन्धन गर्ने ? काँग्रेस कसका विरुद्धमा चुनाव लड्छ ? त्यसैले, चुनावमा सबै आ–आफ्नो स्ट्रेन्थका साथ जानुपर्छ ।

सरकारले दल विभाजन गर्न सजिलो हुने गरी ल्याएको अध्यादेशबारे तपाईंको मत के हो ?

सिद्धान्ततः अध्यादेश ठीक होइन । संसदीय व्यवस्थामा अध्यादेशबाट देश चलाउनु राम्रो होइन । तर, कहिलेकाहीँ अध्यादेश नल्याइ नहुने परिस्थिति हुन्छ । अहिलेको सरकारलाई अध्यादेश नल्याइ नहुने बाध्यता थियो । यसलाई गलत व्याख्या गर्न थालियो । तर, यो अध्यादेशलाई व्यावहारिकरूपमा हेरिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप