अन्तरवार्ता

‘समाजवाद, साम्यवाद सबै सकिए’

म निरास छैन, निरस छु : केबी गुरुङ

person explore access_timeसाउन ८, २०७८ chat_bubble_outline0

बुधबार वीपी जयन्तीको दिन । नेपाली काँग्रेसका वयोवृद्ध (८८ वर्षीय) नेता कुलबहादुर (केबी) गुरुङको घर खोज्दै हामी ललितपुरको भनिमण्डलतर्फ भौंतारियौं । गुरुङ नयाँ घर किनेर भनिमण्डलबाट नख्खुतिर सरिसकेका रहेछन् । अन्ततः हामी मेडिसिटी अस्पताल नजिकै रहेको केबी गुरुङको निवासमा पुग्यौं ।

‘यो घर इन्डियन आर्मीमा कार्यरत कर्णेलको हो’ काँग्रेस नेता गुरुङले पूर्वघरमालिकलाई उधृत गर्दै काँग्रेसको हविगत सुनाए, ‘उनले मलाई भने, मेरो बाबु काँग्रेस, बाजे काँग्रेस, म पनि काँग्रेस नै हुँ । तर, मैले (यहाँ नउठेको मान्छेको नाम लिएर) काँग्रेसलाई भोट दिइनँ ।’

काँग्रेसका कार्यकर्तामा वितृष्णा बढेको सुनाउँदै नेता गुरुङले रातोपाटीसँग भने, ‘समस्या बढ्दैछ । यो महाधिवेशनलाई राम्रो मान्छेले सैद्धान्तिक, वैचारिक र व्यवहारिक ढङ्गले विचार गरेर सङ्गठन बोक्न सकेको खण्डमा अलिकति सुध्रिन्छ कि ?’

वीपी कोइरालासँगै राजनीतिक गरेका काँग्रेसका ज्येष्ठ नेता गुरुङसँग हामी पार्टीको वर्तमान स्थिति, महाधिवेशनको सरगर्मी र समसामयिक राजनीतिका बारेमा कुराकानी गर्न गएका थियौं ।

श्रवण शक्ति कमजोर हुँदै गए पनि ८८ वर्षीय गुरुङको बोलीचाहिँ कडा सुनिन्थ्यो । उनको लवजमा जोश र ओज झल्कन्थ्यो । सेतो कमीज लगाएर आराम गरिरहेका उनका अगाडि टेबलमा केही किताबहरू थिए ।

कुराकानीका क्रममा काँग्रेस नेता गुरुङले समसामयिक राजनीतिभन्दा पनि नेताहरुको धनसम्पत्ति र लवाइ–खवाइको बढी चर्चा गरे । रामचन्द्र पौडेलले काठमाडौंमा १२/१५ रोपनी जग्गा किनेको पटक–पटक दोहोर्याए । शेरबहादुर देउवाको जीवनस्तर फेरिएको चर्चा गरे ।

काँग्रेस नेता गुरुङसँग अन्तरवार्ता प्रारम्भ गर्नुअघि उनी को हुन् भन्ने एकचोटि स्मरण गरौँ :

विद्या भण्डारीका प्रत्यासी

२०७२ कात्तिकमा तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति बनिन् । इलाममा जन्मिएका काँग्रेस नेता केबी गुरुङले राष्ट्रपतिको चुनावमा भोजपुरमा जन्मिएकी विद्यादेवी भण्डारीसँग प्रतिस्पर्धा गरेका थिए । तर, हारे । जितेका भए कुलबहादुर नेपालको दोस्रो राष्ट्रपति हुने थिए, उनलाई कसैले चिनाइरहनुपर्ने थिएन ।

व्यवस्थापिका संसद (संविधानसभा) मा बहाल ५९७ सदस्यमध्ये ५४९ जनाले मतदान गरेका थिए । त्यसमध्ये भण्डारीले ३२७ मत पाएकी थिइन् भने काँग्रेस उम्मेदवार गुरुङले २१४ मत पाएका थिए ।

विद्या भण्डारीका प्रस्तावक प्रचण्ड र समर्थक कमल थापा थिए । लोकतान्त्रिक फोरमका विजय गच्छदारले पनि विद्या भण्डारीलाई समर्थन गरेका थिए । ४७ सांसदले भने मतदान गरेनन् । ८ मत बदर भयो । यो सबै जोड्दा पनि गुरुङलाई राष्ट्रपति बन्नका लागि मत पुग्ने स्थिति बनेन ।

२०७४ फागुन २९ गते विद्या भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भइन् । दोस्रोचोटि पनि काँग्रेसले राष्ट्रपतिको दौडमा भाग लियो । तर, दोस्रोपटक केपी गुरुङ अघि सरेनन् । काँग्रेसले कुमारी लक्ष्मी राईलाई विद्या भण्डारीसँग चुनाव लडायो । 

दोस्रोपटकको चुनावमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ जना मतदातामध्ये विद्या भण्डारीले संघबाट २४५ र प्रदेशबाट ४१५ जनाको मत पाइन् । प्रतिद्वन्द्वी काँग्रेसकी कुमारी लक्ष्मी राईले संघबाट ७८ र प्रदेशबाट ११६ जनाको मत पाइन् । नयाँशक्ति, नेमकिपा र विवेकशील साझाले कसैलाई मतदान गरेनन् ।

०४८ सालको संसदीय चुनावमा कुलबहादुर गुरुङको गृहजिल्ला इलाममा दुईवटा निर्वाचन क्षेत्रहरु थिए । क्षेत्र नम्बर १ बाट झलनाथ खनालले जिते । क्षेत्र नं २ बाट एमाले नेता मणिकुमार लिम्बुले काँग्रेस नेता केबी गुरुङलाई हराए । मणिले १९ हजार ७५९ मत ल्याउँदा कुलबहादुरले करिब २ हजार कम अर्थात १७ हजार ७४९ मत ल्याएर पराजय व्यहोरे । २००७ सालको राणाविरोधी आन्दोलनदेखि नै काँग्रेसमा योगदान गरेका उनी ०४८ को प्रतिनिधिसभामा आउन सकेनन् ।

०५१ सालको मध्यावधि चुनावमा इलाममा तीनवटा निर्वाचन क्षेत्र बने । एक नम्बरमा झलनाथले नै जिते । तीन नम्बरमा एमालेकै पदम भण्डारीले काँग्रेसका बेनुप प्रसाईलाई हराए । अनि एमालेको गढ भत्काउँदै क्षेत्र नम्बर २ मा कुलबहादुरले जित हासिल गरे । एमालेका पुरानै प्रतिद्वन्दी मणिकुमार लिम्बुलाई हराएर गुरुङ पहिलोचोटि प्रतिनिधिसभा सदस्य बने ।

काँग्रेसका पाका नेता गुरुङ शेरबहादुर देउवा वा रामचन्द्र पौडेलको दुबै गुटमा छैनन् । पार्टी कार्यालयमा पनि त्यति जान छाडेका उनी पौडेल र देउवा दुबैको आलोचना गर्छन् । भलै, १३ औं महाधिवेशनमा उनले देउवालाई सघाएका थिए । आगामी महाधिवेशनमा के गर्ने भन्नेबारे योजना बनाइनसकेको उनले रातोपाटीलाई बताए । काँग्रेसभित्र गुरुङले कसलाई समर्थन गर्छन् भन्ने कुराले सभापतिको हारजीतमा अर्थ राख्ने नेताहरु बताउँछन् ।   

०५६ सालको चुनावमा इलाम क्षेत्र नम्बर २ मा एमालेबाट सुवासचन्द्र नेम्वाङ र काँग्रेसबाट कुलबहादुर गुरुङवीच प्रतिस्पर्धा भयो । दुई ‘हेभी वेट’ को भिडन्तमा नेम्वाङले करिब २ हजारको मतान्तरमा गुरुङलाई हराए । त्यसअघि नै सुवास नेम्वाङले राष्ट्रिसभामा चार वर्षे कार्यकाल पूरा गरिसकेका थिए ।

०५६ को आम चुनावअघि कुलबहादुर गुरुङ ०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए । सोही साल एमाले–काँग्रेसको संयुक्त सरकारमा उनी शिक्षा र महिला वालवालिका मन्त्री बने । ०५६ सालको चुनावपछि भने काँग्रेसले बहुमत पाए पनि चुनाव हारेका कारण गुरुङ मन्त्री बन्न पाएनन् । एकपटक शेरबहादुर देउवाले उनलाई राज्यमन्त्री खानोस् भनेका रहेछन्, गुरुङले चाहिँदैन भनेर ठाडै अस्वीकार गरेको रातोपाटीलाई उनले सुनाए ।

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कुलबहादुर र सुवास नेम्वाङ इलामका बेग्लाबेग्लै क्षेत्रबाट लडे । २ नम्बरबाट नेम्वाङ विजयी भए भने क्षेत्र नम्बर ३ बाट कुलबहादुरले जिते । क्षेत्र नम्बर १ बाट झलनाथ खनाल विजयी भए । इलामबाट जितेका यी तीन नेताहरुमध्ये सुवास नेम्वाङ संविधानसभाको अध्यक्ष बने भने झलनाथ पछि गएर प्रधानमन्त्री बने । काँग्रेस नेता कुलबहादुर चाहिँ संसदबाट गणतन्त्र घोषणा गर्नेबेलामा अध्यक्षता गर्ने ‘भाग्यमानी’ ठहरिन पुगे । दोस्रो संविधानसभामा भने कुलबहादुर इलामबाट उम्मेदवार बनेनन् । बरु उनले त्यसको दुई वर्षपछि राष्ट्रपतिका लागि विद्या भण्डारीसँग प्रतिस्पर्धा गरे । अर्थात् यसो पनि भन्न सकिन्छ, काँग्रेसले उनलाई राष्ट्रपतिको हार्ने चुनावमा लडायो ।

काँग्रेसका पाका नेता गुरुङ शेरबहादुर देउवा वा रामचन्द्र पौडेलको दुबै गुटमा छैनन् । पार्टी कार्यालयमा पनि त्यति जान छाडेका उनी पौडेल र देउवा दुबैको आलोचना गर्छन् । भलै, १३ औं महाधिवेशनमा उनले देउवालाई सघाएका थिए । आगामी महाधिवेशनमा के गर्ने भन्नेबारे योजना बनाइनसकेको उनले रातोपाटीलाई बताए । काँग्रेसभित्र गुरुङले कसलाई समर्थन गर्छन् भन्ने कुराले सभापतिको हारजीतमा अर्थ राख्ने नेताहरु बताउँछन् ।   

काँग्रेस र माओवादी मिल्ने भन्ने कुरो केही छैन । त्यो नेचर (प्रकृति) मा हुने कुरा हो । स्वभावको कुरा हो त्यो । अब बीपी कोइराला र पुष्पलाल पहिले नेपाली काँग्रेसकै सदस्य त हुन् । उनलाई (पुष्पलाललाई) अर्को संसारको ध्याउन्न चल्यो, छाडिदिए । के फरक पर्यो र ? आखिर पुष्पलालले पनि यही नेपालमा राजनीति गरे । उनले के गरे ? आफू अगाडि बढ्ने कुरा  गरे । त्यति न हो ।

अन्तरवार्ताको शुरुमा हामीले काँग्रेस नेता गुरुङलाई हालचालबारे सोध्यौं–

दिनचर्या कसरी बिताइरहनुभएको छ ? टेबलमा किताबहरु पनि छन्, पढेर दिन बिताउँदै हुनुहुन्छ कि ?

यी किताब अध्ययनका लागि निकालेका होइनन् । यी पुराना हुन् । हुन त समाजवाद, साम्यवाद यी सबै अहिले पढिरहेका विषय होइनन् । उहिले–उहिले साम्यवाद र समाजवादको खुब चर्चा हुँदा किनिएका किताब हुन् यी । अहिले यी केही पनि पढिँदैन । अहिले न त साम्यवादको नाम बाँकी छ, न त समाजवादको कुरा नै । केही पनि छैन । अहिले सबै गौण भए । अब समाजवाद, साम्यवाद सबै सकिए । हुन त संसारमा सकिएको छैन होला । तर, मलाईचाहिँ उमेरले पनि यस्तो लागेको होला ।

अहिलेको राजनीतिक परिस्थिति जसरी गइरहेको छ, त्यसलाई हेर्दा कोही पनि वादमा अल्झिराखेको छैन । उहिले त ओहो ! साम्यवाद, समाजवाद ! अहिले त साम्यवाद, समाजवाद केही छ जस्तो मलाई लाग्दैन । छ होला, मैले थाहा नपाउन सक्छु । म त अब बूढो भएँ । ‘बुढो भयो सब रङ्ग गयो, आँगन भयो परदेश’ भनेजस्तै भएको छ । मेरा लागि त अब आँगनमात्रै संसार भयो । केही पनि छैन । त्यसले गर्दा म केही पनि थाहा पाउँदिन ।

आज सन्दर्भ बीपी जयन्तीकै परेको छ, नेपाली काँग्रेसले बीपीको समाजवाद छाड्यो त उसोभए ?

हेर्नोस्, यो वाद भनेको आ–आफ्नो पहुँच, व्याख्या र प्रचारका निम्ति मात्रै हो, अरू केही होइन । चाहे साम्यवाद होस् वा समाजवाद, मान्छेको उद्देश्य भनेको बिहान–बेलुका राम्रोसँग खान पाइयोस् भन्ने मात्र हो । राम्रो एउटा घरमा बस्न पाइयोस् । छोराछोरीले पढ्न पाऊन् । अथवा, त्यहाँभन्दा बढ्ता भन्ने हो भने विदेश जान पाइयोस् । त्यही हो ।

यो न समाजवादले दिइराखेको छ न त त्यो साम्यवादले नै दिएको छ । पहुँचले नै विदेश गइराखेका छन्, पहुँचले नै खानेकुरा खाइराखेका छन् । पहुँचले नै लाउने कुरा लाइराखेका छन् । यो कुरा न समाजवादले दियो, न साम्यवादले । यो न रसियाले दियो, न चाइनाले । अब चाइना पनि अमेरिकासँग प्रतिस्पर्धामा गयो । अनि केको समाजवाद, साम्यवाद ?

( दर्शनशास्त्रतिर लागेका गुरुङलाई हामीले समसामयिक राजनीतितर्फ तान्ने कोसिस गर्यौं । )

त्यसोभए अहिले नेपाली काँग्रेस र माओवादीले गठबन्धन गरेर ठीकै गरेका हुन् त ?

(बीपीकै पालामा फर्कंदै)हैन, हैन । काँग्रेस र माओवादी मिल्ने भन्ने कुरो केही छैन । त्यो नेचर (प्रकृति) मा हुने कुरा हो । स्वभावको कुरा हो त्यो । अब बीपी कोइराला र पुष्पलाल पहिले नेपाली काँग्रेसकै सदस्य त हुन् । उनलाई (पुष्पलाललाई) अर्को संसारको ध्याउन्न चल्यो, छाडिदिए । के फरक पर्यो र ? आखिर पुष्पलालले पनि यही नेपालमा राजनीति गरे । उनले के गरे ? आफू अगाडि बढ्ने कुरा  गरे । त्यति न हो ।

बीपीले पनि यहीँ बसेर राजनीति गरे, आफू अगाडि बढ्ने कुरा गरे । हो, गरिबलाई अगाडि लाने उनको भनाइ होला । कुनचाहिँले गरिबलाई अगाडि लगेको छ र ? बीपीले सबै गरिबलाई अगाडि ल्याउन सके ? सकेनन् नि ।

मसँग एकचोटि बीपीको जग्गाजमिन बाँड्ने विषयमा कुराकानी भएको थियो । मैले बीपीलाई भने, एक कुरेत (करिब एक बित्ता) जमिन रहुन्जेल त बाँड्ने कुरा रहिरहन्छ, त्यो अन्त्य हुँदैन । अनि एक कुरेत जमिन नभएको मान्छे पनि त छ । भनेपछि, जमिन नै सबैथोक होइन ।

सुवर्णजीले मसँग जमिन छ, बाँड्नोस् त भन्नुभयो । तर, बीपीले त्यो कसलाई बाँड्ने  ? आफ्ना कार्यकर्तालाई ? हो, यो प्रोब्लम हुन्छ । यो प्रोब्लमलाई सहजीकरण गरेर लिएर जानेचाहिँ नेता हुन्छ । बीपीले यसलाई सहजीकरण गरेर लिएर जाने कुरा गरे ।

धनमात्रै पनि सबैथोक होइन । त्यो के हो भन्दा मान्छेको स्वभाव हो । प्रशस्त मात्रामा धन कमाउनेहरू पनि छन् । धन नकमाई लफङ्गा भएर बिहान–बेलुकाको छाक जुटाएर खानेहरू पनि त यो समाजभित्रै छन् । त्यसकारण समाज भनेको धनसम्पत्ति कमाउने मात्रै होइन । समाज भनेको लफङ्गा पनि होइन । त्यसो हुनाले यी सबै थिङ्किङ (सोचाइ) मात्रै हुन् ।

हामी अलि दार्शनिक कुरातिर लाग्यौँ । हामीले राजनीतिक कुराकानी गर्न खोजेका हौँ । यहाँले समाजवाद र साम्यवाद भन्ने कुरा मानिसको सुख र आवश्यकतासँग जोडिन्छ भन्नुभयो । त्यसो हो भने अहिले देशमा जसरी काँग्रेस र कम्युनिस्टको एलाइन्स भइरहेको छ, यसलाई पनि नेचुरल (प्राकृतिक) नै मान्नुपर्छ कि ? हामीले कुराकानी सुरु गर्न चाहेको कहाँदेखि भने, सङ्घीय गणतन्त्र स्थापना भइसकेपछि, खासगरी २०७४ को चुनावपछि केपी ओली नेतृत्वको जुन कम्युनिस्ट सरकार बनेको थियो, यो तीन वर्षको राजनीतिलाई कुलबहादुर गुरुङले कसरी हेरिरहनुभएको होला ? 

(फेरि जग्गाजमीनकै चर्चा गर्दै)ओली अण्डरग्राउण्ड भएका बेला उनको भनाइ, गराइ के थियो भने जग्गा जसले जोत्छ, उसकै पोत हुन्छ । उसैको घर हुनुपर्छ, त्यो घर पोत्नेको हुनुपर्छ । उनले त्यहाँबाट सुरु गरे । अनि अन्तिममा गएर उनी त्यहीँ रहे त ? रहेनन् । उनले त ठूलो महल बनाउनुपर्यो । महल बनाए । शासनका साथमा, राम्रै बाजागाजा साथमा प्रधानमन्त्री छोडेर गए । उहाँ गएर अर्को संसारको कुरा गर्न थाले ।

केपी ओली जुनबेला झापामा लुखुर–लुखुर घुमेर बडो समाजवाद, सम्यवादको कुरा गर्थे, त्यो त सकियो । अनि के रहेछ त ? केही पनि होइन रहेछ । खालि के भने मान्छेले जे सोचेको छ, त्यो आफू माथि जाउञ्जेल, अगाडि बढुञ्जेललाई मात्रै हो ।

हो, एक–दुईजना दार्शनिकहरूले जस्तो– प्लेटोले सोचे । अरस्तुले सोचे । अनि बीपीले सोचे । गणेशमानजीको त्यत्रो धन सम्पत्ति थियो । सुवर्ण समशेरजीको त्यत्रो धनसम्पत्ति थियो । २०१६ सालमा सुवर्णजीले बीपीलाई भन्नुभयो, तपाईं समाजवादी नेता होइन ? बीपी त भारतका जयप्रकाश नारायणहरूसँग उठबस भएको समाजवादी नेता थिए । सुवर्णजीले बीपीलाई भन्नुभयो, ल मेरो यति जग्गा छ, तपाईं के गर्नुहुन्छ ? भनेपछि यी वाद भनेका कुरा खाली वादको निम्ति मात्र हुन् ।

तर, त्यस्ता (दार्शनिक) खालका नेताहरूले के सोच्छन् भने यो सबैलाई बराबरी होस् । पुगोस् न त । त्यो भनाइको सारमा सुवर्णजीले बीपीलाई भने, तपार्इं समाजवादी नेता, मेरो जग्गा यति छ, के गर्नुहुन्छ ? बीपीले समाजवादको सुरुवात गर्ने कोसिस त गरे, तर उनकै खेत बाँडेर त भएन नि । सुवर्ण मात्रै जग्गा जमिन भएका मान्छे त होइनन् । महावीर शमशेर मात्रै जग्गा जमिन भएका मान्छे त होइनन् । त्यस्ता जग्गा जमिन भएका मान्छे नेपालमा थुप्रै छन् । गणेशमानजीकै त्यत्रो जग्गा थियो । भनेपछि, यसलाई कसरी लैजाने भन्ने कुरा फिलोसफरहरूले सोच्छन् । उनीहरूको विचारमा यसलाई केही मात्रामा व्यवस्थापन गर्न सकियो भने केही मात्रामा खान नपाउनेले खान पाउँछन् । लाउन नपाउनेले लाउन पाए भने त्यो पनि एउटा उपलब्धि हो भन्ने सोचाइ मात्रै हो ।

बीपीको सोचाइ पनि त्यही भएर गयो । सुवर्णजस्तो चाँदीको थालमा सुनको चम्चीले खानेखालको धनाढ्य मान्छे कसरी तल झरे त ? तसर्थ, यो एउटा मान्छेको कन्सेप्सन, विचार हो । त्यही मात्रै हो । त्यसलाई हामीले कार्यान्वयन गर्न सकेको खण्डमा बराबरी हुन्थ्यो । तर, संसारमा यस्तो गर्दैमा, यस्तो भन्दैमा बराबरी होला त ? किन हुँदैन भने मान्छेको स्वाभाव हो ।

म काम नगरीकन खान चाहन्छु । मलाई बिहान–बेलुका खाना ल्याइदेओस्, मैले काम गर्नु नपरोस् । तर, कोही यस्ता मान्छे छन्– हैन काम गर्नुपर्छ, काम गरेर खानुपर्छ, पुनर्जन्ममा फेरि तिर्नुपर्छ भन्ने पनि छन् नि । हो, यी सबै कुरालाई लिएर समाजमा एउटा दह्रो हिसाब–किताबबाट कुनै उपाय आओस्, जसले समाज राम्रो होस् भन्ने भावना राख्छ, त्योचाहिँ समाजसेवी भयो । समाजसेवीहरू पनि हुन्छन् । तर, कति मान्छेले तीखालका कुरा सोच्लान् ?

(यति भनिसकेर गुरुङले एउटा दन्तेकथा सुनाए )

एउटा कथा छ नि । एउटा धनी बाबुको छोराले छिमेकमा रहेको गरीबको घरमा मीठो मसिनो पकाएर खाइरहेको देखेछ । र, उसले बाबुलाई भनेछ, गरिबको घरमा मीठो–मसिनो मजासँगले खाइराखेका छन् । तर, हामी धनीको घर भएर पनि किन हाम्रो घरमा मीठो खानेकुरा छैन ? खोई मीठो मसिनो खानेकुरा ?

अनि धनी बाबुले आफ्नो छोरालाई भनेछ, त्यो गरिबको छेउमा उसले नदेख्ने गरेर ९९ रुपैयाँ राखि दे ।

धनी बाबुको छोराले त्यसै गरेछ ।

त्यसपछि गरिबले ओहो ! यसमा १ रुपैयाँ थप्यो भने यो त सय हुन्छ । यसले विस्तारै खाने कुरा घटाएर पैसा बचाउन थालेछ ।

झापामा हुँदा ओली कस्ता थिए ? कुन ठाउँमा बसेर उनले गरिखाएका थिए ? तर, अहिले ओलीलाई हेर्नोस् त । त्यहीँ गएर बस्न सक्छन् अहिले ओली ? मान्छेको स्वाभाव कस्तो हुँदोरहेछ त ? त्यसकारणले यसलाई स्वाभाविकरूपमा, विस्तारै, क्रमवद्धरूपले लिएर जानुपर्छ भन्ने अहिलेका समाजवादी नेताहरूको मत हो । त्यस मतमा बीपी कोइराला पर्छन् जस्तो लाग्छ है मलाई । किनभने, उनले गर्नै त पाएनन् ।

(कथा भनिसकेर उनी फेरि बीपी र सुवर्णसमशेरतिरै लागे)

यो कथाजस्तै मान्छेमा जब तृष्णा बढ्छ नि, धन कमाउने, त्यही हो विचारहरू आउने । तर, तृष्णा बढ्न नदिन पढेलेखेका मान्छेले चाहिँ विचार गर्छन् । बीपीलाई नपुग्दो केही थिएन । तर, उनी (भारतका) समाजवादी नेताहरूको संसर्गमा गए । जयप्रकाश नारायणहरूको संसर्गमा गए । लोहियाहरूको संसर्गमा गए । भारतमा त यहाँभन्दा ज्यादा गरिबी छ । वीपी आफैँले पनि सुख्खा चना मात्रै खाएर पनि दिन काटेको इतिहास छ ।

यसले गर्दा यो सबैलाई अगाडि लैजान सकियो भने केही कुरो हुन्थ्यो कि भनेर बीपीले सुरु गरे । सुवर्णजीले साँचो अर्थमा त्यसो गरे । सुवर्णजीसँग प्रशस्त मात्रामा जग्गा जमिन थियो, त्यो सबै जग्गाजमिन राखेर उनलाई गर्नु पनि केही थिएन । त्यसले गर्दाखेरि बीपीलाई ल तपाईं समाजवादी नेता, मेरो यति बिघा जमिन छ, जे गर्नुपर्छ गर्नुहोस् भने । यस्ता नेताहरू पनि त भए ।

हो, यसरी राम्रोसँग जसरी लिएर जान्छ, त्यो राम्रो होला । सबै ठाउँमा एक–एक कुरेत जमिन भइन्जेलसम्म सबैलाई बाँड्न त सकिँदैन नि । यो समस्या सकिँदैन । तर, यसलाई यसरी वर्गीकरण गरेर, एक–एक कुरेत जमिन दिएर होइन । त्यसले पनि खान पाओस्, मैले पनि खान पाऔँ । असलमा यति त हो ।

सुवर्णजीले मसँग जमिन छ, बाँड्नोस् त भन्नुभयो । तर, बीपीले त्यो कसलाई बाँड्ने  ? आफ्ना कार्यकर्तालाई ? हो, यो प्रोब्लम हुन्छ । यो प्रोब्लमलाई सहजीकरण गरेर लिएर जानेचाहिँ नेता हुन्छ । बीपीले यसलाई सहजीकरण गरेर लिएर जाने कुरा गरे ।

जस्तो कि–किपटको समस्या थियो । जमिन्दारहरूले बिर्ता खाने मात्रै होइन, त्यहाँबाट पैसा पनि उठाएर खाने गरेका थिए । बीपीले त्यो बिर्ता उन्मूलन मात्रै गरेको हो । सरकारी मालपोत उसले उठाएर खान नपाउने, त्यो मालपोत सरकारमा आउनुपर्यो भनेका हुन् बीपीले । किपटको पनि त्यही समस्या थियो । यी सबै समस्यालाई लिएर जाने मात्रै कुरा गर्दैथिए, उनी जेल परे ।

त्यसपछि महेन्द्रले भूमि सुधार भनेर लाइदिए, जुन आवश्यकता त्यसबेला थिएन । एकैचोटि उनले भूमिसुधार लगाइएदिए । यतिभन्दा बढी जग्गा राख्न नपाउने भनिदिए । मैले जग्गा त पाएँ, तर म आफैँले खेती गर्नुपर्ने भो । मैले खेती गर्न सकिनँ, अनि मैले बेच्नुपर्ने भयो । तर, समस्या त समाधान भएन नि । हो, यसरी बीपीको सोचाइ र महेन्द्रको सोचाइमा फरक देखियो । काममा फरक पर्यो नि । 

हेर्नोस्, काँग्रेस कस्तो हुनुपर्छ, काँग्रेसले के गर्नुपर्छ भन्ने कुरा बीपीले जुन ढङ्गले सोचेका थिए त्यो त उनले गर्नै पाएनन् । सुवर्णजीले जुन कुरा भनेका थिए, मेरो जग्गा यति छ, लु गर्नोस्, त्यो पनि गर्न पाएनन् । गणेशमानजीको बिर्ता थियो, त्यो पनि गर्न पाएनन् । यसले गर्दा साँचो अर्थमा त्यसको परीक्षण हुनै पाएन । सबैजनाले आफ्नो–आफ्नो ढङ्गबाट लुकाए ।

यो व्यवस्थालाई सहजीकरण गरेर जाने दिमाग जुन बीपीमा थियो होला, किनभने उनले कामै गर्न पाएनन् । त्यसलाई राजा महेन्द्रले दिएनन् । आखिरमा राजा महेन्द्र पनि त फेल भए । बीपीले त गर्नै पाएनन् । त्यसकारणले, यो जुन सहजीकरण गर्ने कुरा छ, क्रान्तिले मात्रै हुँदैन, यसलाई विस्तारैसँग लिएर जानुपर्छ भन्न्ने कुरामा चाहिँ सुवर्णजी हुनुहुन्थ्यो । तर, सुवर्णजीले पनि सबै गर्न पाउनुभएन । किनभने बीपीको भक्त मात्रै हुनुभयो उहाँ ।

गणेशमानजीकी आमा प्रोब्लेम हुनुभयो । उहाँको बिर्ता जुन थियो, त्यसलाई आमाले यसोउसो गर्न पटक्कै मान्नुभएन । यस्तो हुँदैजाँदाखेरि विकृति आउँदै जान्छ । उहाँकी आमाले जीवनभर त्यो कुरा स्वीकार गर्नुभएन । पछि छोराहरूका पालामा विस्तारै–विस्तारै जाँदै थियो तर अहिलेको स्थिति बेग्लै भइहाल्यो । अहिले सम्झिनोस् न । ओलीलाई सम्झिऔँ न ।

(फेरि ओलीको चर्चा गर्दै) झापामा हुँदा ओली कस्ता थिए ? कुन ठाउँमा बसेर उनले गरिखाएका थिए ? तर, अहिले ओलीलाई हेर्नोस् त । त्यहीँ गएर बस्न सक्छन् अहिले ओली ? मान्छेको स्वाभाव कस्तो हुँदोरहेछ त ? त्यसकारणले यसलाई स्वाभाविकरूपमा, विस्तारै, क्रमवद्धरूपले लिएर जानुपर्छ भन्ने अहिलेका समाजवादी नेताहरूको मत हो । त्यस मतमा बीपी कोइराला पर्छन् जस्तो लाग्छ है मलाई । किनभने, उनले गर्नै त पाएनन् ।

अब अहिलेको नेपाली काँग्रेसका बारेमा कुरा गरौँ न । काँग्रेस चौधौं महाधिवेशनमा जाने तयारी गरिराखेको छ । अब नेपाली काँग्रेसको नीति र नेतृत्व कस्तो हुनुपर्छ ?

हेर्नोस्, काँग्रेस कस्तो हुनुपर्छ, काँग्रेसले के गर्नुपर्छ भन्ने कुरा बीपीले जुन ढङ्गले सोचेका थिए त्यो त उनले गर्नै पाएनन् । सुवर्णजीले जुन कुरा भनेका थिए, मेरो जग्गा यति छ, लु गर्नोस्, त्यो पनि गर्न पाएनन् । गणेशमानजीको बिर्ता थियो, त्यो पनि गर्न पाएनन् । यसले गर्दा साँचो अर्थमा त्यसको परीक्षण हुनै पाएन । सबैजनाले आफ्नो–आफ्नो ढङ्गबाट लुकाए ।

अब के हुन्छ ? तपाईं विचार गर्नोस् न । यो सिद्धान्त, यो दर्शन र यो आदर्शमा जानुपर्छ भन्ने कुनै नेताहरू छन् त ? नेपाली काँग्रेसका अहिलेका अगुवा नेताहरू भनेका शेरबहादुरजी, कृष्ण सिटौलाजी, रामचन्द्रजी । उनीहरूले के गर्न सक्छन् ? गरेका छन् त ?

रामचन्द्रजीले तनहँुबाट यहाँ आएर १२÷१५ रोपनी जग्गा हत्त न पत्त लिनुभयो । त्यो १२÷१५ रोपनी जग्गा अहिलेको अवस्थामा काठमाडौँमा ठूलै कुरा हो । तर, उहाँ तनहुँबाट आउँदाखेरि त सिङ्गल आएको हो नि, हैन ? तर, अब उहाँ छोड्न चाहनुहुन्न नि । छोड्न चाहनुहुन्छ ? भनेपछि, यो कसरी प्रोब्लम हुन्छ त भन्दा कसैले यसलाई ‘कर्टेल’ गर्न पनि सक्दैन ।

हो, अब नेपाली काँग्रेसले के गर्न सक्छ त ? शेरबहादुरजी डडेलधुराबाट यहाँ आउँदा कस्तो रूपमा आउनुभएको थियो, अहिले उहाँलाई सम्झना छ र ? त्यस्तै रामचन्द्रजीको पनि पारा त्यही न हो ।

काँग्रेसका युवाहरू नेताहरु नि ?

युवाहरू पनि को कम हुन चाहन्छन् र । मै सम्झिनुस् । म काठमाडौँमा आउँदा  सिङ्गल आएको हुँ । मेरो केही पनि थिएन । पढ्नका लागि बस्दा काठमाडौँमा बस्छु भन्ने कल्पना पनि गरिनँ । एकपटक सरकारले भन्सार छुटसहित सांसदलाई पजेरो सुविधा दिएको थियो । मेरा साथीहरूले त्यो गाडी बेचेर यहाँ जग्गा किने । म अहिले सोच्छु, ऊ बेलामा त्यो मान्छेले मसँग त्यसै लग्यो । मैले अलिअलि पैसा मागेको भए काठमाडौँमा जग्गा किन्थेँ नि बाबा ! १०÷१५ रोपनी किन्न सकिन्थ्यो त्यसबेला । नभए एकै रोपनी भए पनि काफी हुन्थ्यो । तर, मेरो दिमागमा त्यो आउन सकेन । अर्कैले लग्यो । त्यस्तै, अरू साथीले लगेर गए ।

कोही कोही आएर ‘तपाईं यसपालि सभापतिमा उठ्नुपर्यो’ भन्छन् ।  यस्ता–यस्ता कुरा भइराखेका छन् । इलाममा पनि भएको छ । कैलाली–कञ्चनपुराका साथीहरूले पनि सुरु गरिराख्नुभएको छ । अलिअलि सल्बलायो भने त्यो कुरा हुन्छ । तर, अब मलाई यो बेकार टाउको दुखाइ किन गर्नु भन्ने लाग्छ ।

म काठमाडौँ बसुञ्जेलसम्म यो कुरा आएन । अहिले म यहाँ आएर बस्नुपर्यो । यो ( आफू बसेको घर) पनि मेरो बलबुँताले होइन । छोरीले यूएनको जागिरबाट पैसा पठाएर यो जग्गा किनिराखेको हो । म यहाँ बसेर खाइराखेको छु । हो, मेरा बाउले कमाइदिएको इलाममा जग्गा जमिन छ । त्यही जग्गाको आम्दानीले यहाँ खान पाइराखेको छु । तर, साला ! त्योबेला यस्तो–यस्तो खालको परिस्थिति थियो, सस्तो न सस्तो थियो । मेरो दिमागमा आएन । तर, अन्तिममा यहाँ आएर बस्नै पर्यो ।

किन बस्नुपर्यो थाहा छ ? म इलाममा गएर बस्छु, हावापानी पनि राम्रो छ भन्दा छोराछोरीले ‘तँ बिमारी भइस् भने न डाक्टर पाउँछस् त्यहाँ, न औषधि पाउँछस् । हामी हत्तपत्त गएर तँलाई ल्याएर आउँदा यहाँ पुर्याउँदासम्म समय पनि बितिसकेको हुन्छ भन्छन् । छोरीले समस्या हुन्छ, तँ त्यहाँ बस्न पाउँदैनस्’ भनिन् । यसो विचार गर्छु हो पनि । म बिरामी पनि छु ।  बिरामी भएर अलि गाह्रो भयो भने म आउन पनि सक्दिनँ । समस्यामाथि समस्या हुन्छ । अनि उनीहरूले भनेको मान्नुपर्यो । छोरीले किनिदिएको घरमा बसिरहेको छु । इलामबाट चामल–सामल आउँछ खान्छु, बस्छु ।

तपाईंसँग काँग्रेसका नेताहरू सरसल्लाह गर्न आउँदैनन् ?

कहिलेकाहीँ फोन गर्छन् । दनादन विरोध गर्न थालेँ भने सबै आउँछन् । मलाई के लाग्छ भने, अब के विरोध गरी बस्नु ? पाउनुपर्ने केही पनि छैन । कि प्रतिस्पर्धामा गएर म प्रधानमन्त्रीमा जान्छु वा काँग्रेस सभापतिमा उठ्छु भन्नुपर्यो । मैले यसो भन्न थालेँ भने यसले के गर्न आँट्यो भन्छन् । म त्यो गर्दिनँ ।

कोही कोही आएर ‘तपाईं यसपालि सभापतिमा उठ्नुपर्यो’ भन्छन् ।  यस्ता–यस्ता कुरा भइराखेका छन् । इलाममा पनि भएको छ । कैलाली–कञ्चनपुराका साथीहरूले पनि सुरु गरिराख्नुभएको छ । अलिअलि सल्बलायो भने त्यो कुरा हुन्छ । तर, अब मलाई यो बेकार टाउको दुखाइ किन गर्नु भन्ने लाग्छ ।

कसैले राष्ट्रपति हुनुपर्यो भनेर प्रस्ताव गरेका छैनन् ?

भनेर मात्र कहाँ हुन्छ र ? भनिसकेपछि त्यो समस्यालाई पनि विचार गर्नुपर्यो नि । मैले हुन्छ भनिदिएँ भने एउटा तरङ्ग त आउँछ । तर, त्यो भनिदिनेवित्तिकै समस्या सिर्जना हुन्छ ।

काँग्रेसको सभापति पनि नहुने, प्रधानमन्त्री हुनेतिर पनि नलाग्ने, अब यो दौडधुपमा कतै नलाग्ने भन्ने तपाईंको चाहना हो ?

मैले चाहना गर्दैमा केही हुँदैन नि त । यहाँ अलिकति त अड्बाङ्गो हुनुपर्यो । कसैले भनेर कुरा गर्यो भने बेग्लै कुरा हुन्छ । तर, म त्यति साह्रो लोभी छैन । मैले अगाडिदेखि नै लोभ गरिनँ । त्यसकारण म पछाडिको पछाडि नै परेको हुँ ।

काँग्रेसको आगामी महाधिवेशनमा तपाईंले कसैलाई सघाउनु त होला नि ? काँग्रेसलाई तपाईंले सघाउने कुराले अर्थ राख्छ, अब कसलाई सघाउने त ?

एक्लैले फलानालाई सघाउँछु भन्न सक्दिनँ । हाम्रा साथीहरू छन्, समूह छ । साथीहरुले यसपालि यसो गरौँ भन्दा होइन, यसो गरौँ भनौँला । उनीहरूले होइन, यसो गरौँ भन्नु होला । अनि अन्तिममा गएर मिल्ने बाटोमा जानुपर्छ । यसै गर्छु भनेर मैले भन्नुहुँदैन । यसबारे हामीले आज जुम मिटिङमा पनि कुराकानी गरेका थियौँ ।

तपाईंको समूहले कसलाई सहयोग गर्ने भनेर निर्णय गरिसकेको छैन ?

म अहिले भन्न सक्दिनँ ।

नेृतत्वका लागि आफैँ अगाडि सर्ने भन्ने छैन ?

साथीहरूसँग आज अलिअलि कुरा भएको छ । उनीहरूले आ–आफ्नो कुरा राख्नुभएको छ । पहिलो चरण कुराकानी सकिएको छ । दोस्रो चरणमा विभिन्न जिल्लाका साथीहरूसँग कुरा गर्छौं । उनीहरूको पनि सुझाव लिन्छौँ । उनीहरूको जिल्लाका समस्याबारे पनि छलफल गरौँला । त्यहाँ हामीले कहाँ  कति कम्प्रोमाइज गर्न सक्छौँ, त्यसले कति फाइदा दिन्छ ।

रामचन्द्रजीले म एकपटक टेस्ट हुन पाउनुपर्छ भन्नुभएको छ । शेरबहादुरजीले फेरि मलाई एक चान्स भन्नुभयो । विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले यही महाधिवेशनबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्दैहुनुहुन्छ  । यहाँको विचारमा सिनियर नेता नै दोहोरिनु राम्रो हुन्छ कि दोस्रो पुस्तालाई सभापति बनाउनु राम्रो ?

मैले कसैलाई पनि सोचेको छैन ।

काँग्रेसमा अहिले पुस्ता हस्तान्तरण जरुरी छ कि छैन ?

पुस्ता, व्यक्ति, वाहियात कुरा हो । बीपी पुस्ता, गणेशनमानको पुस्ताले चल्छ ? मलाई त विश्वास छैन । पुस्ताले चल्ने भएर त गंगालालको पुस्ताले पनि चल्नुपर्ने हो । बीपीको छोरो यति पढेको छ, उसले गर्नुपर्छ सम्भव छ होला । तर, केही पनि देखिँदैन । किनभने, बीपीको छोराजस्तै अरूका छोरा पनि त्यही उमेरको होला । तर, बीपीको छोराले त डाक्टर पढ्न पायो । उसले अवसर लियो । अर्कोले अवसर लिन पाएन । फरक  यत्ति न हो । अनि अपरच्युनिटी लिनेलाई चाहिँ फाइदा, अपरच्युुनिटी नलिनेलाई बेफाइदा ? यो कुुरालाई आजको नेताले कसरी लिन्छन् त ।

रामचन्द्रजीले तनहुँबाट आएर यहाँ एकैचोटि १२ रोपनी जग्गा ठ्याक्क लिएर बस्नुभयो । त्यस्तै काँग्रेसमा दुःख गरेको तनहुँको मान्छे पनि छन् नि यहाँ ? तर, उसको १२ रोपनी जग्गा छैन । त्यसलाई हामीले कसरी हेर्ने त ? अहिले रामचन्द्रजी र शेरबहादुरजी मिलेर गोविन्दराज जोशीजीलाई लखेट्नुभयो । चुप बस्नुभयो उहाँ पनि । ठीकै छ । अब उहाँले क्रियाशील सदस्यता नवीकरण गर्दिनँ भन्नुभयो । अब उनीहरूलाई समस्या भयो । नवीकरण गर्न खोज्दा खबदार तँ काँग्रेस हुन पाउँदैनस् भन्ने । उहाँले नवीकरण गर्नुभएन । समस्या त भयो । स्वतन्त्र भएको मान्छेलाई कसरी तह लगाउने ? उहाँ काँग्रेसभित्र छैन । काँग्रेसभित्र भए पो तँलाई अनुशासनको कारबाही गर्छु भन्न हुन्थ्यो । पश्चिमतिर पनि यही समस्या छ । यसले अप्ठ्यारो स्थिति आउँछ ।

त्यसोभए काँग्रेसको महाधिवेशन सर्छ कि कि ?

महाधिवेशन सारेर जे–जे गरे पनि समस्या त सर्दैन नि । भोलि त्यही समस्या बढी हुन्छ । त्यसैले ज्यादा मात्रामा लोभीपापी हुनुहुँदैन । बीपीले कहिल्यै पनि लोभीपापी कुरा गरेनन् । बीपी प्रधानमन्त्री हुँदा भाइ निजी सुरक्षाकर्मी थिए । यसले यो बिगार्यो भन्दा निकालिदिए । यो अहिले कुनै नेताले गर्ला ?

सरकार त ओलीजीको पनि दह्रो नै थियो । अबको दुनियाँ सरकारमा हुँदैमा सबै कुरा हुँदैन भन्ने कुरा ओलीको सरकारले देखाएको छ । ओली सरकार ढाल्ने माधव नेपाल पनि उनकै पार्टीका हुन् ।

अहिले बनेको देउवा नेतृत्वको सरकार कसरी हेर्नुहुन्छ ? देउवाजीलाई फोन गरेर बधाई दिनुभयो ?

छैन । म यहाँ भर्खर आएको थिएँ । यो घर इन्डियन कर्नेलको हो । उसले के भन्यो भने मेरो बाउ काँग्रेस, बाजे काँग्रेस र म पनि काँग्रेस । तर, मैले यसपालि यहाँ नउठेको मान्छेको नाम लिएर भोट दिन्नँ भन्नुभयो । मान्छे कस्ता भइसके । अहिले सोचेजस्ता मान्छे छैनन्, हुँदैनन् ।

तर, पैसाले पनि मान्छे किनेर चुनाव जित्न सक्छन् । कतिले पैसाले किन्ने पनि गरिराखेका छन् । कतिले किनेर पनि गर्न सकेका छैनन् । यो समस्या बढ्दैछ । यो महाधिवेशनलाई राम्रो मान्छेले सैद्धान्तिक, वैचारिक र व्यावहारिक ढङ्गले विचार गरेर सङ्गठन बोक्न सकेको खण्डमा अलिकति सुध्रिन्छ कि जस्तो लाग्छ ।

काँग्रेसको सरकार त चल्छ होला नि ? प्रधानमन्त्री देउवालाई तपाईको के सुझाव छ ?

सरकार त ओलीजीको पनि दह्रो नै थियो । अबको दुनियाँ सरकारमा हुँदैमा सबै कुरा हुँदैन भन्ने कुरा ओलीको सरकारले देखाएको छ । ओली सरकार ढाल्ने माधव नेपाल पनि उनकै पार्टीका हुन् ।

मैले सहजताका साथ भनें ए... राज्यमन्त्री त कसैको अन्डरमा खानुपर्छ, कसको अन्डरमा राख्न आँट्नुभयो ? उहाँले नाम लिनुभयो । एए... भनें । अनि जुरुक्क उठेर ल देउवाजी मलाई यसपालि राज्यमन्त्री नदिनुहोला । तपाईंलाई एड्जस्ट गर्नलाई गाह्रो परेको होला, मैले आफैंले भोगेको कुरा हो, अरू कसैलाई दिनुस् भनेँ ।

हिजोसम्म प्रचण्ड पनि उनकै पार्टीमा थिए । किन सकिए उनीहरू ? ओलीजीसँग प्रचण्डजी बडो अङ्कमाल गरेर जानुभएको थियो । देउवालाई प्रचण्डजीले उता छोडेजस्तो गरेर आएका हुन् । सरकार हुनु नहुनु, खानु नखानु ठूलो समस्या हो ।

यसरी नै गयो भने त बेग्लै कुरा होला । तर, नजान पनि त सक्छ, जान पनि सक्छ । नेपालमा जुन किसिमको परिस्थिति विकसित भएर गएको छ, सधैँ यस्तै हुन्छ, यसरी नै जान्छ भन्ने मलाई लाग्दैन । देउवाजीले पश्चिमतिर आफूलाई ठूलो ठान्नुहुन्थ्यो । उहाँको गढ विस्तारै विस्तारै भत्किँदै गइराखेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिमै भएर पनि तपाई अचेल पूरै निष्क्रिय हुनुहुन्छ । सानेपा तपाईंका लागि बिरानो बन्नुको कारण के हो ?

म चुनावमा लडेर केन्द्रीय सदस्यमा आएको मान्छे हुँ । नभए मलाई निकालिसक्ने थिए । योबीचमा म साह्रै अल्छी भएँ । म मिटिङमा पनि जाँदिनँ । यी सबै समस्याका कारण म मिटिङमा नगएको हुँ । अहिले नेपाली काँग्रेसमा वितृष्णा ज्यादा छ । केन्द्रीय नेतालाई हेरेर तीनपुस्ते काँग्रेसले भोट दिन छोडेको अवस्था छ ।

१३ औँ महाधिवेशनमा तपाईं प्रस्तावक बसेको उम्मेदवार शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । तर, तपाईं काँग्रेसको राजनीतिबाट किन टाढिनुभयो भन्ने छ नि ?

यसलाई यसरी बुझौँ, देउवा (पहिलो पटक) प्रधानमन्त्री हुनुभएको थियो । म सांसद थिएँ । उहाँले मन्त्रिमण्डल गठन गरिसक्नुभएको थियो । मलाई बोलाउनुभयो । म गएँ । अनि मलाई केबीजी, मैले तपाईंलाई मैले अहिले अरू गर्न सकिनँ । राज्यमन्त्री खानुस् भन्नुभयो ।

मैले सहजताका साथ भनें ए... राज्यमन्त्री त कसैको अन्डरमा खानुपर्छ, कसको अन्डरमा राख्न आँट्नुभयो ? उहाँले नाम लिनुभयो । एए... भनें । अनि जुरुक्क उठेर ल देउवाजी मलाई यसपालि राज्यमन्त्री नदिनुहोला । तपाईंलाई एड्जस्ट गर्नलाई गाह्रो परेको होला, मैले आफैंले भोगेको कुरा हो, अरू कसैलाई दिनुस् भनेँ ।

उहाँले ए केबीजी भोलि १२ बजेसम्म सोचेर कुरा गर्नुस् है भनेपछि फरक्क फर्केर भनें, तपाईंको यो राज्यमन्त्री खानलाई मैले २४ घण्टा सोच्नुपर्दैन देउवाजी । अहिले नै के भन्नुपर्छ, कसलाई भन्नुपर्छ, म तयार छु भनेर निस्केको मान्छे हुँ ।

देउवाजीले हल्ला गर्नुभयो । यही हो राज्यमन्त्री नखाएको, यही हो है भन्दै हिँड्नुभयो । यसमा देउवाजीको मात्रै दोष होइन, अन्य नेताले पनि यसलाई फुलमन्त्री दिनुहुँदैन भन्न लगाएका हुन् ।

 १३ औँ महाधिवेशनमा देउवालाई जिताउन लाग्नुभएको थियो । अहिले देउवासँगको टसलले सानेपा जानै छोड्नुभयो भन्ने छ नि ?

–त्यस्तो केही छैन ।

तपाईंले काँग्रेसप्रति जनतामा वितृष्णा बढेको छ भन्नुभयो । तर, आगामी चुनावमा त काँग्रेसले बहुमत ल्याउने विश्लेषण हुँदैछ नि ? काँग्रेसमा उत्साह पो छ भन्छन् त ? तपाईंचाहिँ किन निरास ?

–म कहाँ निरास ? मेरो एकजना कवि साथीले म निरास छैन बरु निरस छु भन्थ्यो क्या ! म पनि निरास छैन, बरू निरस छु ।

काँग्रेसको भविष्य त अब राम्रै होला नि ?

काँग्रेसको भविष्य राम्रो छ । राम्रो भएर गएको छ पनि । तर, भविश्य राम्रो हुँदैमा लेखनाथजीले भनेजस्तो डोकोमा गाईंको दूध दुही को खान पाउँछ र ? । राम्रो परिस्थिति छ भनेर डोकोमा गाई दुहेर खान सकिँदैन नि । नेतृत्वमा खुबी चाहिन्छ । नेतृत्वमा त्यो तागत हुनुपर्छ, नेतृत्वले सम्हाल्नुपर्छ ।

नेपालमा गणतन्त्र घोषणा गर्ने तपाईं भाग्यमानी नेता पनि हुनुहुन्छ, जसले त्यो ऐतिहासिक कालखण्डको नेतृत्व गर्न पाउनुभयो । तपाईंले त्यो क्षणलाई कसरी स्मरण गर्नुहुन्छ ?

हेर्नुस् तपाईंले भाग्यमानी नेता भन्नुभयो, के भन्नुभयो । मलाई त्यस्तो केही लाग्दैन । गणतन्त्र घोषणा गर्ने समयमा चेयरमा बसेको थिएँ । गणतन्त्र आउँदैछ, राजा फ्याकिँदैछन् भन्नेखालको कुरा कोक्रोमा नानी हल्लिएसरह हल्लियोस् न यो । पूर्वमेचीदेखि पश्चिममा महाकालीसम्म राजा किन हट्दैछ, राजालाई कसले हटाउँदैछ ।

के राजाको विरोधी माओवादी थियो ? राजाको विरोधी नेपाली काँग्रेस थियो ? दुवैले संवैधानिक राजतन्त्र मान्छौँ भनेकै थिए । राजाको शक्ति घटाउनुपर्छ भनेर प्रस्ताव राख्दा माओवादी नेताहरूले राजा मान्छन् र ? भनेर दिल्लीमा भनेका थिए ।

यहाँ त राजाले सोचे, दुई÷चार दिनका लागि मात्र सोचे कि बा ? बा उसको मिति पुगेर हो । राजा फ्याँकिन सक्छन् भन्ने कुरा न माओवादीले सोचेका थिए, न नेपाली काँग्र्रेसका नेताहरूले सोचेका थिए । राजाका ग्रहदशा कस्तो कमजोर रहेछन्, फ्याट्ट गए । राजाले अडान लिन सकेनन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।