म, विमलेन्द्र र प्रकाशमानमध्ये एकजना सभापतिमा उम्मेदवार हुनुपर्छ
नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने बताएका छन् । पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताए । तेरो र मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको टिप्पणी पनि उनले टिप्पणी गरे ।
प्रस्तुत छ, आसन्न महाधिवेशन , क्रियाशील सदस्यता तथा नयाँ नेतृत्वका सम्बन्धमा नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालासँग न्युज एजेन्सी नेपालले गरेको अन्तरवार्ताको सम्पादित अंशः
आसन्न महाधिवेशनको तयारी कहाँसम्म पुगेको छ ?
सबैभन्दा पहिला म पार्टीकै तयारीको कुरा गर्न चाहन्छु । अहिलेसम्म क्रियाशिल सदस्यताको टुंगो लाग्न सकेको छैन । यो अन्त्य अन्त्य सम्म आइपुगेको छ । मलाई लाग्छ यो महिनाको अन्त्य सम्म क्रियाशिल सदस्यताको अन्तिम टुंगो लाग्छ र एउटा खाका तयार हुन्छ त्यसपछि हामी अधिवेशन तर्फ जान्छौ । अहिले पार्टीको ध्यान नै क्रियाशीलतर्फ छ । आज पनि हाम्रो मिटिङ भएको थियो । क्रियाशिल सदस्यतामा के गर्ने भनेर कुरा भएको थियो । केन्द्रीय सदस्यहरु रामचन्द्र दाइ, शेखर डाक्टर साहेब, मिनेन्द्र रिजाल र अन्य सदस्यहरु पनि हुनुहुन्थ्यो । हामी क्रियाशिल सदस्यतालाई कसरी टुंगो लगाउने भनेर छलफल गर्दै थियौ । क्रियाशिल टुंगो नलगाइकन त हामी महाधिवेशनमा जान सक्तैनौँ । त्यही नै अवस्था हो ।
क्रियाशिल सदस्यता तत्काल टुंगो लाग्न सक्ने अवस्था देखिएको छैन । यसले महाधिवेशनलाई प्रभाव पार्छ कि भन्ने आशंका पैदा भएको छ । कि त्यो आशंका गलत हो ?
यो महिना भित्र क्रियाशिल सदस्यता टुंगो लगाउन सकिएन भने त आशंका त भइहाल्यो नि । यति जटिल नि क्रियाशिल सदस्यको बारेमा , हरेक जिल्लामा केही न केही छ । भन्छन् ४६ जिल्लामा भइसक्यो । त्यसमा पनि उजुरीहरु आएको छ, त्यसलाई पनि हेर्नुपर्यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुदैन । प्रश्न चिन्ह चाहिँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । र हामी क्रियाशिल सदस्यता छिटो टुंग्याउँ भनेर भरमग्दुर प्रयास गर्दैछौ ।
अहिले शीर्ष नेताका तीनजना पुत्र नेताहरुको संयुक्त भेटघाटलाई लिएर विभिन्न विश्लेषण भएका छन् । अर्को गुट आउन खोज्यो अथवा शक्ति केन्द्रीत गर्न खोजियो भनेर पनि टिप्पणी भएका छन् । खासमा के थियो तपाईंहरुको बैठकमा ?
खासमा विमलेन्द्र निधिले नै इनिसियट गरेको हो । सबै भन्दा पहिले उहाँको बैबाहिक सम्बन्धको ३५ बर्ष भएको थियो । त्यो दिन प्रकाशमान सिंह र मलाई बोलाउनुभयो । दोश्रो पटक यही मिटिङ गर्यौ र तेश्रो पल्ट प्रकाशमानजीको मा । हाम्रो भनाई के थियो भने, हामी पनि एकै ठाउँमा उभिनुपर्यो । सभापतिका लागि हामी ३ जना मध्ये कोही लड्छ भने ठिकै भयो । हामी मध्ये एकता हुनुपर्यो भन्ने कुरा आयो । यसमा धेरै कुराहरु उत्पन्न छन् । एउटा कि विमलेन्द्र निधिले शेरबहादुरजीलाई छाड्नुभयो भने भन्ने पनि संकेत देखिन्छ । दोश्रो कुरा हामी तिनै जना मध्ये एकजना लड्ने, तर त्यत्तिले पुग्दैन । रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ , प्रकाशमान र म त छदै छु । विमलेन्द्र निधि हुनुहुन्छ । मैले के भनेँ भने, हामी तीन जनाबाट ५ जना गरौ, ५ जनाबाट ७ जना गरौं, ताकि हामी एउटै सूत्रमा बाँधिन सकौ भन्ने धारणा हाम्रो थियो । तर यता आएर हाम्रो बीचमा केही छलफल भएको छैन ।
हामी तीनजना एकठाउँमा उभियौ भने वेभ पनि आउँछ र पार्टी संगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै गर्नुभएको रहेछ विमलेन्द्र निधिले । राम्रो पनि भयो । नकारात्मक पक्षहरू पनि छन् तर त्यो भन्दा भन्दै पनि हामीले तीनैजना एकै ठाउँमा (नेतापुत्रहरु) एकै ठाउँमा उभियो भने नेपाली कांग्रेस एकैठाउँमा आउँछ भन्ने संकेत चाहिँ प्रष्टै रुपमा दिएको छ ।
मुलुकको समुल राजनीतिक अवस्था प्रतिकुल भएकाले नेतृत्व परिर्वतन नगरौ भन्ने आवाज पनि छ फेरि यता नेतृत्व परिवर्तनका लागि तपाईंहरुको पहल पनि भइरहेको छ । ठयाक्कै समय आएको हो पुस्तान्तरण वा नेतृत्व परिवर्तनको ?
समय त आएको छ । मेरो भनाइ के हो भने अधिवेशन आउँदै छ, हामीले अधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्छ । किनभने हाम्रो दुर्दशा भएको छ अहिलेको अवस्थामा । यसलाई दृष्टिगत गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामी तीन जना नेता पुगेका छौ । कसरी हुन्छ परिर्वतन ? कसले गर्छ परिर्वतन ? त्यो प्रश्न त आजसम्म यथावत नै छ । तसर्थ, हामी ३ जना, ५ जना, ७ जना हुदै समूहलाई ठूलो पार्दै गयो भने एकै ठाउँमा उभिन सक्ने संभावना हुन्छ । त्यसले पार्टीलाई पनि मजबुत पार्छ । एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ र एकजना मात्रै उम्मेदवार भयो भने हामी सजिलोसंग पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले यो प्रोग्राम सञ्चालन गरेको हो ।
तीनै जना नेतृत्वको आकांक्षी हुनुहुन्छ , कि त व्यवस्थापन गर्न पर्यो, कि त तिनै जना लड्नुपर्यो । व्यवस्थापन गर्न सकिन्छ ? कुनै उपायहरु छन् ?
यो त हामीबीचको वार्ताबाट नै समाधान हुनसक्छ । होइन भने त तीनै जनाले लड्नुपर्यो । वार्तामा बसेर कुनै टुंगोमा त पुराउनुपर्यो नि । हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौ भनेर त एकजना मात्रै उभिनु पर्यो नि । तीनै जना उभियौ भने त फेरि परिर्वतन हुदैन । त्यसैले हामी तीन जनाले यति चाहिँ के भन्नुपर्यो भने हामी मध्ये एक जना उभियौ भने चाहिँ सजिलोसंग हस्तान्तरण हुन्छ भन्ने कुराको पुष्टि हुन्छ भन्ने मलाई लागेको छ ।
अनि त्यो समयमा रामचन्द्र र शेरबहादुर देउवाको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
शेर बहादुरजीको त धेरै उमेर पनि भइसक्यो । रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ । उहाँको राजनीति धेरै उतारचढाव भयो । तर मलाई लाग्छ उहाँले पनि अघि आएर अभिभावकको रुपमा लिनुपर्ने हो ठाउँ तर उहाँ पनि प्रत्यासी त हुनुहुन्छ । उहाँलाई हामीले सम्झाउन सक्नुपर्यो कि तपाई अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस् । मलाई लाग्छ शेरबहादुरजीको पनि त्यही नै अवस्था देखिन्छ । धेरै बुढो भइसक्नुभयो । उहाँहरु कतिञ्जेल सम्म राजनीति गरिरहनुहुन्छ त ? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरु आफै लड्ने विचार गर्दै हुनुहुन्छ । यसरी चाहिँ अप्ठयारो हुन्छ ।
अहिले महामन्त्री हुनुहुन्छ । तपाईंको आफ्नो तयारी कस्तो छ ? आफ्नो उम्मेदवारीलाई कसरी स्थापित गर्नुहुन्छ ?
सबै भन्दा पहिले त मैले देशभरका कांग्रेसका कार्यकर्ताहरुसंग भेटघाट गरिरहेको छु । उनीहरुको राय, सल्लाह, सुझाव एउटा त्यो भयो । दोश्रो कुरा नेताहरुबीचमा पनि संवाद हुनु जरुरी छ । हुन त कुरा भइरहेको छ नभएको होइन । शेखर दाइ, प्रकाशमानजी, रामचन्द्रजी र विमलेन्द्र जीसँग पनि कुरा त भइरहेको छ । हामी यही आधारमा अगाडि बढ्यो भने हामी एउटा टुंगोमा पुग्छौ । म हुन्छु वा को हुन्छ । जो सुकै होस् एकजना उभिनुपर्छ अहिलेको दृष्टिकोण मेरो त्यही नै हो ।
आफ्नो कार्यकालमा शशांक कोइरालाले बोल्नुपर्ने बेलामा बोलेनन्, कार्यकाल सकिएको समितिले भटाभट नियुक्तिहरु गर्यो, त्यसमा दह्रो गरि बोलेनन् । नेतृत्वले आफ्नो हिसाबले पेलेर नियुक्ति दिने, मनोनय गर्ने कुराहरु भए, त्यो बेला पनि बोलेनन् । जुन बेला नबोल्नुपर्ने थियो धर्मनिरपेक्षता लगायत विषयमा त्यसबेला बोले किन ?
म भन्न चाहन्छु । एउटा त शेरबहादुर हाम्रो सभापति हाम्रो यत्रो हार भयो चुनावमा हरेकले उहाँलाई विरोध गरे । म मात्रै एउटा व्यक्ति थिएँ जसले उहाँलाई डिफेण्ड गरें । मैले के भनेँ भने उहाँको मात्रै गल्ति होइन । हामी पनि पदाधिकारीहरु हौ । हाम्रो पनि उत्तिकै गल्ती हो । मैले ढाल बने शेर बहादुर जीको । मैले शेरबहादुरजीलाई धेरै सेभ गरेको हो । र मैले नै विरोध गरिदिएको भए त पार्टी एक त छिन्नभिन्न छन् झन बिग्रेर जान सक्ने अवस्था देखेर मैले शेरबहादुरजीको ढाल बनेर उहाँलाई प्रोटेक्ट गरेको हुँ । नत्रभए त मैले पनि त बोल्न सक्थेँ नि । तपाईले भन्नुभयो किन बोलिनस् भनेर ? त्यही उत्तर म तपाईलाई दिदै छु । मैले बोलेको भए उहाँको विरोधमा बोल्नुपथ्र्यो । विरोधमा बोलेको भए अवस्था के हुन्थ्यो पार्टी भित्र ? त्यो हिसाबले मैले नबोलेको ।
तर यता पार्टी विधान, संविधानभन्दा बाहिर गएर बोलेको चाहिँ किन ? एक पटक होइन तीन तीन पटक धर्मको बारेमा बोल्दिनुभयो । जुन बेला समयनै थिएन.... ।
हाम्रो संविधान बन्दै थियो । त्यो बेला मैले सुशिल दा लाई भनेँ ‘ हेर्नुहोस् सुशिल दा, यो विपि कोइरालाले बनाएको पार्टी यो चारतारे झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक हो । तपाईले धर्मनिरपेक्षता किन गर्दैहुनुहन्छ ? उहाँ हतारमा हुनुहुन्थ्यो । ५ ,७ दिन मात्रै बाँकी थियो । उहाँले भन्नुभयो ‘यो प्रेसर छ मलाई के गर्छस् । पछि यो चेञ्ज गरौंला ’ । त्यो भनिसकेपछि मैले बोल्ने कुरा आएन । किनभने संविधान नै दिनुभएन भने त सुशिल कोइराला पनि फेलियर भएर जानुहुन्छ । उहाँले अन्तमा संविधान दिन त सफल हुनुभयो नि । यो त नेपाली कांग्रेसका लागि ठूलो उपलब्धि हो नि । त्यो उपलब्धि पनि जान सक्ने संभावना देखेँ । त्यसैले मैले धेरै प्रेसर गरिनँ उहाँलाई ।
सभापतिको उम्मेदवारी दिँदै गर्दा यहाँका मुद्दाहरु के के हुनेछन् ?
सबै भन्दा पहिला पार्टीलाई एकजुट बनाउने कुरा छ । हाम्रो धरासायी हुने प्रथम कारण के हो भने टुक्रा टुक्रा भएको, गुटउपगुटहरुले ध्वस्त पारेको छ । सभापति (शेरबहादुर देउवा) आजको मितिमा पनि तेरो मान्छे , मेरो मान्छे भन्नुहुन्छ । उहाँ त सबैको सभापति हो नि । उहाँले आफ्नो धारणा परिर्वतन गरेको भए उहाँनै सफल सभापति हुनुहुन्थ्यो तर उहाँले आजको मितिसम्म ‘उसको मान्छे ,मेरो मान्छे’ भन्नुहुन्छ । म के चाहन्छु भने पार्टीलाई एक बनाऔ । पार्टीभित्र अहिलेको विधान राम्रो विधान होइन । विपि कोइरालाले सभापतीय पद्धतिमा जानुपर्छ अर्थात् सबैलाई चुनाव लड्न नदिएर केही सिटहरुचाहिँ मनोनित हुनुपर्छ किनभने प्रेसिडेन्सियल सिस्टममा प्रेसिडेन्ट त चुनावबाटै आउनुपर्यो तर ऊ आईसकेपछी उसले आफ्नो शक्तिलाई सन्तुलित राख्नका लागि मनोनित गर्ने ठाउँ हुनुपर्यो । सबैले लडेर हुदैन । अधिवेशन भइसकेपछि महासमिति डाकेर यो विधानमा परिर्वतन ल्याउनुपर्छ भन्ने मैले सोचेको छु ।
शासकीय स्वरूपलाई पनि सत्तारुढ दलले बहसमा ल्याउनुपर्छ भनेको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गरिरहेको छ । यसमा तपाईको टिप्पणी के छ ?
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय धेरै बर्षदेखि उठिरहेको छ । म चाहिँ वेस्ट मिनिस्टर सिस्टममा नै विश्वास गर्छु । पहिले दलको नेता हुन्छ । हाउसमा आफ्नो बहुमत ल्याउँछ । त्यही अनुसार हामी जानुपर्छ । प्रेसिडेन्सियल सिस्टम, डाइरेक्ट चुनाव प्रेसिडेन्सको , त्यो हाम्रो लागि राम्रो हुदैन ।
अन्त्यमा, अब महाधिवेशनकै प्रसंग, क्रियाशिल सदस्यको छिनोफानो, उम्मेदवारको लगायत टुंगो लागेर महाधिवेशनको अर्को कार्यतालिका कहिलेसम्म आउला ?
सबै भन्दा पहिला त क्रियाशिल सदस्यतालाई यो महिनाको अन्तिमसम्म टुंग्याउनुपर्छ । त्यसमा हामी लागि रहेका पनि छौ । समिति बनाएर जिम्मा पनि लगाएका छौ । अरु पार्टीबाट आएका पनि समावेश हुनुपर्यो । बिजय गच्छदारको पार्टी, सुनिल थापा जीको पार्टीको क्रियाशिलहरु पनि समावेश हुनुपर्यो र त्यसपछि हाम्रो आन्तरिक पनि समावेश हुनुपर्यो । मलाई लाग्छ यो शिघ्र नै सम्पन्न हुन्छ । त्यसमा फेरि विवाद भयो भने हाम्रो अधिवेशनलाई नै असर गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेको १० घण्टा नबित्दै ठगी मुद्दाका अभियुक्त रिहा
-
रेलले ठक्कर दिँदा भारतमा कम्तीमा ७ जनाको मृत्यु
-
जापानमा बर्ड फ्लुको सङ्क्रमण : ५० लाख कुखुरा र चराको मृत्यु
-
सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा
-
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
-
अमेरिकामा ट्रम्पको मनपरी रोक्न के छ तरिका ?