माधवकुमार नेपालमाथि केपी ओलीका आरोपै आरोप
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालमाथि आरोपै आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपालले लामो समय पार्टीको नेतृत्व गरेको तर त्यस क्रममा पार्टी खुम्चिएर कचौरा जत्रो हुन पुगेको बताए ।
माधवकुमार नेपालको कार्यकालमा एमाले सडक र संसद दुवै मोर्चामा खुम्चिएको ओलीको भनाइ छ । माधवकुमार नेपाल पार्टीको नेतृत्वमा रहँदा होस् वा सरकारको नेतृत्वमा रहँदा होस्, पार्टीलाई सिध्याउने भूमिकामै केन्द्रित रहेको उनले बताए ।
माधवकुमार नेपालको एकमात्र उद्देश्य एमाले फुटाउनु नै रहेको ओलीले बताए । आफूले एकताका लागि बारम्बार प्रयास गर्दा पनि माधव नेपालले पार्टी फुटाउने उद्देश्य राखेकै कारण एकताको प्रयास सार्थक हुन नसकेको उनले प्रस्ट पारे ।
माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशसभामा एमालेको बहुमत हुँदा हुँदै माओवादीलाई काँधमा बोकेर सरकारको नेतृत्व सुम्पिएको ओलीको आरोप छ । कर्णाली प्रदेशमा आफ्नो पार्टीको प्रस्ट बहुमत हुँदाहुँदै पनि माधवकुमार नेपालले नै एमालेका चार सांसदलाई फ्लोर क्रस गराएर एमालेको सरकार बन्न नदिएको आरोप उनले लगाए ।
एमालेले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार उठाउँदा माधवकुमार नेपालले विपक्षीसँग साँठगाँठ गरेर अर्को उम्मेदवारलाई जिताउने भूमिका निर्वाह गरेको भन्दै ओलीले एमालेकै नेतृत्वमा रहेको संघीय सरकारलाई पनि अनेक ढंगले विस्थापित गर्न भूमिका निर्वाह गरेको आरोप माधवकुमार नेपालमाथि लगाए ।
‘नेकपा एमालेको सरकार प्रतिगामी हो, एमालेको सरकार ढालेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाइ पाउँ भनेर राष्ट्रपतिकोमा हस्ताक्षर गरेर जाने,’ माधवकुमार नेपालमाथि आरोप थप्दै ओलीले भने, ‘सर्वोच्च अदालतमा पनि ओलीको सरकार अपदस्थ गरिपाउँ, शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरिपाउँ भनेर जाने ।’
यसका बाबजुद आफू पार्टी एकता कायम राख्नका लागि वार्ता समिति बनाउँदै गरेको, कार्यदल बनाउँदै गरेको, के के चाहियो भनेर उनीहरुसँगै सोध्दै गरेको भन्दै ओलीले आफ्ना हरेक प्रयास बाबजुद पार्टी एक ढिक्का राख्न नसकेको बताए ।
सरकारले एमाले फुटाउन कै लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र यस क्रममा माधवकुमार नेपालसँग कति प्रतिशत सांसद र केन्द्रीय सदस्य छन् भन्ने हिसाब गरेर अध्यादेशमा पनि दल विभाजनका लागि सोही अनुसारको प्रतिशत उल्लेख गरिएको ओलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
