शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–नेपाल सम्बन्धको पहेली !

४९ वर्षमा टुंगियो ओली–नेपाल सहयात्रा
बिहीबार, ०३ भदौ २०७८, १४ : १४
बिहीबार, ०३ भदौ २०७८

माले–एमाले विभाजनको घाउ २४ वर्षपछि फेरि बल्झिएको छ । नेकपा एमाले बुधबारदेखि औपचारिकरुपमा फुटेको छ । केपी शर्मा ओली र माधवकुमार नेपालबीचको सहयात्राले ५० वर्षमा पाइला टेक्न नपाउँदै विश्राम लिएको छ ।  

एमाले अध्यक्ष ओलीले १४ सांसदमाथि गरेको कारवाही गरेलगत्तै वरिष्ठ नेता नेपालले नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेपछि अब एमाले विधिवतरुपमा विभाजित भएको छ । अब ओलीको नेतृत्वमा नेकपा (एमाले) र नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) पार्टी अस्तित्वमा रहने भएका छन् ।

२०५४ सालमा नेकपा एमाले विभाजन भएर ०५८ मा पुनः एकीकृत भएको थियो । त्यसबेला नेता वामदेव गौतमले महाकाली सन्धीको विरोध गर्दै सीपी मैनाली, सहाना प्रधानसहितका नेताहरुलाई समेटेर नेकपा (माले) गठन गरेका थिए । २०५४ सालमा एमाले विभाजन हुँदा एउटै कित्तामा रहेका ओली र नेता नेपाल २४ वर्षपछि फरक–फरक पार्टीमा उभिन पुगेका छन् ।

ओली र नेपालबीचको सम्बन्ध ४९ बर्ष पुरानो हो । झापा आन्दोलनका क्रममा ओली र नेपालबीच २०२९ सालमा चिनापर्ची भएर त्यसयता एउटै आन्दोलनमा रही उनीहरुले सहयात्रा गर्दै आएका थिए । नवौं महाधिवेशन अघिसम्म पार्टीभित्र ओली र नेपाल लामो समयसम्म एउटै गुटका नेता थिए ।

२०५१/०५२ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने सरकारमा माधव नेपाल रक्षा र परराष्ट्रमन्त्री थिए भने केपी ओली गृहमन्त्री थिए । विदेश भ्रमणमा पनि उनीहरु सँगसँगै जान्थे ।

एउटै राजनीतिक लाइन !

नेकपा एमाले (पूर्वमाले) का संस्थापक महासचिव सीपी मैनालीको विश्लेषणलाई आधार मान्ने हो भने ओली र नेपालको राजनीतिक लाइनमा भिन्नता छैन । केपी ओली पनि मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) लाई मान्छन्, नेपाल पनि जबजलाई नै मान्छन् । विगतमा दुबैले महाकाली सन्धिलाई समर्थन गरेकै हुन्  । र, भारतलाई हेर्ने दृष्टिकोण पनि दुबै नेताको एउटै छ ।

२०५४ सालमा एमाले–माले विभाजित हुँदा राष्ट्रियताको मुद्दा प्रखर बनेको थियो । महाकाली सन्धीको पक्ष र विपक्षमा एमाले नेताहरु बाँडिएका थिए । तर, अहिले एमसीसी वा त्यस्तो कुनै सन्धी सम्झौतामा ओली र नेपालबीच मतभेद देखिएको होइन ।

एमाले–माले विभाजनका बेला सीपी मैनाली जबजका आलोचक थिए । तर, मालेका मुख्य नेता वामदेव गौतम भने जबजकै पक्षपाती थिए । एमाले–माले दुबैको सिद्धान्त जबज नै थियो, तैपनि उनीहरु फुटे । सिद्धान्त एउटै हुँदा फुटेका वामदेव गौतम एमालेमा फर्किए, महाकाली सन्धी र जबज नमान्ने सीपी मैनाली भने अहिले पनि मालेमै छन् ।

नेपाल र ओलीले आपसमा मिलेर आफूहरुलाई पार्टीभित्र दमन गरेपछि बाध्य भएर विद्रोह गर्नुपरेको पूर्वमाले खेमाका अर्का नेता राधाकृष्ण मैनालीको भनाइ छ ।

सीपी मैनालीका दाजुसमेत रहेका उनी रातोपाटीसँग भन्छन्, ‘पार्टीभित्र आफूहरुसँग असहमत हुने पक्षलाई लखेट्न माधवजी र ओलीजी बराबर हुनुहुन्थ्यो । महाकाली सन्धिपछि दुबै मिलेर हामी (माले पक्षधर) लाई लखेट्ने काम भयो । महाकाली सन्धिपछि फरक मत राख्नेहरूलाई लखेट्ने सवालमा ओलीजी र माधवजीको गठजोड भयो ।’

राधाकृष्ण मैनाली थप्छन्, ‘अहिले जसरी ओलीजीले माधव पक्षमाथि दमन गरिरहनुभएको छ, त्योबेलामा महाकाली सन्धिको विपक्षमा रहेका हामीमाथि पार्टीभित्र यस्तै दमन थियो । त्यसपछि बाध्य भएर हामीले नेकपा (माले) बनाएका थियौं । अहिले पनि माधवजीले आफूखुशी अर्को पार्टी बनाउन गइरहेका होइनन्, बाध्यताले हो । हामीले पनि त्योबेला यस्तै बाध्यताका कारण अर्को दल बनाउनुपरेको थियो । त्यो बेलासम्म ओलीजी र माधवजीको नङ–मासुजस्तै सम्बन्ध थियो ।’​

नेकपा एमालेमा जबजमाथि प्रश्न उठाउने नेताहरुमा शुरुमा सीपी मैनाली र झलनाथ खनाल थिए । पाँचौं महाधिवेशनमा मदन भण्डारीले ल्याएको  जबजको कार्यक्रमलाई झलनाथ खनालले ‘दक्ष प्रजापतिको टाउको’ को संज्ञा दिएका थिए भने सीपी मैनालीले जबजको विकल्पमा ‘परिमार्जित नौलो जनवाद’ को प्रस्ताव ल्याएका थिए ।

पाँचौं महाधिवेशनमा मदन भण्डारी, माधव नेपाल, केपी ओली र वामदेव गौतमसमेत एउटै लाइनमा उभिएपछि जबजको लाइन पास भयो, सीपी मैनालीको लाइन पराजित भयो । अन्ततः महाधिवेशनमा झलनाथ खनाल पनि जबजतिरै उभिए ।

पार्टीमा योगदानका हिसाबले केपी ओलीको भन्दा माधव नेपालको बढी भूमिका रहेको मालेका संस्थापक सीपी मैनालीले केही समय अघि रातोपाटीसँगको कुराकानीमा बताएका छन् ।

एमालेमा ओली र नेपालको योगदानबारे चर्चा गर्दै मैनाली भन्छन्, ‘माले आन्दोलनमा सबभन्दा बढी भूमिका माधवकुमार नेपालकै हो । उनी र म मिलेर ०३१ सालमा अपिल जारी गर्यौँ । २०३२ सालको जेठ २४–२५ गते हामीले नै कोअर्डिनेसन केन्द्र बनायौँ । त्यसै बेलादेखि माधव नेपाल पार्टीको दोस्रो मान्छे थिए ।...केपीलाई त्यसबेला पनि के आरोप लाग्ने गर्दथ्यो भने यो बढी गफ गर्छ, काम कम गर्छ ।.... परिस्थितिवश संघर्षमा केपी ओलीको भूमिका कम रह्यो । जेलमा बसेर दमन उत्पीडनलाई प्रतिवाद गर्नु बेग्लै हो ।’

‘आठौं महाधिवेशनको युवा टिम’

नेकपा एमालेको आठौं महाधिवेशनमा युवा पुस्ताको एउटा टीम बन्यो, जसले झलनाथ खनाललाई साथ दियो र उनी अध्यक्ष बने । झलनाथलाई त्यसरी साथ दिनेहरुमा घनश्याम भुसाल, योगेश भट्टराई, रामकुमारी झाँक्री लगायतका युवा नेता थिए । यो समूहलाई एमालेमा ‘आठौं महाधिवेशनको युवा टिम’ भनेर चिनिन्छ । यो टिमले आठौं महाधिवेशनमा ७० पृष्ठ लामो बेग्लै दस्तावेज प्रस्तुत गरेको थियो । नेतृत्वमा खनाल आए पनि राजनीतिक लाइन भने आफ्नो पास भएको यो टिमले दाबी गर्दै आएको छ । र, यो टिमलाई ओली पक्षले ‘जबज विरोधी’ बताउने गरेको छ ।

आठौं महाधिवेशनमा ३६ जना प्रतिनिधिले बेग्लै समूहको प्रतिनिधित्व गरेका थिए । तीमध्ये घनश्याम भुसाल,योगेश भट्टराई डा. विजय पौडेल, परशुराम मेघी गुरुङ, अरुण नेपाल र  प्रकाश ज्वाला मिलेर दस्तावेज तयार पारेका थिए ।  

रोचक त के छ भने घनश्याम भुसालको नेतृत्वमा बनेको युवाहरुको यो टिमले आठौं महाधिवेशनमा झलनाथलाई सघाइरहँदा माधव नेपालचाहिँ अध्यक्षका उम्मेदवार बनेका केपी ओलीसँगै थिए । तथापि आठौं महाधिवेशनमा माधव–ओली गठबन्धनले हार्यो र झलनाथ–वामदेव–घनश्याम गठबन्धनले जित्यो ।

नवौं महाधिवेशनमा फेरिएको समीकरण

नवौं महाधिवेशनमा झलनाथ खनाललाई छाडेर वामदेव गौतम केपी ओलीतिर लागे । माधव नेपाललाई भने आठौं महाधिवेशनको युवाहरुको टिमले साथ दियो । झलनाथ खनालले पनि नेपाललाई नै साथ दिए । यो महाधिवेशनमा माधव नेपालले ओलीको कित्ता छाडेर झलनाथ खनाल र युवाहरुको कित्ता रोजे । वामदेव चाहिँ ओलीको कित्तामा सिफ्ट भए ।  

यसरी आठौं महाधिवेशनमा एउटै कित्तामा रहेका ओली र माधवले नवौं महाधिवेशनमा आइपुग्दा अध्यक्षमा चुनावी प्रतिस्पर्धा गरे । तर, थोरै भोटले नेपाल अध्यक्षमा पराजीत भए । वामदेवको साथ पाएका ओलीले जिते ।

र, यहीँदेखि एमालेको पार्टी–सत्तामा केपी ओली हावी हुन थाले भने माधव नेपालचाहिँ निरन्तर किनारामा धकेलिँदै कारवाही भोग्नेसम्मको स्थितिमा पुगे ।

माधव नेपालबाट अलग्गियो ‘आठौं महाधिवेशनको युवा टिम’

नवौं महाधिवेशनमा ‘आठौं महाधिवेशनको युवा टिम’ ले माधव नेपाललाई अध्यक्षमा सघायो । एमालेमा यो युवाहरुको यो टिमलाई झलनाथ खनालको वैचारिक ‘ब्याकअप’ रहेको मानिँदै आएको छ । र, अहिले यो टिमलाई मध्यमार्गी धार वा एकताको पक्षधर धारका रुपमा लिने गरिएको छ ।

माधव नेपालले यो समूहलाई ‘धोकेबाज’ समूह ठानेका छन् भने ओलीले चाहिँ यस समूहका नेताहरुलाई तटस्थ राख्ने र माधव नेपाललाई एक्ल्याउने प्रयास गरिरहेका छन् । एक हदसम्म ओली यसमा सफल देखिएका छन् ।

नवौं महाधिवेशनमा माधव नेपालले हारे पनि नेपाल पक्षबाट चुनाव लडेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल र सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्यको टिमले पदाधिकारीमा जितेको थियो । महासचिवमा भने सुरेन्द्र पाण्डेले ६ भोटले ईश्वर पोखरेलसँग हार व्यहोर्नुपरेको थियो । पदाधिकारीमा ओली अल्पमतमा परेका थिए भने केन्द्रीय समितिमा चाहिँ बहुमतमा थिए ।​

नवौं महाधिवेशनमा माधव नेपालले पाएको यो सफलताका पछाडि  यही ‘आठौं महाधिवेशनको युवा टिम’ को भूमिका थियो । अहिले यो टिमले केपी ओलीसँग लड्ने कुरामा नेपाललाई साथ दिए पनि पार्टी विभाजन गरेर नयाँ दल दर्ता गर्ने कार्यमा भने साथ दिएको छैन । यद्यपि, घनश्याम भुसालको समूहमा रहेकी रामकुमारी झाँक्रीले भने माधव नेपाललाई साथ दिएकी छिन् । झाँक्रीले ‘आठौं महाधिवेशनको युवा टिम’ लाई छाडेकी छिन् । उता, नवौं महाधिवेशनमा भुसालहरुको टिममा नरहेका भीम रावल, युवराज ज्ञवाली लगायतका नेताहरु अहिले थपिन आइपुगेका छन् । यसले गर्दा आठौं महाधिवेशनको युवा टिममा फेरबदल आएको छ । 

अन्ततः एमाले विभाजित भइसकेको छ । अब ‘आठौं महाधिवेशनको युवा टिम’ कतातिर लाग्छ भन्ने टुंगो छैन । यो समूहसित तीनवटा विकल्पहरु देखिन्छन् : एक, माधव–झलनाथतिरै लाग्ने । दुई, केपी ओलीतिरै लाग्ने । र, तीन, अलग्गै केही गर्ने ।  

माधव नेपालको ‘भवितव्य’

सरकारले अध्यादेश ल्याएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित १४ सांसदलाई कारबाही गरेका थिए । अन्ततः कम्युनिस्ट आन्दोलनको यात्राका क्रममा ४९ बर्ष सहयात्रा गरेका नेताहरु २०७८ साल भदौ २ देखि फरक–फरक पार्टीमा अनुबन्धित बनेका छन् ।

आखिर एउटै राजनीतिक लाइन हुँदाहुँदै केपी ओली र माधव नेपाल किन एकै ठाउँ रहन सकेनन् ? दुईवटा बेग्लै पार्टी बनाउनुपर्ने राजनीतिक/वैचारिक मतभेद के आइपर्यो ? अथवा, ओली र नेपालबीच एकै ठाउँमा बस्नै नसक्ने के कारण आइलाग्यो ?

यसमा माधव नेपालको तर्क सुन्ने हो भने केपी शर्मा ओली दक्षिणपन्थी लाइनमा गएको हुनाले नेकपा एमाले पुनर्गठन गर्नुपरेको हो ।

निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दिइएको निवेदनमा नेता नेपालले नेकपा एमालेलाई ओलीले दक्षिणपन्थी दिशातिर लगेको हुनाले बेग्लै पार्टी बनाउनुपरेको बताएका छन् । त्यसअघि नेता नेपालले एक अपील जारी गर्दै पार्टी पुनर्गठनको औचित्यमाथि प्रकाश पारेका छन् ।

पार्टी पुनर्गठन गर्नुपर्ने कारण बताउँदै नेता नेपालले आफ्नो अपीलमा भनेका छन्, ‘पार्टीको ठूलो पंक्तिलाई अन्धकार भविष्यतिर धकेलिने र निराशाको अवस्थामा पुग्न नदिन तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ । नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ ।’​

 नेता नेपालले अगाडि भनेका छन्, ‘पार्टीको नवौँ महाधिवेशनले मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने मूल नीति पारित गरेको थियो । तर, त्यही महाधिवेशनबाट पार्टी अध्यक्षमा चुनिएका केपी ओलीले महाधिवेशनका निर्णय बोक्दै बोक्नुभएन । उहाँ पार्टी महाधिवेशनप्रति इमान्दार रहनुभएन ।’

नेकपा एमालेलाई केपी ओलीले नै विभाजनतर्फ धकेलेको नेपालको आरोप छ । उनले भनेका छन्, ‘पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक बसी नेकपा (एमाले) को नवौं महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने जस्ता निर्णय गरी नेकपा (एमाले) लाई विभाजनतर्फ धकेलिदिनुभयो ।’​

क्रान्तिकारी पार्टी बनाउने दाबी

एमाले–माले विभाजन हुँदा नेता माधवकुमार नेपाल पार्टीको सर्वोच्च निकाय महासचिव पदमा थिए । अहिले ओली अध्यक्ष भएका बेला नेकपा एमाले र नेकपा एमाले (समाजवादी) का रुपमा दल विभाजन भएको छ ।

यसअघि मंगलबार सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । राष्ट्रपतिले उक्त अध्यादेश बुधबार स्वीकृत गरेकी थिइन् । राष्ट्रपतिले स्वीकृत गरेको अध्यादेशमा दल विभाजन हुन कुनै पनि पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत संख्या पु¥याएर नयाँ पार्टी गठन गर्न सकिने व्यवस्था छ ।

नेपाल नेतृत्वमा बनेको नेकपा एमाले (समाजवादी) पार्टीमा ३१ जना सांसद छन् । त्यस्तै साविक एमालेका ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको नयाँ पार्टीको केन्द्रीय समिति बनाइएको छ । ‘आठौं महाधिवेशनको युवा टिम’ ले धोका दिए पनि नेता नेपालले युवाहरुलाई समेटेर पार्टी अगाडि बढाउने अठोट गरेका छन् ।

माधव नेपालको अध्यक्षतामा गठन भएको नयाँ पार्टीमा झलनाथ खनाललाई वरिष्ठ नेताका रुपमा राखिएको छ । दल दर्तापछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले नयाँ पार्टीलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएपछि राष्ट्रिय सम्मेलन गर्ने र नयाँ क्रान्तिकारी पार्टीका रुपमा अघि बढाउने बताए ।

त्यस्तै उनले नेकपा एमालेमा अल्मलिएर रहेका नेताहरुलाई पनि चाँडो नयाँ पार्टीमा आउन आग्रह गरे । ‘एमालेमा रहेका साथीहरुसँग रहेका साथीहरुसँग हाम्रो व्यवहार शत्रुतापूर्ण रहँदैन । अल्मलिएर बसेका साथीहरुलाई आउन आग्रह गर्छु’, पाण्डेले भने, ‘अरु कम्युनिस्ट पार्टीसँग पछि पार्टी एकता हुन सक्छ । तर, ओलीसँग पार्टी एकता हुँदैन ।’

यसैबीच, नेकपा एमालेका प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चाहिँ नेपालमा फुटेको पार्टीको भविष्य नरहेको दाबी गरेका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप