शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : महन्थको आफ्नै दुःख, काँग्रेसमा नयाँ सहमति

शुक्रबार, १५ साउन २०७८, २१ : ५१
शुक्रबार, १५ साउन २०७८

आज २०७८ साउन १५ गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा काँग्रेसको क्रियाशील सदस्यता विवाद नयाँ मापदण्ड बनाएर टुङ्ग्याइने, एमाले केन्द्रीय कार्यालयमा साउन १५ मनाउँदै खीरको भोज, उपेन्द्र यादवलाई चुनौती दिन महन्थ ठाकुर न्यायालयमा, लुम्बिनी प्रदेश प्रमुख शेरचनको पद बहाली कार्यक्रम प्रदेश सरकारबाटै ‘बहिष्कार’, पूर्व माओवादी नेताहरुको रिट निवेदनमाथि आज पनि सुनुवाई भएन, प्रधानसेनापतिसँग भारतीय सेना प्रमुखको फोन वार्ता लगायत छन् ।

१. काँग्रेसको क्रियाशील सदस्यता विवाद नयाँ मापदण्डका आधारमा सल्टाउने सहमति

नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद नयाँ मापदण्डका आधारमा सल्टाउने गरी शीर्ष नेताहरुबीच सहमति बनेको छ । शुक्रबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुको बैठकमा क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन नयाँ मापदण्ड बनाउने सहमति जुटेको हो । यद्यपि पार्टीको १४ औं महाधिवेश भदौमै हुनेमा भने आशंका बढ्दै गएको छ ।

२. साउन १५ मनाउन एमाले कार्यालयमा खीरको भोज

प्रमुख प्रतिपक्ष नेकपा एमालेले साउन १५ का अवसरमा पार्टी मुख्यालयमा खीरको भोज आयोजना गरेको छ । सो अवसरमा ओली पक्षका नेता तथा कार्यकर्ताहरु उल्लेख्य रुपमा सहभागी भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल लगायतलाई भने आमन्त्रण गरिएन । कार्यक्रममा माधवकुमार नेपालको चर्चासमेत गरियो । पार्टीका महासचिव ईश्वर पोखरेलले माधव समूहलाई अब धेरै पर्खिन नसकिने बताए ।


३. उपेन्द्र यादवलाई चुनौती दिन महन्थ ठाकुर न्यायालयमा

निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि महन्थ ठाकुरले न्यायालयमा रिट निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगमा मुद्दा विचाराधीन रहेकै समयमा निर्णय प्रक्रिया नै रोक्न माग गर्दै रिट निवेदन दिएका उनले आयोगको निर्णय आइसकेको अवस्थामा उक्त निर्णय खारेजीको मागसहित अर्को निवेदन दिएका छन् । उनले दायर गरेका दुवै रिट निवेदनउपर सर्वोच्च अदालतमा आइतबार सुनुवाई हुने भएको छ । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले लगाउमा राखी पेस गर्ने आदेश दिएको छ ।


४. लुम्बिनी प्रदेश प्रमुख शेरचनको पद बहाली कार्यक्रम प्रदेश सरकारबाटै ‘बहिष्कार’

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार पद बहाली गरेका छन् । उनको पद बहाली कार्यक्रममा भने प्रदेश सरकारका तर्फबाट कोही पनि सहभागी भएन । यसअघि पदमुक्त भएका प्रदेश प्रमुख धर्मनाथ यादवलाई भने प्रदेश सरकारले एक कार्यक्रमका बीच बिदाई गरेको थियो ।


५. पूर्वमाओवादी नेताहरुको रिट निवेदनमाथि आज पनि भएन सुनुवाई

पूर्वमाओवादी नेताहरुले आफूमाथिको कारवाहीलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाई भएन । रिट निवेदक पक्षका कानुन व्यवसायीकै आग्रहमा शुक्रबार सुनुवाई स्थगित भएको हो । यसअघि बिहीबार पनि उक्त रिट निवेदनको पेसी तोकिएको थियो तर इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेका कारण सुनुवाई हुन सकेको थिएन ।

६. प्रधानसेनापतिसँग भारतीय सेना प्रमुखको फोन वार्ता

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भारतीय सेना प्रमुख एमएम नरभानेले शुक्रबार फोनवार्ता गरेका छन् । दुई पक्षका बीच सुरक्षा सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

७. लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपाका तीन सांसदमाथि कारवाही

लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपा नेपालका तीन सांसदलाई पार्टीले कारवाही गरेको छ । कारवाहीसँगै उनीहरुको सांसद पद खारेज भएको छ । शुक्रबार लुम्बिनी प्रदेशसभा सचिवालयले उनीहरुमाथिको कारवाही विवरणसम्बन्धी सूचना प्रकाशित गरेको हो ।

८. एसएसबीले तुइन काट्दा नेपाली युवक बेपत्ता, न्याय दिलाउन काँग्रेसको माग

दार्चुलामा तुइनबाट महाकाली नदी तर्ने क्रममा नेपाली युवा बेपत्ता भएको घटनाको वास्तविकता बाहिर ल्याएर पीडित पक्षलाई न्याय दिलाउन काँग्रेसले सरकारसँग माग गरेको छ । भारतीय सुरक्षा बल ‘एसएसबी’ ले तुइन काट्दा ती युवक नदीमा खसेर बेपत्ता भएको आरोप छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनाको वास्तविकता प्रकाश पार्न र पीडित पक्षलाई न्याय दिलाउन माग गरेका हुन् ।

९. प्रतिनिधिसभामा एमसीसीबारे काँग्रेस नेता प्रदीप गिरी र एमाले नेता भीम रावलको बहस

प्रतिनिधिसभामा एमसीसीबारे बहस भएको छ । शुक्रबार काँग्रेस नेता प्रदीप गिरी र एमाले नेता भीम रावलले एमसीसीका बारेमा प्रतिनिधिसभामा बहस गरेका हुन् ।


१०. तीन हजार ६११ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ६११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने एक हजार ८१६ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,

चर्चित ३३ किलो सुन काण्डमा फरार रहेका प्रतिवादी ‘भोजे मामा’ भनिने भोजराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई गौशालाबाट नियन्त्रणमा लिएको हो ।


नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गर्दै नेपाललाई चिनियाँ सहयोग जारी रहने प्रतिबद्धता जनाएकी छन् ।


नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग सडक आयोजनाको काम १६ प्रतिशत सम्पन्न भएको जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप