शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसका विवादित सदस्यबारे निर्णय लिन नयाँ मापदण्ड बनाउने शीर्ष नेताबीच सहमति

शुक्रबार, १५ साउन २०७८, १७ : ११
शुक्रबार, १५ साउन २०७८

 नेपाली काँग्रेसका शीर्ष नेताबीच विवादित क्रियाशील सदस्यता टुंग्याउन नयाँ मापदण्ड बनाउने सहमति भएको छ । शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा करिब ४ घण्टा चलेको शीर्ष नेताबीचको छलफलमा विवादित विषय टुंग्याउन नयाँ मापदण्ड बनाउने सहमति भएको हो ।

छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।

सहमहामन्त्री महतले भने, ‘क्रियाशील सदस्यता छानविन समितिमा निरुपण हुन नकसेको विवादमाथि छलफल गरेर विधिसम्म तरिकाले टुंग्याउनु पर्छ कुरा भएको छ ।’ 

त्यसका लागि नयाँ मापदण्ड बनाइने उनको भनाइ छ । यस्तै वरिष्ठ नेता पौडेलले पनि मापदण्ड भनेपछि विवाद समाधान हुने बताए ।

छानविन समिति प्रवेश नै नगरी नेतृत्व तहमा बुझाएको सप्तरी र बाराबाट आएको क्रियाशील सदस्यताका सन्दर्भमा नयाँ मापदण्ड बनाइने छ ।

​यस्तै धनुषा ४ नम्बर क्षेत्र र सर्लाही २ नम्बर क्षेत्रका सन्दर्भमा जारी अनशन र धर्नालाई सम्बोधन गरिने महतले बताए ।

समायोजन सम्बन्धी विवादले रोकिएको क्रियाशील सदस्यतालाई पनि विधिसम्मत तवरले टुङ्ग्याइने पौडेलले बताए ।

दुई घण्टा छलफलमा बसेर बाहिरिएका सभापति देउवाले काँग्रेस र काँग्रेस हुन चाहनेलाई क्रियाशील सदस्यबाट बन्चित हुनुनपर्ने गरी समाधान खोज्नुपर्ने बताएका थिए । देउवाले छलफलमा सहभागी नेताहरुलाई सोही अनुसार निकास खोज्न भनेका थिए । 

 देउवा पौडेलबीच मत भिन्नता

अब महाधिवेशन हुने गरेर मात्र कार्यतालिका ल्याउनुपर्ने बताएका थिए । 
‘महाधिवेशन  हुन नसकेर बारम्बार कार्यतालिका संशोधन गर्ने कुराले राम्रो सन्देश दिएको छैन । अब महाधिवेशन हुने गरी कार्यतालिका बनाउनुपर्छ,’ देउवाको भनाइ छ । महाधिवेशन कहिले र कसरी गर्ने सकिन्छ भन्नेबारे वस्तुपरक ढंगले नयाँ कार्यतालिका ल्याउनुपर्ने देउवाले बताए ।

हिजोसम्म भदौ १६–१९ मै महाधिवेशन हुन्छ भन्दै आएका देउवाले अब नयाँ कार्यतालिकाको आवश्यकता औल्याएका छन् । तर पौडेलले कुनै हालमा भदौभित्र महाधिवेशन गर्नुपर्ने बताए ।

‘विवाद टुंगिहाल्छ, भदौभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्छ,’ बैठकपछि पौडेलले भने । तर काँग्रेसको निर्वाचन गर्ने संयन्त्र निर्वाचन समितिले भने भदौमा महाधिवेशन गर्न सम्भव नभएको बताएको छ ।

निर्वाचन समितिले गर्नुपर्ने अधिकांश काम बाँकी नै भएकाले भदौमा वडा अधिवेशन मात्र गर्ने सकिने समितिले हिसाब सुनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप