बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : ओलीको नियुक्तिमाथि देउवाको फायर, उपेन्द्रको जसपामा एक्सन

मङ्गलबार, १२ साउन २०७८, २० : ५७
मङ्गलबार, १२ साउन २०७८

आज २०७८ साउन १२ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा गण्डकी र लुम्बिनी प्रदेश प्रमुख फेरिए, काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले बुझायो प्रतिवेदन, लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपाका तीन मन्त्री पार्टीबाट निष्काशित, पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणमा भ्रष्टाचारको ठहरसहित पाँचजना विरुद्ध मुद्दा दायर, प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए खबरदारी पत्र, पूर्व सभामुख महराले पाए उच्च अदालतबाट सफाइ लगायत छन् ।

१. दुईवटा प्रदेशका प्रदेश प्रमुख फेरिए, मन्त्रिपरिषदका पाँच निर्णय

सरकारले दुईवटा प्रदेश प्रमुख परिवर्तनको निर्णय गरेको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै उनको स्थानमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरी उनको स्थानमा अमिक शेरचनलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रदेश प्रमुखद्वय पौडेल र यादवलाई मंगलबार नै पदमुक्त गरेकी छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न पाँच निर्णय गरेको छ ।

२. काँग्रेसका क्रियाशील सदस्य ८ लाख ५४ हजार ७११ जना, छानविन समितिले बुझायो प्रतिवेदन

देशभर नेपाली काँग्रेसको क्रियाशील सदस्य संख्या ८ लाख ५४ हजार ७११ जना पुगेको छ जसमा ४ लाख ४३ हजार ६६८ नयाँ सदस्य थपिएका हुन् । क्रियाशील सदस्यता छानविन समितिले मंगलबार काँग्रेस पदाधिकारी बैठकमा उक्त विवरणसहितको प्रतिवेदन पेस गरेको छ । केही जिल्लामा भने विवादका कारण सदस्यता अझै टुङ्गो लाग्न सकेको छैन ।

३. लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपाका तीन मन्त्री पार्टीबाट निष्कासित

लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपाका तीन जनालाई पार्टीले कारवाही गरेको छ । पार्टी निर्णय विपरीत सरकारमा सहभागी उनीलाई पार्टीबाटै निष्काशन गरिएको हो । यसैबीच लुम्बिनी प्रदेश सरकारले उपयुक्त समयमा विश्वासको मत लिने प्रस्ट पारेको छ । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि थप प्रदेश सरकार संकटमा परेको छ । यद्यपि प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले केन्द्रमा एउटा र प्रदेशमा अर्को गठबन्धन पनि बन्न सक्ने भन्दै तत्काल सरकारमाथि कुनै संकट नदेखिएको दावी गरे ।

४. पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणमा भ्रष्टाचार, पाँचजना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन योजना प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन योजना प्रमुख विजय चापागाई, तत्कालीन इन्जिनियर दिपककुमार खड्का, तत्कालीन सवइन्जिनियर गजेन्द्रप्रसाद राउत, तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुँयाल र निर्माण कम्पनी महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक रवि सिंहविरुद्ध मुद्दा दायर गरिएको हो ।

५. प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए पत्र, स्वास्थ्य राज्यमन्त्रीकाबारे राखे शर्त

स्वास्थ्य शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार खबरदारी पत्र पठाएका छन् । पत्रमा उनले नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले स्वार्थको द्वन्द्व नहुने अवस्था सिर्जना गर्नुपर्ने भन्दै या त शिक्षा र स्वास्थ्य क्षेत्रमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो लगानीबाट तत्काल अलग हुनुपर्ने, अन्यथा प्रधानमन्त्रीले उनलाई पदमुक्त गर्नुपर्ने शर्त राखेका छन् ।

६. संसदमा बाबुरामको ट्वीटदेखि पब्जी र फ्रिफायरसम्मको चर्चा

प्रतिनिधिसभाको बैठकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्वीटदेखि लिएर पब्जी र फ्रिफायर गेमका बारेसम्म चर्चा भएको छ । सांसद अभिषेकप्रताप शाहले पूर्व प्रधानमन्त्री डा. भट्टराईको एउटा ट्वीटप्रति आपत्ति जनाए भने सांसद आशाकुमारी विकले पब्जी र फ्रिफायरजस्ता गेमको लतमा लागेर बालबालिकाको स्वभाव नै परिवर्तन भएको भन्दै त्यस्ता गेम बन्द गर्न माग गरिन् । सांसद गगन थापाले भने केपी शर्मा ओली नेतृत्वको सरकारका बेथितिबारे चर्चा गर्दै नयाँ सरकारलाई त्यस्ता गल्ती गर्ने छुट नरहेको बताए ।

७. पूर्व सभामुख महराले पाए उच्च अदालतबाट सफाइ

उच्च अदालत पाटनले पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । उच्च अदालतले सो मुद्दामा काठमाडौं जिल्ला अदालतले यस अघि गरेको फैसलालाई नै सदर गरेको हो ।

८. प्रदेश १ को नामकरणका लागि मुख्यमन्त्री राईले थाले छलफल

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरणका लागि दलहरुसँग छलफल थालेका छन् । उनले नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका दलसँग यसबारे छलफल गरेका हुन् । दलका नेताहरुले आफ्नो दलभित्र यसबारे छलफल गरी समान धारणा बनाउने बताएका छन् ।

९. तीन हजार ८९९ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने एक हजार ७७८ जना संक्रमणमुक्त भएका छन् ।

१०. नेप्से २९ अंकले बढ्यो

सेयर बजार परिसूचक नेप्से २९ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ३ हजार ७९.६७ विन्दुमा पुगेको हो । अघिल्लो दिन अर्थात् सोमबार नेप्से परिसूचक ८.२४ अंकले घटेको थियो ।

११. र, यो पनि

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद विस्तारसहित समसामयिक विषयमा छलफल भएको बताइएको छ ।


नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी कोभिड–१९ विरुद्धको लडाईमा अमेरिका नेपालको साथमा रहने प्रतिवद्धता जनाएका छन् ।​


विराटनगरस्थित कोशी अस्पतालमा दैनिक एक सय सिलिन्डर अक्सिजन ग्यास उत्पादन गर्ने गरी प्लान्ट जडान गरिएको छ । मंगलबारदेखि नै उक्त प्लान्टले ग्यास उत्पादन थालेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप