शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाविरुद्ध साझा उम्मेदवारको खोजी : आठ आकांक्षीका आठ मोडल

संस्थापन इत्तर पक्षको बत्तीसपुतली बैठकमा के-के भयो ?
शनिबार, २६ असार २०७८, ०६ : २७
शनिबार, २६ असार २०७८

काठमाडौं । शुक्रबार अपरान्ह बत्तीसपुतलीस्थिति अनुपम फुडल्याडमा काँग्रेस संस्थापन इत्तर पक्षबाट सभापतिमा आकांक्षा देखाएका नेताहरुबीच साझा उम्मेदवार छनोटका विषयमा सामुहिक छलफल भयो ।

 सभापतिमा दाबी प्रस्तुत गरेका ८ जनाबीच भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर केसी सहभागी थिए ।

बलबहादुर बाहेक सबैजनाले सभापतिमा दाबी गरेका छन् । बैठकको संयोजन गरेका नेता केसीले संस्थापन इतरबाट एकजना मात्रै सभापतिको उम्मेदवार उठाउने प्रस्ताव अगाडि सारेका थिए । त्यसमा सकारात्मक छलफल सुरु भएको केसीको भनाइ छ ।

शुक्रबारको छलफलले एकताको सम्भावना बढाएको केसीको दाबी छ । उनले रातोपाटीसँग भने, ‘सके पार्टीभित्रै नसके हाम्रो समूहभित्र एकता गराउन प्रयास गर्ने सहमति भएको छ । छलफल निरन्तर रहनेछ । हिजोको छलफल सकारात्मक रुपमा सकिएको छ ।’

यस्तै नेतृ सुजाता कोइरालाले पनि सहमति हुनेमा आफू विश्वस्त रहेको बताइन् । उनले भनिन् ‘ हार्दिकताका साथ छलफल भएको छ, जो भए पनि एकजना उम्मेदवार हुन्छ ।’

यस्तै नेता शेखर कोइरालाले पनि एउटै उम्मेदवारीका विषयमा बैठक सकरात्मक रहेको बताए । ‘बैठक सकारात्मक छ, निचोड भने निस्किइसकेको छैन’ कोइराला भन्छन्, ‘तर हामी एउटा उम्मेदवार दिन्छौं । हामी एक ठाउँमा छौं ।’

एउटै उम्मेदवार दिनेमा दुविधा नरहेको शेखरको भनाइ थियो । यद्यपि कसैले कसलाई छोड्ने कुरा भने नगरेको उनले बताए । उनले भने, ‘ म पछि हट्छु भनेर कसैले भन्नुभएको छैन । को बन्ने भन्नेमा सहमति बन्न सकेको छैन । एउटा उम्मेदवार दिन्छौं भन्नेचाहिँ सहमति हो ।’

यस्तै नेता सिंहले पनि साझा उम्मेदवार दिने विषयमा छलफल केन्द्रित रहेको तर एउटालाई अरूले छोड्ने कुरा भने नभएको बताए । ‘उम्मेदवारी दाबी गर्नेहरूबीच एक अर्कामा वान टु वान संवाद पनि गर्छौं । यताबाट साझा उम्मेदवार दिने कुरामा सहमति छ’, उनले भने ।

संस्थापन इत्तर पक्ष आगामी महाधिवेशनमा मिलेर जानुपर्ने केसीको जोड छ । हिजोको छलफलको सुरुमै केसीले देउवाइत्तर गठबन्धन बनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, आकांक्षी सबैले आ–आफ्नो राम्रो माहोल रहेको दलिल पेस गर्दै सभापति उठ्ने अडान राखेका थिए । तर, छलफल सहभागी सभापतिका ८ जना आकांक्षीले कसैले कसैलाई स्वीकार नगरेको अवस्था छ ।

नेता कृष्णप्रसाद सिटौलाले आफू छलफलमा सहभागी भए पनि फरक रुपमा कसरत गरिरहेको बताए । सिटौला देउवा इत्तर गठबन्धनमा सामेल नहुने संकेत देखाएका थिए ।

सिटौलाले भने, ‘मत १३ औं महाधिवेशनमै उठिसकेको मान्छे हुँ । रामचन्द्रलाई हुँदैन भन्नुहुन्छ भने रामचन्द्र टीमकाले मलाई सहयोग गरे भैहाल्यो नि !’

उम्मेदवार छनोटमा ८ नेताका ८ मोडल

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई दिएको योगदान, त्याग र अनुभवलाई साझा उम्मेदवार छनोटको मोडल बनाउनुपर्ने बताएका छन् । छलफलमा उनले भने, ‘मेरो यत्रो योगदान छ । त्याग छ , तपस्या छ, बलिदान छ । म सबैभन्दा सिनियर हुँ । मैले धेरै काम गरेको छु । म अनुभवी छु । मलाई सहयोग गर्नुपर्छ ।’

सबै नेताहरुले उम्मेदवार छनोटका लागि आफू अनुकुलका मोडल अगाडि सारेका थिए । सुजाता कोइरालाले आफू सभापतिको दाबेदार भए पनि साझा उम्मेदवार छनोटका लागि बाधक नहुने बताएकी थिइन् । उनले भनिन्, ‘मिलेर जानुपर्छ । मलाई पनि मान्नुपर्छ । सहमतिका लागि सबैको स्वीकार्य पात्र म हुँ । अब महिलाले पनि अवसर पाउनुपर्छ ।’

साझा उम्मेदवार लोकप्रियता र क्षमताको आधारमा तय गरिने उनको भनाइ थियो । ‘अहिले को उम्मेदवार बन्ने तय भएको छैन । उचित समयमा छलफल गरी निर्णय लिन्छौं,’ उनले भनिन् ।

छलफलमा पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र रामशरण महतले पार्टी अनुभव र सिनियारिटीलाई उम्मेदवार छनोटको आधार बनाउनुपर्ने बताएका थिए । त्यसरी साझा उम्मेदवार छनोट हुन नसके आफूहरु पनि सभापतिमा उठ्ने उनीहरुको अडान थियो ।

डा. शेखर कोइरालाले बैठकमा भनेका थिए, ‘कसको राम्रो अवस्था छ भनेर जाँच्ने तरिका के छ र यहाँ ? यतिबेला कसलाई सोधेर जाँच्ने कसको राम्रो भनेर ? जिल्ला अधिवेशनबाट जितेर आएका सभापतिलाई सोध्ने हो कि ?’

शेखरले आफूलाई तलका कार्यकर्ताले समर्थन गर्ने आसयका साथ एक उम्मेदवार छनोटको मोडल अगाडि सारेका थिए । कार्यकर्तामा आफ्नो उपस्थिति राम्रो रहेको शेखरको बुझाइ छ ।

प्रकाशमान सिंहले राजनीतिक निरन्तरतालाई उम्मेदवार छनोटको आधार बनाउनुपर्ने प्रस्ताव अगाडि सारेका छन् । त्यसका लागि आफू योग्य गरेको सिंहको दाबी थियो । उनले भने, ‘संगठनमा निरन्तर काम गरेको र जनस्तरीय काम गर्दै आएको म हुँ । मैले सबैलाई नेतृत्व गर्न सक्छु भन्ने मलाई लाग्छ । मैले मेरो प्रस्ताव अस्ति (असार ११ गते) पनि राखेको हुँ । अहिले पनि मेरो त्यही कुरा छ ।’

महामन्त्री डा. शशांक कोइरालाले संस्थापन इत्तरबाट वर्तमान सभापति शेरबहादुर देउवालाई हराउन सक्ने उम्मेदवार तय गर्नुपर्ने प्रस्ताव अगाडि सारे । त्यसका लागि आफू जति बलियो उम्मेदवार कोही नभएको दाबी थियो । ‘यहाँ शेरबहादुर देउवालाई हराउन सक्ने मबाहेक को छ र ?’, शशांकको प्रश्न थियो ।

त्यस्तै, सिटौलाले १३ औं महाधिवेशनको रामचन्द्र पौडेल समूहमा कसैले कसैलाई स्वीकार गर्ने अवस्था नभएकाले आफूलाई सहयोग गर्न प्रस्ताव राखे । उनले भने, ‘रामचन्द्रजीको १३ औं महाधिवेशन टीमका सबै साथीहरु सभापति उठ्ने तयारीमा हुनुहुन्छ । आफ्नो आफ्नो तयारी गरेर उठ्न खोजेको पाउँछु म । एकले अर्कालाई स्वीकार्ने परिस्थिति मैले देखेको छैन । मलाई सहयोग गर्नुस्,’ सिटौलाको प्रस्ताव थियो ।

अहिले आफू छुट्टै तयारीमा रहेको भन्दै तलबाट हुने प्रतिस्पर्धा अनुसार सोच्न सकिने उनले बताएका छन् । ‘मेरो आफ्नो छुट्टै हो । मैले आफ्नो तयारी गरिरहेको छु ।  आफ्नो सम्पर्क कार्यालय खोलेको छु । तपाईहरुले पनि आ आफ्नो सम्पर्क कार्यालय खोलेर बस्नु भएको छ,’ सिटौलाले भने, ‘आफ्नो तयारी गर्दै आउँला । तलबाट कस्तो प्रतिस्पर्धा हुँदै आउँछ । त्यसपछि सोचौला नि !’

उनले पार्टी महाधिवेशन  राष्ट्रिय राजनीतिको आगामी दिशासँग पनि जोडिएको बताए । ‘राष्ट्रिय राजनीति कता जान्छ, अवस्था राम्रो छैन । सर्वोच्चको फैसलापछि कस्तो राजनीति परिस्थिति बन्ने हो,’ सिटौलाले भने ।

बैठकमा सहभागी एक नेताले भने शुक्रबारको छलफल उपसभापति विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीचको फोटो खिचाइजस्तै रहेको बताए । छलफलमा सबैले आ–आफ्नो दाबी गरे पनि केसीले बाहिर बोल्दा सहमति गरेर जाने ढंगले बोलिदिन आग्रह गरेका थिए ।

तर, संस्थापन इत्तर पक्षमा साझा उम्मेदवार हुने सहमति भएको छ भन्नु बेकार कुरा भएको ती नेताको भनाइ छ । सबै आ–आफ्नो ढंगले अगाडि बढिरहेकाले कोही रोकिने अवस्था नरहेको उनको दाबी छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप