शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक हप्ताभित्र काँग्रेसको दोस्रो सत्तारोहण : मन्त्री छनोटमा निधि हावी, पौडेल पक्ष रित्तै !

बुधबार, २६ जेठ २०७८, २० : ४२
बुधबार, २६ जेठ २०७८

नेपाली काँग्रेस प्रदेश २ सरकारमा सहभागी भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा तीन मन्त्रीसहित काँग्रेस सहभागी बनेको हो ।

 


 

प्रदेश २ काँग्रेस संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा सामेल भएका छन् । यादवले भौतिक पूर्वाधार तथा यातायात, शर्माले ऊर्जा तथा खानेपानी र सिंहले महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेका छन् ।

मन्त्री छनोटमा निधि हावी, पौडेल पक्षले पाएन भाग

प्रदेश २ मा मन्त्री भएका तीनै जना काँग्रेसको संस्थापन पक्षनिकट हुन् । संस्थापन पक्षभित्र पनि यादव र सिंह निधिनिकट हुन् भने शर्मा सभापति शेरबहादुर देउवासँग नजिक मानिन्छन् ।

यादव धनुषा ३ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी धनुषा काँग्रेसका जिल्ला सभापति पनि हुन् । पर्साका शर्मा समानुपातिक सांसद हुन् । उनी वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका छन् । शर्मा पूर्व सभासद समेत हुन् ।

सिंह सर्लाही क्षेत्र नं. ४ को (क) बाट निर्वाचित भएका थिए ।​ सिंह पहिले सांस्थापनइतरका काँग्रेस केन्द्रीय सदस्य अमरेश सिंहसँग निकट मानिएपनि पछिल्लो समय निधिसँग नजिकिएको पाइन्छ ।

निधिले संस्थापनइतर पक्ष निकट कार्यकर्तालाई पार्टीको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानदेखि प्रदेश मन्त्रीसम्म बनाएर आफ्नो पक्षमा ल्याएको देखिन्छ ।

संस्थापन पक्षभित्रका अन्य सांसदहरुले मन्त्री बन्ने आकाङ्क्षा राखेपनि निधि हावी हुँदा देउवाले एक जनामा चित्त बुझाएका छन् । यस्तै काँग्रेस राष्ट्रिय पार्टी भएकाले पहाडी मूलका सांसदलाई पनि मन्त्री बनाउनुपर्ने देउवा पक्षभित्र आवाज उठेको थियो ।

काँग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले सकारात्मक सन्देश दिने गरी एक जना पहाडीलाई प्रदेश २ को मन्त्री बनाउन सभापति देउवालाई सुझाव दिएका थिए । उनले बाराकी सांसद शोभा लामालाई मन्त्री बनाउन लबिङ गरेका थिए । तर त्यो सफल हुन सकेन ।

 


 

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट नरेशकुमार यादव लगायत पनि मन्त्री बन्ने दौडमा थिए । तर बुधबार विहान सभापति देउवा र निधिबीच बूढानीलकण्ठमा भएको छलफलमा उनको नाम अनुमोदन भएन ।

देउवाले पौडेल पक्षलाई पनि समेटेर लैजाने सोच बनाएपनि निधिले अगाडि सारेको नाममा धेरै नाइनास्ती नगरेको बूढानीलकण्ठ स्रोतले रातोपाटीलाई बतायो ।

यसअघि कर्णाली प्रदेशमा सभापति देउवा र वरिष्ठ नेता पौडेल निकटलाई मन्त्री बनाइएको थिए । देउवानिकट सुर्खेतका यज्ञबहादुर विसी सामाजिक विकास र पौडेलनिकट जुम्लाका दिनबन्धु श्रेष्ठ जलस्रोत तथा ऊर्जा मन्त्री बनेका थिए ।

प्रदेश २ सरकारमा भने पौडेल पक्षको प्रतिनिधित्व हुन सकेन । यद्यपि बजेट ल्याएपछि पौडेल पक्ष र पहाडीको प्रतिनिधित्व गराउन मुख्यमन्त्री राउतले राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्ने सहमत भएका छन् ।

जसमा काँग्रेसलाई तीन वटा राज्यमन्त्री दिने सहमति भएको काँग्रेस नेता महेन्द्र यादवले बताए ।

एक सातामै काँग्रेसलाई दुई सत्ता

माओवादी केन्द्र नेतृत्वको कर्णाली सरकारमा सहभागी भएको चार दिनमा काँग्रेस प्रदेश २ मा पनि सत्तामा पुगेको छ । नेकपा खारेजी र जसपा विभाजन (औपचारिक घोषणा बाँकी)ले एक सातामै कर्णाली र प्रदेश २ मा काँग्रेस सत्तारुढ दल बनेको हो ।

 


 

यी दुवै प्रदेशमा पछिल्लो समय प्रतिपक्षी हैसियत समेत गुमाएको काँग्रेसलाई सत्ता सहकार्यको अवसर प्राप्त भएको छ । २०७४ को चुनावपछि किनारा लागेको काँग्रेसले नेकपा र जसपा विभाजनबाट सत्तारोहणको अवसर प्राप्त गरेको छ । केन्द्रमा जसपाको महन्थ ठाकुर पक्षले ओली पक्ष रोजेपछि उपेन्द्र यादव पक्षले प्रदेश २ मा काँग्रेसलाई साथमा लियो । राउतलाई बहुमत सिद्ध गर्न काँग्रेसकै साथ प्राप्त थियो ।

किन भने जसपाको ३५ र काँग्रेसका १९ गरी ५३ जना हुँदा ठिक्क बहुमत पुग्छ । केन्द्रको गठबन्धनलाई आत्मा साथ गर्दै माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराइएको छ ।

एमालेका २१ जनामध्ये ओली समूहका ८ जनामात्रै छन् भने माधव नेपाल समूहका १३ सांसद छन् । एमाले विभाजनले औपचारिकता पाए नेपाल पक्षलाई पनि सरकारमा समेट्न राउतको तयारी छ ।

​प्रदेश २ मा काँग्रेस धेरै समय प्रमुख प्रतिपक्षी बन्न समेत पाएको थिएन । सुरुमा तत्कालीन नेकपाले राउत सरकारलाई समर्थन गर्दा काँग्रेसले प्रमुख प्रतिपक्षी बन्ने अवसर पाएको थियो । तर, ३२ सीट रहेको नेकपाले सरकारबाट समर्थन फिर्ता लिँदा १९ सीट रहेको काँग्रेसको प्रतिपक्षी हैसियत खोसियो ।

नेकपा विभाजन हुँदा पनि काँग्रेसले प्रतिपक्षी प्राप्त गर्ने अवस्था बनेन । गत फागुन २३ गते एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि पनि जसपा पछिको ठूलो दलका रुपमा प्रदेश २ मा २१ सीटसहित नेकपा एमाले प्रमुख प्रतिपक्षी दलका रुपमा उदायो । काँग्रेसको स्थान तेस्रो दलकै रुपमा यथावत रहन पुगेको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप